२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

हुलाकी सडकको विवाद समाधान

नरैनापुर गाउँपालिका–५, मटेहियामा निर्माण हुन् लागेको सडक। तस्बिरः नागरिक

गणेश विशु

नेपालगन्ज– नेपालगन्जदेखि कट्कुइयासम्म निर्माणाधीन हुलाकी राजमार्गमा देखिएको अवरोध हटेको छ। संवाद समूह बाँकेको पहलमा वर्षौंदेखिको सडक विवाद साम्य भएको हो।

विवाद समाधान भएपछि यहाँ निर्माण कार्यले पुनः गति लिएको छ। नरैनापुर गाउँपालिका–५, मटेहियामा सडक नक्साङ्कन, मुआब्जालगायतका विवाद थिए। बाँके क्षेत्र नं. १ का प्रदेशसभा सदस्य कृष्णा केसी –नमुना), प्रमुख जिल्ला अधिकारी मदन भुजेल, नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर, नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाह, हुलाकी राजमार्ग योजना कार्यालय नेपालगन्जका तत्कालीन प्रमुख कृष्णनाथ ओझा, नरैनापुर वडा नं. ५ का वडाध्यक्ष कृष्णचन्द्र मौर्य, स्थानीय जग्गाधनी, समूहका सदस्यसमेतको उपस्थितिमा सहमति भएको हो। हाल चालू सडकलाई नै कायम राख्ने गरी निर्माण कार्यलाई अविलम्ब बढाउने, निर्माणमा अवरोध नगर्ने, उत्तरतर्फको सडक नक्सामा परेको (व्यक्तिगत) जग्गा फिर्ता गर्ने प्रक्रिया अघि बढाउने र चालू सडकमा पर्ने जग्गाको मुआब्जा (१० मि) दिने कुरामा लिखित सहमति भएको छ।

खाल्डाखुल्डी देखिने सडक फराकिलो र चिल्लो देखिएपछि स्थानीवासी खुसी भएका छन्। हुलाकी राजमार्ग योजनाले ४४ किलोमिटर सडक २ खण्डमा विभाजित गरेर २०७३ फागुनदेखि निर्माण थालेको हो। निर्माण कार्य २०७६ असार मसान्तसम्म पूरा गर्नुपर्ने समयसीमामा छ। हुलाकी राजमार्ग निर्माणको ठेक्का पप्पु लुम्बिनी जेबी कन्ट्रक्सनको नाममा रहे पनि पप्पुले यो ठेक्का ६० करोडमा गणपति ग्रुप कन्ट्रक्सनलाई दिएको छ। चालू हुलाकी सडकखण्ड भन्दा फरक सर्भे (उत्तर) र नापी भएपछि उत्पन्न विवाद बढ्न गई २०७५ वैशाखदेखि सडकको निर्माण कार्य अवरुद्ध भएको थियो। समूहले जग्गाधनी, निर्माण कम्पनीलगायत सरोकार पक्षसँग नियमित संवादमार्फत आपसी विश्वास र सहज वातावरण सिर्जना हुँदा निर्माण कार्यले गति लिएको समूहका सहजकर्ता शुक्रऋषि चौलागाईले जानकारी दिए।

सडक मुआब्जाको प्रक्रियामा भने अझै संवाद जारी रहेको उनको भनाइ छ। हालसम्म १७ किमी बाटो कालोपत्रे बनिसकेको र समयावधीभित्रै कालोपत्रे हुने गरी निर्माण कार्य बढाइएको कन्सट्रक्सनका चेयरम्यान तुल्सीराम भण्डारीले जानकारी दिए। यसैबीच समूहका तर्फबाट सहजकर्ता चौलागाई नेतृत्वको टोलीले सडक विवादको स्थलगत अवलोकन गरेको छ। टोलीले नरैनापुर गाउँपालिका प्रमुख मो. इस्तियाक अहमद साह, वडा ५ का वडाध्यक्ष कृष्ण चन्द्र मौर्यलगायतलाई भेट गरको छ। सडक निर्माणलगायतका अन्य सवाल, संवाद प्रक्रियाबारे पनि छलफल गरिएको छ।

प्रकाशित: २१ वैशाख २०७६ १०:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App