जे हुन्छु भनेर सोचिएको थियो जीवनमा त्यो भइराखेको हुँदैन र जे भइराखेको छ, त्यसबारेमा सोचिएकै हुँदैन। हरेक मानिसलाई नियाल्दा यही अवस्था देखिन्छ। त्यस्तै भरपूर क्षमता भएका मान्छेहरु पनि सफल भइरहेका हुँदैनन् र क्षमता नभएकाहरु पनि सफल भइरहेका हुन्छन्। कहिलेकाहीँ कुनै सानो मिहिनेत गर्दा पनि त्यो निकै सफल भइराखेको हुन्छ र कहिले निकै मिहिनेतका साथ काम गर्दा पनि सफल भइराखेको हुँदैन।
सायद त्यसैले पनि भाग्यभन्दा धेरै र समयभन्दा पहिला कुनै पनि चिज प्राप्त हुँदैन भनिएको होला।
जीवन भाग्यमा आधारित हुन्छ भनियो भने कर्मको अस्तित्व के त भन्ने प्रश्न उठ्छ। भाग्य छ भन्दैमा डोकोमा दूध दुहुन पनि मिल्दैन।
भाग्यलाई हटाइदिने र कर्मलाई मात्रै जोड्ने हो भने पनि जीवनमा सफलता प्राप्त हुन सक्दैन। फेरि भाग्य पनि कर्ममै आधारित हुन्छ।
भाग्य र कर्म दुवैलाई स्वीकार गर्ने हो भने पनि प्रश्न उठाउने ठाउँ रहन्छ। जीवनमा वातावरण र सङ्गतको प्रभाव के त?
यसरी धेरै मान्छेहरु जीवनलाई लिएर एक हिसाबले असमञ्जस स्थितिमा देखिन्छन्।
यस असमन्जसको स्थिति हटाउनका लागि सबैभन्दा राम्रो उपाय हो, शास्त्रको सहारा लिनु। शास्त्रहरुको गहिरो अध्ययन गरेपछि के भन्न सकिन्छ भने जीवनमा भाग्य, कर्म र वास्तु (वातावरण) को ३३–३३ प्रतिशत हात हुन्छ। उच्चकोटिका ज्योतिषीले पनि यस कुरालाई स्वीकार गरेका छन्।
यही कारण हो, ज्योतिषीले गरेका कतिपय भविष्यवाणी नमिल्नु। ज्योतिषीको भविष्यवाणीलाई ३३ प्रतिशत मात्रै फलीभूत हुन्छ भनेर विश्वास गर्ने हो भने समस्यै रहँदैन।
ज्योतिषशास्त्रअनुसार पूर्वजन्ममा गरेको कर्मअनुसार नै भोग गर्ने हिसाबले त्यस्तै ग्रहहरुको प्रभाव परेका बेलामा मान्छे जन्मिन्छ र सोहीअनुसार उसले जीवन बाँच्नुपर्ने हुन्छ। त्यसैले यो विद्या भाग्यमै आधारित हुन्छ।
हिन्दु शास्त्रहरुअनुसार भाग्य भन्नु नै पूर्वजन्मको फल हो। मान्छेले यो जन्मजात लिएर आएको हुन्छ। यद्यपि पूर्वजन्म अमूर्त कुरा हो, यसलाई देख्न सकिँदैन तर पनि नजानिँदो तरिकाले प्रायः सबैले स्वीकार गरेको देखिन्छ।
सफलताका कुरा सिकाउनेहरु र मन–मस्तिष्कको अध्ययन गर्नेहरुले भन्ने गरेका छन्, ‘हरेक मान्छे जन्मजात प्रतिभा (गड गिफ्ट) लिएर जन्मेको हुन्छ। एउटै आमाबुबाबाट जन्मेका दुई सन्तानमा पनि फरकफरक प्रतिभा हुन्छ। यदि त्यही प्रतिभालाई टेकेर अगाडि बढ्ने हो भने ऊ अवश्य सफल बन्छ।’
यो भनाइले नजानिँदो तरिकाले मान्छे पूर्वजन्मको संस्कार बोकेर आएको हुन्छ भन्ने कुरा स्वीकार गर्छ।
शास्त्रहरुमा उल्लेख भएका प्रायः सबै पात्रहरुलाई हेर्ने हो भने पूर्वजन्ममा आफूले गरेको कर्मअनुसार नै जन्म लिएका र सोहीअनुसार जीवन भोगेका देखिन्छ।
द्रौपदीको पाँच जनासँग बिहे
उदाहरणका रुपमा द्रौपदीकै कथा लिऊँ न! एउटी युवतीको पाँच जनासँग बिहे हुनु त्योबेला समाजमा चलेको नियमभन्दा विपरीत कुरा थियो। द्रौपदीलाई पाँचै पाण्डवले बिहे गर्ने कुरा आइसकेपछि द्रौपदीका बुबा द्रुपदले ‘यो समाजविपरीत र हुनै नसक्ने कुरा मैले कसरी स्वीकार गरुँ’ भनेर गुनासो गरेका थिए।
पाण्डवकी आमा कुन्तीले ‘ल्याएको चिज बाँडेर उपभोग गर्नू’ भनिसकेपछि जब द्रौपदीलाई देख्छिन्, आफैँ छक्क पर्छिन् र पश्चाताप गर्छिन्, ‘लौ ! यो मैले के गरेँ !’
पाण्डवहरु पनि एउटै युवतीलाई पाँच–पाँच जनाले बिहे गर्ने अवस्थालाई लिएर असमञ्जसमा पर्छन्।
त्यहीबेला वेदव्यास आइपुग्छन् र द्रुपदलाई द्रौपदीको पूर्वजन्मको कथा सुनाउँछन्। जसको फल द्रौपदीले भोग्नैपर्ने थियो। कसैले पनि त्यसलाई रोक्न सक्ने थिएन।
कथाअनुसार पूर्वजन्ममा द्रौपदी कुनै तपोवनमा रहने ऋषिकी कन्या थिइन् र अत्यन्तै सुन्दर थिइन् तर उनले कुनै पति पाउन सकिनन्। उनले पति पाउन नसक्नुमा पनि उनको पहिलाको कर्मकै फल थियो। पति पाउनका लागि उनले शिवको तपस्या गरिन्। उनको तपस्याबाट खुसी भएर शिवले वर माग्न भने। उनले धर्मको मार्गमा चल्ने, हनुमानजस्ता शक्तिशाली, सर्वश्रेष्ठ धनुर्धर, सबैभन्दा सुन्दर र एकदमै सहनशील पति प्राप्त होस् भनेर पाँच पटकसम्म वरदान मागिन्। शिवले पाँच पति पाउने वरदान दिए।
त्यही फल उनले द्रौपदीको जीवनमा भोगिन्। समाजको नियमविपरीत नै भए पनि उनले जसरी पनि कर्मको फल भोग्नै पथ्र्यो। यसलाई कसैले पनि काट्न सक्दैनथ्यो।
राजा शान्तनुको भाग्य
महाभारतमा उल्लेख भएअनुसार इक्ष्वाकु वंशमा महाभिष नाम गरेका एक राजा थिए। उनी सत्यनिष्ठ र वीर मानिन्थे। मरेपछि उनले स्वर्ग प्राप्त गरे।
स्वर्गमै रहँदाको कुरा हो, एक पटक महाभिषसहित थुप्रै देवता र राजर्षि ब्रह्माको सेवामा उपस्थित भए। त्यहाँ गङ्गा पनि आइन्। हावाका कारण उनले लगाएको सेतो ओढ्ने शरीरबाट तल खस्यो। उपस्थित सबैले आँखा झुकाए। राजर्षि महाभिषले भने एकोहोरो उनैलाई हेरिरहे।
ब्रह्माले महाभिषमा अझै कामवासना विद्यमान रहेको थाहा पाए। उनले महाभिषलाई सराप दिए, ‘महाभिष ! मैले तिमीलाई सराप दिएँ। अब तिमीले मृत्युलोक जानुपर्नेछ। जुन दिन गङ्गाले तिम्रा लागि अप्रिय कार्य गर्नेछिन् र तिमी उनीमाथि क्रोधित हुनेछौ, त्यसबेला बल्ल तिमी श्रापबाट मुक्त हुनेछौ।’
महाभिषले मनमनै पुरूवंशी राजा प्रतीपको छोरा बनूँ भनेर प्रार्थना गरे।
ब्रह्माको सेवा गरेर फर्कने क्रममा बाटोमा गङ्गाले अष्टवसुलाई भेटिन्। उनीहरुलाई पनि मनुष्यजन्म लिनुपर्ने भनेर वशिष्ठ ऋषिले श्राप दिएका थिए।
केही समयको कुराकानीपछि उनीहरुलाई जन्माउन गङ्गा तयार भइन्। सात वसुलाई जन्मनेबित्तिकै मनुष्ययोनिबाट मुक्त गरिदिने बताइन्। श्रापअनुसार एक वसुले भने मत्र्यलोकमा लामो समय बिताउनुपर्ने हुन्थ्यो तर उनी अपुत्र रहने थिए।
ब्रह्माको सराप परेका महाभिष पछि शान्तनुका रुपमा जन्मिए। पछि उनी र गङ्गाबीच बिहे भयो। गङ्गाले सात वसुलाई जन्मिनेबित्तिकै गङ्गामा लगेर बगाइदिइन्। सबैले आ–आफ्नो कर्मको फल भोगे। आठौँ वसुमा जीवनभर अविवाहित रहेर मत्र्यलोकमै बस्नुपर्ने कर्म थियो। सोहीअनुसार उनले पनि जीवनभर आफ्नो कर्मको फल भोगिरहे, भीष्मका रुपमा।
यस्ता प्रसङ्ग धेरै छन्। यसबाट के बुझ्न सकिन्छ भने पूर्वजन्ममा सञ्चित गरिएका कर्मको फल जसरी पनि भोग्नैपर्छ। हामीले गरेका कुनै पनि सङ्कल्प या सिकाइ खेर जाँदैनन्। ती बीजरुपमा बसिरहन्छन् र समय आएपछि करोडौँ वर्षपछि भए पनि फल दिन्छन्। तिनै फल भोग्ने क्रममा देश, काल र परिस्थिति अनुकूल भयो भने भौतिक रुपमा सफल भएको मानिन्छ।
यस सन्दर्भमा बौद्ध साहित्यमा एउटा गज्जबको जातक कथा छ। जसअनुसार कुनै एक जन्ममा बुद्ध गरिब परिवारमा जन्मिएका थिए। सानोतिनो व्यापार गरेर आफ्नो र परिवारको जीवन निर्वाह गर्थे। त्यही जन्ममा एकपटक उनी पानीजहाजबाट यात्रा गरिरहेका थिए। साथमा उनकी आमा पनि थिइन्। यात्राकै क्रममा अचानक जहाज दुर्घटनामा प-यो। उनले आफ्नी आमालाई बोकेर पौडी खेल्दै समुद्र तर्ने प्रयास गरे।
उनी मनको गहिराइको अवस्थामा थिए। त्यसबेला उनले पहिलोपटक मनमनै सङ्कल्प गरे, ‘मैले आमालाई बोकेर समुद्र पार गर्न सकिनँ र म मरेँ भने आमालाई बचाउन मैले जुन प्रयास गरेँ यदि त्यसबाट पुण्य प्राप्त भयो भने त्यो पुण्य मेरो बुद्धत्व प्राप्तिमा गएर जोडियोस्।’
पछि सिद्धार्थ गौतमको रुपमा जन्मिएपछि बुद्धत्व प्राप्त गरिछाडे।
हामीले जम्मा गरेको संस्कारको बीजले जब उम्रने वातावरण पाउँछ, त्यो उम्रन्छ र हुर्कन थाल्छ। करोडौँ वर्षपछि पनि त्यसको फल भोग्नैपर्छ।
संस्कार कसरी बन्छ?
जीवनमा धेरै घटनाहरु घटिरहेका हुन्छन्। तीमध्ये कतिपय घटनाको जीवनमा कुनै प्रभाव पर्दैन, कतिपय घटनाको केही समय प्रभाव पर्छ र केही घटनाले जीवनभर नै प्रभाव पारिरहन्छन्। जुन घटनाले प्रभाव पारिरहन्छ र त्यसलाई मनुष्यले जब थपघट गर्न थाल्छ त्यसबाट उत्पन्न भाव थपिँदै जान्छ र त्यही संस्कार बन्छ। थपघटको अर्थ हो, राम्रो घटना छ भने आफ्नो जीवनमा त्यो बारम्बार आइरहोस् भनेर कामना गर्नु र नराम्रो घटना छ भने त्यसलाई हटाउन खोज्नु। यी दुवै अवस्थाले संस्कार बनाइराखेका हुन्छन्। मर्नेबेलामा तिनै संस्कार सूक्ष्म शरीरसँगै जान्छन् र अर्को जन्ममा त्यसलाई बोकेरै मान्छे जन्मिन्छ। ती पहिल्यैदेखि जम्मा गरेका भाव पालैपालो यस जीवनमा देखिन थाल्छन्। सुखद् घटनाद्वारा बनेको संस्कारको भाव उत्पन्न हुँदा मान्छे खुसी हुन्छ र दुःखद् घटनाद्वारा बनेको संस्कारको भाव उत्पन्न हुँदा दुःखी।
प्रायः भइदिन्छ के भने, यस जन्ममा पनि जब ती भाव उत्पन्न हुन्छन्, अधिकांश मानिसले तिनमा पनि थपघट गरिरहेका हुन्छन्। यसरी कर्म बनाउने प्रक्रिया निरन्तर चलिरहेको र बढिरहेको हुन्छ। फलस्वरुप मान्छेहरु सुख र दुःखको चक्रमै रुमल्लिइरहेका हुन्छन्। यो प्रक्रिया हटाएर दबिएका सबै भाव निकाल्नकै लागि भनेर ऋषिहरुले ध्यानको विकास गरेका हुन्। त्यसैले ध्यानको महङ्खवपूर्ण आधार भनेकै आफूभित्र आउने भावहरुमा तटस्थ दृष्टिकोणको विकास गर्नु हो।
यही अवस्थालाई धेरै मानिसले बुझिरहेका हुँदैनन्। त्यसैले भाग्यमाथि विश्वास गर्न पनि सक्दैनन् र अविश्वास गर्न पनि।
गहिरोसँग मानिसहरुको जीवन अवलोकन गर्ने हो भने मान्छे आफ्नै खालको भाग्य बोकेर आएको हुन्छ भनेर थाहा पाउन गाह्रो भने छैन। जस्तैः एउटै आमाबुबाबाट जन्मिएका दुई बच्चामा पनि एउटै वातावरणका बाबजुद स्वभाव फरक हुन्छ।
अब के प्रश्न उठ्छ भने अहिलेको जीवनमा पूर्वजन्मको कर्मको फल भोग्नुपर्ने हो भने के यस जीवनमा केही पनि नगरी बस्ने त?
गीताले भन्छ, ‘कर्म नगरी एकछिन पनि बस्न सकिँदैन। सास फेर्नु पनि कर्म गर्नु हो।’
शास्त्रहरुले भनेका कर्म र अहिले मानिसहरुले बुझेका कर्ममा धेरै फरक छ। शास्त्रहरुले बताएका कर्मलाई दुई मुख्य भागमा विभाजन गरेर बुझ्न सकिन्छ। पहिलो भाग हो, आफ्नो र आफूमाथि आश्रित व्यक्तिहरुको शरीरलाई बचाइराख्न भौतिक कर्म गर्ने किनभने शरीर आधार हो जीवनको। भौतिक शरीर भएन भने पनि मान्छे कुनै अन्य रुपमा जीवित त रहन्छ तर त्यहाँ उसले भोग मात्रै गर्न सक्छ। जस्तैः मान्छे आफ्नो कर्मअनुसार देवता भयो भने उसले सुखैसुखको भोग गर्नुपर्छ र भूतप्रेत आदि अवस्थामा पुग्यो भने दुःखैदुःख भोग गर्नुपर्छ। दुवै अवस्थामा जब भोग सकिन्छ, ऊ मान्छे भएर जन्मिन्छ। मान्छेमा मात्रै एउटा यस्तो अवसर हुन्छ, जसले आफूलाई तलतिर गिराउन र माथितिर उठाउन पनि सक्छ। यही कारण हो, मनुष्य चोलालाई विशेष महङ्खव दिइनुको।
त्यसैले सधैँ निष्काम कर्म गर्नुपर्छ भनिएको हो। महाभारतका एक पात्र अर्जुनको उदाहरण दिएर यस कुरालाई स्पष्टसँग बुझ्न सकिन्छ।
अर्जुनले त्यत्रा धेरै मान्छेहरु मारे। सामान्य दृष्टिकोणबाट हेर्दा उनी त सिधै नर्क जानुपथ्र्यो। केही तर्कशील व्यक्तिहरुले भन्ने पनि गर्छन्, ‘अर्जुनले त्यत्रो मान्छे मार्दा उनलाई पाप नलाग्ने, हामीले सानो जीवलाई मार्दा पनि पाप लाग्ने?’
उनीहरुले के बुझिराखेका हुँदैनन् भने युद्धका क्रममा अर्जुन पूरै अनुशासनमा थिए अथवा भनौँ उनले आफूलाई श्रीकृष्णमै पूरै समर्पित गरिदिएका थिए। अझै स्पष्टसँग भन्नुपर्दा उनी होस अवस्था (कर्मले संस्कार बनाउन नसक्ने अवस्था) मा थिए।
संस्कार नबन्ने अवस्थामा पुगेको मान्छेले जे गरे पनि पाप लाग्दैन। आफ्नो धर्म पालना गर्ने क्रममा समाजको नियमविपरीत लाग्ने काम पनि गरिरहेको हुन्छ, उसले तर संस्कार बन्नै दिँदैन। उसको त्यस कार्यले उसलाई पछि दुःख दिँदैन।
कर्मको दोस्रो र महत्त्वपूर्ण भाग हो, कर्मसंस्कार नबनाउने र बनेका संस्कारको फल भोग्ने क्रममा त्यसमा तटस्थ रहने अभ्यास गरिरहने। यसरी अभ्यास गर्नु नै सही कर्म हो।
हामीले देख्ने, भोग्ने गरेका भौतिक सफलता त कर्मफल भोग्ने क्रममा त्यस फलले धेरै मान्छेहरुलाई प्रभाव पारेको अवस्था मात्रै हो।
मानौँ कुनै व्यक्तिले आफ्नो कर्मसंस्कार अनुसार कर्म ग-यो। त्यस कामले धेरै जना मान्छेहरुको जीवनमा सकारात्मक प्रभाव पा-यो भने उसलाई मानिसहरुले नै सफल व्यक्तिको पगरी लगाइदिन्छन्। यही नै हो हामीले मानिएको सफलता भनेको। यही कारण हो, कुनै पनि व्यक्ति सफल रहिरहन सक्दैन, या एउटा कुरामा सफल भए पनि अर्को कुनै कुरामा असफल बनिरहेको हुन्छ।
यसको मतलब जथाभावी कर्म गर्छु तर होशको अवस्थामा रहन्छु भन्ने पनि लाग्न सक्ला। होसावस्थामा रहन त्यति सजिलो पनि हुँदैन। यसका लागि सुरूमा शरीर (मनसँग जोडिएको हुनाले) र मनलाई मनलाई स्वस्थ राख्ने क्रियाकलाप गर्नुपर्छ। त्यसैले सही खानेकुरा, सत्कर्म आदिमा जोड दिइएको हो।
शास्त्रहरुमा उल्लेख भएअनुसार बाह्र वर्षको उमेरसम्म गरेको कर्मको फल उसलाई लाग्दैन। त्यतिबेलासम्म उसले एक हिसाबले भोग मात्रै गरिरहेको हुन्छ, जसरी पशुयोनि या देवयोनिमा भोग गरिन्छ।
यस विषयमा महाभारतमा एउटा सुन्दर कथा छः
माण्डव्य नाम गरेका एक ऋषि थिए। आफ्नो आश्रम नजिकैको रुखमुनि हात माथि उठाएर मौन तपस्या गर्थे।
एक दिनको कुरा हो। केही चोर आफूले लुटेका सामानसहित त्यहाँ आए। पुलिसहरु उनीहरुलाई लखेट्दै पछिपछि आइरहेका थिए।
चोरहरुले आफूले लुटेको धन माण्डव्य ऋषिको आश्रममा लुकाए र आफू पनि लुके। पुलिसहरुले आएर माण्डव्यसँग सोधे, ‘चोरहरु कताबाट भागे? छिटो भन्नुस्। हामी उनीहरुलाई समात्न आएका हौँ।’
माण्डव्यले कुनै उत्तर दिएनन्। सिपाहीहरुले उनको आश्रमको तलासी लिए र लुटिएका धनसहित चोरहरु फेला पारे। सिपाहीहरुले माण्डव्यलाई पनि समाते र राजाको सामुन्ने उपस्थित गराए।
राजाले माण्डव्यसहित सबैलाई शूलीमा चढाउने आदेश दिए।
निकै दिनसम्म केही पनि नखाई–नपिई उनी शूलीमै झुण्डिरहे। तैपनि उनको मृत्यु भएन। उनले त्यहीँ थुप्रै अन्य ऋषिहरुलाई निमन्त्रित गरे। ऋषिहरु रातिको समयमा पक्षीका रुपमा त्यहाँ आए र उनीप्रति दुःख व्यक्त गरे।
उनीहरुले सोधे, ‘के तपाईंले कुनै अपराध गर्नुभएको थियो? त्यसैको फल अहिले भोगिरहनुभएको हो?’
माण्डव्यले उत्तर दिए, ‘म कसलाई दोष दिऊँ? सायद मैले मेरै अपराधको फल भोगिरहेको छु।’
माण्डव्य ऋषि लामो समयसम्म पनि नमरेको खबर राजाकहाँ पुग्यो। राजाले तुरुन्तै माण्डव्यको सामुन्ने आएर माफी मागे। माण्डव्यले राजालाई माफ गरिदिए।
उनलाई शूलीबाट त निकालियो, तर जति उपाय गर्दा पनि उनको शरीरबाट शूल निकाल्न सकिएन। त्यसपछि त्यो शूल काटियो। आफ्नो शरीरमा गाडिएको शूलसहित उनले तपस्या गरे। फलस्वरुप उनले दुर्लभ लोक प्राप्त गरे।
माण्डव्यले धर्मराजको सभामा गएर सोधे, ‘आफूले थाहै नपाई मैले कस्तो पाप गरेको थिएँ, जसको फल मैले यसरी भोग्नुप-यो?’
धर्मराजले उत्तर दिए, ‘तपाईंले एउटा सानो कीराको पुच्छरमा सिन्का गाडिदिनुभएको थियो। त्यसैको फल हो यो। जसरी थोरै दान गर्दा कैयौँ गुणा फल मिल्छ, थोरै अधर्मको पनि कैयौँ गुणा फल मिल्छ।’
माण्डव्यले सोधे, ‘यस्तो पाप मैले कहिले गरेको थिएँ?’
धर्मराजले उत्तर दिए, ‘बाल्यकालमा।’
माण्डव्यले भने, ‘बच्चाले बाह्र वर्षको अवस्थासम्म गरेको कार्य अधर्म हुँदैन किनभने उसलाई यस बेलासम्म धर्म–अधर्मको ज्ञान हुँदैन। तिमीले यति सानो अपराधका लागि मलाई यति ठूलो सजाय दियौ। त्यसैले म तिमीलाई श्रप दिन्छु। तिमीले शूद्रयोनिमा जन्म लिएर मनुष्य बन्नुपर्ने छ। आज म संसारको कर्मफलको मर्यादा स्थापित गर्छु – बाह्र वर्षको उमेरसम्म गरेका कर्मको पाप लाग्ने छैन। त्यसभन्दा पछि गरिएका कर्मको फल भने अवश्य मिल्नेछ।’
माण्डव्य ऋषिको यही सरापका कारण धर्मराजको अंशका रुपमा विदुरको जन्म भएको थियो।
यसरी शास्त्रहरुमा उल्लेख भएअनुसार बाह्र वर्षसम्मको उमेरमा कुनै पनि बच्चाले नराम्रो काम गर्छ भने त्यसको दोष आमाबुबालाई लाग्छ। दोष नलागे पनि बच्चाले यस उमेरसम्ममा वरिपरिको वातावरणबाट धेरै कुरा सिकिसकेको हुन्छ। पछि त्यो सिकाइ उसको जीवनमा देखा पर्न थाल्छ।
निचोडमा के भन्न सकिन्छ भने वर्तमान जीवनमा भाग्य, कर्म र वातावरणले बराबरीजस्तै प्रभाव पारिरहेका हुन्छन्। त्यसैले भौतिक या आध्यात्मिक दुवै रुपमा सफल हुन भाग्य पनि चाहिन्छ, कर्म पनि गर्नुपर्छ र सही सङ्गत पनि चाहिन्छ। कर्मसंस्कार नबनाउने अभ्यासमा लाग्नु र त्यसमा सफल हुनु चाहिँ सही सफलता हो।
भौतिक सफलताको पछाडि मात्रै दौडिनु भनेको भविष्यमा असफल नै हुनु हो किनभने यस अवस्थामा संस्कार जम्मा भइराखेको हुन्छ र कुनै दिन त्यसको फल भोग्नुपर्दा दुःखदायक हुन्छ। तर यदि अध्यात्म र शास्त्रका वचनको अनुशरण गर्दै अगाडि बढ्ने हो भने मनुष्यको हृदय सफा र मन एकाग्र बन्दै जान्छ। अनि एकाग्रपूर्वक र फलको आशा नराखी गरिएको काम स्वतः सफल हुन्छ। संस्कार बन्ने प्रक्रिया पनि कम हुँदै जान्छ र मनुष्य आनन्दको मार्गतिर बढ्दै जान्छ।
प्रकाशित: २० वैशाख २०७६ ११:०७ शुक्रबार