१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

५ लघुकथा

सुधीर ख्वबि
 

भँगेराको घर
एउटा पुरानो घर। गारोको ठाउँठाउँमा बनाइएका भँगेराका घरहरू। जसमा बसेका छन् कैयन जोडी भँगेरा। चिरबिराउँदै, जिन्दगी रमाउँदै। जाडोमा न्यानो, गर्मीमा शीतल अनि वर्षामा छहारी।

एक दिन त्यो घर पुनर्निमार्णका लागि भत्काउन थाले। भँगेरा बिलौना गर्न थाले। ती सायद भनिरहेथे, ‘हाम्रो घर नभत्काउनु न दाइ। ए बा! रोक्नु न बा! हाम्रो घर। हामी कहाँ बस्न जाने? ए आमा! रोक्नुस् न आमा। पुस्तौंदेखि बस्दै आएका हामीलाई यसरी उठिबास नगर्नुस्न् भाउजू।’

उनीहरूको छटपटी कसैले पनि बुझेनन्। भँगेरा बासको खोजीमा छिमेकीका घर चहारे। सबै नयाँ घर । चार ईन्चको गाह्रोमा टायलको सजावट, कुनै सिमेन्ट प्लास्टर। अहँ कतै पाइएन भँगेरा बस्ने खोपा। अन्त्यमा बाटो छेउको बूढो रुखमा घर सरे उनीहरू। बिना छत, खुल्ला आकाशमुनि। गर्मीमा घाम छल्न नसकिने। जाडोमा चिसो थेग्न गारो। वर्षामा निथ्रुक्क।

करिब एक वर्षपछि भत्काइएको त्यो घरले पूर्णता पाउँदै थियो। भँगेरा खुसी थिए। फेरि पनि भन्दै थिए सायद, ‘अब हामी नयाँ घरमा सर्ने, नयाँ घरमा सर्ने। कति राम्रो घर बनाउनु भयो है हाम्रा बाआमाले!’

उनीहरूले घरका चारै किल्ला चहारे। तल्ला तल्ला खोतले। तर, उनीहरू निराश भए, अत्यन्तै निराश। अहँ! भँगेराका लागि कुनै घर बनेकै थिएन त्यो पाँचतल्ले घरमा।

सेवा   
‘हजुर शुभप्रभात! उठिस्यो न। उठ न मेरो राजा.... चुप्प चुप्प चुप्प... हजुरको दासी सेवा गर्न लालायित छे।’

राजाले कुरो बुझिहाल्यो। धाराबाट पानी थाप्ने पालो आज। न उठी सुखै छैन। खडेरी सुरु भैसकेको छ। पानीको हाहाकार।

‘मेरो राजा कस्तो राम्रो, कति काम जानेको। म त अचम्मै हुन्छु हजुरको काम देखेर’, पानी भरेर राजा कोठामा आउनासाथ मृदुला मस्किई।
राजाले कुरो बुझिहाल्यो। मुसुक्क हाँसेर कोठा बढार्न थाल्यो। असरल्ल सामान र लुगाफाटो मिलाएर ठाउँमा राख्न थाल्यो।

मृदुला भन्दै गई, ‘मेरो राजा! चिया कतिखेर खाने होला है। मलाई कस्तो तलतल लागिसक्यो। फेरि हजुरलाई अफिस पनि त जानू छ। खाना पकाउन त हजुर च्याम्पियन, कति मीठो पकाउनु हुन्छ। म त अचम्मै हुन्छु। प्यारो राजा दिउँसोका लागि पनि खाजा पकाइस्यो है। दिनभरि एक्लै कोठामा बस्दा नि कस्तो भोक लाग्ने फेरि सिरियल हेर्न थालेपछि केही गर्नै भ्याइन्न।’

राजाले केही नबोली आफ्नी प्राण प्यारीको मुहार मुसुक्क हे-यो।

साँझतिर दुई हातमा दुईटा झोलामा भान्साको सामान बोकेर राजा फर्कियो। मृदुला भान्सामा बिहान नभ्याएका भाँडा बैशाखीका भरमा उभिएर मस्काइरहेकी थिइन्।

‘लल हेर यसको ताल डाक्टरले आराम गर्नु भनेको होइन’, भन्दै राजाले मृदुलालाई भर दिएर कोठामा लगेर बेडमा सुताएर भन्यो, ‘मृदुलाजी! अब हजुर आराम गरिस्यो। सेवक तयार छ हजुरको सेवा गर्न। अब केही दिन त बाँकी छ नि प्लास्टर काट्न।’
मृदुलाले आँखाभरि सलबलाउन थालेको आँसु हत्केलाले पुछेर राजालाई बाहुपाशमा बाँधिन्।
 

रहस्य
एकाबिहानै मन्दिर परिसरमा रगतका टाटा देखियो। परेवाका लास यताउता छरिएका थिए। मन्दिरका केही टुँडाल घाइते पनि देखिए। मूलढोका माथि राखिएको तोरण पनि तेल ईंटाको भुइँमा पसारिएको थियो। देउताका मूर्ति क्षतिग्रस्त त थिएन तर उदास देखिन्थे। बिहानै मन्दिर पुगेका भक्तजन अचम्मित भए। मुहारमा आतंकित प्रश्नहरू ओइरिरहेका देखिन्थे।

‘के भो, कसरी भो, कसले ग-यो?’

यी सब घटनाको रहस्य पुजारीले डरले हात खुट्टा थरथर कपाउँदै भने, ‘हिजो राति सडक विस्तार गर्न एक हूल मान्छे आएका थिए।’

विद्रोह

दुशासनले द्रौपदीको सारीको सप्को समातेर जब ताने तब उनले श्रीकृष्णलाई पुकारिनन्। श्रीकृष्ण यतिबेला डायस्पोरा जीवनको अभ्यासमा लीन छ। अरबको बालुवामा फलका लागि कर्म गर्दैछन्। पाण्डव परिवारसित त्यति सम्पर्कमा छैनन्। द्रौपदी आफैं पनि सामूहिक गृहस्थीको शोषणले ग्रस्त हुनाको कारण आक्रमक देखिन्थिन्। त्यसैले इन्द्रप्रस्थ सभालाई नै चुनौती दिइन। द्रौपदीले दुशासनको हातबाट सारीको सप्को तानेर लिइन। अनि आफै फुकाल्न थालिन ‘ल...हेर के के हेर्ने?’ दुर्योधन पक्क परे। आँखा नदेख्ने धृतराष्ट्रले परेली फिरफिरी नचाए। भीष्मको बोली फुटेन। समस्त कौरव तथा सभासद् उकुसमुकुस भए। पाण्डव मुसुक्क हाँसे।

वैतरणी
‘आउनुस् ,आउनुस् ,बस्नुस्’, गजानन्दले उत्साही हुँदै श्यामप्रसादको स्वागत गरे।

‘घर कता हो नि?’
‘यतै हो पाटनमा।’
श्यामप्रसाद थकित देखिन्थे। भर्खरै आइपुगेकाले होला। एकछिन सुस्ताउँदै आँखा डुलाए। त्यो कोठामा छ जनाका लागि ठाउँ व्यवस्था गरेको भए पनि यो समयमा ऊ आइपुगेपछि दुईजना मात्र भएको रहेछ। र त गजानन्द साथी पाएर दंग परेको।

‘सुनाउनुस् आफ्नो बारेमा’, गजानन्दले बात सुरु गरे, ‘कोको छन् परिवारमा?’
श्यामसुन्दरले लामो सास फेरे, ‘उही त हो नि कुरो। बुढाबुढी देशमा, छोराछोरी विदेशमा।’
‘अनि तपाईंको नि?’, श्यामप्रसादले पनि जिज्ञासा पोखे।
गजानन्दले पनि चिसो सास फेरे, ‘कुरो यही त हो नि। मेरा पनि छोराछोरी विदेशमा। बुढीले एक वर्ष अघि मात्र वैतरणी तरेकी। म हिजो मात्र यहाँ आएको नि।’

भोलि छोराछोरी आएपछि जाने हो।’
‘म पनि आज एक दिनका लागि मात्रै हो। भोलि छोराछोरी आइपुग्छन् होला’, श्यामसुन्दरले आफ्नो स्थिति स्पष्ट पारे।
यतिकैमा मर्चरीरुम (अस्पतालको शवगृह)को ढोका खुल्यो। आफ्नो लास लिन आएको छोरालाई देखेर गजानन्दले चैनको सास फेरे, ‘अब छिट्टै वैतरणी तर्न पाइने भो।’  

प्रकाशित: १४ वैशाख २०७६ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App