जुम्ला - हिमा गाउँपालिका–७ की अम्बिका अधिकारी तरकारी किसान हुन् । उनले तरकारी खेतीबाट मनग्ये आम्दानी गरिरहेकी छिन् । मौसम या बेमौसम उनका लागि कुनै बेला फुर्सद हुँदैन । उनले भनिन्, ‘उत्पादित तरकारी बेचेर जीवनस्तर बदलेको छु ।’
दशकअघिसम्म श्रीमानको कमाइमा निर्भर उनी अहिले आफूले कमाएर श्रीमानलाई खर्च दिन्छिन् । ‘पहिले चुलो–चौकोमै सीमित थियौं, अहिले आयआर्जनका क्रियाकलापमा संलग्न छौं । परिवारको समृद्धिका लागि व्यावसायिक रुपमा अघि बढेका छौं,’ उनले भनिन् ।
विहान उठ्नेबित्तिकै नजिकैको जुगाड बजारमा ताजा तरकारी बेच्न जानु र बेलुका भोलिपल्ट बजार लाने तरकारी तयार गर्नु उनको दैनिकी हो । हिउँदका ६ महिना बर्खामा सुकाएर राखेको जंगली साग प्रयोग गथ्र्यौं,’ उनले भनिन्, ‘अहिले बाह्रै महिना हरियो तरकारी खान्छौं ।’
सोही गाउँपालिकाकी मुगा शाही हरियो तरकारी बेचेर बालबालिकाको किताब, कापी र लुगाफाटो किन्ने गरेको सुनाउँछिन् । उनका अनुसार बेमौसमी तरकारी खेतीले महिलामा समृद्धि ल्याएको छ । घरायसी खर्चको लागि पुरुषसँग हात फैलाउनु परेको छैन । बरु उल्टै खर्च दिने गरेको उनले सुनाइन् । बेमौसमी तरकारी खेतीले वित्तीय क्षेत्रमा महिलालाई सशक्त बनाउँदै लगेको उनको बुझाइ छ ।
तातोपानी गाउँपालिकाका महिला सामाजिक कुसंस्कारविरोधी अभियानमा छन् । समाजमा ब्याप्त छाउपडी, बालविवाह, बहुविवाह, जारी जस्ता कुप्रथाको सिकार महिला हुने गरेको भन्दै विभेदरहित समाज निर्माण अभियानमा लागेको उनीहरु बताउँछन् । तातोपानी गाउँपालिका उपाध्यक्ष गंगादेवी उपाध्यायले भनिन्, ‘समाजमा महिला–पुरुषबीच हुने विभेदको अन्त्य गर्र्दै अन्धविश्वास र कुसंस्कार सधैंका लागि पन्छाउन चाहन्छौं । यो अभियानमा निरन्तर डटिराखेका छौं । यहाँको अन्धविश्वासी समाज बदल्न अभियान नै चलाएका छौं ।’
उपाध्यायका अनुसार २०७५ भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी संहिताका विषयमा गाउँका महिलालाई प्रशिक्षित गर्ने काम अहिले चलिरहेको छ ।
पातारासी गाउँपालिका–७ की पम्फा बुढा आलु बेचेर वार्षिक डेढ लाख रुपैयाँ कमाउने गरेको सुनाउँछिन् । उनको बारीमा ७० क्विन्टल आलु फल्छ । डेजिरे जातको आलु खेती गरेकी बुढालाई अहिले परिवारको खर्च चलाउन निकै सहज छ । ‘तीन रोपनी जग्गामा आलु खेती गरेको छु, सदरमुकाम लगेर बेच्छु,’ उनले भनिन्, ‘किलोको २० देखि २५ रुपैयाँसम्ममा बेच्ने गरेको छु ।’
आलु उत्पादन र बिक्रीमै उनको अधिकांश समय बित्छ । दुई छोरा र दुई छोरीकी आमा पम्फा छोराछोरीलाई निजी स्कुलमा पढाउन सक्ने हिम्मत बढेको सुनाउँछिन ।
यहाँका किसानले बारीमा उत्पादित आलुबाट घरमै चिप्स बनाएर पनि बेच्छन् । यही गाउँको आलुले खलंगा बजारको माग धानेको छ । ‘अहिले गाउँमा आलुले समृद्धि ल्याउँदै छ,’ स्थानीय भदुरी बुढाले भनिन्, ‘आलु खेतीबाट नुन, तेल खर्च व्यवस्थापनमा रहेको कठिनाइ हटेको छ । छोराछोरी सुर्खेत, नेपालगन्ज र काठमाडौंका निजी स्कुलमा पढ्छन् ।’ पुरुषप्रधान समाजमा महिला अग्रसर भएसँगै परिवर्तनको आभाष हुन थालेको छ ।
यहाँका महिला कृषि उत्पादनमा मात्र सीमित छैनन् । सामाजिक कुरीतिविरुद्ध पनि अग्रसर छन् । तिला–४, रावतवाडाकी पुनम पाण्डे छुई भएको बेला पनि खाना पकाउने महिला हुन् । तीन दिनसम्म घरभित्र पस्न पनि मिल्दैन भन्ने परम्परागत मान्यतालाई चुनौती दिँदै उनले छुई भएको बेला खाना पकाएर परिवारलाई ख्वाइन् । उनले पकाएको खाना परिवारले खाए । तैपनि देउता रिसाएनन् । उनले भनिन्, ‘बनको बाघले खाओस् या नखाओस् मनको बाघलाई ठूलो मानेर विभेदको पहाडले थिचिएर बसेछौं ।’
रावतवाडाकै मेनका योगी छुई भएको बेला गोठ छाडेर घरमा आउने पहिलो महिला हुन् । छुई भएको बेला एक्कासि घरमा पस्दा गाउँले, छरछिमेक चकित भए । छुई भएको बेला घरमा बस्दा देउता लागेर वंश नास हुने र जीवनभर कुभलो हुने भन्दै छिमेकीले कुरा काटिरहे । उनले भनिन्, ‘हाम्रो समाज पुरुषप्रधान भएकोले महिलाले राम्रो काम गरेको पटक्कै राम्रो मानिँदैन ।’ अहिले उनी छुई हुँदा खाना पकाउनेदेखि घरका सबै क्रियाकलापमा सहभागी हुँदै आएको बताउँछिन् । अहिले जिल्लाभर छाउपडीमुक्त अभियान महिला अग्रसरतामा अघि बढिरहेको छ ।
चन्दननाथ–१४ की पार्वती खनाल स्याउ खेतीमा लागेको धेरै भइसक्यो । उनको आधाजसो समय स्याउबारीमै बित्छ । स्याउ गोडमेल र स्याहारसम्भार उनको दैनिकी हो । पछिल्लो समय स्याउ किन्न गाउँमै व्यापारी पुग्न थालेपछि खेतीमा आकर्षण बढेको उनी बताउँछिन् । यसैगरी, कुडारी–३ की कालिका शाही स्याउ खेतीले जीविकोपार्जनमा सहयोग पुग्नुका साथै राम्रो आम्दानी दिइरहेको बताउँछिन् । अहिले स्याउको काँटछाँट र व्यवस्थापन महिला आफैं गर्छन् । यसमा पुरुषको भूमिका छैन । ‘कुनै समय महिला पुरुषको दास जस्तै थिए,’ उनले भनिन्, ‘अहिले जतासुकैबाट महिलाको जीवनस्तर बदलिसकेको छ ।’
जुम्लामा तीन हजार चार सय ५० हेक्टर जमिनमा स्याउ खेती हुुने गरेकोमा नौ सय हेक्टरको स्याउले फल दिन्छ । स्याउ संरक्षणमा अधिकांश महिला नै सहभागी छन् । आफैं किसान, आफैं व्यापारी भएर सुर्खेत, नेपालगन्जका सहरमा पुगेर बेच्ने गरेको उनीहरुले सुनाए । जडीबुटी संकलनदेखि व्यापार, व्यवसायसम्मको सबै काम महिलाले गर्दै आएका छन् । हिउँदमा यहाँका अधिकांश पुरुष कालापहाड जाने भएकोले विकास निर्माणको काम पनि महिलाकै जिम्मामा हुन्छ । उनीहरु सहजै गुणस्तरीय सामग्रीको प्रयोग गरेर काम सकाउँछन् । पर्खाल बनाउनेदेखि सिमेन्ट र काठको काम समेत महिला आफैं गर्छन् ।
कर्णाली राजमार्ग नियमित सञ्चालन भएयता यहाँका महिला सबै क्रियाकलापमा सक्रिय हुन थालेका हुन् । अहिले जिल्लाका सबै बस्तीमा सडक पुगिसकेको छ । नपुगेकोमा पु-याउन स्थानीय सरकार लागिपरेको छ । महिला सशक्तीकरणदेखि अधिकारको लडाइँमा प्रत्यक्ष सहभागी भएर बहस गर्न सक्ने भएका छन्, महिला । कर्णालीका दर्जनभन्दा बढी महिला सरकारी अधिकृत छन् । सयौं महिला नायब, सुब्बा र खरिदार स्तरमा छन् । यहाँका हरेक विद्यालयमा महिला शिक्षिक छन् । सामाजिक संघ–संस्थामा पनि महिलाको वर्चश्व छ ।
हरेक क्रियाकलापमा महिला अग्रसर हुन थालेपछि उपभोक्ता समितिदेखि प्रत्येक सामाजिक कार्यमा उनीहरुको सशक्त उपस्थिति छ । अहिले प्रत्येक स्थानीय तहमा महिला उपाध्यक्ष छन् । केही स्थानीय तहमा प्रमुख पनि महिला नै छन् । चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवाल पछिल्लो समयमा महिलाले नेतृत्व गर्न सक्दैनन् भन्ने भ्रम हटेको बताउँछिन् । उनी भन्छिन्, ‘पुरुषको परम्परागत मानसिकता कायमै छ । तर महिला धेरै अघि बढिसकेका छन् ।’ महिलामा इमानदारी, पारदर्शिता र जवाफदेहिताको अभाव नहुने उनी बताउँछिन् । कर्णालीका महिला अहिले सांसद छन् । राज्यमन्त्री समेत भइसकेका छन् । त्योभन्दा पनि महत्वपूर्ण कुरा– बढ्दो आत्मबलले उनीहरुलाई किनाराबाट विस्तारै मूलधारमा ल्याइरहेको छ ।
प्रकाशित: ११ वैशाख २०७६ ०६:५१ बुधबार