९ मंसिर २०८१ आइतबार
image/svg+xml
अन्य

बदलिँदै बादीको नयाँ पुस्ता

धनगढी - टिनले छाएको घरको आँगनमा डोरीको खटियामा बसेर प्रियंका (१६) र बन्दिका (१५) पढिरहेका थिए । टीकापुर क्षेत्रको पुरानो ऐतिहासिक सत्ती बजारभन्दा केही पर गएपछि बिस्नु कान्तिपुरी बस्ती पुगिन्छ । २० को दशकमा बसेको यो बस्तीलाई अहिले पक्की सडकले छोएको छ । टीकापुर नगरभन्दा पनि पुरानो यो बस्तीले थुप्रै कथा बोकेको छ । प्रियंका श्री राष्ट्रिय आधारभूत मावि अरुणाफाटामा कक्षा ८ मा र बन्दिका सोही स्कुलमा कक्षा ६ मा पढ्छन् । उच्च शिक्षा हासिल गरेर समाजका लागि केही गर्ने सपना उनीहरुको छ ।

‘शिक्षिका बनेर सबैलाई शिक्षा दिनेसोच छ,’ प्रियंकाले सपना सुनाइन् । बन्दिकाले स्वास्थ्य विज्ञान पढेर बिरामीको सेवा गर्ने सपना देखेकी छिन् । अर्की नेहा (१६) ले एसइई दिएकी छन् । उच्च शिक्षा हासिल गरेर समाज सेवा गर्ने उनको धोको छ । ‘धेरै पढेर समाज सेवा गर्ने मेरो चाहना छ,’ उनले भनिन् । यो बस्तीमा अहिलेका पुस्ताका किशोरी भाग्यमानी हुन् । यिनले बाँचिरहेको जस्तै जीवन बाच्ने कुरा १० वर्ष अघिसम्म कल्पनाबाहिर थियोे । किशोरीले स्कुल पढ्ने त धेरै टाढाको विषय । निष्पट्ट अँध्यारोमा उज्यालो आए झैं यो परिवर्तन भएको छ । भनिन्छ, आमा–बाबु र परिवारले जस्तो संस्कार दियो छोरा–छोरी त्यस्तै बन्छन् । अहिलेका बालिका र किशोरीले निर्धक्कसँग पढ्ने वातावरण पाएका छन् । अरु समुदायको जस्तै पढेर भविष्य उज्ज्वल बनाउनुपर्छ भनेर उनीहरुलाई सिकाइएको छ । ‘अचेतना र बाध्यताले पहिले गलत काम गरे पनि अबका छोरीहरुको भविष्य राम्रो होस् भनेर हामीले राम्रो वातावरण बनाइदिएका छौं,’ स्थानीय अरुणा बादीले भनिन् । प्रियंका, बन्दिका, नेहा जस्तै ३–४ वर्षका बालिकादेखि १७–१८ वर्षका युवतीसम्म स्कुल पढिरहेका छन् । भविष्यको सपना देखेर पढाइमा उनीहरुको ध्यान केन्द्रित छ ।

केही पर पुगेपछि टिनले छाएको झुप्रो जस्तो घरको आँगनमा डोरीको खटियामा मिरा बादी (३५) टोलाएर बसिरहेकी थिइन् । यो उमेरमै अनुहारमा चाउरी परेर उमेर ढल्केको जस्तो देखिन्थिन् । धेरै कथा–ब्यथाको बोझले थिचिएको जीवनको भाव उनको मुहारमा पढ्न मिल्थ्यो । उनकी आमा ज्ञानमतीलाई कलिलो उमेरमै देहव्यापारमा लाग्न बाध्य पारिएको थियो । बुबाको जानकारी नभई मिरा जन्मिइन् । उनले अरुले जस्तो बाल्यकालमा बाबुको स्नेह पाइनन् । १२–१३ वर्षको कलिलो उमेरमै उनी लुटिइन् । कलिलै उमेरदेखि दिनहुँ कैयौं पुरुषको यौन तृष्णा मेटाउने ओछ्यान बन्नु पर्दा कतिबेला गर्भवती भइन् पत्तै भएन । छोरो जन्मियो । छोरा राजनको उमेर पनि २० वर्ष पुगिसकेको छ । मिराको बिहे भएको छैन ।

यस बस्तीका स्कुल जाने प्रियंका, बन्दिका, नेहा लगायत किशोरी पुस्ता र मिरा पुस्ताको जीवन कथा दुई युगको जस्तै फरक छ । सन्तानलाई सबैभन्दा धेरै माया गर्ने आमा हुन्छिन् भनिन्छ । आमाले नै शरीरका अंगहरु राम्ररी नफक्रिएकी छोरीलाई परपुरुषलाई सुम्पिने चलन यही बस्तीमा थियो । आमा, हजुरआमाले भोगेका ब्यथा अहिलेका किशोरीका लागी दन्त्यकथा जस्तै लाग्छ । मानव सभ्यताकै हुर्मत लिने यो कहालीलाग्दो अभ्यासमा सबै मूकदर्शक थिए । ‘हाम्रा आमा, हजुरआमा र पुर्खाले यस्तो जीवन बाँचेका थिए भन्दा हामीलाई दन्त्यकथा जस्तै लाग्छ,’ कक्षा ७ मा पढ्ने दीक्षाले भनिन्, ‘हामीले नयाँ संस्कार र जीवन पाएका छौं ।’

विगतमा शरीर बेचेर जिविका चलाएको बादी समुदायमा पछिल्लो १० वर्षमा ठूलो परिवर्तन आयो । बादी बस्तीको नयाँ पुस्ता सम्मानित र प्रतिष्ठित जीवनको दौडमा निस्किसकेको छ ।

कलिलै उमेरमा बलात्कृत हुनुपर्ने, बलात्कारवाटै गर्भ बोक्नुपर्ने, जन्माएको छोराछोरीको बाबु को हो भनेर समेत थाहा नपाउने, अपहेलित जीवन बाच्नुपर्ने र बिहे गरेर घरबार गर्न नपाइने जस्ता शोषण र पीडा आफूहरुले भोगेको यहाँका महिला बताउँछन् । ‘भोको पेट र नांगो शरीरका लागि हामीले त्यस्तो  काम गर्नुपरेको हो,’ राधा बादीले भनिन् ।  
आमाले छोराछोरीकै अघि, छोरीले आमा–बुबा, दाइभाइकै अघि र पत्नीले पतिकै अगाडि परपुरुषसँग सुत्नुपर्ने बाध्यता रहेको कालो समय यहाँका महिलाले युगौंयुग भोगे ।

विगतमा छोरीलाई महिनावारि पनि नहुँदै परपुरुषसँग सुत्न पठाउने गरिएकोमा अहिले पढाएर बिहे गरिदिने चलन सुरु भएको छ । ‘अहिलेका छोरीहरु पहिलेको जस्तो गलत काममा कोही लागेका छैनन्, सबैलाई स्कुल पढाउन थालिएको छ,’ रुक्मिणी बादीले भनिन्, ‘आकाश–पातालको फरक छ ।’

बढ्यो इज्जत
कुनै समय थियो, नयाँ मान्छे अरु कामले बस्तीमा आउँदा समेत सबैले गलत सोच्थे । बस्तीमा आउने मान्छेलाई मोलमोलाइ गरेर तानातान गरिन्थ्यो । अहिले यो बस्तीमा देह व्यापार पूर्ण रुपमा बन्द भएको छ । ‘१०–१२ वर्षपहिले बिस्नु कान्तिपुरीतिर राम्रो मान्छे गए पनि कुरा काटथे,’ स्थानीय प्रकाश साउदले भने, ‘अहिले पूरै परिवर्तन भएको छ । यो परिवर्तन १० वर्षको उपलब्धि हो । बस्तीका बादी समुदायलाई हेर्ने दृष्टिकोण पनि बदलिएको छ ।’ पहिलेदेखि यौनकार्यमा संलग्न महिलाले पनि देहव्यापार छोडेको रुक्मिणीले बताइन् ।

९–१० वर्षयता यो बस्तीमा गलत काम रोकिएको छ । ‘कसैले लुकिछिपी अन्यत्र कुनै ठाउँमा गर्लान्, बस्तीमा हुँदैन,’ उनले भनिन् । देह व्यापार बन्द भएयता बस्तीका बादी समुदायलाई अरुले हेर्ने दृष्टिकोण बदलिएको छ । ‘अहिले अरुलाई जस्तै हामीलाई पनि इज्जत गर्न थालेका छन्,’ अरुणा बादीले भनिन्, ‘गलत कामले नै हाम्रो इज्जत माटोमा मिसिएको रहेछ । अरुको दृष्टिकोण बदलिँदा खुसी लाग्छ ।’ सबैले इज्जतका साथ हेर्दा आत्मसम्मान र खुसी लागेको उनीहरु बताउँछन् ।

बिहे ब्रतबन्ध पनि
बबी बादी ३६ वर्षकी भइन् । १३–१४ वर्षको कलिलो उमेरमा उनको कुमारित्व लुटियो । शारीरिक र मानसिक रुपमा तयार नहुँदै प्रत्येक दिन कैयौं पुरुषको ओछ्यान बन्नुपर्ने उनको बध्यता रह्यो । यौवन सुरु नहुँदै देहव्यापारमा लागेकी बबीको बिहे भएको छैन । उनको एक छोरी र एक छोरा छन् ।

दिनमा कैयौं पुरुषसँग सुतेकी उनलाई छोरी र छोराको बाबु को हो, थाहा छैन । ‘मैले नारकीय जीवन भोगे पनि छोरीले भोग्नु नपरोस् भनेर यो पेसामा लगाइनँ,’ उनले भनिन् । उनले छोरी पढाएर बिहे गरिदिएकी छन् । ‘म जस्तो दुःख र अपहेलना छोरीले भोग्नु नपरोस् भनेर मैले पढाएर बिहे गरिदिए मुहार उज्यालो पार्दैै उनले भनिन्, ‘दुई वर्षकी नातिनी छ ।’ आफ्नो जीवन बर्बाद भए पनि छोरीको जीवन राम्रो बनाउन सकेकोमा उनले गर्व अनुभूति गरिन् । ‘पहिले बिहे गर्ने, ब्रतबन्ध गर्ने चलन थिएन,’ बादी आन्दोलनकी अभियन्ता तथा प्रदेशसभा सदस्य उमा बादीले भनिन्, ‘अहिले बिहे, ब्रतबन्ध गर्न थालेका छन्, यो सकारात्मक परिवर्तन हो ।’

मदन पुरस्कार विजेता पुस्तक ऐनामा पनि यही बस्तीका बादी समुदायमा श्रीमानले आफ्नै श्रीमतीका लागि, छोराले आमाको लागि, आमाले छोरीका लागि ग्राहक खोजेर देहव्यापार गर्ने उल्लेख छ । ऐनाका लेखक साहित्यकार रामलाल जोशी बादी समुदायमा पहिलेभन्दा अहिले धेरै परिवर्तन आएको बताउँछन् । ‘पहिले स्कुल जादैनथे, अधिकाशंको बिहे हुँदैनथ्यो,’ उनले भने, ‘अहिले पढाउन र छोरीको बिहे गर्न थालेका छन् ।’
उमाका अनुसार बाँके, बर्दिया, कैलाली, दाङ र सुर्खेतका केही बस्तीमा बादी समुदायले पहिले ब्रतबन्ध र बिहे गर्दैनथे । अहिले गर्न थालेका छन् ।

शिक्षित बन्दै
मनोज बादी (३२) ले नेपाल कमर्स क्याम्पसबाट स्नातकोत्तर गरेका छन् । उनले विरेन्द्र विद्या मन्दिरबाट एसएलसी उत्तीर्ण गरेका हुन् । बादी पनि अरु जस्तै शिक्षित र क्षमतावान हुन्छन् भन्ने देखाउन चाहन्छन् । ‘यो समुदायमा पनि क्षमता भएका छन्,’ उनले भने, ‘अघिकाले जुन कष्ट भोगे अबका सन्तानले नभोगून् भनेर मैले संघर्ष गरेर पढेको हुँ ।’
उनका भाइ अमृत पनि नेपाल कमर्स क्याम्पसमा अहिले स्नातक तह चौथो वर्षमा अध्ययनरत छन् । आमाले पूरै जीवन दुःख, पीडा र अपमानको आहालमा बिताएर पनि आफूहरुलाई उच्च शिक्षा दिएको उनले बताए । मनोजकी आमा तरुणा ५० वर्षकी पुगिन् । मनेजका बुबा को हुन्, कसैलाई जानकारी छैन । मनोजको दाङ तुलसीपुरकी सरिता बादीसँग बिहे भएको छ । छोरा चिराकलाई नर्सरीमा भर्ना गरेका छन् । ‘यो छोराले अन्य नागरिकसरह सम्मानित जीवन बाच्न सकोस् भनेर वातावरण बनाइरहेका छौं,’ मनोजले भने, ‘पुर्खाले भोेगेको अँध्यारो युग अन्त्य गरेर हाम्रा सन्ततिलाई उज्यालो युग हस्तान्तरण गर्न चाहन्छौं ।’

प्रेरणा स्रोत उमा
उमा बादी समुदायका सबैका लागि प्रेरणा बनेकी छिन् । अपहेलित भएर बाँचिरहेका बादी समुदायबाट पनि प्रगति गरेर सम्मानजनक स्थानमा पुग्न सकिन्छ र अरुले सम्मान गर्ने अवस्था आउँछ भनेर सबैमा हौसला र उत्साह बढेको पार्वती बादीले बताइन् । उमा यही बस्तीकी वासिन्दा हुन् । बिस्नु कान्तिपुरीको पहिचान बदलिनुमा मुख्य भूमिका उनकै छ । समुदायको मुक्तिका लागि २०६४ सालमा ४८ दिनसम्म भएको आन्दोलनको नेतृत्व उमाले गरिन् । अर्धनग्न तस्बिर सहित सिहंदरबारको गेटमा चढेको उनको तस्बिर चर्चित बन्यो । पछि नेपाली काँग्रेसबाट समानुपातिक कोटामा उनी सुदूरपश्चिम प्रदेशसभाको सदस्य निर्वाचित भइन् । बेलायतबाट प्रसारित रेडियो बिबिसीले विश्वभरका सय उत्प्रेरणादायी र प्रभावशाली महिलाको सूचीमा उनलाई राख्यो । ‘अहिले मलाई र मेरो समुदायलाई हेर्ने दृष्टिकोण धेरै बदलिएको छ,’ उनले भनिन् ।

आमाको नाममा नागरिकता दिनुपर्ने लगायत माग राखेर उनले गरेको आन्दोलनको बलमा आमाको नामबाट नागरिकता दिने व्यवस्था भएपछि बाबु थाहा नभएकाहरुले नागरिकता बनाउन पाएका छन् । देहव्यापार गर्ने बादी समुदायबाट उनै उमा नीति–निर्माण तहमा पुगिन् । अहिले समुदायका अन्य मान्छेमा पनि उमाको सफलताबाट हौसला बढेको छ । ‘उमा दिदीको कारण हामी सबैमा उत्साह र हौसला बढेको छ,’ श्यामदेवी बादीले भनिन् ।

शरीर बेचेर पनि छोरीलाई उज्यालो
लम्की चुहा–४ की सीता बादी (४०) को बिहे भएको छैन । उनका तीन छोरी छन् । ती छोरीका बुबा को हुन्, उनलाई थाहा छैन । आफू जस्तै छोरीले दुःख नपाऊन् भनेर उनले तीनैवटीलाई पढाइरहेकी छन् । जेठी कक्षा १२ मा, माइली १० र कान्छी १ मा पढिरहेका छन् ।

‘पहिले आमा–बुबालाई चेतना थिएन । पेट पाल्नकै लागि बाल्यकालदेखि शरीर बेच्नुप¥यो,’ उनले भनिन्, ‘मैले यस्तो जीवन बाँचे पनि छोरीलाई केही कुराको कमी हुन नदिई पढाइरहेकी छु ।’ छोरीहरुको जीवन बर्बाद गर्नु हुँदैन भनेर अरुले पनि पढाइरहेका छन् । ‘मेरो पनि बिहे भएन, आमाले यही काम सिकाउनुभयो, पूरै जीवन यसैगरी बित्यो,’ अर्की महिला शान्ती (४०) ले भनिन्, ‘अहिले आएर हाम्रा आँखा, कान खुलेका छन्, त्यसैले छोरीलाई यो पेसामा लगाएका छैनौं ।’

रोजगारतर्फ उन्मुख
४० वर्षीया कल्पना बादीले जिविकोपार्जनका लागि व्यवसाय सुरु गरेकी छन् । उनको बिहे भएको छैन । उनले बिस्नु कान्तिपुरी बस्तीनजिकै सडक छेउमा किराना पसल सञ्चालन गरेकी छन् । ‘मेहनत गरेर  जिविकोपार्जन गर्नुपर्छ भनेर मैले व्यवसाय थालेको हुँ,’ उनले भनिन्, ‘गलत काम गरेरभन्दा व्यवसाय गरेर कमाएको पैसाले आत्मसम्मान र सन्तुष्टि मिल्दोरहेछ ।’ बादी समुदायका महिला र पुरुष जिविकोपार्जनका लागि व्यवसाय, मजदुरी, कृषि पेसा पनि गर्न थालेका छन् । यौन पेसा बन्द भएपछि बस्तीका प्रायः युवा मजदुरी गर्न भारतका विभिन्न सहर पुगेका छन् । कतिपय युवती समेत मजदुरी गर्न भारत गएका छन् । ‘सरकारले रोजगारीका लागि केही ध्यान दिएको छैन । त्यसैले सबैजसो युवा मजदुरी गर्न भारत गएका छन्,’ उमाले भनिन् ।

पहिले युवतीहरु देहव्यापार गर्थे भने युवाहरु आफ्नै दिदीबहिनीलाई ग्राहक खोजेर दुई छाक टार्थे । अहिले श्रम बेचेर जिविकोपार्जन गर्न थालेको उनीहरु बताउँछन् । बादी बस्तीमा युवा देखिँदैनन् । ‘बेरोजगारी छ । सरकारले कुनै सीप, रोजगारीको व्यवस्था नगरेकाले युवा भारतमा मजदुरी गर्न गएका छन्,’ उनले भनिन् ।

थर परिवर्तन
बादी समुदायको व्यक्ति भनेर चिनाउँदा अवहेलना हुने डरले उनीहरुले थर बदल्न सुरु गरेका छन् । ‘हामी पहिलेको जस्तो गलत काम नगरे पनि बादी भन्नेबित्तिकै गलत नजरले हेर्ने भएकाले थर बदलेका छौं,’ १६ वर्षीया खुसीले भनिन् । सबैले नेपाली लगायत थर लेख्न थालेका छन् । पहिलेको जस्तो गलत काम अन्त्य भएर अन्य समुदायको जस्तै सम्मानित जीवन बाच्न चाहेका कारण अहिलेका छोराछोरीले थर बदलेर समाजमा नयाँ पहिचान बनाउन खोजेको उमाको भनाइ छ । प्रायःले बादीको ठाउँमा नेपाली लगायत थर लेख्न सुरु गरेका छन् । स्नातकोत्तर गरेका मनोजले पनि नेपाली थर नै लेखेका छन् ।

पुरानालाई समस्या
बस्तीमा पूर्ण रुपमा देहव्यापार बन्द भएपछि पहिले यसमा संलग्न महिलालाई जिविकोपार्जन गर्न समस्या भएको कमला बादीले बताइन् । बादी समुदायका महिलाका लागि रोजगारी सिर्जना गर्न सरकारले ध्यान नदिएको उनीहरुको गुनासो छ । ‘शोषणमा परेको समुदायको उत्थान र पुनस्र्थापनाका लागि सरकारले कुनै ध्यान दिएको छैन,’ प्रदेशसभा सदस्य उमाले भनिन् ।

२०६५ पुस २३ गते मन्त्रिपरिषद्को बैठकले बादी समुदायले गर्ने देहव्यापार अन्त्य गरी आर्यआर्जन सहित पुनस्र्थापना गर्ने निर्णय गरे पनि व्यवहारमा लागू नभएको उनी बताउँछिन् । जनता आवास कार्यक्रम भनेर सरकारले घर बनाएको छ । जमिन नहुनेले त्यो घर पनि पाएका छैनन् । बनाएको घर पनि टिनले छाएको, राम्रो नभएको उनी बताउँछिन् । संघ, प्रदेश कुनै सरकारले पनि बादी समुदायको पुनस्र्थापनामा ध्यान नदिएको उनको भनाइ छ । ‘प्रदेशसभा बैठकमा पटकपटक अवाज उठाउँदा पनि ध्यान दिइएको छैन,’ उनले भनिन्, ‘बादी समुदायका नागरिकप्रति अहिले पनि दोस्रो दर्जाकै व्यवहार भएको छ ।’ कैलालीको बलचौर छेउमा रहेका मुक्त कमैयाको पुनस्थार्पना गर्दा बादी समुदायको बिजोग रहेको उनले बताइन् ।

‘पुख्र्यौली पेसा होइन’
बादी समुदायको पुख्र्यौली पेसा मादल, सुल्फा, चिलिम, तबला बनाउने हो । बाइसे, चौबिसे राजाका पालादेखि नै यो समुदायका चेलीमाथि यौनशोषण भएको बादी आन्दोलनका अभियन्ता उमा बताउँछिन् । ‘बादी समुदायको पुख्र्यौली पेसा यौन व्यापार होइन,’ उनले भनिन्, ‘पछि बाध्यताले यसमा घँचेटिएका हुन् ।’

बाइसे, चौबिसे राजाका पालामा दरबारमा बिहे, चाडपर्व लगायत नाचगानका लागि बादी समुदायका महिला जान्थे । पछि राजा–रजौटाले नाचगान हेर्ने र यौन मनोरञ्जनको लागि उनीहरुलाई प्रयोग गरे । ‘मादल, सुल्फा, चिलिम लगायत सामग्री बनाएर र नाचागन गरेर जिविकोपार्जन गर्न समस्या भयो । जग्गा–जमिन भएन । अन्य रोजगारी आयआर्जनको माध्यम भएन । भोको पेटको आगो निभाउनै प¥यो र नांगो शरीर ढाक्नै प¥यो । बाध्य भएर यौनव्यापारमा लागेका हुन्,’ उनले भनिन् । बादी समुदायका छोरीलाई पढ्नबाट वञ्चित गरिएको थियो । स्थायी बसोवास थिएन । आज यहाँ छन् त भोलि कुन खोलाको किनारमा बस्नु पथ्र्यो । ‘म र मेरो समुदायले त्यो दुःख भोगेर आएको हो,’ उनले भनिन् ।

धेरैजसो बस्तीमा बादी समुदाय पूरै बदलिएको अभियन्ता उमा बादीले जानकारी दिइन् । दाङ जिल्लाको सबैतिर र बाँकेमा देहव्यापार पूर्ण रुपमा बन्द भएर इज्जतका साथ बस्न थालेको उनले बताइन् ।
बर्दियाको पत्थरवोझी, बनघुसुरीमा बन्द भएको उनको भनाइ छ । कैलालीमा बिस्नुकान्तीपुरी लगायत केही ठाउँमा बन्द भएको छ । 

कैलाली र बर्दियाको केही ठाउँमा भने अहिले पनि लुकिछिपी फाटफुट देहव्यापार भइरहेको उनको भनाइ छ । लुकिछिपी गर्नेहरु पनि पहिलेका तुलनामा बदलिएका छन् । ‘पहिले कलिलै उमेरदेखि असुरक्षित यौन सम्पर्क राखेर बाबुबिनाका सन्तान जन्माउँथे । अहिले लुकिछिपी गर्ने ठाउँमा पनि अस्थाइ साधन प्रयोग गरेर सुरक्षित सम्पर्क गर्ने गरेका छन्,’ मिनु बादीले भनिन् । फाटफुट लुकिछिपी देहव्यापार हुने बस्तीका बालबालिका पनि स्कुल जान्छन् ।

टीकापुर–५ र ७, लम्हीचुहा नगरपालिकाको बलचौरी, भल्का, स्याउले, मुढा लगायत कैलाली जिल्लाभर बादी समुदाय फैलिएर बसेको उनले बताइन् । कैलालीमा पाँच हजार जति बादी रहेको उनले बताइन् । सुदूरपश्चिमका नौवटै जिल्लामा बादी समुदायको बसोबास छ । २०६८ सालको जनगणना अनुसार सुुदूरपश्चिममा १० हजार सात सय ८६ बादी जनसंख्या छ । जातीय विभेद भोगिरहेका दलित समुदायमा पनि बादी बढी पिछडिएको र हेपिएको छ । कञ्चनपुरमा बादीले दास, कुमाल भन्ने गरेका छन् । २०६५ पुस २३ गते मन्त्रिपरिषदको बैठकले बादी समुदायमा रहेको बाध्यात्मक यौनव्यापार अन्त्य गरी आयआर्जन सहित पुनस्र्थापना गर्ने निर्णय गरे पनि व्यवहारमा लागू नभएको उनीहरु बताउँछन् ।

 

प्रकाशित: ११ वैशाख २०७६ ०५:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App