१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

बुद्धको जीवनी र रिटुकको निर्यात बढी

मण्डला थांका। तस्बिर: श्याम राई

नेपालबाट सबैभन्दा बढी बुद्धको जीवनी र युएल अफ लाइफ (रिटुक) थांका निर्यात हुने गरेको छ।

बौद्धस्थित बौद्ध स्तुपा थांका सेन्टरका प्रमुख अनिल लामाका अनुसार बुद्धको जीवनी र युएल अफ लाइफ थांका बढी निर्यात हुने गरेको छ। ‘ध्यान गर्न तथा सजावटका लागि बाहिरी देशबाट थांकाको माग हुने गरेको छ,’ उनले भने।

गुणस्तर अनुसार थांकाको मूल्य तोकिएको उनले बताए। उनका अनुसार थांकाको मूल्य एक हजारदेखि १० लाख रूपैयाँसम्म पर्छ। लामा, शेर्पा लगायत जातिले घरमा राखेर पूजा गर्न र बुद्धको देवता राख्नलाई थांका किन्छन्।

नेपालबाट चीन, अमेरिका, जापान, भियतनाम, सिंगापुरलगायत देशमा थांका निर्यात हुन्छ। थांका सजावट गर्न र उपहार दिनका लागि किनिन्छ।

पसलमा दैनिक १०–२० ग्राहक आउने गरेको उनले बताए। ‘कोही थांका किन्छन् त कोही यसबारे बुझ्न आउँछन्,’ उनले भने। उनका अनुसार थांका किन्नेमा बढी विदेशी छन्।

एक वर्षमा करिब दुई करोड रूपैयाँको थांका निर्यात हुने गरेको उनले जानकारी दिए।

नीलो, हरियो, सेतो, रातो र पहेलो पाँच रङ मिक्स गरी थांका कोरिने उनले बताए। उनका अनुसार यो लेखाइ कला हो। ‘थांका कोर्न गाह्रो पनि छ। ६ फिटको थांका कोर्न ९ महिना लाग्छ,’ उनले भने। थांका कोर्दा आँखालाई असर गर्ने उनी बताउँछन्। त्यसकारण ५० वर्षभन्दा माथिको व्यक्तिले थांका कोर्न सक्दैनन्।

थांका कोर्ने कलाकार घटे 
पछिल्लो समय थांका कोर्ने कलाकार पनि घटेको उनी बताउँछन्। ‘१२ वर्षअघि ३० हजहार आर्टिस्ट (थांका कोर्ने कलाकार) थिए, अहिले पाँच हजार मात्रै छन्,’ उनले सुनाए। यसको संरक्षणका लागि सरकारले चासो दिनुपर्ने उनको माग छ।

थांकाको प्रचलन आठौँ शताब्दीदेखि सुरु भए पनि नेपालमा भने १२ औँ शताब्दिदेखी चलेको मानिन्छ। सिजनका बेला दैनिक २५–३० थांका बिक्री हुने जाम्बला थांका ट्रेजर बौद्धका प्रमुख व्यापारी कुमार घिसिङले बताए। ‘भदौदेखि कात्तिकसम्म पर्यटकको सिजन हो,’ उनले भने, ‘अरु बेला कमै थांका बिक्री हुन्छ। तर, घाटा भने हुँदैन।’

थांका बुद्धिज्ममा आधारित भएकाले यसको धार्मिक महत्व रहेको जानकार बताउँछन्। बढी शेर्पा, लामा र तामाङ जातिले किन्ने गर्छन। तामाङहरुको प्रत्येक घरमा थाङ्का राख्नै पर्छ।

बुद्धिष्ट परम्परा थांका समितिका अध्यक्ष होमबहादुर लामाले नेपालमा थांका व्यवसाय खस्किदै गएको बताए। ‘पहिले बाहिर देशबाट थांकाको धेरै माग थियो,’ उनले भने, ‘अहिले घटेको छ। सरकारबाट संरक्षणको लागि केही सहयोग पाएका छैनौ। सरकारलाई नैै यसबाट आर्थिक घाटा भएको छ।’ थांकासम्बन्धी शैक्षिक पाठ्यक्रम बनाउन आवश्यक रहेको उनी बताउँछन् । 

प्रकाशित: ९ वैशाख २०७६ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App