तपाईँकाे को विचारमा सहर भनेको के हो?
सहर सुविधायुक्त आकर्षक ठाउँ हो। सहरमा मानवीय आवश्यकताका सुविधा हुन्छन्। अर्को अर्थमा, सहर अलि अग्ला गुजुप्प घर भएको कलात्कमक ठाउँ पनि हो। जहाँको बाटो चौडा हुन्छ। शिक्षा, स्वास्थ्य, यातायात, बिजुलीबत्ती, खानेपानीलगायत सुविधासँगै दैनिक जीवनमा आइपर्ने आवश्यकता पूरा गर्न सकिन्छ। जनघनत्व बढी भए पनि त्यहाँको प्रशासनले सहरलाई व्यवस्थित राखेको हुन्छ।
घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मैले विश्वमा धेरै नमुना सहर घुमेँ। तर, मलाई आफ्नै देशका सहरले छुन्छ। जस्तो भए पनि नेपालकै सहर सुन्दर लाग्छन्। नेपालभित्र मलाई मनपर्ने सहर पोखरा हो। पोखरा सफा र शान्त छ। यहाँ हिमाल, ताल र प्राकृतिक हराभरा हेर्न पाइन्छ। पोखरामा घुम्ने र रम्ने ठाउँ प्रशस्त छन्। त्यहाँका मठ मन्दिरको विशेषता पनि आफ्नै खालको छ। काठमाडौं पनि पोखराजस्तै सफा भइदिए हामी कति भाग्यमानी मान्थ्यौं होला। तर, यहाँको व्यवस्थापकीय पक्ष निकै कमजोर भयो। सरकारी निकायले सहरको विकासमा समन्वय गरेनन्। कागजी योजनामात्रै बनाएर समयको बर्बादी गरे।
मानिस सहर पस्नुका कारण के–के हुन् सक्लान् ?
मेरो जन्मथलो प्युठान हो। मैले पढेको र एसएलसी दिएको दाङबाट हो। एसएलसी दिएपछि म असली सपना बोकेर काठमाडौं छिरेकी थिएँ। सहर सपना पूरा गर्न आउने ठाउँ हो। पछाडि पारिएका मानिसको लागि सहर लक्ष्य पूरा गर्ने र आधुनिकताको अनुभव बटुल्ने ठाउँ पनि हो। सबै मान्छे फरक–फरक सपना किन्न र पूरा गर्नका निम्ति सहर पसेका हुन्छन्। म पनि केही थान सपना बोकेर सहर छिरेकी थिएँ।
‘सहर सपना पूरा गर्न आउने ठाउँ हो। पछाडि पारिएका मानिसका लागि सहर लक्ष्य पूरा गर्ने र आधुनिकताको अनुभव बटुल्ने ठाउँ पनि हो। सबै मान्छे फरक–फरक सपना किन्न र पूरा गर्नका निम्ति सहर पसेका हुन्छन्। म पनि केही थान सपना बोकेर सहर छिरेकी थिएँ।
तपाईंले संगालेका सपना के–के थिए ?
सायद म काठमाडौं छिर्दा सानै थिएँ। त्यतिबेला लगभग ३/४ वर्षकी थिएँ जस्तो लाग्छ। सानैमा आएर सिद्धार्थ वनस्थलीमा कक्षा ५ सम्म पढेकी थिएँ। त्यसपछि म दाङ फर्किएँ। दाङमा गएर कक्षा आठमा भर्ना भएँ। २०५० सालमा त्यहीबाट एसएलसी दिएँ। त्यसपछि उच्च शिक्षा हासिल गर्नको लागि पद्मकन्या क्याम्पसमा आएर भना भएँ, कक्षा ११ मा। पढाईको लागि काठमाडौं आउँदा सुरुमा मलाई यो ठाउँ मन पर्दैनथ्यो। आमाबाबा र आफ्नै गाउँठाउँको माया लाग्थ्यो, याद आइरहन्थ्यो। एसएलसी दिएपछि परिवारका सदस्यले काठमाडौं नै गएर पढ्नुपर्छ भने। ‘बरु एकछाक किन खान नपरोस् तर सहरमै बस्नुपर्छ,’ ममीको हजुरबुबाले काठमाडौं आउनुपूर्व भन्नुभएको कुरा अहिले पनि याद छ मलाई। मलाई उहाँको कुरा ठिक लाग्यो। किनकी केही सपना पूरा ठाउँ पनि त्यही किसिमको चाहिन्छ। सहरभित्र बसेर लडियो भने सफलता हासिल गर्न सकिन्छ भन्ने लाग्यो। त्यसपछि काठमाडौं आएर पढाइमा तल्लीन भएँ। बिहे पनि यतै भयो र चलचित्रमा प्रवेश पनि गरेँ।
सहरमा नपसेर गाउँमै बसेको भए के बन्थेँ भन्ने लाग्छ?
एउटा घरकी सोझी बुहारी बन्थेँ होला। मेलापात, घरभित्रको काम गर्थे होला। खेतीपाती गर्थे होला। घास दाउरा बोक्थे होला। आफ्नो घर र गाउँमै रुमलिएकी हुन्थे होला। तर, यो ठाउँमा आएर शिक्षित मान्छे भेटेपछि मैले आफ्नो जिन्दगीलाई नै अर्कैतर्फ मोड्ने अवसर पाएँ। सहरमा आएपछि मेरो बाटो खुलेको हो।
के–के सपना पूरा भए ?
सपना र आकांक्षाहरूको कुनै घेरा–परिधि हुँदैनन्। मैले सहरमा त्यतिधेरै सपना बोकेर त छिरेकी होइन। तर, धेरै सपना पूरा भएका छन्। गाउँबाट आउँदा एकथोक सोचेर सहर पसे पनि मैले सहरमा आएपछि धेरै दुःख गरेँ। सुरुमा एउटा बैंकमा जागिर खाने र जीविका चलाउने भन्ने सोचेकी थिएँ। बीचमा पढ्दै जादा, मानिसको संगत बढ्दै जादा र कलेजमा डान्स प्रतियोगितामा भाग लिँदै गर्दा म अर्कैतिर मोडिए। कलाकार बनेर चलचित्रमा चिनिनँ पाएँ। पढाइलाई पूर्णता दिएँ। केही हदसम्म भए पनि सफल भए। सहर यात्रा र सपना अझै बाँकी छन्। ती सपना र यात्रा अझै पूरा गर्नु छ।
काठमाडौं कस्तो लाग्छ?
काठमाडौं असाध्यै राम्रो लाग्छ, मात्रै यहाँको व्यवस्थापकीय पक्ष राम्रो नभएर बिग्रिएको हो। काठमाडौं मनपर्ने कारण धेरै छन्। वरिपरिका डाँडाकाँडा हेरेरै पनि म काठमाडौंका दुःख बिर्सन सकिन्छ। काठमाडौंको बीचको भाग भद्रगोल र अस्तव्यस्त भए पनि यहाँ नजिक–नजिक धेरै विविधता बोकेका गाउँ छन्। पछिल्लो समय यो महँगो ठाउँ बनेको छ। यद्यपि यहाँ काठमाडौंमा सबैथोक पाइन्छ।
सहरमा कुन–कुन सेवा सुविधा हुनुपर्छ?
हरेक पक्षमा अग्रणी भूमिका सहरले खेलेको हुन्छ। सुरक्षाको हिसाबमा पनि सहर उत्तिकै संवेदनशील मानिन्छ सहर । सहरमा हिजोको कला संस्कृति र पुर्खाले सिर्जेका सम्पत्ति हुन्छन्। हाम्रोमा ती पक्ष नभएका होइनन्। तर, तिनको सदुपयोग र उचित व्यवस्थापन हामीले गर्न सकेनौं।
तपाईंको विचारमा काठमाडौं कसरी बिग्रियो?
काठमाडौंमा प्लानिङबिना घर बनेका छन्। यहाँका भवन हेर्दै असुरक्षित छु भन्ने महसुस हुन्छ। सहरमा खाली ठाउँ पनि छैन। भएभरका खाली जमिन थमाधम भरिँदै छन्। काठमडौंको सहरको संरचना सरकारले नै बिगारेको छ। सरकारले सहरलाई हानी पु-याउने कुनै पनि काम नियन्त्रण गर्न सकेन। जसलाई जे लाग्यो, त्यही ढंगले काम भइरहेको छ। धेरैजसोमा नैतिक शिक्षाको खडेरी छ। नागरिकले पनि सरकारी निकायलाई खबरदारी गर्न सकेनन्।
मन भएर पनि घुम्न नपाएको सहर?
मैले धेरैजसो देशका सहर घुमिसकेकी छु। घुम्न मन लागेको सहर बालि हो।
नेपालबाहिर कहाँ कहाँ पुग्नुभएको छ?
जापान, अमेरिका, अस्टेलिया, लण्डनलगायत देशका सहर घुमेको छु।
कस्तो लाग्यो त्यहाँका सहर?
धेरै कुरामा भिन्नता छ। बाटोघाटो, नीति नियम, ऐन कानुन, एकअर्कामा गर्ने व्यवहार, नैतिक शिक्षालगायत हरेक पक्षमा विदेशी अगाडि छन्। त्यहाँका मानिसको बानी व्यवहार पनि राम्रो लाग्यो। अस्ट्रेलियाका सबै चिरिच्याट्ट छन्। सिड्नी अलि ‘प्याक’ सहर भए पनि निकै व्यवस्थित छ। अस्ट्रेलियामै कतिपय त्यस्ता ठाउँहरू छन्, जहाँ पुग्दा लाग्छ– त्यो ठाउँले कसैलाई पर्खिरहेको छ। मेलवर्न ‘युनिक’ र सुन्दर छ नेपालकै पोखराजस्तो। कहिलेकाहीँ त कार्यक्रमका लागि विदेशका सहर घुमिरहँदा नेपालका सहरको सम्झना आउँछ। जब नेपाल फर्किन्छौं त्यसपछि यहाँको अव्यवस्था देख्दा दिक्क लाग्छ।
त्यहाँका सहर घुमिरहँदाखेरी नेपालका सहर पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्दैन ?
एकदमै लाग्छ। हाम्रा नेता त्यति धेरै विदेश घुमिरहेका हुन्छन् आखिर यहाँ आएर के सिकेर जान्छन् होला भन्ने लाग्छ। तालिम लिन आएका नेताहरूले नेपालमा किन केही गरेनन् भन्ने लाग्छ। त्यस्तो देख्दा नेताहरूलाई गाली गर्न मन लाग्छ। नेपालका सहरलाई पनि यस्तै सजिलो बनाइदिए हुन्थ्यो भनेर मन कल्पिरहेको हुन्छ।
हाम्रा र त्यहाँका सहरबीच के भिन्नता पाउनुभयो?
विदेशमा कुनै पनि सहरलाई हेर्दा बनाएको नयाँ कुरा र जोगाएको पुरानो कुरा हेरिन्छ। हामीले प्रकृतिले दिएको वरदानलाई हामीले चिन्न सकेनौँ। ऐतिहासिक सम्पदाको मुल्य बुझिरहेका छैनौँ। ऐतिहासिक र भौगोलिक पक्षलाई हेर्दा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन्। सरकारले सहरको विकासतर्फ ध्यान नदिँदा भएका सम्भावना पनि लुकेर बसेका छन्। विदेशका मानिसकै जोस जागरले सहर सजिएका छन्। संसारलाई नै चुनौती दिने सौन्दर्य बनेका छन्।
काठमाडौंको मन पर्ने पक्ष?
काठमाडौं एकदमै मनपर्ने पक्ष हावापानी हो। यहाँको मौसम सदावहार छ। यहाँ धेरै गर्मी पनि हुन्न र धेरै जाडो पनि हुन्न। ठिक्क मौसमले सबैलाई तानिरहेको हुन्छ। संसारमा मौसम ठिक भएको ठाउँमध्ये यो पनि उत्कृष्ट छ।
सहरवासीको बानी व्यवहार कस्तो लाग्छ?
हामीले खाली सरकारलाई मात्रै दोषी देखाउँछौं। कहिल्यै पनि आफूले आफूलाई गलत भन्न सकेनौं। राम्रो कामको निम्ति हातेमालो गर्न जानेनौं। यही कारणले सहर बिग्रिएको हो। हरेक नेपालीले आफूले आफूलाई प्रश्न गर्ने, सोच्ने र विकास निर्माणका काममा सरकारलाई सघाउन आवश्यक छ। हामी सबै गैर–जिम्मेवारी भएकाले सहर यति कुरूप भएको हो। सहरमा बस्ने कसैलाई पनि जथाभावी फोहोर फाल्नु हुन्न, सहर बिग्रन्छ भन्ने चेतना छैन। चेतना भएकामा पनि अनुशासन छैन। अर्को कारण राजनीति पनि हो। यहाँ हरेक ठाउँमा राजनीति हुन्छ। नेतृत्वमा भएका ठुल्ठूला नेता लगभग विश्व नै घुमिसकेका छन्। तर, अरु सहरको सिको गर्न सकेनन्।
काठमाडौंको नपर्ने पक्ष?
यहाँको प्रदूषण र अव्यवस्थता देख्दा दिक्दार लाग्छ। हामी नागरिक पनि सहर बनाउने विषयमा ध्यान दिन सकेनौं। सरकारी निकायलाई सही मार्गमा हिँडाउनको लागि हातेमालो गर्न सकेनौं। हिजोमात्रै पशुपतिनाथ क्षेत्र गएकी थिएँ, त्यहाँ दृश्य देख्दा दिक्क लाग्यो। भक्तजनलाई सामान्य सुविधा पनि दिइएको छैन। त्यहाँ भक्तजनका चप्पल पनि फालिदिन्छन्। स्यंसेवकको व्यवहार ठिक भएन।
सरकारले कसरी काम गर्ने हो भने सहर व्यवस्थित बन्ला?
यहाँ कानुन छ। तर, पालना हुँदैन। भएका नीति–नियमलाई कार्यान्वयन गराउने हो भने सहर व्यवस्थित हुन्थ्यो। यसतर्फ सरकार र राज्यले विशेष ध्यान दिएर जागरुक हुन जरुरी छ। राज्यले सबैलाई बाटो देखाउने गरी काम गर्नुपर्छ जस्तो लाग्छ।
तपाईं कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
हामीले अरुको राम्रो कुरा अपनाउनुपर्छ। सहर बनाउनुको लागि सबै मिल्नुपर्छ। जताततै खाली ठाउँ होस्। सबैका आवश्यकता पूरा हौंन। स्वास्थ्य, शिक्षा र यातायात क्षेत्र राम्रो होस्। सहरको वातावरण पनि सुन्दर बनोस्। यति भए पुग्छ।
विदेशका सहरको मौलिक र ऐतिहासिक पक्ष कस्तो लाग्यो?
मौलिकता र इतिहासलाई हेर्दा हामी धेरै अघि छौँ। हाम्रा सहरको विशेषता र मौलिकता अरु देशका सहरभन्दा पृथक छन्। यहाँका सहरले पुरानो इतिहास बोलेका छन्।
सहरको मिठो लाग्ने खानेकुरा?
मःमः र छोयला मनपर्छ।
प्रस्तुति: शिवहरि घिमिरे
प्रकाशित: ६ वैशाख २०७६ ०५:३० शुक्रबार