बाटोमा निर्माण सामग्री राखिएको छ
सरिता सैजु, गृहिणी
भक्तपुरको विशेण बिस्का जात्रा (बिस्केट जात्रा) २७ बाट सुरु हुन्छ। अबको वडाको समस्या भनेको बाटोमा राखिएका निर्माण सामग्री देखिन्छ। किनभने जात्रामा तीन तल्ले भैरवनाथको रथ तानिन्छ। अर्को समस्या चारपांग्रे निषेध भनेर राखेको लठ्ठा पनि हो। रथ तान्ने बेला यो निकाल्ने हो कि होइन। यसको बीचबाट रथ छिर्छ भन्छन्। यो गाडी भए त सजिलै जान्थ्यो होला र यो रथ भएको करणले भनेको जसरी कहाँ हुन्छ र। यो पनि समस्या छ अहिलेको जात्रामा।
रातभरी सुत्नै पाइँदैन
महेन्द्रकुमार कर्माचार्य, वयापारी
वडाको समस्या त धेरै छन्। तर, जात्राको बेलामा रातभरी सुत्न नपाइने समस्या देखिन सक्छ। हाम्रो घर ठ्याक्कै बाटोमा परेकाले २७ गते रथ तान्ने बेलामा त सुत्नै नपाइएला भन्ने पीर छ। वर्षेनी यस्तै चलिआएको छ।
झैझगडा हुन नदिन वडाले व्यवस्थापन गरेको छ कि छैन ? यसअघिका जात्रामा झगडा हुने गरेको थियो। जात्राको दुई दिन त टेन्सन हुन्छ।
ठाउँको समस्या, स्वर्णिमा मूल
वडा नम्बर ५ भेलुखेलमा जात्रालुलाई हेर्ने ठाउँ छैन। यहाँ चैत ३० गते उठाइने ५५ हातको हात भएको लिंगो हेर्ने आउने धेरै हुन्छन्। जात्रा हेर्न काठमाडौं, ललितपुर तथा काभ्रेबाट जात्रालु आउने गर्छन्। तर, यहाँ ठाउँको अभाव देखिन्छ। लिंगो तान्ने र उठाउने मान्छेलाई नै ठाउँ ठिक्क छ। लिंगो तान्ने जात्रालु पनि कुनै बेला डोरी चुँडियो भने त हनुमन्ते खोलामा खस्छन्। त्यसको लागि केही बार राख्नुपर्ने देखिन्छ। हेर्न ठाउँको राम्रो व्यवस्था नभएकै कारण महिला यो लिंगो हेर्न जाँदैनन्। त्यसैले म पनि यो लिंगो हेर्न जाँदिनँ। त्यसमाथि यो जात्रा बेलुका हुन्छ।
जात्रा व्यवस्थित गर्छाै
प्रेमगोपाल कर्माचार्य
वडा अध्यक्ष
हामी बिस्केट जात्रालाई सद्भावपूर्ण रूपमा सम्पन्न गराउने प्रयासमा छौं। यसका लागि जात्रासँग सम्बन्धित सबै कुराको कुशल व्यवस्थापनको तयारीमा छौं, जस्तो: बिस्केट जात्रा सुरु हुने पहिलो दिन चैत २७ गते सद्भाव ¥याली गरी नगर परिक्रमा गर्नेछौं। जात्रालाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न स्वयमसेवक परिचालन गर्नेछौं। नगरका टोलटोलका टिम, क्लब, वाचनालय लगायतका स्वयमसेवी साथी खटिनुहुनेछ। जात्रा हुने ठाउँमा निरन्तर सरसफाइ गरिरहेका छौं। जात्रास्थलमा रहेका निर्माण सामग्री हटाउन लगाइरहेका छौं। पाँच तले मन्दिरमा सवारीसाधन प्रवेश निषेधका लागि दुई ठाउँमा राखिएका पोल भैरवनाथको रथ तान्ने दिन झिक्नेछौं। जात्रालाई व्यवस्थितरूपमा सञ्चालन गर्न हामीले भरपूर तयारी गरिरहेका छौं।
प्रस्तुति: रेणु त्वानाबासु
प्रकाशित: २९ चैत्र २०७५ ०३:२५ शुक्रबार