नायिका निरुता सिंह, नब्बेको दशकमा नेपाली फिल्म उद्योगमा एकछत्र राज गरेकी नायिका हुन्। नेपाली मूलकी भारतीय नागरिक सिंह, लामो समयको अन्तरालपछि फेरि नेपाली फिल्मको रजतपटमा फर्किएकी छिन्। फिल्म ‘दाल, भात, तरकारी’को छायांकनका लागि नेपाल आएकी उनी फिल्म क्याप्टेनको एक गीतमा समेत देखा परिन्। यताको काम सक्काएर फेरि आफ्नै देश भारत जान हतारिएकी नायिका निरुता सिंहसँग नागरिक परिवारका लागि पुष्पा थपलियाले गरेको कुराकानी :
तपाईंको विचारमा फेसन भनेको के हो?
जे लगाउँदा आफूलाई कन्फर्टेबल फिल हुन्छ, त्यही नै फेसन हो जस्तो लाग्छ। अझै यसलाई मिलाएर भन्ने हो भने, जेलाई तपाईंले सजिलोसँग क्यारी गर्न सक्नुहुन्छ। हामीले गर्ने हरेक कुरा फेसन हो। तपाईं कसरी आफूलाई प्रिजेन्ट गर्नुहुन्छ, तपाईं कसरी बोल्नुहुन्छ ती सबै कुरा फेसनअन्तर्गत नै पर्छन्। जो मानिस जस्तो छ, त्यो नै फेसन हो।
लामो समय भारतको मुम्बईमा बस्नुभयो है, नेपालमा फेसन भन्ने बित्तिकै आम मानिसहरुको बुझाइमा कपडा मात्रै भन्ने आउँछ, उतातिर पनि यस्तो हुन्छ?
भारततिर अझै भनाैं म बस्ने मुम्बईतिर फेसन भन्नेबित्तिकै मैले अघि जे भने नि, हो त्यही नै बुझ्छन्। फेरि मुम्बईलाई त फेसनको सहर नै भन्छन् नि त। उतातिर आँखाको मेकअप, हेयरस्टाइल, जुत्ता, गाजलदेखि लिएर मेकअपका हरेक कुराहरुलाई फेसनकै रुपमा लिन्छन्। अब एयररिङ कस्तो खालको लगाउने भन्ने फेसन हुन्छ, ड्रेसअनुसारको मेकअपको फेसन कस्तो पनि छ। यस्ता हरेक कुरा सबै फेसनअन्तर्गतकै रुपमा लिन्छन्। फेसन भन्ने वित्तिकै टाउकोदेखि खुट्टासम्मै जोडिन्छ भनौ न।
तपाईंको फेसन चैं के त? कस्तो फेसन मनपर्छ?
म जे कुरालाई सजिलोसँग क्यारी गर्नसक्छु नि, त्यो नै मेरो फेसन हो। लगाउँदाखेरी जुन कुरा कन्फर्टेबल हुन्छ, त्यो चिजलाई नै हो मैले फोकस गर्ने भनेको। आज यस्तो खालको फेसन आएको छ, यस्तो फेसन ट्रेन्ड चलिरहेको छ, त्यही भएर यो चैं मैले क्यारी गर्नैपर्छ भन्ने मान्यता भने राख्दिनँ। फेसन ट्रेन्डमा चलेका कुरा मलाई कन्फर्टेबल छैन भने, किन प्रयोग गर्ने भन्ने लाग्छ। त्यहि भएर, बजारमा चलेको फेसन भने पनि मलाई सुट गर्दैन भने त्यो मेरो फेसन हैन।
कलाकार भइसकेपछि त अरुका लागि लगाइदिनुपर्छ भन्ने मान्यता छ नि!
(हाँस्दै) त्यही त, भनाइ नै छ नि, खाने आफूलाई, लगाउने अरुलाई भन्छन् तर अरुका लागि लगाउने भन्दैमा आफूलाई कन्फर्टेबल नभइकन, अप्ठ्यारो हुँदाहुँदै पनि अरुका लागि लगाउनु भनेको मलाई राम्रो लाग्दैन। अरुले यस्तो खालको सुहाउँछ भन्दैमा त्यस्तै खालको लगाउँदा, उमेर, ठाउँ लगायतका कुरा नमिल्न पनि सक्छ। मेकअप गर्दा सुहाउँदो, ड्रेसअप गर्दा सजिलो हुने हुनुप-यो। मलाई त जहाँसम्म लाग्छ, आफूलाई कन्फर्टेबल नभएरै लगाएका फेसन अरुका लागि पनि मनपर्छ जस्तो लाग्दैन। लगाउने मानिस नै अटसपटस परिरहेको छ, उसले नराम्रो फिल गरिरहेको छ भने हेर्नेले कसरी पो मन पराउन सक्ला र। त्यही भएर अरुलाई पनि मन पर्नुप-यो र आफू पनि कन्फर्टेबल हुनुप-यो भन्ने लाग्छ।
तपाईंले नेपाली चलचित्र क्षेत्रमा राज गरिरहेको समयमा कस्तो थियो नि फेसन?
पहिले पनि फेसन त निकै थियो। अरुको त थाहा छैन मेरो कुरा गर्ने हो भने म निकै कन्सियस थिएँ पहिले पनि। सिरियस सिनमा कस्तो फेसन गर्ने, हँसिलो सिनमा कस्तो मेकअप गर्ने, ड्रेस कस्तो लगाउने भन्ने कुरामा म निकै ख्याल राख्थेँ। हुन त पहिले शहरिया देखाउन पँधेरो जाँदा पनि हिल लगाएको देखाउने फिल्म थियो भन्छन् तर मेरो मानेमा भने यो कुरा लागू हुँदैनथ्यो। यो कुरा त कलाकारले मात्रै होइन, निर्देशकदेखि ड्रेस डिजाइनर, मकअप आर्टिससम्मले ध्यान दिनुपर्ने कुरा हो। कहाँ जाँदा कस्तो लुगा लगाउने हो, सुत्दा, खाँदा सबैमा आफैँलाई पनि थाहा पाउनुपर्ने कुरा हो।
पहिलेको फिल्मको कुरा गर्दा, गुन्यूचोलीमा मात्रै फिल्म सक्किन्थ्यो। अहिले त प्रत्येक सिनमा फरक–फरक ड्रेस देखिन्छ, कस्तो लाग्छ?
अब पहिले र अहिलेकै कुरा गर्ने हो भने त, पहिले दुई वर्षमा एउटा फिल्म बन्थ्यो अहिले त दुई दिनमै एउटा फिल्म तयार हुन्छ नि त। पहिले अहिलेजस्तो टेक्नोलोजी थिएन, ड्रेस डिजाइनरहरु थिएनन्, त्यसैले यस्तो हुन्थ्यो। मैले खेलेको फिल्म दर्पण छायाँमा भने डिजाइनर नै थिए। अहिले बिस्तारै बिस्तारै हरेक कुरामा बिकास हुँदै आएको छ।
अहिले त डिजाइनर ड्रेस भन्ने बित्तिकै महँगो होला, धनीले लगाउने भन्ने छ, पहिले यस्ता ड्रेसलाई कसरी लिइन्थ्यो नि?
हामी त्यो बेलामा पनि डिजाइनरको ड्रेस नै लगाउँथ्यौं। त्यो बेलामा डिजाइन भने हुन्थ्यो, अफोर्ट नै गर्न नसक्ने भन्ने पनि थिएन। बाहिर अन्य मानिसले सोचेको जस्तो त्यस्तो भयंकरै पनि थिएन भन्दा हुन्छ।
फेसन भन्ने बित्तिकै नराम्रो मान्ने जमाना थियो, अहिले पनि बाँकी छ। त्यो समयमा कस्तो लाग्थ्यो?
त्यही त। फेसन भन्ने बित्तिकै छोटोछोटो लगाउनुपर्ने होला भन्ने सोचेर कस्तो नराम्रो तरिकाले हेर्थे। टाउको देखि खुट्टासम्म ढाक्ने पनि फेसन नै भन्छन् भन्ने कुरा थाहा नभएर हो। तर मेरोमा भने फिल्ममा पनि छोटो कपडा लगाउन परेन, अनि मेरो बाबा पनि स्टाइलिष्ट भएकाले लक्की भएँ भन्नुपर्छ। फिल्ममा पनि मेरो क्यारेक्टर असल छोरी, संस्कारकी बुहारी नै रह्यो। अनि अहिले जस्तो सामाजिक सञ्जाल पनि थिएन, गाली खानका लागि। अनि अर्को कुरा, जुन कुनै फेसन पनि ग्ल्यामरस देखिनुपर्छ भल्गर होइन। अर्को कुरा, यो फेसन भनेको हेर्ने नजरमा पनि भरपर्ने कुरा हो।
सेलिब्रेटी र आम मानिसको फेसनमा फरक हुन्छ कि हुँदैन?
तपाईंले एकदम कुरा उठाउनुभयो। सबैले गर्ने फेसन उस्तै हो। झनै आम मानिसहरु पनि सेलिब्रेटीकै फेसन देखेर इन्स्पायर हुने हो। अहिले त फिल्ममा भन्दा विभिन्न पार्टीमा, बिहेमा पो बढी खुलेको देखिरहेको छु मैले त। फिल्मलाई त सिधैं फ्ल्प खुवाउने फेसन पो देखिरहेको छु। फेरि ती कुरामा कसैले कमेन्ट गरेको पनि देखिनँ। सबैले यसलाई एक्सेप्ट गरेको देखिरहेकी छु।
अब अहिलेको फेसनको कुरा गरौं। कस्तो फेसन चलेको पाउनुभयो त नेपालमा?
(हाँस्दै) म त सबैले ज्याकेट, मफलर, टोपी र बुट मात्रै लगाएको देखिरहेको छु। त्यसैले अहिले त सबैको फेसन एकै छ जस्तो लाग्छ, चिसोले। ज्याकेट भन्दा भित्र त चिसोले चियाउनै दिएको छैन।
भारतमा हुँदा नेपालका फेसनबारे पनि जानकारी राख्नुहुन्थ्यो?
अलिअलि मात्रै राखिन्थ्यो। फेसन भन्ने कुरा सबै ठाउँमा प्रायः घुमिरहन्छ जस्तो लाग्छ। म त झनै फेसनकै नगरीमा छु। अब त्यता गर्मी मात्रै हुन्छ, त्यता बुट लगाउन पाइँदैन। समरको कुरा गर्ने हो भने त यताको र उताको फेसन उस्तै नै हो। यो फेसन भने वल्र्डवाइड नै घुमिरहने रहेछ क्या। त्यही भएर यता जाडो हुँदा मात्रै उता र यता फरक हुने हो नत्र त उस्तै हो।
आफूलाई चाहिने सामान कता किन्नुहुन्छ नि?
प्रायः मलहरुतिरै हुन्छ मेरो सपिङ। एउटै मलमा सबै कुराहरु पाइन्छ। त्यता ठूला मल, साना मल सबै छन्। तर म भने प्रायः इन्फिनिटी, ब्यान्ड्रा लगायतका मलमा जान्छु।
यताको रत्नपार्क जस्तो हुँदैन, मुम्बईतिर?
हुन्छ किन नहुनु। तर समयको अभाव, ट्रायल गर्ने ठाउँको अभाव लगायतका कुराहरुले गर्दा मलमै किनिन्छ।
मुम्बई त फेसनको सहर भई नै हाल्यो है, तर पनि यसो नियाल्दाखेरी काठमाडौंवासी कत्तिको फेसनेल रहेछन् जस्तो लाग्छ?
हाम्रो नेपालको अझै भनौं काठमाडौंवासीको फेसन सेन्सको त कुरै नगरौं। पहिले पनि उनीहरु अगाडि थिए र अहिले पनि अगाडि नै छन्। तुलना नै गर्ने हो भने पनि यहाँका मानिसहरु मुम्बईका भन्दा कम फेसनेबल भने छैनन्। फेसन मौसमले गर्दा मात्रै भएको हो। उता खुला भएर हिँड्न पाइन्छ, यता तातोका लागि ढाकिएर हिँड्नुपर्छ।
नेपालमा अहिले फेसन सोहरुमा त जान पाउनुभएको छैन, तर पनि यसो विचार गर्दा कस्तो लाग्छ ?
नेपालका फेसन सो मै जान नपाए पनि सामाजिक सञ्जालहरुबाट अपडेट भइरहेको हुन्छ। अहिले त मोडलहरुको -याम्प सो हेर्दा पनि म त दंग पर्छु । कति राम्रो -याम्प वाक गर्छन्। मोडलहरु पनि राम्रा, डिजाइनरहरुको क्रिएटिभिटी पनि निकै राम्रो। मुम्बईतिर पनि कहिलेकाहीँ जाँदा राम्रो नै लाग्छ तर नेपालको पनि कम भने छैनन्।
नेपालका मोडलहरुलाई सुझाव छ?
मोडल भन्ने बित्तिकै हाइट हुनुप-यो, फिगर राम्रो हुनुप-यो। म त त्यस्तो फेसनेबल मान्छे पनि हैन। अहिलेका मोडलहरुलाई खासै सुझाव छैन। त्यत्ति हो, आफ्नो एबिलिटीलाई फोकस गर्नुहोस्, लङ लाष्टिङ सोचेर आउनुहोस्।
फेसनमा अपडेट हुनका लागि के गर्नुहुन्छ?
म खासै फेसनकै लागि ब्लग पढ्ने, फेसनका किताब पढ्ने भने गर्दिन। त्यहि हो मार्केट सर्च गर्दा आफूलाई चाहिने कुरा थाहा भैहाल्छ नि।
तपाईंलाई मनपर्ने रंग कुन हो?
सेतो रंग मेरो अल टाइम फेबरेट कलर हो। त्योदेखि बाहेक अलिक लाइट कलर मलाई धेरै मनपर्छ। जस्तो कि, निलो, पिंक कलरहरु मनपर्छ।
सेतो नै किन, कतै हेराउनुभएको त हैन?
(हाँस्दै) हैन नि कता हुनु। ज्योतिषलाई रंग पनि हेराउन लाग्दा फेरि अर्के मनै नपर्ने कलर भनिदिए त बर्बाद भैहाल्यो नि। खै किन हो, पहिलेदेखि नै सेतो रंग मलाई निकै मनपर्ने भनेको। तपाईंले मेरो फिल्महरु हेर्नुभए पनि थाहा हुन्छ, मैले प्रत्येक फिल्ममा सेतो रंगका कपडा त लगाएकै छु।
मनपर्ने ड्रेस ?
मलाई त यही हो पेन्ट, सर्ट, टिसर्र्ट नै मनपर्छ। पार्टीवेयरमा पनि आफूलाई कन्फर्टेबल हुने नै लगाउने हो। खासै यही नै मनपर्छ, यो नभई हुँदैन भन्ने खालको केही छैन।
किनमेलमा कत्तिको रुचि छ नि?
कुरै नगरौं। यति धेरै रुचि छ कि, शब्दै पुग्दैन वर्णन गर्न। किचेनका सामान देखि हरेक कुराको सपिङ गर्न मलाई मनपर्छ। कोही बेला एउटा कुरा किन्न गइरहेकी हुन्छ, भरे फर्कँदा किन्न गएको कुरा हुँदैन, अरु नै कुराले झोला भरेर आएकी हुन्छ।
किनमेल गर्न मनपर्ने कुरा के हो नि?
प्रायः सबै कुराहरुको सपिङ गर्न मनपर्छ। तर कामै नभए पनि उठाएर ल्याउने भनेको जुत्ता हो। बच्चैदेखि मलाई एकदमै मनपर्ने जुत्ता र झोला नै हो।
अनि, सपिङमा सबैभन्दा अल्छी लाग्ने कुरा?
मलाई सपिङ गर्दा टायल गर्नुपर्छ नि त्यो भने निकै झ्याउ लाग्छ। केही राम्रो कुरा देख्दा किनिहालुँ जस्तो लाग्छ, फेरि टायल गर्नका अल्छीले भैहाल्यो भनेर छाडेर हिँड्छु। अनि घर पुगेपछि भने एकैछिनको काम त थियो, टायल गरेर ल्याउनुपर्ने रहेछ जस्तो लाग्छ।
सपिङ गर्न एक्लै मनपर्छ कि साथीहरुसँग मनपर्छ?
मलाई त साथीहरुसँगै जान मनपर्छ। एक्लै सपिङ जान त झ्याउ पो लाग्छ।
कुन –ब्रान्डको सामान किन्नुहुन्छ?
मलाई ब्रान्डेड सामानहरु निकै मनपर्छ। हुन त ब्रान्डेड मात्रै लगाउनुपर्छ भन्ने पनि होइन, तर यसका केही फाइदाहरु छन् के। जस्तो कि, पैसा राम्रै तिरेपछि सामान पनि राम्रै आउँछ, छिट्टै बिग्रँदैन। तर मन परेको कुरा भने नर्मल पनि युज हुन्छ। मैले प्रयोग गर्ने ब्रान्ड भनेको मेकअपमा म्याक प्रयोग गर्छु, ग्राइलेन त हामीले प्रायः सुटिङमा प्रयोग गछौं। जारा, बुचीको लगायतका ब्रान्डको भने म जुत्ता र झोला किन्छु। बुचिको पर्फ्युम् पनि मनपर्छ।
प्रकाशित: २६ चैत्र २०७५ ०८:३९ मंगलबार