११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

अझै प्रचलित छन् ३३ सय वर्षअघिका मूलढोका

साँखु बसपार्कस्थित बुहारी भित्र्याउने भौध्वा्खा गेट। तस्बिर :श्याम राई

काठमाडौं - काठमाडौंको उत्तर–पूर्वमा रहेको साँखुस्थित नेवार समुदायमा पाँच गेटको परम्परागत प्रचलन अहिले पनि कायमै छ। ३३ सय वर्षअघि स्थापना गरिएको गेटमा परम्परागत तरिकाले गेटको प्रयोग गर्दै आइरहेका छन्। चावहिलदेखि १७ किलोमिटर दुरीमा रहेको साँखु गेट हेर्नकै लागि आन्तरिक र बाह्य पर्यटक जान रुचाउँछन्। बाक्लो नेवारीबस्ती भएको साँखु ऐतिहासिक, साँस्कृतिक दृष्टिकोणले धेरै अगाडि मानिएको छ। ऐतिहासिक महत्व बोकेको पाच गेटले साँखु सहरलाई झनै चिनाएको स्थानीय बताउँछन्।

स्थानीय इतिहासविद् प्रकाशमान श्रेष्ठका अनुसार ३३ सय वर्षअगाडि शंखदेव भन्ने राजाले राज्य गरेको यो ठाउँमा योगदेव बज्र्राचार्य पुजारीले नगरको डिजाइन गरी गेट बसाएका थिए। मञ्जुश्रीले पानी चोभारमा कटाइसकेपछि त्यतिखेर साँखु पोखरी सुक्दाखेरी ओभानो रहेको ठाउँ साँखु हो। ‘साँखुको गेट ३३ सय वर्ष पुरानो रहेको प्रमाण छ। अनुसन्धानकर्ता ल पनि पत्ता लगाएको छ,’ उनले भने, ‘परम्परादेखि चलेको गेटको प्रचलन अहिले पनि हामीले प्रयोग गर्दै आएका छौँ। पहिले तिब्बतमा व्यापार गर्न काठमाडौंका मान्छे जाने नाका नै साँखु हो थियो।’ आठ ढोकामध्ये अहिले पाँच ढोकाको प्रयोग गरिदै आएको उनले बताए।

साँखु बसपार्कको बुहारी ढोकाबाट बुहारी भित्रयाउने गरिन्छ। अर्थात्, नयाँमान्छेलाई स्वागत गरिने बेलामा यो ढोका प्रयोग गरिन्छ। यस गेटबाट दुलही भित्र्याएमा घरमा सुःख शान्ति मिल्ने, घरमा लक्ष्मीको बास हुन्छ भन्ने विश्वास रहिआएकोे छ। पुर्वपट्टिको ढोकाबाट छोरीचेली अन्माएर पठाउने बेलामा उक्त ढोका प्रयोग गरिन्छ। यो गेटबाट छोरी चेलीलाई बिदाइ गरेमा माइती र छोरीको सम्बन्ध रहन्छ भन्ने स्थानीयको विश्वास छ। त्यस्तैगरी देवढोकाबाट नेवार समुदायको विभिन्न जात्रा ल्याउने लैजाने बेलामा प्रयोग गरिन्छ। यो गेटबाट चैत शुक्ल पूर्णिमादेखि आठ दिनसम्म लाग्ने जात्रामा बज्रयोगिनी मन्दिरको देवतालाई साँखु बजारमा ल्याउँदा उक्त गेटको प्रयोग गरिन्छ। यसलाई देवता ल्याउने गेट भन्ने चलन पनि छ। यो गेट नौ दिनमा मन्दिरमा नै पु-याउनुपर्ने बज्रयोगिनी मन्दिरको देवता तल ल्याउदा र लैजादा प्रयोग गरिने गेट हो।

महादेवढोकाबाट  स्थानीयको शव बाहिर लग्ने बेलामा प्रयोग गरिन्छ। यो गेटबाट लासलाई घाटतिर लगेमा मरेको व्यक्तिलाई शान्ति मिल्छ भन्ने धार्मिक विश्वास रहेको छ। मुख्य चार वटा ढोका मात्रै हुन। तर, पछिल्लो समयमा माधव नारायणढोका थपिएको छ। उक्त ढोकाबाट शालीनदीमा माधवनारायण मेला लाने, ल्याउने गर्दा यो गेटको प्रयोग गरिन्छ। आठ वटा ढोकामध्ये अहिले पाँच ढोका प्रचलनमा कायम छ। ‘पाँच ढोकाको परम्परागत महत्व छ। यी ढोका प्रयोग गरेर मात्रै यस्ता विभिन्न कर्म गर्नुपर्छ,’ उनले भने, ‘यी संस्कृति युवापुस्तालाई पनि सिकाएका छौँ। संरक्षणमा हामी पनि निरन्तर लाग्छौँ।’ उनका अनुसार यी परम्परा अनुसार कुनै काम गर्दा यी गेट प्रयोग गर्नु पर्छ।

नगरिएमा  बाढी पहिरो, धनसम्पत्ति मासिने जस्ता प्राकृतिक प्रकोप हुने मान्यता छ। त्यसैले यो  मान्यतालाई  नेवारले प्रयोग गर्दै आएका छन्। साँखुमा रहेको नेवारी परम्परा, संस्कृति हेर्नको लागि पर्यटक आउने गर्छन्। पुराना कालीगढले बनाएको देवी देवता पूजा गर्दा पुजारीले यो गेटको प्रयोग गर्ने पर्छ। गेटको संरक्षण गर्नको लागि नगरपालिका, वडा र स्थानीय लागि परेको उनले बताए। ‘सरोकार निकाय र स्थानीय गेट संरक्षण गरिरहेका छौँ,’ उनले भने, ‘अहिले गेटको रगंरोगनको काम भइरहेको छ। कलश निर्माण हुँदै छ।’ नगरपालिकाले राजकुलो, पोखरी निर्माण गर्नको लागि पाँच करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए। साँखु ऐतिहासिक सहर रहेकाले पर्यटकीय गन्तब्य बनाउनको लागि पहिले जोरपाटी–साँखु सडकखण्ड पिच गरिनु पर्ने उनले बताए।

स्थानीय मनिरत्न श्रेष्ठ परापूर्वकालदेखि चलिआएको गेटको प्रयोग नयाँ पुस्ताले कहिलै पनि नबिर्सनुपर्ने बताउँछन्। ‘परम्परादेखिको संस्कारमा रही गेटको प्रयोग गरिरहेका छौँ,’ उनले भने, ‘नयाँ पुस्ताले यी संस्कार सिकेर वर्षौ वर्षसम्म यी संस्कृति कायम राख्नु पर्छ। नगरपालिका, वडा लगायत सरोकार निकायले गेटको संरक्षणमा पहल गर्नु पर्छ।’ वडा –६ का  अध्यक्ष राधाकृष्ण श्रेष्ठले ऐतिहासिक महत्व रहेको साँखुको कला, संस्कृति र पहिचानको सधैं संरक्षण गर्ने बताए। ‘साँखुमा गेट, शाली नदी लगायत सम्पदा रहेकाले यो ऐतिहासिक ठाउँ मानिन्छ,’ उनले भने, ‘यी सम्पदाको संरक्षणमा जनप्रतिनिधि सधैं संरक्षणमा तत्पर छौँ।’

प्रकाशित: २६ चैत्र २०७५ ०५:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App