७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

नियात्रा: सिम्रुतुको साँझ

युवराज नयाँघरे
    
घाम छिप्पिदै गएथ्यो लाहुरेचौरमा!

दाङकै उत्तरी कुना यो। तुलसीपुरबाट हुर्दुराएका हामी तल बेगिएको पातु खोला हेरेर मन सङ्लो पारिरहेथ्यौँ। पहाड, खोँच, उकालीले डाक्न छोडेन। बत्तिन, बेगिन र बुर्कुसिन नि हामीले छोडेनौँ।
    ‘रुकुम्न्वा कुनाकोप्चेरा देख्नापत्त आया पाहुनालाई हृदयदेखिन् स्वागत गर्चम् !’
    मेरा छेवैका पूर्णले हार्दिकता पोखे।
    उज्यालो भयो मन।

मेरा खुसीसँग कमल, अश्विनी, नयन र भुपिन पनि जोडिए। कसैले थपडी मारे, कसैले आँखा नचाए, कसैले कुम हल्लाए। आँतको माया पाइयो। अब चाहियो के र!

त्यसपछि खोलाको तीरैतीर हाम्रो साथी भो। वन, बस्ती र उज्यालोसँग हामी गफ चुटिरहेथ्यौँ। जीवन यी सबैसँग गाँसिएको अर्को नाम रहेछ। नाम जोगाउनलाई पनि पैताला खियाइरहनुपर्ने। हृदयमा पखेटा हालिरहनु पर्ने।  
    फेरि भयानक उकालो सुरु भयो।
त्यही बीचमा भेटिई– राम्री। नाम मात्रै राम्री नि! भीर र सातो लैजाने छाँगाछुर भिरालीमा आँखा थिग्रिन सकेन। कस्तो बिब्ल्याँटो नाम!

    ‘बड्डा, केही खाने होइन?’
    मैले निकै अघिदेखि नै भनिरहेको थिएँ।
अघिल्तिर बसेकी देवकुमारीले पनि हाम्रा भोकतिर्खामा सही थापिन्। तैपनि चारपाङ्ग्रे थामिएन। बेगिएको बेगिएकै भयो। पाङ्ग्रासँगै कुदिरह्यो भोकको आकुलव्याकुल।
    लामै समय गन्जागोल र गाजेमाजे भयो रुकुमको संसार। यतातिर पाइला टेकुँला र मनमन्थन गरुँला भन्ने उत्पातको रहर बल्ल थिग्रिरदै थियो। जम्मै कुराको जोरजाम कमल र पूर्णको जोडीले मिलाएपछि म झरेथेँ यतातिर।

    बाटो त निकै उकालो र मोडैमोड थियो। उकालोमा बनेका मोड र घुम्ती देखेर कथा सुनाउनेहरु थुप्रै थिए। मुलुकैभरि छन् यस्ता कुइनेटा र चेप।
    एकजना विदेशी इन्जिनियरलाई साँघुरो बाटो देखेर गाउँलेले सोधे रे– ‘यो बाटो त निकै साँघुरो छ । कसरी भयो नि यस्तो?’

विदेशी इन्जिनियरले उत्तर दिएछ– ‘एकातिरको पाँच फिट तपाईंको सरकारले, अर्कोतिरको पाँच फिट मैले खाएँ!’
राम्रीको उकालो चढुञ्जेल यही कुरा मनमा लगातार छड्किरह्यो भुक्लुक–भुक्लुक। निकै हम्मे–हम्मे भो उकालीको छेउकुना छिचोल्न। आत्तिने यै मन छ, खुबै आत्तिइरा’ छ बाटो देखेर।
मनमनै भन्छु– ‘यो बाटो यत्ति दुईले मात्र खाए होलान् त!’
खाल्डा र भ्वाङ त झन् बेपत्तै छन्।

देवकुमारी अघि लागेपछि अरु सबै अधबैंसेहरु पनि कपुरकोटमा झ-यौँ। सल्यानको यो ठाउँमा चिसोले कान, गाला र कन्चटमा मायाले मुसारेन– राम्रैसँग हिर्कायो। मैले चाँडोचाँडो ढोका खोलेर ज्यान पसाएँ कटेरोमा।
    खान बसियो। दाल थपे, भात आउँदैन। भात थपे, तरकारी टुप्लुकिँदैन। अचार, मोही र अरु सितन त कता हो कता! जाडोले लगलगाएको ज्यानमा तातो अन्नपातको खोजी भएकोभै छ। भकाभक खाउँला भनेको त आइपुगेन थपुवा चिजबिज!

 ‘हामी चार त चाख्न मात्र आएका आज। भोलि ५०–६० जनाको हुल लिएर आउँछौं हामी। त्यतिखेर यै ताल हो भने के खुवाउन सक्नु होला र तपाईंहरुले!’
    कमलले यति भनिसक्दा पसलकी बूढिया एकाएक जरक–मरक गरिन्। हुरी भएर भित्रबाहिर गर्न थालिन् उनी। फ-याकफुरुक चर्कै देखाइन्। पटुकी कसेर ताप्केमा घिउ हालिन्। अनि आगोमा पटटट घिउ खारेर हाम्रा भातमा हालिदिइन् झ्वाइयँ।

    गदगद भएर हामीले ताततातो घिउ भात खायौं खपाखप।
    ‘बड्डा, बठ्याइँ देखाउन नि जान्नुपर्छ!’
    कमलका कुराले हामीलाई हँसायो।
    साथीहरु भनिरहेथे— ‘५०–६० जना नलिई आए अर्को दिन हातखुट्टा भाँच्नेछिन् बड्डीले!’  
    त्यसपछि लगातार ओरालीमा हामी हुइँकियौं। बाटो घुमाउरो र तेर्पेमा एकोहोरो गुडुल्कियौँ। पहाड र बाटोको बातचितमा मन पनि गाँसिन्थ्यो पटक–पटक। उत्तर, पूर्वका घुम्तीसँग हात मिलाई मिलाई हुइँकिन्थ्यौँ हामी।

अनि फाँट र पातला बस्ती नाघेर सोलबाङ पुगेथ्यौँ। बाटोभन्दा अजङ्गको ठूलो ट्रकले घुम्ती छिचोल्न नसकेर पछारिएछ। ऊ तेर्छिएपछि बाटो छेकियो सबैको। के पो गर्ने होला! मन पाक्यो बिछट्टै।

लौ त लौ पसारिइराख! अनि आफ्नो चारपाङ्ग्रे त्यत्तिकै छाडेर खोलाको तीरैतीर हामी लर्कियौं। बाक्लो वन, तरेली परेका गरा र  आपट्टे जङ्गलसँग जुधिरहेका पहरा हेर्दै निकै पर पुग्दा थन्केको चारपाङ्ग्रे आइपुग्यो।

    त्यसपछि हामी पुछार अरिङ्गाले फेदीमा सुस्ताउन पुगेका थियौँ। लुहाम नाघेर शीतलपाटी पुग्दा पनि दिन सकिएको छैन।
बाटोमा पहिरिएका भीरले जाँच्न छोडेको छैन मन र आँटसँग।
    बाटैदेखि चिया चमेना गरुँ भनेर सबै ताते पनि वलीले औंला हुत्याएर ‘अलिक पर, अलिक पर’ भन्न छोडेनन्। हाम्रा बोली नि आइरहे, उनका छलनीति नि भइरहे। बल्ल श्रीनगर नाघेर खरीबोटमा रोकियो मोटर घ्याच्च।
हाम्रा अमिलिएका अनुहार वलीले नहेरी–नहेरी जिते।

    ‘अँ, चिया खानु पर्ला!’
    कन्दै थिए वली।
    हामी सबैले छाप्रामा राखिएका पकौडा, अम्बा, केरा, पाउरोटी केही बाँकी राखेनौँ। बिहान अधकल्चो खाएको खाना उहिल्यै दमपच भइसकेथ्यो। यो डुब्दो घामसम्म धन्न थेगियो। जाडो गम्केको थियो। चिया त कति सुर्काइयो कति!

खरीबोट रमाइलो बजार। सल्यानको सुन्दर र झुरुप्प उत्तर–दक्षिण लमतन्निएको किनमेल केन्द्र रहेछ।
त्यसपछि बाटो अलिक साँघुरिएको देखियो। शिखरनाथको पहाड भनेर देवकुमारीले चिनाइन्।  जताततै थिए पहाडका ताँती। फनफनी घुमेको पहाडमा वली जोडी व्यथित थिए। देवकुमारी थला परिन्। उनको थलाले वलीलाई झन् थिलथिलायो। दिग्दारियौँ हामी पनि।

    ‘हप्ता दिन लगाएर दाङ पुग्थेँ म त!’
    पूर्णले आफ्नो बितेका दिन यी पहाडतिरका गोरेटा देखेर भने।
    हामी एकोहोरो ओरालो भएर पेदीखोला पुगेका थियौं। एकान्त, चकमन्न र मौनताले पौडिएका वन र पहाडको अनुहारमा हृदय खन्याउँछु। किरिङमिरिङ भएर गएको देख्छु बाटो।
    सीमा खोलीसम्म बाटो खोलाको किनारैकिनार दगु-यो। त्यो दगुराइमा हाम्रा मन, ज्यान पनि जोडिए। जलेखर्क पुग्न उकाली चढ्नु प-यो। स–साना झुप्राले वनबाट मुख देखाउँथे झुलुक्क। तिनका पिँढी र आँगनमा भुराभुरी खल्र्याङखुट्टी खेलेको देख्दा मन गएर जोडिन्थ्यो त्यहीँ।

देशको भविष्य सम्झेर हामी भावुक भइरहन्थ्यौँ। खल्र्याङखुट्टीभन्दा बढ्ता गति थिएन उन्नतिको। अझ, त्यो गति कहिले आइपुग्ला यी पहाडहरुमा?
एकपछि अर्को पहाडी रनवन र चहकमा मेरो मन पुगेर गम्किरहेको थियो। आँखाले पहाडको उज्यालोमा खोजे ओझेल परेका अँध्यारामा थोप्लाथोप्लीहरु।

समयमा थुप्रै कोर्रा र चड्कन यी बस्तीमा बर्सेका थिए। मेरा छातीमा इतिहासले सहेका कहालीलाग्दा छटपटी एकचोटि फेरि सरर्र आए परेली वरपर।

बाटोमा ठूलो द्वार थियो। हामीले सल्यानमा टेकेर पारि देखिएको रुकुमको सिस्ने हिमाललाई नमस्कार ग-यौं। थाप्लामा हिउँको पगरी गुथेको सिस्नेसँग रुकुमको उज्यालो संसार गम्किरहेथ्यो चहकिएर।
    खौला थियो त्यो। त्यसयता सल्यान र उता रुकुमको भूमि।
    दक्षिण–पश्चिमको पाखा र वन खारा रहेछ।
    खौलामा पुगेपछि पनि साथीहरुले क्यामेरा चलाए– किलिक किलिक। कोही एक्लै, कोही बथानमा तस्वीर खिच्नमा मग्न–मस्त।
‘चेतनाले हेरोस्, मनले खिचोस् !’
यसै भने मैले।

    ‘देशमा गणतन्त्र ल्याउन धेरै खालका ‘गन’ चलेको ठाउँ नि यो !’
    अश्विनी फ-याकफुरुक गरिरहेथे।
    साथीहरु तन्त्रबारे कुरा गर्थे। मेरो तन लल्याकलुलुक भएथ्यो। गएको ३–४ दिनदेखि बिहानको झिसमिसेदेखि नै म दगुरिरहेकै थिएँ। आजै पनि बिहानको चार बजे भैरहवाबाट हुइँकिएको थिएँ म।
    त्यसपछि तेर्सो भेटियो झुलनेटा।

बाक्लो वनसँग मन र आँखाको मितेरी भइरह्यो। रुकुमका यी रुखसँग मेरो घाइते मनले खोजेको चित्रको कथा पटक–पटक खोतलिइरहन्छ। हरेक रूखपातसँग पुरानो इतिहासले सास फेरेर नयाँ समयको मूल्यांकन गरिरहेथ्यो।  
ओरालो मात्र होइन चिप्लो थियो बेस्सरी। पानी सिमसिमाएको बाटोले माथिल्लो खारा पु-यायो। केही टार र बस्ती भेटिए। बाक्लै थिए रुखपात नि।

    ‘खारा !’
    युद्धको पुरानो घाउ र खिल पल्टेको समाज छ खारामा। खाराको नाम सुन्ने बित्तिकै विध्वंस, बिजोग र विपतका तस्बिर आए भरर्र मनैभरि। खाराको अनुहार टिपिहालेँ मैले।
    सिङ्गो गाउँ आगोले निलेको थियो। खारासँग जोडिएको छ आगोको परिचय। खरानी भएको थियो खारा।
    आगो र खरानीको त्यही विध्वंस कथाले झस्किएको मनमा ढुकढुकिँदै म पुगेँ तल्लो खारा।
    ‘तमाईंका आँखाले के देख्नन् र ह्याँका दुःख।
    बलै ता भइयो नि भाराबैरागउ मर्नु।’

वलीले भनिरहँदा नि म यो विकटताको अभाव र दुःख निहालिरहेको थिएँ। यी बिजोग र बेहालका सुस्केरा सुनिरहेथेँ।
पहाडहरु, गराहरु र रुखहरुले पनि हामीलाई एकैसाथ भने– ‘तमाईंका आँखाले के देख्नन् र ह्याँका दुःख!’
बाटो बटारिन छोडेन। घुम्ती घुम्न छोडेन। पहाडसँग अभाव, अविकास र अस्तव्यस्त जताततै हाई काढेर बसेका थिए। परिवर्तन र रुपान्तरण कतै भित्तातिर नारा भएर लेखिएका लेखिएकै थिए।

अभाव, आकुलता र अर्थहीनतासँग रुकुमका यी पखेराले नबोलेका होइनन्। निर्माण, नयाँपन र न्यायपूर्ण स्वर नउरालेका पनि होइनन्– यी विकटताले। तर थोरै सुनियो। सुने पनि ख्याल गरिएन। केही फन्को मारेपछि ओरालो आयो। झमक्क साँझ परिसकेथ्यो। थकाइसँग ज्यानले साउती मा-यो। चौध घण्टे कच्याककुचुक दगुराइले बिसाउनी पाएकै थिएन।

    ‘सिम्रुतु !’
    अगाडि बसेकी देवकुमारी बिस्तारै फुसफुसाइन्।
    ‘उसो भया हामी पनि पक्का रुकुम्या भइयौँ हेर्नोइ!’
    कुन बेलादेखि शब्द जोडजाड गरिरहेका कमलले यति भनिसक्दा हामी सबै रमायौं। किनभने यत्ति शब्दले अनन्त प्रेम, अथाह हार्दिकता र अपार आत्मीयता बोलेको लाग्थ्यो।

 सिम्रुतु– पहाडको चेपमा बसेको थियो। कुनै समय सिमसारले झपक्कै छोपिएको यो ठाउँमा हिजोआज १०० घर जतिको भीडभाडले कल्याङमल्याङ उरालिरहेकै रहेछ। घर, पसल, विद्यालय र सडकसँगै बिलाइरहेथ्यो सिमसारको सौन्दर्य।
छालै लुछ्ने ठिहीमा म उभिइरहन सकिनँ । आँखाले ओत खोजिहालेँ।
‘के बित्पातको जाडो!’
अरुका ओठ नि सकपकाए।

छेवैको पसलमा पस्दा निधारभरि सेतै अछेताले निधार छपक्कै ढाकेको नयाँ दुलहादुलहीका जोडी देखिए। एउटा कुनामा हातले छोपेको पानी खाएर दुलहा रन्किरहेथ्यो। अर्को कुनाकी दुलही भोक मेट्न ठूल्ठूला गाँस चाँडचाँडो हालिरहेकी थिई।

मैले तिनको पोशाक, अनुहार, गरगहना हेरेँ खराखरी। त्यहाँ मध्य पश्चिमको पहाडी संस्कृति फुलेल थियो। जगमगाइरहेथ्यो संस्कृतिको सुवास।

    ‘यी मगर दुलहादुलही!’
    वलीले सुटुक्क पारे मेरा कानमा।
    यतिञ्जेलमा हाम्रा छातीमा न्याना माला थमाइसकेथे– मनलाल वली, टेकबहादुर पाण्डे, प्रकाश केसी, मोहनराज घर्ती, रामलाल गौतम, कुबेर मल्ल र तुलसीराम बूढाथोकीहरुले। बिहानैदेखि यो हुल हाम्रो पर्खाइमा बसिरहेको थियो।
छाती ढक्क फुल्यो। मायाले हृदय फुल्यो ढकमक्क। बोली, शब्द र पाइलामा फेरि केही गमक आएर बस्यो।
रुकुमको यो पहिलो अँगालोले धुकधुकीमा तातो ओर्लियो। रुकुमको यो पहिलो स्पर्शले ढुकढुकीमा स्नेह पोखियो।

    अक्षरको यात्राले यो विकटतामा ल्याइ पु-याएथ्यो। सिर्जनाले घचेटेर यो अनकन्टारमा मलाई टेकाएथ्यो।
    मेरा छातीमा लहरायो– ‘यतिकाउ टारा र कुनाकाप्चालाई म काँबाट भन्यालो गर्न सक्दाउँ र बलै!’
    वलीले भने– ‘यो विकटता र अन्कटारलाई सहजै बुझ्न सक्ने अरु को होला? तपाईंहरु जस्ता बाहेक!’
    म मौन थिएँ। चुपचाप थिएँ। घनघोर शान्तले मलाई निलिरहेको थियो। रुकुमको यो अन्कन्टार धर्तीले मलाई थिचेकोथिचेकै थियो उखर्माउलिएर।

सिम्रुतुको साँझसँग स्याँठ थियो, सिरेटो थियो र लेकाली ठिही थियो। त्यसमा घोलिएको थियो मुसुमुसे माया!
 

प्रकाशित: २५ चैत्र २०७५ ०७:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App