१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

३ लघुकथा

चन्द्रमणी पोखरेल
 

छोराको रहर
तीन–तीन वटी छोरी तामाका मुनाझैं थिए। पढ्न नि अब्बल, कक्षामा सधैं पहिला हुन्थे, घरै उज्यालो थियो हीरा सरको। जल्दाबल्दा युवा नेता, त्यसमा पनि माविका प्रअ। कस्तो रहर या बाध्यता हो उनकी पत्नी दुई जिउकी भइन्। उनको गर्भ जाँच गर्दा छोरा नै भएको जानकारी पाएर हीराको भुइँमा खुट्टा थिएन।

समयसँगै उनकी पत्नी अस्पताल भर्ना भइन। उमेर बढी भएकाले डाक्टरले नर्मल डेलिभरी नहुने जनाए। अप्रेसनका लागि रकम जम्मा गरे उनले। छोराको मुख हेर्न पाउने भए हीरा। बेलुका अप्रेसन कक्षबाट बाहिरिने बित्तिकै डाक्टरले उनलाई सोधे, ‘गर्भावस्थामा राम्रो हेरविचार गर्नु भएन कि कसो?’
उनी अलमलमा परे। के भयो र डाक्टर साहेब?
‘खोइ अरु त केही भन्न सकिन्न । तपाईको शिशुको कुनै अंग कम छ जस्तो लाग्छ ।’
हीरा सर खुई काढ्दै भुइँमा थचक्क बसे ।

प्रफुल्ल मन

सुत्ने वेला राधाले सम्झाइन्, ‘मलाई हार किनिदिने कुरा पनि स्यालकै कथा भयो हैन?’

‘आ नकराउ है म थाकेको छु,’ भनेर कोल्टो फेरें मैले।

उनी फत्फताउँदै गइन्, ‘अब त हजुरले लाने पार्टीहरूमा कतै पनि जान्न। आफ्नु त नाककानै बुच्चो। त्यो टायलघरे नीशाले पनि हार किनिसकि।’

राधाको रहर नि अचम्मको छ अरु महिलाको देखासिकि गर्नु पर्ने। उनको चित्त कसरी पो बुझाउनु? सोच्दासोच्दै रात छिप्पियो। अबेर सुतियो। बिहान भुसुक्कै भएछु।

छिमेकमा केके भैसक्यो, उठ्ने बेला भएन भन्दै राधाले झक्झक्याइ! हैन के भयो? ‘बिचरा त्यो टायलघरे नीशाको घरमा चोर पसेछन्,’ उनले भनिन्, ‘अस्ति मात्र त्यत्रो पैसा हालेर किनेको हार पनि चोरले लगेछन्!’
उनको अन्तिम वाक्य सुनेपछि कताकता मन प्रफुल्ल भयो!
 

वृद्ध हराएको सूचना

जवानी छउन्जेल रातदिन नभनी काम गरेर उनले छोराछोरी हुर्काए, पढाए। आज सबैले आ–आफ्नो गरिखाएका छन्। अचेल बूढा राम्ररी कान सुन्दैनन्। पाखुरीमा दम छैन। बुढेसकालमा के पो गर्न सक्छन्! उनको हातमा सुको हुन्नथ्यो। जग्गा जति छोराले हत्याइसकेको थियो। पेन्सन थिएन। भत्ता आउन उमेर ७० कट्नु पथ्र्यो। उनकी श्रीमतीले पनि धर्ती छाडेको ८ वर्ष भएको थियो।

उनी आफैं पकाएर खान्थे। र, सिँढीमुनि घुप्लुक्क निदाउँथे। गाउँमा नयाँ मान्छे भेट्दा उनी दस–बीस रूपैयाँ माग्थे। उनी सूर्तीका अम्मली थिए।
एकाएक देशमा नाकाबन्दी भयो। दाल, चामल र ग्यास सकियो। उनी समस्यामा परे। एकाएक बूढा गायब भए।

छोराले पत्रिकामा सूचना छपायो, ‘सेतो कमिज–सुरुवाल, मैलो ढाका टोपी लगाएको, खुट्टामा चप्पल लगाएको, मगज बिग्रेको ६५ वर्षको मानिस हराएकाले भेट्नु हुने महानुभावले निम्न ठेगाना वा निम्न मोबाइल नम्बरमा सम्पर्क गर्नु होला । जानकारी दिनु हुनेलाई उचित पुरस्कार दिइने छ ।’

प्रकाशित: २३ चैत्र २०७५ ०५:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App