१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

‘संस्कृतिले सजिएको छ उपत्यका’

तपाईँको विचारमा सहर भनेको के हो ?
अहिलेको यो भौतिक दुनियाँमा जनतालाई आवश्यक पर्ने सबैखाले सेवा सुविधा भएको ठाउँलाई सहर भनिन्छ। सहरभित्र अग्लाअग्ला घरहरु होउन्, कालोपत्र गरिएको चिल्लो सडक होस्। ढल, बिजुलीबत्ती, खानेपानी, टेलिफोनलगायत सुविधा होउन्। यातायातका साधन पनि सहज होउन्। सहरी इलाकाभित्र जहाँ जतिबेला पुग्न र आफ्नो अत्यावश्यक काम सहजै गर्न सकिने वातावरण होस्। मान्छेको भीडभाड होस् तर एक्लो र असुरक्षित छु भन्ने महसुस नहोस्। चौबिसै घण्टा सहर बलिरहोस्। सहरको दृश्य यस्तै यस्तै हुनुपर्छ भन्ने लाग्छ। अर्को कुरा, सहरका बारेमा राम्रा–नराम्रा दुवै प्रतिक्रिया हुन्छन्। मेरो विचारमा सहर भनेको विकासको प्रतीक हो। हरेक विकासका चरण र अवधारणा सहरबाटै प्रारम्भ हुन्छन्। सहरमा धेरै जनसंख्या हुन्छ, विद्रोह हुन्छ र पनि राज्यसत्ताले सहरलाई व्यवस्थित राखेको हुन्छ।

घुमेकामध्ये मनपर्ने सहर कुन हो ?
मैले नेपाल र विदेशी मुलुकका धेरै सहर घुमेको छु। त्यसमध्ये सारै मनपरेको सहर भियना नै हो। यो सहरमा म जाडो महिनामा पुगेको थिएँ। राती १२ बजे म मेट्रो चढेर त्यहाँ पुगेँ। त्यतिबेला १५ डिग्री तापक्रम थियो तर त्यस्तो बेलामा पनि त्यहाँ मानिसहरु आइसक्रिम खाइरहेका थिए। त्यो मलाई साह्रै रमाइलो लागेको र मन परको थियो। त्यहाँको सहरी संरचना पनि खुब मिलेको छ। दोस्रो मलाई मन परेको सहर इटली हो। जहाँ मैले बसेर मैले स्नातक तह अध्ययन पनि गरेँ। त्यहाँका सहर ज्यादै व्यवस्थित र आधुनिक छन्। ती सहरको हरेक पक्ष लोभलाग्दो छ।

पुरानो सोचमा बनाइएका संरचना असाध्यै मनपर्छ। ठाउँठाउँमा वहाल छन्। पाटीहरु छन्। घुम्ने ठाउँ छन्। कला संस्कृति पनि राम्रो छ। सहरका भित्री चोक अति नै वैज्ञानिक छन्।

नेपालीभित्रका सहर कस्तो लाग्छ ?
नेपालभित्रका सहरभित्र कता–कता मलाई काठमाडौं उपत्यका नै राम्रो लाग्छ। उपत्यका कलै कलाको ऐतिहासिक सहर हो।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
मलाई कसैले सपनाको सहरको कल्पना गर भन्यो भने मैले पढेको अल्कापुरी कान्तिपुरी जस्तो सहरको परिकल्पना गर्छु। यसमा भानुभक्तले पद्य पनि लेख्नुभयो। जसरी इन्द्रका राजाको दरबार बनेको हुन्छ हाम्रा सहर पनि त्यस्तै हुनुपर्छ भन्ने मलाई लाग्छ। जहाँ चारैतिर फुलका बास्ना मगमगाइरहेका हुन्छन्। कलै कलाको सजावट हुन्छ। सुगन्ध मात्रै हुन्छ, दुर्गन्ध कहीँ हुँदैन। मानिसहरु असाध्यै भद्र र संयमित हुन्छन्। देखिँदा पनि सुन्दर लाग्छन्। सबै आ–आफ्नो काममा व्यस्त रहन्छन्। सबै मानिस आफ्नो क्षमतामा बाँचेका हुन्छन्। जसले जसलाई भेटे पनि शुभकामना बाँड्छन्। हसिलो अनुहार लगाउँछन्। कसैले कसैको पनि बाटो छेक्दैनन्। नियम कानुन सबैले परिपालना गरिरहेका हुन्छन्। बाटोमा कसैलाई मानवीय सेवा आवश्यक परेमा तत्पर हुन्छन्। ठाउँठाउँमा चौतारो हुन्छ, पधेँरो हुन्छ। शौच गर्न सकिन्छ। एकैछिन बसेर किताब पढौं भन्ने लाग्यो भने त्यतितिर ध्यान जान्छ। आधुनिक प्रविधिको प्रयोग गर्न चाहे त्यो पनि उपलब्ध नै हुन्छ। यस्तै खालको ह्याप्पिनेस भएको सहर कल्पना गर्छु। जुन सरकारको योजना युएनडिपीले पनि बनाइरहेको छ।

सहरी संस्कृति र सभ्यता कस्तो हुनुपर्छ ?
सहरभित्र सहरी संस्कृति र ग्रामीण भेषभूषमा आधारित दुवै छनक भेटिनुपर्छ। जति पनि समाजको सभ्यता छ त्यो सबै सहरबाट भएको हो। त्यहाँ देशको कला संस्कृति सजाएर राखिएको हुन्छ। सहरीकरण हुनु पहिलेको अवस्थालाई सहरमा चिनेर राखिएका सामग्रीले झल्काएका हुन्छन्। अर्कोकुरा, राज्यसत्ताले जे निर्धारण ग¥यो त्यसैबमोजिम सहर बनेको हुन्छ। देशका हरेक सुविधा सहरमा हुन्छन्। उपत्यका आफैंमा सांस्कृतिक सहर हो। अहिलेको अवस्थामा पनि तीन जिल्लाको संस्कृति अलग–अलग नै छ। अहिले हामीले विभिन्न पर्व संस्कृति मान्छौं। ती पनि सहरबाट सुरु भएर गाउँ–गाउँसम्म पुगेका हुन्। त्यसकारण सहरबाट हरेक पक्षको विकास भएको मानिन्छ।

विदेशका सहरसँग दाज्दा हाम्रा सहर कस्तो लाग्छन् ?
मलाई चाहीँ केही नेपालका सहरले लोभ्याउन थालेको छ। सबैभन्दा बढी लोभ्याएको सहर नेपालगञ्जदेखि कोहलपुरसम्मको बाटो नै हो। त्यो चिल्लो बाटो निकै सुन्दर छ। त्यो हेर्ने भारतका मन्त्री पनि आएको मैले सुनेको छु। अर्को भनेको बुटवलबाट भैरहवातर्फ जाँदै गरेको जुन अहिले निर्माणाधीन अवस्थामा छ त्यो पनि मलाई राम्रो लाग्छ। जहिले पनि धरानबाट भेडेटारतर्फ उक्लिँदाको बाटो जुन प्रम सूर्यबहादुर थापा हुँदा अत्यन्त ध्यान दिएर बनाइएको हो भन्थे। धनकुटा र धरान सहर पनि मलाई सुन्दर लाग्छ। ती सहर बेलायतका जस्तै लाग्छन् किनकी त्यहाँ लाहुरे धेरै बस्छन्। एक हिसाबले इटहरीबाट विराटनगरतर्फ जाने बाटो पनि मलाई मनपर्छ। त्यहाँका ठाउँ हेर्दा मन पुलकित हुन्छ। पर्वतको कुस्मा पनि मलाई मनमोहक लाग्छ। अपर मुस्ताङमा पर्ने लोमनथाङ पनि मलाई मन पर्छ। त्यसैले हाम्रा सहर पनि कम छैनन्। यहाँका हरेक सहर फरक छन्। हामीले नेपालका सहरलाई दाँज्न मिल्दैन। आधुनिक विकासको कडीमा विदेशका देश नै हामीभन्दा अगाडि छन्।

नेपालबाहिर कहाँ कहाँ पुग्नुभएको छ ?
गनेको त छैन। मोटामोटी ५० वटा जति देशका सहर घुमेँ हुँला। भारतका मुम्बई, दिल्ली गएँ। त्यहाँका सहर सारै नै अव्यवस्थित लाग्यो। कहाँ जाने होला भनेर अलमल हुने किसिमका लाग्यो। चिनको बेइजिङ पग्दा पनि त्यहीँ अनुभूती भयो। जहाँ गयो मान्छे मात्रै देखिने। बेलायतको लण्डन सहरमा मेट्रो चढ्दा मैले पढेको पनि थिएँ। रेलभित्र चढ्दा सारा मानिस छाता लिएर मानिसलाई नै घोच्न आएको हो कि जस्तो देखिन्थ्यो। कहिलेकाहीँ हुलैहुल देखिनजस्तो अनुभव मैले गरको थिएँ। त्यस्तै न्युयोर्क सहर पनि अत्यन्तै भीडभाड लाग्यो। तर त्यहाँ सडकको नम्बर तोकिएको थियो। अलमल हुने किसिमको थिएन। अफ्रिकाको केही सहर पनि सुन्दर लाग्यो। फाटैफाट जमिन सुन्दर लाग्यो। त्यो छनक इस्लामावादमा पनि देखेँ। युरोपका धेरै सहर पनि गएँ। धेरैजसो सहर उस्तैउस्तै आधुनिक लाग्यो। सिँगापुर पनि युरोपका सहरजस्तै छ। फ्रान्सको पेरिस पनि राम्रो छ। त्यहाँको मौसम सदावहार छ।

मन भएर पनि पुग्न नपाएको सहर ?
संसारका ५ आश्चर्य छन्। ती आश्चर्य भएको ठाउँमा पुग्न मन छ। त्यसमध्ये इजिप्टको पिरामिडमा पुग्ने मन छ। त्यहाँ रोमन साम्राज्य कसरी विकास भएको रहेछ हेर्न मन छ। त्यो सहर सारै वैज्ञानिक ढंगले बनाएका छन् भन्ने सुनेको छु।

विदेशका सहर घुमिरहँदा नेपालका सहर पनि यस्तै भइदिए हुन्थ्यो भन्ने लाग्दैन ?
जहाँ जे देख्यो त्यो नेपालमा भइदिएन हुन्थ्यो जस्तो लागिरहेको हुन्छ। तर, हामी पनि संसारका अरु देशभन्दा कम छैनौं। मात्रै आधुनिक विकासका काममा पछि परेका हौं। विमानस्थल देख्दा नेपाल पनि यस्तै भएन हुन्थ्यो भन्ने लाग्छ। कला संस्कृति पनि यसरी सजाए हुन्थ्यो भन्ने लाग्छ। सडक पनि त्यस्तै होउन्, मेहनेत पनि त्यस्तै होस् भन्ने सोच र कल्पना आउँछ। अर्को कुरा, उपत्यकाका तीन जिल्लामा दरबार संसारमै फरक छन्। त्यस्तै, पाल्पाको रानीमहल र सिंहदबारको शैली पनि फरक छ।

सहर विकास गर्दैगर्दा हामी कहाँ चुक्यौं ?
अहिसम्मको अवस्थालाई हेर्दा हामीकहाँ बल्ल विकासको चरण सुरु हुँदैछ भन्ने लाग्छ। अब बल्ल गुरूयोजना अघि बढ्छन्। अहिले मुलुकी संघीय सरकारमा गएको छ। स्थानीय सरकार भनेको कर्मचारी हुन। त्यो संयन्त्रलाई मिलाउने र भिजन ल्याउने काम नेताले गर्ने हो। हामीकहाँ राजनीतितन्त्र एकातिर, कर्मचारीतन्त्र अर्कातिर भयो।

काठमाडौंलाई व्यवस्थित र सुसंस्कृत सहर कसरी बनाउन सकिएला ?
सहर विकासको लागि सही भिजन र दिशानिर्देश गर्ने नेतृत्व चाहिन्छ। अहिलेको सरकारले बढी ध्यान यसमै दिन आवश्यक छ। सहरका सबै पक्षलाई हेरेर विकास गरियो भने सुसंस्कृत उपत्यका बन्न सक्छ। हामीले विकासका काम गर्दा यहाँका कला संस्कृतिमा पनि ध्यान दिन आवश्यक छ।

काठमाडौंको मन पर्ने पक्ष ?
पुरानो सोचमा बनाइएका संरचना असाध्यै मनपर्छ। जुन धाराहरु बनाइएको तीनले ध्यान खिच्छ। ठाउँठाउँमा वहाल छन्। पाटीहरु छन्। घम्ने ठाउँ छन्। कला संस्कृति पनि राम्रो छ। सहरका भित्री चोक अति नै वैज्ञानिक छन्। हनुमानढोकाभित्रको मौलिकता राम्रो छ। उपत्यकाको निर्माणका सबैखाले शैली छ। प्राकृतिक रुपमा पनि यो सहर निकै सुन्दर छ। यसबाहेक काठमाडौंमा विश्रामस्थल पनि छन्।

यहाको मन नपर्ने पक्ष ?
पहिले त यस्तो थिएन। दिक्क लाग्ने पक्ष पछिल्लो समय थपिएका हुन्। पहिलेका साना साना घर अहिले अग्लाअग्ला बनेका छन् ती राम्रो पक्ष लाग्छ। एक आनामा १२ तलासम्मका डरलाग्दा घर छन्। सहरीशैली हामीले व्यवस्थित पार्ने सकेनौं। सहरको मापदण्ड नै सही भएन। अहिले देखिएको उपत्यकाको अर्को समस्या भनेको फोहर धुलोधुँवा पनि हो।

सहरको मिठो लाग्ने खानेकुरा ?
उपत्यकाको मिठो लाग्ने खानेकुरा नेवारी भोज नै हो। यहाँको खानेकुराको संस्कृति असाध्यै राम्रो छ। सुकुलमा बसेर सालको पातमा भोज खाने चलन अति नै वैज्ञानिक छ। यो पक्ष मलाई असाध्यै मनपर्छ। यहाँको मम, बारा र यमरी मनपर्छ। लसुन प्याज र चमसुरको साग पनि मलाई मनपर्छ।

काठमाडौं छिरेको कति भयो ?
म काठमाडौं कक्षा १ पढ्नको लागि छिरेको हुँ। २०२५ सालतिरको कुरा हो त्यो। धादिङका केवलपुरे किसानले मलाई पढाउनुभएको थियो। त्यो बेलाका काठमाडौं साह्रै मनमोहक थियो। ५ रुपैयाँमा चिया पाइन्थ्यो। अर्गानीक खानेकुरा पनि प्रशस्त पाइन्थ्यो। प्रस्तुतिः शिवहरि घिमिरे
 
 
   
 

प्रकाशित: १५ चैत्र २०७५ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App