दश महिनापश्चात्
समयको ओछ्यानमा
पाठेघर उधारेर
तिमीलाई जन्म दिएकी थिएँ, छोरा
तिमीलाई छातीमा च्यापेर
पिठ्यूँमा भारी बोक्थेँ
चट्याङ् गर्जदा
तिम्रो आँखामा भविष्य खोज्दै
दुःखको सागर तर्थे
तिमीलाई न्यानो घामले सेक्न
कयौपटक आँसुले रुझेकी छु
तिमी हुर्कने क्रममा
रातको निद्रा धितो राखेर
सपना ऋण लिएकी थिएँ
त्यही ऋणको आँगनमा
तिमीलाई बोल्न सिकाएँ
हात समाएर डोर्याएँ
समाजमा उभिन सक्ने बनाएँ
तिमी पहिलोपटक धर्तीमा उभिँदा
गर्वले छाती फुलेको थियो मेरो
तिम्रो उज्ज्वल भविष्यका लागि
मैले खुसीहरू बन्धकी राखेँ
नाकको फुली र कानको मुन्द्री बेचेर
किनेँ महङ्गो शिक्षा
र बनाएँ तिमीलाई योग्य।
समयले खोजेजस्तै सक्षम भयौ तिमी
सम्पन्न भयौ हरेक कुरामा
तिम्रा नशा–नशामा ताकत भरिए
आँखामा जोश र मनमा जाँगर पलायो
मलाई भने सेतै फुलेको कपालले
उद्घोष गरी रह्यो वृद्घको
व्यवहारले गालेको मन
समयले सुकाएको शरीर
समर्पणमा मक्किएको हड्डी
मासी नभएको हातखुट्टा
यतिबेला, छोरा तिमीले
गर्याै आश्रम पठाउने तयारी
छोरा, तिमीसँगै बस्दा
मलाई चाहिँदैन छुट्टै घर
यही घरको एउटा कुनो भए पुग्छ
जहाँ फुलेको छ
तिम्रो बाको सपना र मेरो मिहिनेत
चाङ लागेको छ यहाँ
तिम्रो र मेरो जिन्दगीको
पलपलको दस्तावेज।
प्रकाशित: २५ फाल्गुन २०७५ ०६:२३ शनिबार