शशीविक्रम कार्की
संसारको आठौं अग्लो हिमाल मनास्लु (८,१५६ मिटर) क्षेत्रको पदयात्रा रोचक र साहसिक हुन्छ। गोरखाको सोतीखोलाबाट सुरु हुने पदयात्रामा बेँसीदेखि लेकसम्मको भौगोलिक विविधता अनुभव गर्न सकिन्छ। फरक जीवनशैलीको अनुभवका लागि पनि मनास्लु पदमार्ग आकर्षक छ। जति उचाइमा पुगिन्छ उति नै फरक रहनसहन अनुभव गर्न पाइन्छ।
केही वर्ष यता नेपाली पदयात्रीको संख्या बढ्दै गएको छ। तर अधिकांश न्यूनतम तयारीबिनै यात्रामा निस्केको देखिन्छ। तयारीबिना जाँदा जोखिममा परिन्छ। त्यसैले राम्रो तयारीसाथ यात्रा गर्नु पर्छ। तपाईं पनि पदयात्रामा निस्किनुस्। आफू र देशलाई चिन्ने प्रयास गर्नुस्। किनकि यात्रा सिकाइको उत्कृष्ट माध्यम हो।
काठमाडौंबाट यात्रामा निस्कँदा दिनको १६ सय रुपैयाँ खर्च र १२ दिन छुट्टयाएमा मनास्लु राउण्ड पदयात्रा पुरा गर्न सकिन्छ।
उचाइ , सोतीखोला (७०० मिटर)बाट सुरु हुने पदयात्रा जगत, देग, लो, सामागाउँँ, साम्दो जस्ता रमाइला गाउँ हुँदै लार्के भन्याङ (५,१६० मिटर) पार गरिन्छ। उच्च हिमाली क्षेत्रको पदयात्रा गर्नु अघि अनुभव संकलन गर्न मनास्लु पदयात्रा गर्नु उत्तम हुन्छ। बासस्थान–पदयात्रामा एक महत्वपूर्ण पक्ष दैनिक हिँड्नु पर्ने दूरी र समय हो। यस हिसाबले यो पदयात्रालाई आदर्श मान्न सकिन्छ। सुरु गर्ने दिन करिब ३ घन्टा ३० मिनेट हिँडे पुग्छ। त्यसपछिका केही दिन दैनिक ६ देखि ७ घन्टा हिँड्नु पर्छ। सामागाउँँ (३,५०० मिटर) पुगे पछिका दिनमा दैनिक ४ घन्टा भन्दा बढी हिँड्नु पर्दैन। बिहानको नास्ता खाएर हिँडेपछि बास बस्ने ठाउँमै बिहानको खाना खान पुगिन्छ। हरेक दिन उचाइ बढ्दै जाने हुनाले एकै दिन धेरै उचाइमा पुग्ने गरी हिँड्नु हुँदैन।
पुराना गाउँ– फिलिम, नामरुङ, लो, लिही, सामागाउँँ, साम्दो जस्ता सुन्दर र पुराना गाउँँ पदयात्राका थप आकर्षण हुन्। यी गाउँँमा तिब्बती रहनसहनको झल्को पाइन्छ। गाउँलेहरू बौद्ध धर्म मान्छन्। हरेक गाउँँमा पुराना छोर्तेन छन्। सामागाउँँ र साम्दोमा ढुंगाले बनेका आपसमा जोडिएका घर छन्। तलपट्टि वस्तुभाउ, घाँसपात, दाउरा राखिन्छ भने माथिल्लो तलामा परिवार बस्छन्। गाउँमा प्रायः हरेक परिवारले केही चौंरी, याक र घोडा पालेका हुन्छन्। साना बाछाबाछीबाहेक याक, चौंरी र घोडा खुल्ला छोडिन्छ। महिला कि खेतीमा व्यस्त हुन्छन् कि तानबाट लुगाहरू बनाउँदै गरेका भेटिन्छन्। कात्तिक–मंसिरमा मज्जाको घाम लाग्ने हुनाले गाउँघर अगाडि सेताम्मे हुने गरी छुर्पी सुकाइएको हुन्छ।
हिमाल–नामरुङबाट अघि बढ्दा लो गाउँँ पुग्नुअगाडि उत्तरपूर्व दिशामा गणेश हिमालको सुन्दर दृश्य देखिन्छ। त्योसँगै बुद्ध हिमाल देखिन्छ। लो गाउँँ पुग्नै लाग्दा दायाँपट्टिको नाइके पिक, बीचमा मनास्लु नर्थ र बायाँपट्टि भीमकाय मनास्लु (८,१५६ मिटर)को मनमोहक दृश्य देखिन्छ। सामान्यतः साँझ पर्नुअघि कुहिरोले गाउँँ ढाक्छ। राति आकाश खुल्ला भएका बेला तारासहित पृष्ठभूमिमा देखिने मनास्लुको दृश्यले कहिल्यै बिहान नहोस् जस्तो लाग्छ। सूर्योदयका बेला देखिने मनास्लुको सुनौलो दृश्य कम मनमोहक हुँदैन। लिहीबाट देखिने हिमालको दृश्यले पनि पदयात्राको रोमाञ्चकता बढाएको छ। लिहीमा पुग्दा हिमालको बीचमा भएको महसुस हुन्छ।
आधारशिविर–साधारणतया लेक पचाउन सामागाउँँमा थप एक दिन बस्ने गरिन्छ र उक्त दिन मनास्लु आधारशिविर अथवा पुङ्गेन गुम्बा जान सकिन्छ। आधार शिविर (४,८०० मिटर) पुगेर आउन सामागाउँँबाट करिब ७ घण्टा लाग्छ। आधार शिविरमा पुग्दा मनास्लु आँखाअगाडि ठिंग उभिएझैं लाग्छ। नजिकैको हिम नदी पनि उत्तिकै मनमोहक छ। बेलाबेलामा हिमनदीबाट बरफका टुक्रा चोइटिएर खस्दा ठूलो आवाज आउँछ। तल रहेको वीरेन्द्रतालको दृश्य पनि सुन्दर छ।
सामागाउँँ नजानेहरू पुंगेन गुम्बा जान्छन्। त्यहाँबाट मनास्लुलाई अर्को कोणबाट हेर्न पाइन्छ। मनास्लुको पिँधैमा पुगेझैं लाग्छ। गुम्बाबाट देखिने सामागाउँँको दृश्य, चौरमा चरिरहेका याक, नाक र घोडाको दृश्य छाडेर कतै नजाऊँ, हेरिरहूँ जस्तो लाग्छ।
पदयात्रा समय : राउण्ड मनास्लुको पदयात्रा सोती खोलाबाट सुरु हुन्छ भने लार्के पास हुँदै मनाङको धारापानीमा टुंगिन्छ। काठमाडौँबाट जानेआउने दिनसम्म गन्दा १२ दिन समय लाग्छ।
मध्यम पदमार्ग : उच्च हिमाली क्षेत्रमा पदयात्रा आयोजना गर्ने फ्रान्सको प्रख्यात पदयात्रा कम्पनी ‘तिरावा’ले कठिनाइका हिसाबले यो पदयात्रालाई २० मा १२ अंक दिएको छ। म यसलाई मध्यम रूपमा कठिन छ भन्छु। अर्थात् न धेरै सजिलो न कठिन।
खर्च : पदमार्गमा खान र बस्न होटल छन्। त्यहाँ दुई अथवा तीनवटा खाट भएका कोठा हुन्छन्। दालभातबाहेक, पदयात्रा मार्गहरूमा स्थानीय नेपाली खानेकुराको त्यति धेरै प्रचार भएको पाइँदैन। मःमदेखि स्पागेट्टी, पिज्जा, स्टेक आदि खानेकुरा पाइन्छ। जति धेरै उचाइमा पुगिन्छ, खाना उति महँगो हुँदै जान्छ। लार्के फेदी अर्थात् धर्मशाला (४४०० मिटर)सम्म पुग्दा दालभातको ७५० रुपैयाँसम्म पर्छ भने ठूलो एक थर्मस कालो चियाको १६ सय रुपैयाँसम्म पर्छ।
बोतलको पानी साह्रै महंगो। सोती खोलामै एक बोतलको सय रुपैयाँ पर्छ भने धर्मशालामा ३५० रुपैयाँ। तसर्थ पानीमा हाल्ने औषधि र पानी बोक्ने भाँडो लिएर जाँदा सजिलो हुन्छ। बिहान, दिउँसो र बेलुकाको खाना, दिउँसोको चिया र होटलको खर्च गरी दिनको करिब १६ सय रुपैयाँ खर्च हुन्छ। कपडा–पदयात्रामा शारीरिक क्षमताको प्रश्न जोडिने भएकाले सहजताका लागि हलुका तर न्याना लुगा लगाउनु पर्छ। पसिना सोस्ने गन्जी, पूरा बाहुला भएका टिसर्ट, विन्डचिटर र फेदरको ज्याकेट चाहिन्छ। दिउँसो हिँड्दा गर्मी हुने भएकाले भित्री गन्जी, पूरा बाहुलाको टिसर्ट र विण्डचिटर लगाउन सकिन्छ। तर घाम अस्ताउनेबित्तिकै चिसो हुने भएकाले बाक्लो लुगा र फेदरको ज्याकेट नै आवश्यक हुन्छ। तल लगाउन ट्राउजर व्यवहारिक हुन्छ। जाडोका दिनमा भित्रपट्टि लगाउने लुगा बोक्नुपर्छ। मौसम बिग्रेर चिसो बढेका बेला इनर नलगाई हिँड्न सकिदैन। जबर्जस्ती चिसोलाई जिस्काउँदै हिँडे बिरामी परिन्छ।
१२ दिनका लागि ३ वटा ट्राउजर भए पुग्छ। त्यस्तै भुवाको टोपी, दिउँसो हिँड्दा क्याप जरुरत पर्दछ। पानी नछिर्ने पन्जा पनि बोक्नु पर्छ। अर्को महत्वपूर्ण सामान जुत्ता र झोला हो। पदयात्रा गर्ने जुत्ता नै किन्नुपर्छ। चार हजार रुपैयाँमा ३–४ वटा पदयात्रासम्म टिक्ने जुत्ता पाइन्छ। त्यस्तै बलियो ६० लिटर क्षमताको झोला बोक्दा ठिक हुन्छ।
अरू सामान–हेड ल्याम्प, दुइ जोर ब्याट्री, एउटा साधारण चक्कु, एउटा लाइटर, सियो धागो, ट्वाइलेट पेपर, चार्जर ब्याकअप पनि बोक्नु पर्छ। हाई टुरिस्ट सिजनका बेला जाने हो भने माइनस १० डिग्रीसम्म धान्ने स्लिपिंग ब्याग र म्याट्रेस पनि बोक्नुपर्छ। सानो टेन्ट छ भने बोक्दा राम्रो। खानेकुरा–बिहानको खाजा, दिउँसो र बेलुकाको खानाका लागि बाटोमा प्रसस्तै होटल छन्। दिउँसोका चकलेट, चाउचाउ र बिस्कुट बोक्न सकिन्छ। यी सबै चीज त्यहाँ पनि किन्न पाइन्छ तर महँगो पर्छ।
औषधि–लेक लाग्दा खाने औषधि बोक्न बिर्सिनुहुन्न र खाने विधि पनि सिकेर जानुपर्छ। आफूले नियमित खानुपर्ने औषधि साथै पखाला, ज्वरो र दुखाइ कम गर्ने औषधि बोक्नु पर्छ। फोहर–जथाभावी फोहोर फ्याँक्ने बानीले सुन्दर देशलाई कुरूप बनाउँदै छ। हाम्रो यस्तो व्यवहारले पर्यटन फस्टाउन सक्दैन। त्यसैले आफूले प्रयोग गरेका सामानबाट निस्केको फोहोर साथमै फिर्ता ल्याउनु पर्छ।
प्रकाशित: २५ फाल्गुन २०७५ ०५:३७ शनिबार