मोपासाँ
यो किस्सा शिकारी दिनको हो। शिकार गर्ने एउटा विशेष मौसम हुन्थ्यो। जाडोको यो याममा हामी हाम्रो गाउँबाट अलि टाढा दि बेनेभिले भन्ने ठाउँमा थियौँ। शरद यामको वर्षा र निरसताको साम्राज्य थियो। रातो रङका पातहरु भुइँ झरेर सर्सराहटको आवाज गर्नुको साटो अघिल्लो रातको भारी वर्षाका कारण खाडलमा कुहिने अवस्थामा पुगेको थियो।
वृक्षमा पातपतिङ्गरको नाम पनि थिएन। जंगल स्नानघरझैँ भिजेको थियो। कतिपय रुखमा नाम मात्रका फल पनि नहुँदा ती विरक्तलाग्दा देखिन्थे। ठूलाठूला वृक्षमुनि दलदलको गन्ध फैलिएको थियो। यो दलदलमा जे झरे पनि उसले आफूभित्र समेट्थ्यो। यो दलदलरुपी घोल जडिबुटी, गिलो माटो र लगातार भएको वर्षाको घालमेलबाट बनेको थियो। शिकार गर्न गएको हाम्रो टोलीको जोश वातावरणझैँ चिसो भइसकेको थियो। शिकारी कुकुर पनि चिढचिढे भइसकेका थिए। उनीहरुको पुच्छर तल घुम्रिन थालेको थियो र तिनको रौँ मज्जैले कोरिदिएझैँ सपाट देखिन्थे। युवा शिकारी महिलाहरु पनि अत्यधिक वर्षाका कारण निराश थिए। उनीहरु हरेक साँझ निराश फर्कन्थे र उनीहरुको आत्मा र शरीर पूर्णरुपमा हताश तथा थाकेको हुन्थ्यो।
रात्रिकालीन भोजनपछि ठूलो बैठक कक्षमा हामी विनाकुनै उत्साह लोटो खेल्थ्यौँ। यस्तो खेलाई बिल्कुल त्यस्तो हावाजस्तो हुन्थ्यो, जसले ढोका ढक्ढक्याउँथ्यो र अनि अचानक कतै हराउँथ्यो। यस्तोमा कसैले किताबमा लेखिएको चित्ताकर्षक कथा सुनाउने सुझाव दियो तर कुनै पनि मनोरञ्जक चिजका बारेमा सोच्ने अवस्था हाम्रो थिएन। शिकारीहरुले डरलाग्दा जनावरलाई कसरी शिकार गरे र बन्दुकको अवस्था के कस्तो थियो आदिबारे एकादुई कथा सुनाए। महिलाहरुले आफ्नो दिमाग खपाए तर यस्तो कथामा उनीहरुका लागि आकर्षक केही थिएन र दिक्क माने।
सबै यो बोझिल अवस्था चिर्ने प्रयास गरिरहेका थिए तर सकेका थिएनन्। यस्तोमा एउटी युवती आफ्नी हजुरआमाको हात खेलाइरहेकी थिई। उसको नजर हजुरआमाले लगाएको खैरो रङको कपालको एउटा औँठी देखी। त्यसो त उसले यो औँठी यसअघि पनि कयौँपटक देखेकी थिई तर त्यसका बारेमा कहिल्यै सोचेकी थिइन।
बिस्तारै उसले आफ्नो हात औँठीतर्फ बढाई र अचानक भन्न थाली, ‘हजुरआमा, मलाई यो औँठीको कथा भन्नू न। हेर्दा पनि उदेकको छ यो कपालको औँठी ! यसअघि मैले कसैले पनि कपालको औँठी लगाएको देखेकी थिइनँ।’
ती वृद्ध महिलाको अनुहार सुरुमा रक्ताम्य भयो र पछि एकाएक पहेँलियो। त्यसपछि वृद्धाले काँपेको आवाजमा भनी, ‘के भन्नु र खोई ? यो एउटा बडो दुखद् कथा छ। ज्यादै दुखद्। त्यसैले पनि मैले यसका बारेमा कहिल्यै कसैलाई बताउनेबार सोचिनँ। मेरो जीवनको सारा दुःख यसै घटनामा त केन्द्रित छ।’
‘त्यो बेला म जवान थिएँ,’ वृद्धा विगतमा फर्कन थालिन्, ‘तर त्यो घटना मेरो स्मृतिमा ज्युँका त्युँ छ। यो कथाको अमिट छाप बस्नुमा यो दुखद् भएर पनि हो। जसै म यस घटनाका बारेमा सम्झन्छु, मेरो आँखा भरिएर आउँछ।’ वृद्धाले यति भनिनसिध्याउँदै सबै जनाले उनको कथा सुन्ने इच्छा व्यक्त गर्न थाले। वृद्धाले कथा सुनाउन पूरै अस्वीकार गरिन्। सबैले कथा सुनाउनै पर्छ भनेर गनगन गर्न थाले। त्यसपछि वृद्धा कथा सुनाउन तयार भइन्।
‘तिमीहरुले प्रायः सेन्तिज परिवारको बारेमा बारम्बार मैले सुनाउने गरेको त थाहै होला,’ वृद्धाले भन्न थालिन्, ‘म त्यही सेन्तिज परिवारका अन्तिम तीन पुरुषहरुलाई राम्रोसँग चिन्थेँ। यी तीनजना नै केही कालावधिमा लगभग उस्तै मृत्यु वरण गर्न पुगे। अहिले म जुन कथा सुनाउँदैछु, त्यो कथा चाहिँ सेन्तिज परिवारको अन्तिम सदस्यको बारेमा हो। जुन बेला उसको मृत्यु भयो, त्यो बेला उसको उमेर मात्र तेह्र वर्षको थियो। तेह्र वर्षमै कसरी त्यो मर्याे होला भनेर तिमीहरुलाई आश्चर्य लाग्ला।’
‘उनीहरु तीनै जना एउटै दौडमा थिए। बेवकूफीपूर्ण दौड, ज्यादै प्रेमिल बेवकूफी ! प्रेमका लागि पागल ! बाउदेखि लिएर छोरासम्म सबै यो खतरनाक पागलपनको रङमा रङ्गिएका थिए। यो जुनूनले उनीहरुलाई जुनसुकै हदसम्म पुर्याउन सक्थ्यो। अरु त अरु उनीहरु अपराध पनि गर्न सक्थे। उनीहरुका लागि समर्पण कुनै पवित्र आत्माझैँ थियो। तर सन्यासी बन्ने र बैठक कक्षलाई शोभा बढाउने व्यक्तिहरुबीचको स्वभाव एकजस्तो हुँदैन। उनीहरु कतिसम्म पागल थिए भने हरकसैले उदाहरण दिनु पर्दा भन्ने गर्थे, फलानो त सेन्तिसहरुले झैँ प्रेम गर्दोरहेछ !’
‘बेशर्त र बेफ्वाँक प्रेम गर्नु उनीहरुको दैवी विशेषता थियो। सबै सेन्तिसका आँखीभौँमा घुँघुरिएको कपाल थियो। उनीहरुको दाह्री पनि घुम्रिएको थियो। ठूलाठूला आँखा थिए। जसै एक पटक उनीहरुले तपाईंलाई देखे, त्यसपछि त तपाईंको हैरानी सुरु भयो !’
‘सेन्तिसमध्ये एकका हजुरबाले जीवनमा कयौँ रोमान्सको स्वाद र स्त्री संगतको आनन्द चाखिसकेपछि ६० वर्षको हुँदा आफ्नै खेतीमा काम गर्ने एक कृषककी छोरीको प्रेमपाशमा फँसे। म ती दुवैलाई राम्रोसँग चिन्थेँ। त्यो केटी खैरो कपाल भएकी, गोरो वर्णकी, विशिष्ट आभायुक्त, मधुर आवाज र प्यारो चेहरा भएकी थिई। उसलाई देख्दा मलाई म्याडोना (प्रेमकी देवी) को झल्को आउँथ्यो। बूढो जमिन्दारले छोरीसँगै दहेजमा छोरीको बाउलाई पनि लिएर घरमा भित्र्यायो। जमिन्दार त्यो युवतीविना एक क्षण पनि समय काट्न चाहँदैनथ्यो। जमिन्दारको छोरा–बुहारीले पनि यसलाई स्वाभाविक माने। अत्यधिक प्रेम यो परिवारको परम्पराझैँ रहिआएकाले पुरुषहरुको कुनै स्त्रीप्रतिको पागलपनको हदसम्मको प्रेमलाई आश्चर्य मानेर हेरिँदैनथ्यो। जब यो परिवारका कुनै पुरुषको प्रेम अस्वीकार हुन्थ्यो र पुरुषले बदला लिनेबारे सोच्यो या कुरा गर्याे भने त्यो घरका स्त्रीहरुलाई कुनै आश्चर्य हुँदैनथ्यो। बरु उनीहरुलाई थाहा हुन्थ्यो, त्यो पुरुषको दिल कति दुखेछ !
‘एउटा जाडोमा मस्यू दि ग्रोदेन नामक युवाले वृद्धलाई उसकी नवदुलहीसहित शिकारका लागि बोलायो र युवती लिएर टाप कस्यो। ‘मस्यू दि सेन्तिज यति शान्त भए कि मानौँ कुनै घटना नै नघटेको होस्। तर एक बिहान परिवारका सदस्यले उनलाई कुकुरहरुका बीचमा मृत फेला पारे।’ ‘ती वृद्धका छोराको पनि मृत्यु सन् १८४१ मा यस्तै प्रकारले भयो। पेरिसको एउटा होटलमा उनी मृत फेला पारिएका थिए र गाइँगुइँ सुनिन्थ्यो– उनलाई एकजना अपेरा गायिकाले प्रेममा धोका दिइन् रे ! सेन्तिज परिवारको अन्तिम पुरुष एघार वर्षको एउटा बालक थियो र त्यस बालककी आमा थिई। त्यो विधवा मेरो टाढाको सानीमा पर्ने थिइन्। विधवा र उसको एघार वर्षे बालक हाम्रो घरमा बस्न थाले। त्यो बेला म सत्र वर्षकी थिएँ।
तिमी कल्पना पनि गर्न सक्तिनौ, त्यो सानो सेन्तिज कति विस्मयकारी र समयअघि नै प्रौढ हुने बालक थियो। हरकोहीले सुनाउँथे– सेन्तिजहरुका सारा गुण बोकेर आएको छ यो बालक ! उसमा कोमलता थियो, आफ्नै सपनाको संसारमा हराउने, घरबाट जंगल र जंगलबाट घर डुलिरहने र एक्लै डुलिरहने बालक थियो ऊ। म अक्सर यो भावुक किशोरलाई मेरो कोठाको झ्यालबाट चिहाएर हेर्थेँ। ऊ प्रायः आफ्नो हात ढाडपछाडि टिकाएर हिँडिरहेको पाउँथेँ। ऊ कहिलेकाहीँ बीचैमा रोकिन्थ्यो र यसरी हेथ्र्यो, मानौँ ऊ आफ्नो आयु र अनुभवभन्दा अगाडिको चिज बुझ्ने प्रयास गरिरहेको होओस्।
शान्त र सफा रातमा खाना खाइसकेपछि ऊ प्रायः मलाई भन्थ्यो, ‘आऊ त्रोया, सपनामा विचरण गरौँ !’ यसपछि म ऊसित पार्कमा जान्थेँ। ऊ पार्कको खुला ठाउँमा पुगेपछि रोकिन्थ्यो। खुला स्थान अगाडिको भागमा कुहिरोले छोपिएको हुन्थ्यो र चन्द्रमाको चारैतिर साम्राज्य छाएको हुन्थ्यो। ऊ मेरो हात पक्डेर भन्थ्यो, ‘हेर, यहाँ हेर ! तर तिमी बुझ्न सक्तिनौ। म बरु यसलाई महसुस गर्न सक्छु। तिमी यसलाई बुझ्न सक्यौ भने तिमी पनि खुसी हुन्थ्यौ। हरेकले यो कुरा बुझ्नुपर्छ कि प्रेम कसरी गर्नुपर्छ।’
यो कलिलो केटोको कुरा सुनेर मलाई हाँसो उठ्थ्यो र म उसलाई कस्सिएर अँगालो मार्थेँ। यो त्यही केटो थियो, जसले मलाई उसको अन्तिम श्वाससम्म प्रेम गरेको थियो। रातिको भोजनपछि ऊ प्रायः मेरी आमासँग बस्थ्यो। उसले मेरी आमासँग भन्थ्यो, आन्टी, मलाई कुनै प्रेमकहानी सुनाउनु न।’ मेरी आमा पनि उसको खुसीका लागि उसैको परिवारको रोचक कथा सुनाउनु हुन्थ्यो। उसका हजुरबा र बुबाको प्रेमको जुन जुनूनका किस्सा थिए, तिनलाई मरमसला हालेर आमाले यो फुच्चे सेन्तिजलाई हजारौँ पटक सुनाउनु हुन्थ्यो। सुनाइएका ती किस्सा कहिलेकाहीँ सत्य हुन्थे भने कहिले बनिबनाउ पनि हुन्थे। यिनै कथाले उसलाई बर्बाद बनाए। जसजसले सेन्तिजका कथा सुनाउँथे, सुनाउनेहरुले गर्व गर्थे– हामीले कहिल्यै पनि सेन्तिजका कुरालाई लुकाएनौँ, हामीले सत्यसत्य बोल्यौँ। यो फुच्चे सेन्तिजलाई आफ्ना पुर्खाको प्रेमप्रलय मन पथ्र्यो। उसलाई लाग्न थाल्यो, प्रेमभन्दा सुन्दर चिज कुनै हुनै सक्तैन। प्रेम गर्नु ठूलो कुरा हो।
‘यी भयानक प्रेमकथाहरुको जालबाट त्यो सानो बच्चो बच्न सकेन। ती कथाले उसको दिमागमा आफ्नो गहिरो छाप छोड्यो। जसै कथा सुन्थ्यो, ऊ कुनै बेला मज्जाले ताली बजाउँथ्यो त कहिले ग्वाँ ग्वाँ रुन्थ्यो। कहिलेकाहीँ उसले भन्थ्यो, ‘म पनि उनीहरुजस्तै छु। कहिलेकाहीँ लाग्छ, प्रेम कसरी गर्नुपर्छ मलाई पनि थाहा छ। कहिलेकाहीँ त म अरुले भन्दा पनि सशक्त तरिकाले प्रेम गर्न जान्दछु भन्ने लाग्छ।’ ‘यी कथा प्रवचनको केही समयपछि नै उसले मतर्फ केही खास ध्यान दिन थालेको थियो। उसले मप्रति पनि अनौठो व्यवहार देखाउन थालेको थियो। ती व्यवहार कहिलेकाहीँ बडो हास्यास्पद लाग्थ्यो मलाई। हुन त त्यस्तो व्यवहार देख्ने जो कोही पनि मज्जैले हाँस्थ्यो होला। हरेक दिन बिहान ऊ मलाई फक्रक्क फक्रेको फूल उपहार दिन्थ्यो। हरेक साँझ कोठामा सुत्न जानुअघि ऊ मेरो हात चुम्थ्यो र भन्थ्यो, ‘म तिमीलाई असाध्य प्रेम गर्छु।’
एउटा फुच्चेले यस्तो व्यवहार देखाउँदा मलाई भित्रैदेखि हाँस उठेर आउँथ्यो र म उसले ती हर्कत दोहो¥याइरहोस् भनेर उक्साउँथे। ‘म दोषी हुँ उसको, अति दोषी ! त्यसैले त म त्यो बेलादेखि नै दुःखी छु र आफ्नै इच्छाले म त्यो किशोरको विधवा बनेर पश्चाताप गरिरहेकी छु। म त्यो केटोको प्रेमले मन बहलाइरहेँ र उसलाई उक्साइरहेँ। म एउटी नवयुवतीझैँ, म उसकी प्रेमिका झैँ विभिन्न भाव भङ्गिमा देखाउँथेँ। विभिन्न प्रपञ्च रच्थेँ मानौँ ऊ एउटा वयस्क पुरुष होस् ! म उसलाई उत्तेजित पार्थेँ। मेरा लागि यो एउटा खेलौनाजस्तो थियो, ठट्टा–मजाक थियो। उसकी आमाका लागि ध्यान विकेन्द्रित गर्ने एउटा मेलो थियो। ऊ मात्र एघार वर्षको त थियो ! यो उमेरको केटोको प्रेमलाई कसले गम्भीरतापूर्वक लिन्थ्यो ! उसले भन्थ्यो, ‘तिमीलाई चुम्न मन लागेको छ।’ म उसलाई चुम्न दिन्थेँ। उसले जब भन्थ्यो, ‘तिमी मलाई चुम्बन गर।’ म उसलाई चुमिदिन्थेँ। मैले उसलाई कयौँ प्रेमपूर्ण पत्रहरु लेखेँ। ती पत्रलाई उसकी आमा र मेरी आमाले पनि स्वाद मानेर पढे। त्यो किशोरले पनि ती पत्रहरुको जवाफ बडो जोशका साथ फर्काउँथ्यो। ती पत्रहरु मैले अझै आफैँसित राखेकी छु। ऊ आफूलाई एउटा वयस्क पुरुष जस्तो ठान्थ्यो र उसले प्रेम र घनिष्ठताका बारेमा आफ्ना केही धारणा र मान्यता बनाएको थियो। मेरी आमा र मैले बिर्सियौँ कि वास्तवमा ऊ त एउटा सेन्तिजको रगत थियो ! आफ्नो प्रेमका लागि हुरुक्क हुने सेन्तिज !
‘यस्तो गतिविधि लगभग एक वर्षसम्म चल्यो। एक साँझ पार्कमा ऊ मेरो काखमा लुटपुटियो र मेरो लुगाको एउटा किनारा पागलले झैँ दर्जनौँ पटक चुम्यो। हरेक पटकको चुम्बनमा ऊ भन्थ्यो, ‘म तिमीलाई असाध्य माया गर्छु। म तिमीविना बाँच्न सक्तिनँ। म तिमीलाई यति माया गर्छु कि मरेर पनि गरिरहनेछु। तिमीले मलाई कहिल्यै धोका दिएको पाएँ भने, अरुका लागि मलाई तिमीले छाडिदियौ भने बुझ्नु म त्यही काम गर्नेछु, जुन काम मेरा बुबाले गरेका थिए।’ उसले फेरि सुस्तरी भन्यो, ‘म के गर्छु भन्ने तिमीलाई भलिभाँती थाहा छ।’
उसको यो अन्तिम शब्द सुनेर मेरो हृदय काँप्यो। म आश्चर्यचकित र अवाक् भएँ। म जुरुक्क उठेँ। ऊ पनि उठ्यो र आफ्नो गोडाको पञ्जाको बलमा मेरो काँध छेउमा मुख पुर्यायो। म ऊभन्दा निकै अग्ली थिएँ। उसको जोडबलले बल्ल काँधमा आइपुगेको थियो। उसले सुस्तरी कानमा लगभग श्वासले भन्यो, ‘जेनेबिब !’ उसको त्यो आवाज अनौठो थियो, मलाई मीठो र बडो प्यारो लागिरहेको थियो तर श्वासबाट निस्केको त्यो आवाजले मलाई भित्रैदेखि कुत्कुत्यायो।
मैले हडबडाउँदै भनेँ, ‘रात पर्याे, जाऊँ घर।’ ऊ केही बोलेन र चुपचाप मेरो पछिपछि आयो। घरको सिँढी चढ्दै गर्दा केही हतार भएजस्तो गरी उसले भन्यो, ‘तिमीले मलाई छाड्यौ भने तिमीलाई थाहा छ, म के गर्छु ? त्यो दिन मेरो मृत्युको दिन हुनेछ।’यतिबेला बल्ल मेरो होश फर्कियो, म यो किशोरसँग ठट्टैका बीचमा कति टाढा पुगिसकेकी रहिछु। भुमरीमा परिसकेकी रहिछु। त्यसपछि मैले ऊसित एक किसिमको दूरी राख्न थालेँ। यस्तो व्यवहार उसलाई मनपर्ने कुरै भएन। उसले मलाई धिक्कार्न थाल्यो, कतिपय अवस्थामा गाली पनि ग¥यो। जवाफमा मैले उसलाई भनेँ, ‘हेर् केटा, तँ यो ठट्टाका लागि निकै ठूलो भइसकिस् र गम्भीर प्रेमका लागि ज्यादै सानो छस्। म प्रतीक्षा गरुँली !’मैले सोचेकी थिएँ, म यसबाट स्वतन्त्र भएँ।
जाडोको छुट्टिपछि उसलाई स्कुल पठाइयो। जसै गर्मीको छुट्टि सुरु भयो, ऊ पनि बिदा मनाउन घर फर्कियो। त्यतिञ्जेलमा मेरो बिहेको कुरा छिनिसकिएको थियो। एकै नजरमा उसले सबै कुरा बुझ्यो र साताभर शान्त रह्यो। उसको मौनताले अब मलाई चिमोट्न थाल्यो।
ऊ आएको नवौँ दिन बिहानीपख मेरो ढोकामुनि एउटा कागज देखेँ। मैले कागज उठाएँ र पढ्न थालेँ। लेखिएको थियो, ‘तिमीले मलाई छाडिदियौ, बडो दुःख लाग्यो। छाड्यौ भने के गर्छु भन्ने तिमीलाई थाहा छ, मैले पहिला नै तिमीलाई भनिसकेको थिएँ। तिम्रो बिहेको औँठीले मेरो मृत्युको आदेश दिएको छ। अब मलाई कसैले नखोजोस्। मात्र तिमी आउनू। त्यो ठाउँमा आउनू, जहाँ मैले पहिलो पटक तिमीलाई पहिलोपटक प्रेम प्रस्ताव राखेको थिएँ। त्यहाँ आएर तिमीले मेरो हालत हेर्नू !’
पत्र पढेर मेरो दिमाग चट्चट् गर्न थाल्यो र फुट्लाझैँ हुन थाल्यो। म बौलाउँ कि के गरुँ भयो। त्यसपछि हतार हतार लुगा लगाएँ र जतिसक्दो चाँडो दौडन सक्छु, दौडिएँ। म पार्कको त्यही ठाउँमा पुगेँ, जहाँ उसले पहिलोपटक मलाई प्रेम प्रस्ताव राखेको थियो। मेरो मुटुको धड्कन तीव्र थियो, दौडिएकाले मेरो श्वास फुलेर दमकी रोगीझँै भएको थियो। उसको स्कुलको टोपी दलदलको पत्ताहरुले उचालिरहेका थिए। रातभर पानी परेको थियो। यसले यो ठाउँलाई अझ घातक बनाएको थियो। यो दलदलमा छिरेपछि कोही निस्केको आजसम्म मलाई थाहा छैन। यत्तिकैमा पातहरुको सर्सराहट सुनियो तर यो त हावाको एउटा कम्पन्न मात्र थियो।
‘म के गरुँ र के नगरुँको अवस्थामा केहीबेर बसिरहेँ। म रोऊँ कि हाँसुँको अवस्थामा थिएँ। यत्तिकैमा ठूलो आवाजमा म चिच्याएँ र म बेहोस भएँ। होश आएपछि म घरतिर दौडिएँ। म आफ्नो ओछ्यानमा ड्याङ्ग ढलेँ। मेरो अवस्था देखेर मेरी आमा र त्यो केटोकी आमा पनि कोठामा छिरे। मैले पूरा किस्सा सुनाएँ। ‘यो भयानक उन्मादको अवस्थामा देखेको एउटा दुःस्वप्न थियो भन्ने मैले सोचेँ र आफैँलाई भनेँ, ‘त्यो फुच्चे कहाँ छ ? कहाँ छ ऊ ?’
‘सबैले मलाई सुनाए, त्यो केटो त्यही दलदलभित्र फेला पर्याे। मैले दोहोर्याएर त्यो किशोरलाई हेर्ने मन गरिनँ। तर मैले परिवारसँग भनेँ, उसको खैरो कपाल मलाई ल्याइदेओ।’ हाम्रो घरमा काम गर्ने नोकर्नीमध्ये एउटीले कपालको एउटा गुच्छा अनमनको अवस्थाले मतिर अघि बढाई। ‘मेरो आँखाबाट अविरल बगिरहेको थियो, इन्द्रावती। बारम्बार त्यो इन्द्रावतीलाई आँखाबाट हटाउने प्रयासमा रुमाल भिजेर लपक्क भएको थियो।’
‘त्यही दिन मैले घरमा घोषणा गरेँ, मैले बिहेको मगनी तोडेँ, कसैले कारण नसोध्नू।’
‘यसरी म एउटा १३ वर्षको किशोरको विधवा बन्न पुगेँ र त्यो पनि सधैँका लागि !’
कथा सुनाइसकेपछि वृद्धाले लामो समयसम्म हुँक्क हुँक्क गरिरही।
जब सबै जना आ–आफ्नो कोठामा गए, कथाले अत्यधिक दुःखी भएको एउटा शिकारीले उसको साथीको कानमा फुस्फुसाउँदै भन्यो, ‘भावुक हुनु कति दुर्भाग्यपूर्ण हुन्छ ! तिमीलाई त्यस्तो लाग्दैन ?’
प्रकाशित: १९ फाल्गुन २०७५ ०८:३४ आइतबार