२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

गण्डकीका आत्मीय गाउँहरू

नेपालमा होमस्टे सुविधासहित गाउँ पर्यटनको अभ्यास गण्डकी प्रदेशबाटै सुरु भएको इतिहास छ। आत्मीय वातावरण पाइन्छ होमस्टेमा। बनावटी होइन, प्राकृतिक मुस्कान पाइन्छ। त्यहाँ बसेर तन र मनमा ऊर्जा बढाउन सकिन्छ।  

सिरुबारी  

नेपालको पहिलो पर्यटन गाउँ–सिरुबारी। स्याङ्जाको आँधीखोला गाउँपालिका–१ को गुरुङ बस्ती (१,६१०मिटर)। गाउँका ३९ घरमध्ये १७ मा होमस्टे गराइन्छ। बस्तीको सिरानमा रहेको गोरुजुरे डाँडाबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे हिमालको सुन्दर दृश्य देखिन्छ। 

त्यहाँ गुरुङ संग्रहालय र गुरुङ जीवनशैली पाइन्छ। पाहुनालाई पञ्चैबाजासहित स्वागत गरेर गाउँमा भिœयाउँछन् गाउँले। आत्मीय व्यवहार पाइन्छ त्यहाँ।     

कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि। पोखराबाट सिरुबारीसम्म गाडी चल्छ। पोखरा–कार्कीनेटा–सिरुबारी ६४ किकी छ। पोखराको पृथ्वीचोकबाट बिहान १०ः३०, ११ र दिउँसो १ बजे बस छुट्छन्। मोटर बाइकमा पनि जान सकिन्छ। 

सम्पर्क : जुम गुरुङ–९८४६१५९३८८

ताङतिङ

कास्कीको ताङतिङमा  गुरुङ जीवनशैली, हिमाली सौन्दर्य र निश्छल माया पाइन्छ। मादी गाउँपालिका–२ ताङतिङ (१,६८५ मिटर)मा २ सय धुरी छन्। त्यहाँबाट अन्नपूर्ण र लमजुङ हिमाल नजिकै देखिन्छ। ताङतिङ पारिपट्टि सिक्लेस गाउँ छ।  

गाउँबाट आधा घन्टामै नौजुडाँडा भ्यु प्वाइन्ट पुगिन्छ। गाउँमा नौंचु पैगी लामा महायान गुम्बा छ। गाउँका १३ घरमा होमस्टे सुविधा छ। ०६७ मा होमस्टे थालिएको। 

कसरी पुग्ने  : काठमाडौँ–पोखरा २०० किमी।  पोखराको अमरसिंह चोकबाट काहुँखोलासम्म टयाक्सीमा १० मिनेट। काहुँखोला– ताङतिङ २७ किमी बसमा। काहुँखोलाबाट बिहान ८ र दिउँसो ४ बजे छुट्ने बसमा गाउँ पुग्न २ घन्टा।

सम्पर्क : प्रकाश गुरुङ– ९८५६०२८८२७

कालाबाङ  

नेपथ्य व्याण्डका गायक अमृत गुरुङको गाउँ हो कालाबाङ घरेडी। पोखरा उपमहानगरपालिका–२५ मा पर्ने कालाबाङमा गुरुङ, दलित र बाहुनका १५६ परिवार बस्छन्। चक्र हाल्ने डाँडाबाट फेवाताल, पोखरा उपत्यका र हिमाल एकैसाथ देखिन्छ। 

धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«देखि मनास्लु हिमालसम्म दर्शन मिल्छ। 

विसं ०७१ चैतदेखि गाउँका १८ घरमा होमस्टे सुरु गरिएको छ। बाहुनका ६, गुरुङको ११ र दलितको १ घरमा। पाहुनालाई बाहुनको भजन, गुरुङको नाच र विद्यार्थीको नृत्य देखाइन्छ।   

कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमी। पोखराको लेकसाइडबाट १२.५ किमीमा कालाबाङ। सिद्धार्थ राजमार्गको स्याङ्जा जाने सडकमा बिरौटाबाट ८ किमी दूरीमा तिलहार। तिलहारबाट राजमार्ग छाडेर २.५ किमी भित्र उकालो चढे गाउँ।

सम्पर्क : प्रकाश गुरुङ– ९८४६०४१८०५

भकुण्डे  

बागलुङ कालिका भगवतीमाथि छ भकुण्डे। त्यहाँबाट धौलागिरि, अन्नपूर्ण र माछापुच्छ्रे सहितका हिमाल देखिन्छ। बागलुङ नगरपालिका–१० भकुण्डेमा ८ सय धुरी छन्। बाहुन, क्षत्री, दलित, मगर आदिको बसोबास छ। त्यहाँ ०६८ देखि मगरका ९ घरमा होमस्टे गराउन थालिएको छ। 

साँझ साँस्कृतिक कार्यक्रममा सालैजो, यानिमाया, झ्याउरे  

लगायत नाचगान देखाइन्छ। गाउँमा बराह ताल छ, डुंगा चढ्ने सुविधा छ। 

कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमी। पोखरा–बागलुङ ७२ किमी। काठमाडौंबाट बागलुङसम्म डिलक्स गाडी चल्छन्। पोखराबाट पनि जिप र ट्याक्सी पाइन्छ। बागलुङ बजारबाट १३ किमीमा भकुण्डे। बागलुङ बजारबाट भकुण्डेसम्म जिप चल्छन्।     सम्पर्क : खिमबहादुर थापा–९८४७६२८४९०

सुन्तलाबारी

स्याङ्जाको सुन्तलाबारी (११८५ मिटर) गुरुङ गाउँ हो। वालिङ नगरपालिका–४ मा पर्ने गाउँमा ३२ घर छन्। सुन्तलाका लागि ख्याति कमाएको गाउँको सिरानबाट अन्नपूर्ण र धौलागिरि हिमाल देखिन्छ। 

गाउँको पूर्वमा मनकामना र दक्षिणमा कान्छी मनकामना मन्दिर छन्। गाउँ पर्तिर भीरमा गुफा छ। गाउँका झरनामा क्यानोनिङ (छाँगावारोहण) गर्न सकिन्छ। गाउँका १५ घरमा होमस्टे सुविधा छ। त्यहाँ विसं ०६९ देखि होमस्टे थालिएको। 

कसरी पुग्न : काठमाडौं–पोखरा २०० किमी। पोखराबाट ५७ किमिमा सिद्धार्थ राजमार्गको त्रियासी। त्रियासीबाट पूर्व ७ किमीमा सुन्तलाबारी। काठमाडौंको नयाँ बसपार्कबाट छुट्छन् स्याङ्जा जाने बस। त्रियासीबाट हिँडेर जाँदा दुई घन्टा।

सम्पर्क : डिलबिक्रम गुरुङ–९८१७१००५५६    

ठिनी

निलगिरि हिमालको फेदमा छ ठिनी। घरपझोङ गाउँपालिका–५ मुस्ताङमा पर्ने गाउँमा थकालीका सय घर छन्। गाउँमा कुछप तेरेङगा गुम्बा छ। गुम्बामा गुरु पद्मसंभवले प्रयोग गरेका केही सामान सुरक्षित छन्। उनको कपडा, जुत्ता र कपाल त्यहाँ छ। पर्यटक तान्ने अर्को आकर्षण हो ढुम्बाताल छ।   

विसं २०७४ भदौबाट होमस्टे सुरु गरिएको हो। त्यहाँका १२ घरमा होमस्टे गराइन्छ। 

कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमी। बसमा ९ घन्टा। बेनी–जोमसोम ७५ किमी। अथवा पोखरा–जोमसोम उडान १८ मिनेट। जोमसोम–ठिनी २ किमी। जोमसोम–मुक्तिनाथ २२ किमी। ठिनीसम्मै मोटरबाटो छ। जोमसोमबाट हिँडेर जाँदा ३० मिनेट लाग्छ। सम्पर्क : सनप्रसाद थकाली–९८४७६३७९०१

चित्रे

स्याङजा, कास्की र पर्वतको संगम मानिन्छ पञ्चासे। त्यहाँबाट धौलागिरि, अन्नपूर्ण, गंगापूर्ण, हिउँचुली, माछापुच्छे«, लमजुङ र मनास्लु हिमालको लर्कन देखिन्छ। पञ्चासे (२,५१७ मिटर)मा सिद्धवराह, पञ्चशील बुद्ध, कुटी, बाराही मन्दिर, पञ्चकोसी ताल लगायत सम्पदा छन्। 

पर्वत जिल्लाबाट पञ्चासे उकालिने ठाउँ चित्रे होमस्टे छ। त्यहाँबाट २ घन्टा उकालो चढे पञ्चासे टाकुरा पुगिन्छ। मोदी गाउँपालिका–८ चित्रे (१,७००का)का ८ घरमा होमस्टे गराइन्छ। ०६७ चैत १३ देखि होमस्टे सुरु गरिएको। 

कसरी पुग्ने : काठमाडौं–पोखरा २०० किमि। पोखरा–डिमुवा ५६ किमी। डिमुवाबाट दक्षिणपूर्व चित्रे ७ किमि। डिमुवाबाट दिउँसो २ बजे चित्रे जाने जीप छुट्छ। डिमुवाबाट हिँडेर जान २ घन्टा।  

सम्पर्क : सुशीलादेवी गुरुङ–९८४७७९१९८६ 

झीँ 

म्याग्दीको हिल स्टेसन टोड्के (२,३०० मिटर )को काखमा छ झीँ। गाउँमा ३०८ घरधुरी छन्। तिनमा ९० प्रतिशत मगर, बाँकी दलित हुन्। टोड्केबाट धौलागिरि, गुर्जा, मानापाथी, निलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र लमजुङ हिमालको लामो लर्कन देखिन्छ। झीँबाट हिँडेर टोड्के पुग्न डेढ घन्टा। 

झीँ धौलागिरि सेन्चुरी टेकु, कुइने–मंगले, पाखापानी, चिम्खोला, दर्मिजा, मल्काबाङ गाउँको प्रवेशद्वार पनि हो। गाउँमा मगरका १९ घरमा होमस्टे सुविधा छ। 

कसरी पुग्ने : काठमाडौं–बेनी २८२ किमी। बसमा ९ घन्टा। बेनीबाट गलेश्वर हुँदै झीँ गाउँ पुग्न १५ किमी। बेनीबाट दिउँसो झीँ जाने जीप छुट्छन्। बेनीबाट हिँडेर जाँदा ४ घन्टा।  

सम्पर्क  : डेकप्रसाद गर्बुजा– ९८४७७३१८४७

घलेगाउँ

लमजुङको क्होंलासोथर गाउँपालिका–३ लाई घलेगाउँ भनिन्छ। त्यहाँ गुरुङका ८० र दलितका ४५ घर छन्। गाउँमा घले राजाले त्यहाँ शासन गरेका थिए। त्यहाँ उत्तरकन्या मन्दिर, क्होंबो, चियाबारी, भ्यू टावर आदि सम्पदा छन्। हिमाली सौन्दर्य, गुरुङ संस्कृति र लोकल खानेकुरा पाइन्छ गाउँमा। ०५७ सालमा होमस्टे सुरु गरिएको थियो। त्यहाँका ३२ घरमा होमस्टे गराइन्छ।

कसरी पुग्ने : काठमाडौं–बेसीसहर १७२ किमि। काठमाडौंबाट बेसीसहरका लागि बस छुट्छन्। तिनले ५ घन्टामा गन्तव्य पुर्‍याउँछन्। बेसीसहर–घलेगाउँ २४ किमी। बेसीसहरबाट जिप रिजर्भ गरेर गाउँ जान सकिन्छ। बेसीसहरबाट हिँडेर जाँदा ६ घन्टा लाग्छ।

सम्पर्क : दीर्घ घले–९८४६१९३०६७

काउलेपानी

लमजुङको काउलेपानी ऐतिहासिक भूमि हो। त्यहाँ गाउँशहर दरबार छ जुन राजा यशोब्रह्म शाहले बनाएका थिए। काउलेपानी माथि पुरानोकोट गढी (१,९५० मिटर) छ। त्यहाँबाट माछापुच्छे«, अन्नपूर्ण, लमजुङ, पिक २९, गंगापूर्ण, मनास्लुदेखि बुद्ध हिमालसम्म देखिन्छ।  

बेसीसहर नगरपालिका–३ पर्ने काउलेपानीका १५ घरमा होमस्टे सुविधा छ, गुरुङ, नेवार र भुजेलकोमा। सन् २०११ देखि होमस्टे सुरु गरिएको। पाहुनालाई साँझ बाह्मासे घाटु, कौरा र चुट्का नाच देखाइन्छ।     

कसरी पुग्ने : काठमाडौं–बेसीसहर १७२ किमी। बेसीसहर–काउलेपानी ८ किमी। मोटरसाइकल र जीप गाउँसम्मै पुग्छ। बेसीसहरबाट दिउँसो २ बजे पुरानोकोट जाने बस छुट्छ। त्यसमा चढेर काउलेपानी पुग्न १ घन्टा। हिँडेर जाँदा दुई घन्टा।

सम्पर्क : देवबहादुर गुरुङ–९८४६२१०९६३ 

बारपाक

वैशाख १२ को भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक थियो। भूकम्पले धनजनको क्षति भयो। गुरुङ, घले र दलितको बसोबास रहेको बारपाक पर्यटकीय गन्तव्य हो। भूकम्पअघि गाउँका २२ घरमा होमस्टे गराइन्थ्यो। ०६७ मा होमस्टे सुरु गरिएको थियो। अहिले १६ घरमा होमस्टे गराइन्छ। 

बारपाक चुलिकोट गाउँपालिकाका १ र २ नम्बर वडामा पर्छ। गाउँबाट गणेश, बौद्ध, मनास्लु र शृङी हिमाल देखिन्छ। भिसी पदक विजेता गजे घलेको गाउँ हो बारपाक।  

कसरी पुग्ने : काठमाडौं–बारपाक १७६ किमी। गोरखाको १२ किलोबाट बालुवा हुँदै बारपाक ४६ किमी। काठमाडौं नयाँ बसपार्कबाट बिहान ६ बजे छुट्ने गाडीले साँझ ४ बजे बारपाक पुर्‍याउँछ।   

सम्पर्क : मनोस घले–९८०३८७००५४

कोरिखा

बन्दीपुर नजिकै बन्दीपुर गाउँपालिका–५ तनहुँको कोरिखाबाट अन्नपूर्ण, माछापुच्छे«, मनास्लु, हिमालचुली लगायत हिमाल देखिन्छ। तल मरस्याङदी किनारका दृश्य पनि सुन्दर देखिन्छ।     

गुरुङ संस्कृतिमा धनी छन् गाउँले। त्यहाँ चुड्का (कौरा), झ्याउरे र बाह्मासे घाटु हेर्न पाइन्छ। गाउँमा ढिकी, जाँतो चलाएका दृश्य सामान्य हुन्। शिक्षाविद् चिजकुमार श्रेष्ठको प्रेरणाबाट ०७३ पुसदेखि गाउँका ५ घरमा होमस्टे सुरु गरिएको।  

कसरी पुग्ने : काठमाडौ–डुम्रे १३१ किमी बसमा। डुम्रे–कोरिखा १२ किमी। डुम्रेबाट दिउँसो ३ बजे धरमपानी जाने बस छुट्छ। त्यसले ४ बजे बाहुन भञ्ज्याङ पुर्‍याउँछ। भञ्ज्याङबाट १० मिनेट हिँडे कोरिखा गाउँ। बन्दीपुर बजारबाट हिँडेर जान १ घन्टा।

सम्पर्क : लिलबहादुर गुरुङ– ९८४६१९५०३७ 

मिछुर्लुङ 

भिमाद नगरपालिका–५ तनहुँमा पर्ने मिछुर्लुङ हिमाली सौन्दर्य, मगर संस्कृति र अर्गानिक परिकार पाइन्छ। त्यहाँ ७२ घर छन्, ११ घर दलितका र बाँकी मगरका।  गाउँमा बाजा ढुंगा, आँटीढाप झरना, बाघ गुफा लगायत सम्पदा छन्। मिछुर्लुङलाई केन्द्र बनाएर अजम्मरी माई र थानी माई दर्शनमा निस्कन सकिन्छ। 

गाउँका १४ घरमा होमस्टे सुविधा छ। ०७१ भदौ १६ गतेदेखि होमस्टे गराउन थालिएको हो। 

कसरी पुग्ने : काठमाडौंबाट एकै दिनमा मिछुर्लुङ पुग्न सकिन्छ। काठमाडौं–दमौली १५० किमी। दमौली–खैरेनीटार २२ किमी। खैरेनीटार–भिमाद ८ किमी। भिमाद–मिछुर्लुङ ४ किमी। काठमाडौंबाट भिमाद हुँदै पाल्पासम्म बस चल्छन्। त्यस्तै दमौली र पोखराबाट पनि बस चल्छन्। 

सम्पर्क : नरेन्द्र थापा–९८४६१७००४० 

टुटेपानी 

तनहुँको भानु नगरपालिका–१३ मा पर्छ टुटेपानी (१,२७५ मिटर)। मिर्लुङकोट (१,६४५ मिटर)को दक्षिणी काखमा थपक्क बसेको गाउँ प्रकृति, संस्कृति र आत्मीयताको त्रिवेणी धाम मानिन्छ। 

गाउँमा भएका गुरुङका ३० घरमध्ये १६ मा होमस्टे सुविधा छ। ०७२ वैशाखदेखि होमस्टे थालिएको। पाहुनालाई कौरा, पाउँदुरे (कृष्णचरित्र), लोकगीत, चुड्का र घाटु लगायत नाचगान देखाउँछन्।   

गाउँको सिरानमा मिर्लुङकोट छ। टुटेपानीबाट अन्नपूर्ण, हिमचुली, माछापुच्छे«देखि लमजुङ हिमालसम्म देखिन्छ। टुटेपानी क्षेत्रमा दर्गा जामे मस्जिद, सहिद स्मारक र पर्यटकीय पदमार्ग छन्।  

कसरी पुग्ने : काठमाडौं–दमौली १५० किमी। दमौलीबाट उत्तर २२ किमीमा टुटेपानी। दमौलीबाट मध्यान्ह १२ बजे र दिउँसो २ बजे छुट्ने बसमा टुटेपानी पुग्न अढाई घन्टा। 

सम्पर्क  : होमबहादुर गुरुङ–९८०६७५९३६३

प्रकाशित: १८ फाल्गुन २०७५ ०३:१९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App