जमिनमा पाइने प्राणीमध्ये हात्ती, मान्छे पछिको बुद्धिमान मानिन्छ। पानीमा बस्नेहरूमा चाहिँ मानिसपछि दोस्रोमा आउँछ डल्फिन। साना हुन् वा ठूला संसारका सबै जनावर प्रेमिल हुन्छन्। त्यस्तै प्रेमको नमुना भेटिएको छ कोशीटप्पु वन्यजन्तु आरक्षमा पनि।आरक्षको हात्तीसार नजिकै एउटा जंगली हात्तीले वर्ष दिनभन्दा लामो समयदेखि डेरा जमाएको छ। आरक्ष प्रशासनका अनुसार कहिलेकाहीँ त्यहाँबाट हराए पनि त्यो हात्ती फेरि हात्तीसारमै आइपुग्छ। त्यसको नाम हो– कोशी मकुना।
प्रायः एसियाली भाले हात्तीको दाह्रा हुन्छ। कुनैकुनैमा भने दाह्रा हुँदैन, त्यस्तालाई ‘मकुना’ भनिन्छ। दाह्राविहीन कोशी मकुनाले हात्तीसारमा डेरा जमाउनुमा उसको प्रेमप्रसंगले पनि काम गरेको आरक्षका वार्डेन रामदेव चौधरी बताउँछन्। आरक्षले पालेका हात्तीसँग उसको पिरती बसेको छ। करिब चार महिनाअघि जन्मेकी कोशी कली उसकै सन्तान हो। घरपालुवा शोभाकली र कोशी मकुनाको मिलनबाट कोशी कली जन्मिएकी हुन्। त्यति मात्र होइन, हात्तीसारमा रहेकी ९ वर्षीया लक्ष्मी कली पनि उसकै सन्तान मानिन्छन्।
‘पारिवारिक मोहले पनि जंगली हात्ती यतै बसेको हुन सक्छ,’ आरक्षमा कार्यरत राष्ट्रिय प्रकृति संरक्षण कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतम भन्छन्, ‘अहिले आरक्षमा दुइटा हात्ती (सरस्वती कली र दमदमे कली) गर्भवती छन्। तीमध्ये सरस्वती कलीमा कोशी मकुनाकै गर्भ हुर्किरहेको छ।’ दमदमे कली पनि त्यसबाटै गर्भवती भएको अनुमान गरिएको छ। सामान्यतः हात्तीले २० देखि २२ महिनामा छावा जन्माउँछन्। दुवै हात्ती गर्भवती भएको करिब १५ महिना भइसक्यो। अबका केही महिना दिनपछि कोशीटप्पुमा कोशी मकुनाको परिवार संख्या बढ्नेछ।
कोशीटप्पु वन्यजन्तु आरक्षको हात्तीसारमा एउटा जंगली हात्तीले डेरा जमाएको वर्ष दिन भइसक्यो । त्यहीँ हुर्किरहेको छ उसको प्रेम ।
हात्तीसार बाहिर विद्युतीय सोलार तारबार छ। त्यही बार ढलाएर आरक्षमा बाँधिएका हात्तीको सम्पर्कमा आइपुग्छ कोशी मकुना। आरक्षका हात्तीको खुट्टामा फलामे सिक्रीले बाँधिएको हुन्छ। त्यो सिक्रीले अल्झाउँदैन उनीहरूको पिरतीलाई। हात्तीसारमा कोशी मकुना मात्रै होइन, बेलामौकामा अरु जंगली हात्ती पनि आइपुग्छन्। आरक्षमा ११ वटा जंगली हात्तीको बसोबास छ। हात्तीसारमा चाहिँ एक छावासहित ६ वटा हात्ती पालिएका छन्। आरक्षको दरबन्दी १० वयस्क हात्ती हुन्।
बाँकी ५ वटा काजमा चितवनमा खटिएका गौतमले जानकारी दिए। आरक्षमा हात्ती सफारी गराइन्छ। त्यहाँ पालिएका दुइटी गर्भवती, एउटी बच्ची हुन्। बाँकी दुइटीमा मात्र हात्ती सफारी गराइन्छ। उता जंगली हात्ती कोशी मकुना बेलाबेलामा तारबार भत्काएर भित्र पस्ने प्रयास गर्छ। आरक्ष प्रशासनले देखेमा धपाउँछ। त्यसो त विगतमा कोशी मकुनाबाट मानवीय क्षति समेत भइसकेको छ। उसको आक्रमणबाट तीन महिला र एक पुरुषको ज्यान गइसकेको छ।
आरक्षका अनुसार आफ्ना मिल्ने दुइटा साथी (जंगली हात्ती) मारिनु अघिसम्म कोशी मकुना भद्र थियो। एक्लोपनाले गाँज्दै लगेपछि ऊ हिंस्रक बन्दै गयो। वर्ष दिनयता भने उसबाट मानवीय क्षति भएको छैन। उसको उमेर २५ वर्ष अनुमान गरिएको छ। उसको गर्धनमा जडान गरिएको सेटलाइट रेडियो कलरका माध्यमबाट आरक्ष प्रशासनले निगरानी गर्दै आएको छ। १ डिसेम्बर २०१७ मा रेडियो कलर राखिएको थियो। अचेल कोशी मकुनाले जंगली हात्तीको अगुवाई गर्छ। बेलाबेलामा उसैको दायाँबायाँ अरु हात्ती पनि देखिन्छन्। रेडियो कलर राखेपछि आरक्षलाई अनुगमन गर्न सजिलो भएको छ।
अर्को कुरा जंगली भैंसी अर्नासँग क्रस ब्रिडिङ गराउन आरक्षको मध्यवर्ति क्षेत्रका स्थानीयले आरक्षमा आफ्ना भैंसीलाई खुला छाडिदिने गरेका छन्। जंगली अर्ना र घरपालुवा भैंसीबाट जन्मिएका ठिमाहा सन्तान महँगोमा बिक्री हुन्छ। यसरी चरिचरणका नाममा सीमित जमिनमा घरपालुवा जनाबरको भीड लाग्न थालेपछि एकातिर जंगली जनावरलाई खानाको समस्या पर्दै गएको छ भने अर्कोतिर उनीहरूको बासस्थानमा समेत बाधा पर्दै गएको देखिन्छ।
प्रकाशित: ४ फाल्गुन २०७५ ०४:१५ शनिबार