२३ भाद्र २०८१ आइतबार
image/svg+xml
अन्य

थवाङ रिभिजिटेड

शुरेन्द्र राना 
काठका कलात्मक घर। घना बस्ती। ढुंगा छापिएका गोरेटा। करिब तीन सय धुरी भएको एउटै गाउँ। रहरलाग्दो थवाङ (२,००० मिटर) गाउँ। मगर संस्कृतिले धनी। प्रदेश नं ५ मा पर्छ रोल्पा। लिवाङ उत्तरपूर्वको थवाङ गाउँ दस वर्षे द्वन्दकालमा धेरै पढिएको र सुनिएको नाम। माओवादी सशस्त्र जनयुद्दको उद्गमथलो–थवाङ। जनयुद्धमा पूर्वी रोल्पासँगै छिमेकी जिल्ला रुकुमका धेरै नागरिक युद्धमा होमिए। ज्यान गुमाए, अंगभंग भए अनि कयौं विस्थापित पनि। 

जनयुद्धसँगै विश्वभर क्रान्तिकारीका नामले चिनिए रोल्पाली। हक र अधिकारका लागि पंचायतकालदेखि नै थवाङले विद्रोह गर्दै आएको छ। त्यहाँका पूर्व शिक्षक गिरिश पुन भन्छन्, ‘विगत ६० वर्षदेखि थवाङ एकजुट भई अन्याय विरुद्ध लडिरहेको छ।’  त्यसैले होला थवाङ विद्रोही गाउँका रूपमा चिनिएको। एकता र सामुहिक भावना त्यहाँका विशेषता। त्यही क्रान्तिकारी भूगोलमा चौंथोपटक पुगें म। आदरणीय दाइ ज्योतिकेशर सिंह र भाइ वीरन पुनसँग पुगेका हामीले करिब दुई साता थवाङ सेरोफेरोमा बितायौं। 

थवाङको सामुदायिक होमस्टेमा एकै रात ३० जना बास बस्न सक्छन्। त्यहाँ अर्गानिक खाना र मगर संस्कृति पाइन्छ।

साविकका थवाङ, मिरुल र उवा गाविस समेटर ५ वडाको थवाङ गाउँपालिका बनेको छ। २१ हजार जनसंख्या रहेको गाउँमा मगरको बाहुल्य छ। वडा ३ मा क्षेत्री समुदायको बसोबास छ।  अब लागौं, थवाङ नामको विषयमा, मगर खाम भाषामा थवाङको अर्थ पहाडको काखमा चौर भन्ने बुझिन्छ। अचेल त्यो चौरमा घर छन्।  

यसपाला पुग्दा मगर समुदायको महान् चाड माघे संक्रान्तिको उपलक्ष्यमा गाउँपालिकाले प्रथम थवाङ गाउँपालिका कप र सांस्कृतिक कार्यक्रम आयोजना  गरेको थियो। त्यसैले ४ दिनसम्म हामी त्यहीं बस्यौं। भलिबल प्रतियोगिता र सांस्कृतिक कार्यक्रमले थवाङको रौनक बेग्लै थियो। सुलिचौर, लिवाङ र पूर्वी रुकुमका खेलाडी र दर्शक ओइरिएका थिए। 
मिजासिला र मिलनसारे थवाङी मज्जाले चाडपर्व मनाउँछन्। दिल खोलेर पाहुनाको स्वागत गर्छन्। 

प्रथम थवाङ कप 
महान् चाड माघे संक्रान्ति थवाङमा धुमधामले मनाइन्छ। यस पर्वमा दिदी बहिनीलाई बोलाएर मिठो खुवाउने र उपहार दिने चलन छ। परिवारजन भेटघाट र चाडपर्व रमाइलो गरी मनाइन्छ।  यही मौकामा पर्यटन प्रवद्र्धन गर्न, परम्परागत सांस्कृतिक सम्पदा तथा पहिचान  संरक्षण गर्न ‘हामी सबैको दायित्व, सांस्कृतिक पर्यटनमा स्थानीय’ भन्ने नाराका साथ प्रथम थवाङ गाउँपालिका कप तथा माघे संक्रान्ति मेला आयोजना गरियो। मेलाको उद्घाटन ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले गरेका थिए। कार्यक्रममा पूर्व सभामुख ओनसरी घर्ती मगर र प्रदेशका विकास मन्त्री दिपेन्द्र पुनले युवालाई हौस्याए। 

संस्कृति र खेल साथसाथै लान मेला गरिएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती मगर बताउँछन्। मेलामा खेलाडीको परेड लोभलाग्दो देखिन्थ्यो। स्थानीय  भेषभुषामा सजिएर झाँकीसहितको टोलीले मयुर नाच, सोरठी, डिग्रें, ढंगे, पैंसुरु र नचारु नाच प्रदर्शन गरेका थिए। 

तीन दिनसम्म चलेको भलिबल प्रतियोगितामा पुरुषतर्फ ८ टिम र महिला तर्फ ५ टिम सहभागी थिए। युवा खेलाडीको स्तरोन्नति, हौसला र सद्भाव बढाउन थवाङ कपले मद्धत पु(याएको कार्यक्रम संयोजक वसन्त रोका बताउँछन्। यस्ता मेलाले स्थानीय संस्कृति संरक्षणमा टेवा पु-याउँछन्। लोपोन्मुख नानिला, सालैजो, फांक गीत प्रतियोगिता चलाइयो। साथै तारो हान्ने प्रतियोगिता, एकल नृत्य प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, लोकदोहोरी प्रतियोतिा पनि गरिएको थियो।  

मेलाकै अवसरमा लोप भैसकेको छुरे नाचलाई पुनर्जीवन दिइयो। मिरुलका कलाकारले सुन्दर र कलात्मक ढंगले प्रस्तुत गरिरहँदा हामी मन्त्रमुग्ध भयौं। सांस्कृतिक माहौलमा झुम्यौं।पुरुषतर्फको भलिबलमा सुनिल स्मृति गाउँपालिका प्रथम, रोल्पा नगरपालिका दोस्रो, भूमे गाउँपालिका तेस्रो र थवाङ गाउँपालिकाले सान्त्वना पुरस्कार पाए। त्यसै गरी महिलातर्फ थवाङ गाउँपालिका प्रथम, परिवर्तन गाउँपालिका दोस्रो र भूमे गाउँपालिका तेस्रो भए भने पुथा उत्तरगंगा गाउँपालिकाले सान्त्वना पुरस्कार पायो। दुवैतर्फ प्रथम हुनेलाई एक लाख पचास हजार, दोस्रोलाई एक लाख, तेस्रोलाई पचहत्तर हजार रुपैयाँ र सान्त्वनालाई पचास हजार रुपैयाँ दिइयो।  

त्यस्तै धनुषवाण प्रतियोगितामा जितबहादुर बुढामगर प्रथम, सर्जु रोका दोस्रो, जोखबहादुर बुढा तेस्रो र मुले झाँक्रीले सान्त्वना पुरस्कारस्वरूप क्रमशः दस हजार, पचहत्तर सय, पाँच हजार र तीन हजार रुपैयाँ पाए।  कार्यक्रम समापनमा जिल्ला समन्वय समिति रोल्पाका प्रमुख राजबहादुर बुढा प्रमुख अतिथि थिए। उनीसहित थवाङ गाउँपालिका अध्यक्ष वीरबहादुर र  सुनछहरी गाउँपालिकाका अध्यक्ष आसबहादुर पुनले संयुक्त रूपमा पुरस्कार तथा प्रमाणपत्र बाँडेका हुन्। 

मगर पोशाक प्रदर्शन
अठार मगरात क्षेत्रका स्थानीय जीवन, संस्कृति र पहिचानसँग जोडिएको भेषभुषा प्रदर्शनमा १२ जनाले भाग लिए। प्रदर्शनमा पुरुष तर्फबाट विशाल रोका मगर र अदिका रोका मगर उत्कृष्ट बने। थवाङ नगरपालिकाको प्रायोजनमा भएको कार्यक्रममा मगर कला सांस्कृतिक संरक्षण मंचले सहकार्य गरेको थियो। मञ्चका सल्लाहकार उदय घर्ती मगरका अनुसार मौलिक संस्कृति संरक्षणमा यस्ता कार्यक्रमले टेवा पु-याउँछन्। उता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्मा भन्दै थिए, ‘पश्चिमाकरणको प्रभावबाट प्रभावित युवालाई आफ्नो संस्कृतिप्रति गौरव गर्न हामीले भेषभुषा प्रदर्शनलाई साथ दिएका हौं।’

विकासको उज्यालो  
देशमा संघीय गणतन्त्र आएको दशक भयो, लामो समय खाली स्थानीय निकाय ब्यूँतियो। सिंहदरबार गाउँगाँउ पुग्यो। केही वर्ष अघिसम्म यहाँका गाउँलेलाई धेरै हिँड्नु पथ्र्यो। अहिले कच्ची सडक खुलेसँगै सुलिचौर, उवा हुँदै, लिवाङबाट घर्ती गाउँ हुँदै र दाङ, होलेरी, घर्तीगाउँ सहिदमार्ग हुँदै एकै दिनमा थवाङ पुगिन्छ। समय फेरिएको छ। शिक्षा, यातायात र स्वास्थ्य क्षेत्रमा सुधार आएको छ। 

धमाधम सडक र पुल निर्माण कार्य भैरहेको छ। अझै वडा नं ३ का केन्द्र टुटु र ४ को घोरावाङ लगायत गाउँमा संचारको सुविधा पुगेको छैन। त्यसैले त्यहाँका बासिन्दा असन्तुष्ट छन्। गणतन्त्र आइनसकेको गुनासो गर्छन्। राज्यले समयमै उनीहरूको आवाज सुन्नु पर्छ र उनीहरूको आयआर्जन, रोजगार र जीवनस्तर उकास्ने कार्यक्रम ल्याउनु पर्छ। 

पर्यटकीय संभावना  
पर्यटकीय हिसाबले हेर्ने हो भने थवाङमा सामुदायिक होमस्टे सञ्चालनमा छ, करिब ३० जना एकैचोटि बास बस्न सक्छन्। होमस्टेमा अर्गानिक परिकार खुवाइन्छ। होमस्टेका अध्यक्ष धपलाल पुनका अनुसार पाहुनाको डिमान्ड अनुसार संस्कृति पनि देखाइन्छ। 

गाउँमा केही लज पनि छन्। घुुम्न वरपरका गाउँ सुन्दर छन्। आधा घण्टा हिँडाइमा जनवादी विद्यालय, राचिवाङ कम्युन, ३.५ घण्टाको हिँडाइमा जलजला (३,१०० मि) पुग्न सकिन्छ। जलजला धार्मिकस्थल हो जहाँ बज्यु बराह मन्दिर, भामा गुफा, सहिद स्तम्भ र प्राकृतिक सम्पदा छन्। 

गुरिल्ला पदमार्ग र जलजला पदमार्ग यहीँ क्षेत्र हुँदै पार गर्नु पर्छ। घुम्नलाई मिरुल र उवा क्षेत्र पनि आकर्षक छन्। हामी यसपाला पुग्दा थवाङमा हिउँ प¥यो फुरुरु। हामीले त्यहाँ हिउँ खेल्यौं।  

कसरी पुग्ने : रोल्पाको सुलिचौरबाट थवाङ ५१ किमी, जिपमा ५ घन्टा। लिाङबाट थवाङ ७४ किमी, जिपमा ८ घन्टा। त्यसैगरी घोराही, होलेरी, घर्र्तीगाउँ हुँदै थवाङ १६६ किमी, बसमा ९ घन्टा। मध्य पहाडी लोकमार्ग हुँदै बुर्तिबाङ, काँक्री, महतगाउँ हुँदै पनि गाडीमा थवाङ पुगिन्छ। 

 

प्रकाशित: २६ माघ २०७५ ०४:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App