६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

साँखुमा स्वस्थानीको रौनक

मोरङ सुन्दरहरैंचाकी संगीता बुढाथोकी (३५) स्वस्थानी व्रत बस्न पोर्चुगलबाट नेपाल आएकी छन्। यो व्रत बस्दा घरपरिवारमा शान्ति मिल्ने र मनोकांक्षा पूरा हुने विश्वास उनलाई छ।

उनले भनिन्, ‘व्रत बसेपछि मनोकामना पूरा हुन्छ र शान्ति मिल्छ भन्ने सुनेकी छु। व्रत कष्टदायी हुने भए पनि यसको महिमा सुन्दै पूजा गर्न पाउँदा आनन्द लाग्छ।’ उनका अनुसार पूजा सकेपछि बेलुकी मात्रै खाना खाइन्छ। अरू बेला चोखोनीति गर्ने चलन छ। अर्का व्रतालु सुमी भुजेलले स्वस्थानी व्रत लिएर आफ्नो मनोकामना पूरा हुने विश्वास रहेको बताइन्। ‘स्वस्थानी व्रतप्रति मेरो प्रगाढ विश्वास छ। मैले बिहेअघि दुईचोटी स्वस्थानी व्रत लिएकी थिएँ,’ उनले भनिन्, ‘भगवान् सम्झेर व्रत लिएपछि  सोचेको पूरा रहेछ । मैले सोचेजस्तै एक छोरा र एक छोरी पाएँ।’ उनले सालीनदी र घरमा लिएको व्रतमा फरक भएको बताइन्। सालीनदीमा जाँदा व्रत सकेर आफू बसेको ठाउँमा मात्रै स्वस्थानी पढ्न सकिने परम्परा छ।

काभ्रेकी पाँचखाल नगरपालिका ४ की शुभलक्ष्मी श्रेष्ठ ‐३६)ले सालीनदीको व्रत कष्टदायी भए पनि व्रतालुहरूको ओइरो लाग्ने गरेकोे बताइन्। ‘यहाँ व्रतालुहरूले कडा नियम पालना गर्नुपर्छ। माधवनारायण व्रत तथा सालीनदी सुधार समितिले निःशुल्क बस्ने व्यवस्था गरेको रहेछ,’ उनले सुनाइन्, ‘यहाकाँ व्रतालुहरू बिहान सबैसँगै नुहाइधुवाइ गर्नुपर्छ। माता पार्वतीले स्वामी महादेव पाऊँ भन्दै कष्टदायी व्रत बसेकोले आँटेको पूरा भएको थियो भन्ने सुनिएको छ।’

माधवनारायण स्वस्थानीका मूल पूजारी सुदन राजोपाध्यायले साँखुको सालीनदी शंखरापुर नगरक विकासको प्रमुख आधार रहेको बताए। सालीनदी मेला शंखरापुर नगरको आर्थिक, धार्मिक तथा सामाजिक विकाससँग प्रत्यक्ष सम्बन्धित छ। वर्सेनि लाखौं भक्तजनहरू स्नान गर्न आउने हुँदा साली नदीको धार्मिक महत्व छ। पशुपक्षी आवास क्षेत्र, हरियाली क्षेत्र र स्वच्छ हावा भएको हुँदा उत्तिकै वातावरणीय महत्व पनि छ।

साँखुस्थित सालीनदीमा अहिले स्वस्थानी मेलाको रौनक छ। अगाध आस्थाका कारण पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म लाग्ने एक महिने साँखु मेलामा वर्सेनी व्रतालुहरूको संख्या बढ्दो छ।

माधवनारायण व्रत तथा सालीनदी सुधार समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले व्रतालुहरूको उचित व्यवस्थापन गरेको बताए। ‘हामीले बिहानदेखि बेलुकीसम्म व्रतालुहरूको रेखदेख गर्छौं,’ उनले भने, ‘हामीले भक्तजनहरूको सुविधाका लागि पार्किङ र ५० वटा गाडी व्यवस्था गरेका छौं। सुरक्षा निकाय चुस्तदुरुस्त बनाएका छौं। यसपालि ३० जति व्रतालुहरू आउने अनुमान गरेका छौं।’

माधवनारायण स्वस्थानी व्रत तथा सालीनदी सुधार समितिका सल्लाहकार प्रवीणमान सिंहले साँखुलाई आयस्र्रोतको बाटो पर्यटकीय नगरी रूपमा विकास गराएर चिनाउने लक्ष्य रहेको बताए। यो साँखु नेपालकै ऐतिहासिक पवित्रस्थल हो। पोर्चुगल, भारत, बेलायतबाट पनि व्रतालुहरु आउन गरेका छन्।’
संखरापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोद सिंखडाले सालीनदीलाई पर्यटकहरूको बढाउन विभिन्न कार्यक्रमहरू अगाडि बढाउने बताए। उनका अनुसार सालीनदीको छुट्टै महत्व छ। यहाँ देश भित्र र बाहिरबाट लाखौं दर्शनार्थीहरू आउँछन्। ‘हामीले मेलालाई व्यवस्थित गर्न नगर प्रमुखको अध्यक्षतामा अनुगमन समिति नै बनाएका छौं,’ उनले भने, ‘हामीले पूर्वाधार विकासका लागि सहयोग गरेका छौं।’

प्रकाशित: १८ माघ २०७५ ०४:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App