२० आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

'वडालाई धुलोरहित बनाउने योजना छ'

जनप्रतिनिधि भएर आएपछि के–के काम गर्नुभयो ?
जनप्रतिनिधि निर्वाचित भएर आउँदा वडाको आफ्नै कार्यालय समेत थिएन । जनप्रतिनिधि भएर आएसँगै भाडामा घर लिएर वडा कार्यालय सञ्चालन गरेका छौं । अहिले पनि वडाको आफ्नै कार्यालय भवन छैन । अहिले वडाको भवन निर्माण प्रक्रिया अघि बढाएका छौं । २० वर्ष स्थानीय तह जनप्रतिनिधि नहुँदा अस्तव्यस्त र लथालिंग अवस्थाबाट गुज्रिँदै आइरहेको थियो । निर्वाचित भएर आएसँगै वडाको मुख्य समस्या पहिचान गरेर धमाधम काम अगाडि बढाइरहेका छौं । जनप्रतिनिधि भएर आएपछि वडामा  सडक, ढल, खानेपानी लगायतका पूर्वाधार निर्माणमा काम गरेका छौं । सडक बनेपछि खानेपानी र ढलको पाइप राख्ने गलत प्रवृत्ति देखिएको छ । त्यसैले वडा कार्यालयले गत वर्षदेखि नै पहिला ढल र खानेपानीको पाइप व्यवस्थित गरेर मात्रै सडक निर्माणलाई अघि सारेका छौं ।

तपाईँको वडामा ढलको समस्या अत्यधिक देखिन्छ, कसरी व्यवस्थापन गरिरहनुभएको छ ? 
पहिला बस्ती पातलो थियो । आठ इन्चको ढल राखेर व्यवस्थापन गरिन्थ्यो । तर, अहिले बस्ती बाक्लिँदै गयो । जसको कारणले पुरानो ढलको पाइपले थेग्नै नसक्ने भएको छ । बस्ती बढेसँगै ढल व्यवस्थापन गर्न नसक्दा समस्या देखिएको हो । वडा कार्यालयले अहिले ढल र खानेपानीको पाइप जडानलाई मुख्य प्रथामिकतामा राखेर काम अघि बढाइरहेको छ । पुराना ढल बेलाबखतमा जम्ने समस्या पनि यथावत् नै छ । त्यसैले वडा कार्यालयले गत वर्ष खानेपानी तथा ढल विभागसँग समन्वय गरेर ढल निर्माणलाई अघि बढाएको छ । गत आवमा वडा कार्यालयको कुल बजेटको ७० प्रतिशतभन्दा धेरै रकम ढल तथा खानेपानीको लागि विनियोजित गरिएको थियो । शान्तिमिलन  मार्ग लगायतका विभिन्न स्थानमा नयाँ ढलको पाइप राख्ने लगायतका काम गरेका छौं । वडा कार्यालयले ढल निर्माण तथा मंगाल तथा ढल मर्मतसम्भारको कार्य द्रुत गतिमा अगाडि बढाइरहेको छ ।

तपाईँको वडामा कतिपय सडक लथालिंग अवस्थाबाट गुज्रिएका छन्, कहिलेसम्म मर्मतसम्भार गर्नहुन्छ ?
वडामा अधिकांश सडक कालोपत्रे भइसकेका छन् । तर, कालोपत्रे भएका अधिकांश सडक भत्किएर लथालिंग अवस्थामा छन् । कालोपत्रे लामो समय नटिक्दा खाल्डाखुल्डीको समस्या भएका छन् । वडा कार्यालयले दुई वर्षदेखि ढल तथा खानेपानीको पाइप बिछ्याउने काम प्राथमिकतामा राखिएको छ । अबको तीन वर्ष सडक तथा अन्य पूर्र्वाधार निर्माणमा केन्द्रित भएर काम गर्ने योजना बनाएका छौं । यसको अलावा भत्किएका सडकको स्तरोन्नतिलाई पनि अगाडी बढाइरहेका छौं । वडा कार्यालयसँग सीमित स्रोतसाधन भएकाले पनि सोचे अनुरूपको काम गर्न समस्या हुने रहेछ । त्यसैले प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर काम अगाडि बढाएका छौं ।

तपाईँको वडामा खानेपानीको हाहाकार छ, कसरी व्यवस्थापन गर्दै हुनुुहुन्छ ?
वडामा खानेपानीको हाहाकारजस्तै छ । खानेपानीको पर्याप्त स्रोत नभएकाले हाहाकार भएको हो । वडावासीको माग अनुसारको खानेपानी आपूर्ति गर्न नसक्दा खानेपानीको समस्या भएको हो । एकातर्फ काठमाडौं उपत्यका खानेपानी लिमिटेडले एउटा बोरिङ निर्माण गरिदिने प्रतिवद्धता जाहेर गरेको छ । अर्काेतर्फ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक सूर्यराज कँडेल पनि यसै वडामा बसोबास गर्नुहुन्छ । उहाँसँग पनि मेलम्चीको पानीको कनेक्सन वडासँग जोडिदिन बारम्बार अनुरोध गरेका छौं । त्यसको साथसाथै प्रदेश सरकारबाट खानेपानीको लागि २५ लाख रूपैयाँ विनियोजन भएको छ । त्यसैले तत्कालको लागि दुई वटा बोरिङ खनेर खानेपानीको समस्या समाधान गर्ने योजनासहित काम गरिरहेका छौं ।

नगरपरिषद्बाट कस्ता योजना अघि सार्नुभएको छ ?
नगरपरिषद्बाट गत आवमा वडा कार्यालयका लागि एक करोड २० लाख रूपैयाँ बजेट विनियोजन भएको थियो ।  उक्त बजेटबाट ४२ वटा योजना अघि सारेका थियौं । ४२ वटै योजना सफलतापूर्वक सम्पन्न गरेका छौं । चालू आवमा एक करोड ३० लाख रूपैयाँ बजेट विनियोजन गरिएको छ । नगरपरिषद्बाट थप दुई करोड रूपैयाँ बजेट आएको छ । कुल बजेटबाट ६२ योजना अघि सारेका छौं । खानेपानी, ढल, सडक, लक्षित वर्ग लगायतलाई प्रथामिकतामा राखेर बजेट विनियोजन गरेका छौं । विकास निर्माणका हरेक गतिविधिमा जनताको प्रत्यक्ष सहभागिता गराएका छौं । वडा कार्यालयसँग सीमित स्रोतसाधन भएकाले जनचाहना र अपेक्षा अनुसार काम गर्न सकिएको छैन । हाम्रा कठिनाईका विषयमा जनतालाई बुझाउँदै काम गरिरहेका छौं ।

तपाईँको वडामा अव्यस्थित प्लटिङ तीव्र गतिमा भइरहेको छ, कसरी नियन्त्रण गर्नुहुन्छ ?
लामो समय स्थानीय तहमा जनप्रतिनिधि नहुँदा अवैध तथा अनाधिकृत जग्गा प्लटिङ अत्यधिक मात्रामा मौलाएको थियो । जसका कारण वस्ती व्यवस्थित गराउन समस्या भइरहेको छ । जग्गा दलालले मनपरी ढंगले गरेको प्लटिङले बाटो साँघुरा छन् । कतै सात तथा कतै १० फिटे बाटो छन् । यी बाटोमा आगलागी हुँदा दमकल लैजान समेत हम्मेहम्मे हुने गरेको छ । वडा कार्यालयले मापदण्ड विपरितको घर भत्काउन समेत नसक्ने अवस्था छ । मापदण्ड विपरितको घर भत्काउँदा दिनुपर्ने मुआब्जा र क्षतिपूर्ति वापतको रकम समेत नहुँदा समस्या भइरहेको छ । आधारभूत आवश्यकता खानेपानी, ढल, बिजुलीबत्ती लगायतका पूर्वाधार पु¥याउनसमेत समस्या भइराखेको छ । 

तपाईँको वडामा सार्वजनिक जग्गाको अतिक्रमण कस्तो छ ?
वडामा सार्वजनिक जग्गा अतिक्रमणमा परेको छ । यति नै रोपनी अक्रिमणमा परेको भनेर यकिन गर्न सकिएको छैन । विशेष गरेर सार्वजनिक जग्गासँगै जोडिएका घरधनीले दुई–चार आनाको दरले अतिक्रमण गरेको पाइएको छ । वडासदस्य फुलमाया बिकको नेतृत्वमा सार्वजनिकको लगत राख्नको लागि समिति गठन गरेका छौं । उक्त समितिले सार्वजनिक जग्गाको लगत राखिसकेपछि सार्वजनिक जग्गा संरक्षणको लागि आवश्यक कदम अघि सार्नेछौं । त्यसको साथै टोखा नगरपालिकाले पनि वडा अध्यक्षको नेतृत्वमा नगरभित्रका सार्वजनिक जग्गाको लगत राख्न छानविन समिति गठन गरिसकेको छ । समितिले दिएको प्रतिवेदनको आधारमा सार्वजनिक जग्गा संरक्षण गर्ने नीति अघि सार्नेछौं ।

लक्षित वर्गलाई कस्ता योजना अघि सार्नुभएको छ ?
वडा कार्यालयले लक्षित वर्गलाई विभिन्न कार्यक्रम अघि सार्दै आइरहेको छ । वडामा रहेका ज्येष्ठ नागरिकलाई सहरी स्वास्थ्य केन्द्रमार्फत् घरदैलोमा नै स्वास्थ्य जाँचको सेवा सञ्चालन गरिरहेका छौं । आगामी माघ १२ गते वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मान तथा ब्लाङ्केट वितरण गर्न लागेका छौं । महिलाको लागि सिलाइबुलाई, कम्प्युटर तालिम लगायतका कार्यक्रम गरिरहेका छौं ।

कस्तो वडा बनाउने सपना देख्नुभएको छ ?
सफा र चिटिक्क वडा बनाउने योजनासहित धमाधम काम अगाडि बढाइरहेका छौं । विष्णुमति नदीको किनारामा ढल निर्माण सुरु गरिसकेका छौं । दीपज्योतिदेखि गोगंबु बसपार्कसम्म नदीको वरपर ढल निर्माण भइरहेको छ । यसपाली दीपज्योतिदेखि मनोहर तीर्थस्थलसम्म राख्ने योजना बनाएका छौं । आगामी तीन वर्षसम्म वडाका अधिकांश सडक कालोपत्रे तथा स्तरोन्नति गर्ने योजना बनाएका छौं । वडालाई धुलोरहित बनाउने योजनासाथ काम गरिरहेका छौं । वडामा एउटा पनि सामुदायिक विद्यालय छैन । त्यसैले मेरो कार्यकालसम्म वडामा एउटा प्राथमिक विद्यालय बनाउने योजना बनाएका छौं ।

उत्तम अधिकारी
वडा अध्यक्ष, टोखा नगरपालिका–११

प्रकाशित: ७ माघ २०७५ ०५:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App