११ मंसिर २०८१ मंगलबार
image/svg+xml
अन्य

लुम्बिनी दर्शन

शान्तिका दूत गौतम बुद्ध लुम्बिनीमा जन्मेको तथ्य घामझैं छर्लंग छ। संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) ले सन् १९९७ मै लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिसकेको छ। त्यसैले ‘बुद्ध नेपालमा जन्मेका थिए’ भनेर अब तर्क–विर्तक गरिराख्नुको कुनै तुक छैन। 

लुम्बिनी घुम्न बर्सेनी लाखौं विदेशी आउँछन्। हामी नेपाली पनि घुम्छौं। परिवार, साथीसंगी मिलेर जीवनमा कम्तीमा एकपटक लुम्बिनी भ्रमण गरौं। आध्यात्मिक भूमिमा पुग्दा धेरै ज्ञानगुुन बटुल्न सक्छौं। अब कुरा गरौं बुद्धको। बुद्धको अर्थ ‘ब्युँझेको मानिस’। दरबारको सुख त्यागेर सिद्धार्थ गौतम ब्युँझिए। लोभ, ईष्र्या, घमण्ड, मोह र रिस त्यागे। शान्ति मन्त्र बाँडेर प्रख्यात भए। तिनै गौतम बुद्धको जन्मथलो हो नेपालको लुम्बिनी। 

बोधीवृक्षमुनि कपिलवस्तुका राजा शुद्धोदन र रानी मायादेवीको पहिलो सन्तानका रूपमा इसापूर्व ६२३ मा जन्मेका थिए सिद्धार्थ। तिलौराकोट दरबारबाट माइती देवदह जान हिँडेकी मायादेवीले पुष्करिणी पोखरीछेउमा सिद्र्धाथलाई जन्म दिएकी थिइन्।

लुम्बिनीमा मायादेवी मन्दिर छ। मन्दिरमा इसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष छन्। मन्दिरभित्र सिद्धार्थको जन्मस्मारक शिला छ। त्यहाँ चौथो शताब्दीको मूर्ति छ जसले सिद्धार्थको जन्मदृश्य झल्काउँछ। मायादेवीले सहाराका लागि रूखको हाँगा समातेकी छन्। देब्रेपट्टि उनकी बहिनी प्रजापति छन् भने दुईतिर देवगणले स्वागत गरिरहेका छन् र, बीचमा सिद्धार्थ। मन्दिर वरपर विहारका भग्नावशेष छन्। दक्षिणपट्टि पीपल चौतारी। त्यहाँ भिक्षु बौद्धमन्त्र जप्छन्। मन्दिरबाहिर सम्राट अशोकले इसापूर्व २४९ मा स्थापना गरेको अशोक स्तम्भ छ। त्यहाँ लेखिएको छ, ‘यही लुम्बिनीमा शाक्यमुनि बुद्धको जन्म भएको हो।’

विज्ञहरूले सन् १९९२–१९९६ सम्म लुम्बिनी उत्खनन गर्दा स्तम्भ र शिला भेटेका थिए। लगत्तै सन् १९९७ मा युनेस्कोले लुम्बिनीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्यो। सन् १९६७ मा संयुक्त राष्ट्रसंघका महासचिव उथान्तले लुम्बिनी भ्रमण गरेका थिए।

सन् १९७८ मा जापानी वास्तुकलाविद् प्रोफेसर केन्जो टाँगेले लुम्बिनीको गुरुयोजना बनाएका थिए। त्यही योजनाअनुसार ११ सय ५५ बिगाहा जग्गा अधिग्रहण गरियो। तीन खण्डमा बाँडियो। तीन वर्ग माइलमा उत्तर–दक्षिण फैलिएको भूमिमा उत्तरमा नयाँ लुम्बिनी गाउँ, बीचमा विहार क्षेत्र र दक्षिणमा मायादेवी मन्दिरसहित उद्यान बनायो।
लुम्बिनी ठूलो क्षेत्रफलमा भएकाले रिक्सा, साइकल र ट्याक्सीमा घुम्नुपर्छ। विहार क्षेत्रमा विभिन्न देशका विहार छन्। केही देशले विहार–गुम्बा बनाउँदैछन्।

बीचमा नहर छ। नहरमा डुंगा चल्छ। नहरको एकछेउमा अखण्ड शान्ति दीप छ। लुम्बिनी संग्रहालय पनि छ। कतिपयलाई लुम्बिनीमा होटल सुविधा छ भन्ने समेत थाहा छैन। उनीहरू भैरहवाका होटलमा बसेर लुम्बिनी घुम्छन्। तर, लुम्बिनीको महलीबार र पर्सा क्षेत्रमा दर्जनौं होटल छन्। त्यहाँ ६ सय रुपैयाँदेखि हजारौं मूल्यका कोठा पाइन्छ। आ–आफ्नो बजेटअनुसार बसे भैहाल्यो।

कसरी पुग्ने : काठमाडौं–लुम्बिनी ३२५ किमि। काठमाडौंबाट लुम्बिनीसम्म बस चल्छ। भैरहवासम्म हवाई यात्रा। भैरहवा–लुम्बिनी २१ किमि। भैरहवामा लुम्बिनी जाने गाडी पाइन्छ।

५ कुरा
१. लुम्बिनी दर्शन

मायादेवी मन्दिरमा प्राचीन शिला छ। भित्र फोटो खिच्न पाइँदैन। नेपालीले मन्दिर परिसर प्रवेश गर्न २० रुपैयाँको प्रवेश टिकट काट्नु पर्छ। मायादेवी मन्दिरबाहेक लुम्बिनी क्षेत्रमा विभिन्न देशले बनाएका एक दर्जनभन्दा बढी गुम्बा घुम्न सकिन्छ। 

२. ध्यान
मनको शान्तिका लागि ध्यान जरूरी हुन्छ। मायादेवी मन्दिर नजिकै बोधीवृक्षमुनि ध्यान बस्न पाइन्छ। त्यसबाहेक लुम्बिनी क्षेत्रका विभिन्न गुम्बामा सम्पर्क गरेर ध्यान तथा पूजापाठ गर्न सकिन्छ। केही गुम्बा र संघसंस्थाले ध्यान शिविर पनि चलाउँछन्।

३. बोटिङ
लुम्बिनी नहरमा दुई किलोमिटर दुरीमा डुंगा चढ्ने सुविधा छ। अखण्ड शान्ति दीपदेखि विश्व शान्ति स्तुप नजिकसम्म एकतर्फी डुंगा चढेको ४० रुपैयाँ तिर्नु पर्छ। त्यहाँ ९ वटा डुंगा छन्। डुंगा एक घण्टा रिजर्भ गर्ने हो भने १६०० रुपैयाँ तिर्नुपर्छ।

४. रिक्सा टुर
लुम्बिनीको प्रवेशद्वारमा ई.रिक्सा, टुकटुक र मयुरी पाइन्छन्। एउटामा ५ जना बस्न मिल्छ। तिनले अढाइ घण्टा घुमाएको ८०० रुपैयाँ लिन्छन्। तिनै रिक्सामा चढेर घुमफिर गर्नुपर्छ। रिक्सा टुर अविश्मरणीय बन्छ। सामान्यतः चालकले नै त्यहाँ पथप्रदर्शकको भूमिका निवार्ह गर्छन्।

५. किनमेल
लुम्बिनी क्षेत्रका महलीबार र पर्सा बजारमा लुम्बिनीको कोशेली पाइन्छ। बुद्ध र मायादेवी मन्दिरका चित्र भएका टि–सर्टहरू, काठ, माटो र ढलोटबाट बनेका बुद्ध मूर्ति राम्रा कोशेली हुन्। त्यसबाहेक महिलाले बुनेका ढकी, फूलदानी लगायत हस्तकला समेत किनमेल गर्न सकिन्छ।  

प्रकाशित: २ माघ २०७५ ०७:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App