६ आश्विन २०८१ आइतबार
image/svg+xml
अन्य

‘सम्पदा पुनःनिर्माणमा खरिद ऐन बाधक’

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन नै बाधक रहेको बताएका छन्। त्यसैले उनले सम्पदा पुनःनिर्माणको लागि खरिद ऐन लागू नर्गन आग्रह गरेका छन्।

ललितपुर सुनचाँदी व्यवसायी संघको २५ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले भने, ‘सम्पदा पुनःनिर्माण गर्दा खरिद ऐन अनुसार टेन्डर आह्वान गर्नु पर्ने हुन्छ। यस्तो टेन्डरमा देशभरका ठेकेदारले टेन्डर भर्न पाउँछन्। तर उनीहरुलाई सम्पदा पुनःनिर्माण बारे जानकारी सम्म हुँदैन, पुरातात्विक महत्वको कुरा थाहा हुँदैन, जसले गर्दा ठेक्का लिएर पनि पुनःनिर्माण कार्य सम्पन्न गर्न सकिरहेको छैन्।’

ललितपुर बुंगमतिमा रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माणमा पनि यस्तै समस्या आइरहेको उनले बताएका छन्। ‘यो मन्दिर पुनःनिर्माणको लागि ठेक्का लिएको ठेकेदार कम्पनी सडक मात्र पिच गर्ने कम्पनी रहेछ, उनीहरुलाई मन्दिर बनाउन चाहिने इँटा ‘दाचि अप्पा, कचि अप्पा’ भन्ने पनि थाहा छैन। जसले गर्दा मन्दिर पुनःनिर्माण गर्न सकिरहेको छैन।’

अहिले सम्म सम्पन्न गरिसक्नु पर्ने उक्त मन्दिरको पुनःनिर्माण काम हाल ३० प्रतिशत मात्र सकिएको बताउँदै उनले यसको प्रमुख कारण ठेकेदारया पुरातात्विक सामग्रीको जानकारी नहुनु पनि रहेको बताए।

कार्यक्रममा बोल्दै नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष माणिकरत्न शाक्यले वार्षिक ५० अर्ब बराबरको कारोवार हुने सुनचाँदी व्यवसायलाई अनुत्पादक क्षेत्र भनी सरकारले नै बेवास्ता गरिरहेको बताए। उनले भने, ‘वार्षिक ५० अर्ब बराबरको कारोवार हुने सुनचाँदी व्यवसायको नियमन गर्ने कुनै ऐन, कानुन, मापदण्ड छैन। सरकारले यो व्यवसायलाई पूर्णरुपमा बेवास्ता गर्दै आइरहेको छ।’

त्यस्तै ललितपुर सुनचाँदी व्यवसायी संघया अध्यक्ष किरणभाई वज्राचार्यले यो क्षेत्रमा धेरै सम्भावना रहेको बताउँदै सरकारले गरगहना बनाउने तालिम लगायत उच्च प्रविधि भित्र्याइदिएमा युवा रोजगारको लागि विदेशीनु पर्ने अवस्था नहुने बताए।

कार्यक्रममा प्रमुख अति उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मात्रिकाप्रसाद यादवले संघका सल्लाहकार, पूर्व अध्यक्ष, संस्थापक सदस्यहरु लगायत संघलाई विभिन्न क्षेत्रबाट सहयोग गर्दै आइरहेका संघसंस्था, व्यक्तिहरुलाई सम्मान गरेका थिए।

प्रकाशित: २७ पुस २०७५ ०४:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App