सीता प्याकुरेल
सोचिरहेछु काँडाको भर कस्तो हुन्छ
फूलमाथि मालीको नजर कस्तो हुन्छ
दलिन उस्तै रहला, धुरी उस्तै रहला
सोच, तिमीबिनाको घर कस्तो हुन्छ
विधुवाको रहर सेतो रङ हुँदै होइन
मसँग सोध उनको रहर कस्तो हुन्छ
अहिले त बालक बामे सर्न खोज्दैछ
खै कुन्नी भोलिको सफर कस्तो हुन्छ
युगौंपछि आमाले हराएको छोरो भेटिन्
उनलाई सोध्नु खुसीको खबर कस्तो हुन्छ
०००
थमाइदिएँ हातमा सलाई, मजा लिनुहोस्
आउनुस् मेरो घर जलाई, मजा लिनुहोस्
छुँदा घोच्छ काँडाले, दुखाउन पनि सक्छ
टाढैबाट हेर्नुहोस् फूललाई, मजा लिनुहोस्
यो मनको घाउ वर्षाैंदेखि बल्झिरहेको छ
नुन छर्नुहोस् चलाई चलाई, मजा लिनुहोस्
कालोलाई सेतो र सेतोेलाई कालो भन्नुहोस्
आफैलाई छलाई, छलाई, मजा लिनुहोस्
म गजल बनिदिन्छु कसै कसैको यादमा
गुनगुनाउनुहोस् मलाई, मजा लिनुहोस्
०००
मुस्कुराउन त म पनि मुस्कुराइदिन्छु
तिमीजस्तै ए, चाँदनी मुस्कुराइदिन्छु
आँसु नदेखाऊ आँखामा उदेक लाग्छ,
तिमीले भन्यौ हुन्छ नि मुस्कुराइदिन्छु
आफ्नाले नै चोट दिन्छन् तिमी पनि आफ्नै,
अरू केही पनि नभनी मुस्कुराइदिन्छु
मेरा आँखा लैजाऊ, तिमिले संसार हेर्नु,
म त हुँ तिम्री जननी मुस्कुराइदिन्छु
दिलबाट निकाल्यौ अब भित्तामा सजाउनु,
मालाबिचको तस्बिर बनि मुस्कुराइदिन्छु
०००
उसले मेरो जिन्दगीलाई खै कुन्नि के पो सम्झियो
गोडमेल गर्यो, हुर्कायो अनि चुँडेर फाल्दियो
उता खान्दानी सन्तानले आमालाई आश्रमतिर पठाए
मेरो भने सडकमा आमा खोजेरै जिन्दगी सकियो
छातीभरि ज्वालामुखी छ, नजरमा महासागर
खुसीको आँसु हो भनियो दुनियाँलाई खुब ढाँटियो
मृत्यु पनि आफै लज्जित बन्यो एक सिपाहीसँग
छातीमा गोली बर्सिरहँदा अधरमा मुस्कान थियो
मैले घृणा गर्नेको सूचीमा तिमी मात्र तिमी थियौ
दिल भन्छ उसको याद थियो आजसम्म बाँचियो
०००
साहुलाई सबै बाली सुम्पिएको तमसुक बनाउनुछ
आफूले खाने अलिकति ढिडो र गुन्द्रुक बनाउनुछ
ए विज्ञान मलाई पनि तेरा बारुदी सूत्रहरू बता
सद्भाव र माया भरेर चलाउने बन्दुक बनाउनुछ
आज आफ्नै आँसु धितो राखी थोरै नगद जोडेकी छु
भोलि बिहानैदेखि छोराहरूलाई बटुक बनाउनुछ
गोठभरी बाँधिएका निर्दोष पशुहरू पनि त सोच्दा हुन्
मान्छेहरूलाई नि एकदिन यसरि नै नाजुक बनाउनुछ
उपहार टाढैबाट मेरा यादसँगै नजरहरू पठाएर
नदेखी, नछोइकनै उनको मुटु ढुकढुक बनाउनुछ
प्रकाशित: २१ पुस २०७५ ०६:०८ शनिबार