१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सामाजिक विसंगतिप्रति प्रहार

नेपाली साहित्यमा प्रभावशाली लेखकका रूपमा दरिएका छन्, विजय सापकोटा। उनको लेखनले पनि जो कसैलाई पनि मोहित पार्छ। नेपाली साहित्यमा आफ्नो स्थान सुरक्षित बनाइसकेका उनले कविता, कथा, निबन्धलगायत विधामा कलम चलाएका छन्। उनी लेखनमार्फत् समाजका यथार्थलाई सुष्मरूपमा केलाउँछन्।

पछिल्लो समय उनले ‘अनावरण’ कथासंग्रह ल्याएका छन्। शाब्दिक बुक्सले बजारमा ल्याएको ‘अनावरण’ वास्तवमै नेपाली साहित्यमा अब्बल कृतिको रूपमा लिन सकिन्छ। यस कथासंग्रहमा १० कथा छन्। कथासंग्रहमा ‘आरेमको ट्यागका’, ‘अन्तरण’, ‘अन्तिम वाक्य’, ‘बाहिर अन्धकार थियो’, ‘गिर्खो’, ‘जंगली फूल’, ‘निमित्त’, ‘पटाक्षेप’, ‘सन्तान, विजेता’ लगायतका यी कथाहरू संग्रहित छन्।

यी कथामा नेपाली वर्तमान अवस्थाका चित्रणहरू गरिएको पाइन्छ। नेपाली राजनीतिको इतिहासमा वर्तमान पुस्ताले भोगेको एउटा दर्दनाक अवस्थाका साक्षी स्वयंम् लेखक पनि हुन्। उनका कथामा पुरुष मनोविज्ञान, महिलाको अहमपनबाट निम्तिएको घरायसी कलहको यथार्थता झल्किन्छ। व्यस्त हुँदै गएको नेपाली समाज र यसले निम्त्याएका विकृतिको यथार्थता उनको कथामा भेटिन्छ। ‘सन्तान’ शीर्षकको कथामा हाम्रो समाजको सही चित्रण भेटिन्छ। यस संग्रहमा रहेको अर्को कथा ‘पटाक्षेप’ले नेपाली समाजको विगतदेखि अहिलेसम्मको यथार्थलाई चित्रण गरेको छ। गरिब बाबुकी छोरी बलात्कृत हुँदा उसले न्याय पाउँदैन। बुबाले पनि छोरीको नै दोष देख्छ। र, छोरीले आत्महत्या गर्छे।

उनका कथासंग्रहमा वर्तमान राजनीतिले थिलथिलो पारेको समाजको चित्रण पनि छ। ‘निमित्त’ शीर्षकको कथामा ‘कृष्णमोहन’ पात्र एउटा समाज सुधार गर्ने निःस्वार्थ जनप्रतितिधिको रूपमा देखिएका छन्। उनका कथामा फिल्मी जगतले पारेको प्रभाव र विकृतिको चिरफार पनि गरिएको छ। बेरोजगार युवाले भोग्नुपरेको पीडा तथा नेपाली पत्रकारिता जगतमा देखिएका बेथितिलाई लेखकले कथामार्फत् व्यक्त गरेका छन्। छुवाछुत, सामन्ती प्रथा र ठूलाले सानालाई गर्ने थिचोमिचो र सामाजिक असमानताले निम्त्याएको १० वर्षे जनयुद्धका भयावक क्षणका चित्रण पनि उनका कथाहरूमा भेटिन्छन्। लेखकले समाजका बिम्बहरूलाई कथामार्फत् व्यक्त गरेर समाजलाई मार्र्ग निर्देशन गरिरहेका छन्। यस्तै, लेखकले भूगोलका धेराबाट समग्र मानवीय कथासंग्रहमार्फत् पोखेका छन्। त्यसैले पनि उनका कथा आम पाठकले रुचाएको हुन सक्छ।

उनका कथामा मान्छेका संवेदना मात्रै छैनन्, आफूले पालेका जनावरसँग मानिसले गर्ने व्यवहार पनि उल्लेख छ। राजनीति वास्तवमै उच्च नीति हो, यसले सबै क्षेत्रमा प्रभावित बनाएको हुन्छ। तर, हाम्रो मुलुकको दुर्भाग्य भनौ वा के भनौ राजनीतिलाई दाउपेच बनाएर आफ्नो स्वार्थ पूरा गर्न पल्केका हाम्रा नेताहरू र उनीहरूका अन्धभक्त कार्यकर्ताहरूले गर्दा जनताले भोग्नुपरेको पीडा उनका कथामार्फत् पोखिएका छन्। नेताहरूले आफ्ना कार्यकर्ताहरूलाई कालोलाई सेतो भन्न लगाएका धेरै प्रमाणहरू छन्, त्यसले गर्दा सक्कली जनताहरू मारमा परेका हाम्रा साझा पीडालाई उनका कथाले बोलेका छन्।

एउटा असल परिवार मिलेर बनेको सुन्दर समाजको निर्माणमा हामीले सदैव जोड दिनुपर्छ भन्ने उनको कथाको मूल चुरो हो। यसलाई हामी सबैले मनन गरेर लगेमा सुन्दर समाजको निर्माण हुन्छ भन्ने कुरा अनावरणका कथाहरूले बोलेका छन्।

कृति : अनावरण
विधा : कथा
लेखक : विजय सापकोटा
प्रकाशक : शाब्दिक बुक्स
मूल्य : रू ३००

प्रकाशित: १४ पुस २०७५ ०५:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App