२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

ठूला योजनाको चेपुवामा खोकना

विकास नै संस्कृति संरक्षणको बाधाको रूपमा देखा परेपछि केही दिनअघि त्यसको संरक्षणको माग राख्दै आन्दोलित बनेका स्थानीयवासी।

प्राचीन बस्ती खोकना अहिले देशकै महत्वकांक्षी योजनाको चेपुवामा छ। सरकारले पाँच ठूला योजनाको रुट यही बस्तीमा पारेपछि त्यसको असर प्राचीन कला–संस्कृतिमा पर्ने देखिएको छ।

फास्ट ट्रयाक, बाग्मती करिडोर, त्रिशुली हाइटेन्सन लाइन, बाहिरी चक्रपथ र सुरूङ मार्गको योजनाका कारण यो बस्तीको ४२ रोपनी ऐतिहासिक क्षेत्रफल मिचिने देखिएको छ। यो क्षेत्रफलभित्र धर्माकरको मूर्ति, शिव लिंगरूपी ढुंगाको मूर्ति, शिखली जात्रा हुने स्थल कुदेश, १३ सय वर्षअघिको इनारलगायत अन्य ऐतिहासिक सम्पदा पर्छन्। फास्ट ट्रयाकको रूट परिवर्तन नभए यी सबै सम्पदा भत्कन्छन्।

विकास नै संस्कृति संरक्षणको बाधाको रूपमा देखापरेको स्थानीयको गुनासो छ। ठूला योजना सञ्चालन गर्दा सामान्य ध्यान नदिएका कारण प्राचीनकालीन बस्तीको संस्कृति भत्कन लागेको स्थानीय अशोक महर्जनको भनाइ छ। ‘हामीलाई मुआब्जा दिएर मात्रै हुँदैन, पैसाले किन्नै नसक्ने देशको कला संस्कृतिलाई उचो राख्ने बस्तीमध्ये खोकना पनि छ,’ उनले भने, ‘तर, संस्कृतिविद् र स्थानीयसँग भरपूर सुझाव नलिई खोकनालाई विकासको माध्यम बनाइयो।’

उनका अनुसार आइइ र इआइए  रिपोर्टविपरित खोकनामा फास्ट ट्रयाक सडकको रुट पारिएको छ। जसका कारण सिकाली (शिखली) जात्रा हुने कुदेश (बस्तीको तल्लो भाग) मिचिने भएको छ। करिब १७ सय वर्षपहिले सुरु भएको यो जात्रा हुने स्थान फास्ट ट्रयाकले भत्काउन नहुने स्थानीय महजर्नको भनाई छ। त्यही ठाउँमा १५ दिनअघि १३ सय वर्षअघिको इनार पनि फेला परेको छ। त्यसलगत्तै पुरातत्व विभागका प्रतिनिधि, स्थानीय, रक्षामन्त्री ईश्वर पोखरेल, संस्कृतिविद् लगायतका व्यक्ति त्यस क्षेत्रमा पुगेका थिए। तर, इनार र कुदेश तर्काएर लग्ने कि नलग्ने भन्ने विषयमा अझै कुनै छलफल भएको छैन।

फास्ट ट्रयाक, बाग्मती करिडोर, त्रिशुली हाइटेन्सन लाइन, बाहिरी चक्रपथ र सुरूङ मार्गको योजनाका कारण यो बस्तीको ४२ रोपनी ऐतिहासिक क्षेत्रफल मिचिने देखिएको छ। यो क्षेत्रफलभित्र धर्माकरको मूर्ति, शिव लिंगरूपी ढुंगाको मूर्ति, शिखली जात्रा हुने स्थल कुदेश, १३ सय वर्षअघिको इनारलगायत अन्य ऐतिहासिक सम्पदा पर्छन्।

स्थानीयलाई प्रतिआना डेढ लाख मुआब्जा दिएर सेवा सडक निर्माणको काम गरिहरहेको छ। खोकनानजिकै फर्सिडोलमा अहिले फास्ट ट्रयाक निर्माण भइरहेको छ। यसलाई जसरी पनि रोकेर रुट परिवर्तन गर्नुपर्ने संस्कृति संरक्षणमा काम गर्दै आएको नेपा भ्याली संस्थाका संयोजक सुरज महर्जनले जानकारी दिए। उनका अनुसार अहिले सडक विभागले स्थानीयलाई डेढ लाख मुआब्जा दिएर फास्ट ट्रयाक खन्न लागेको छ। तर, त्यसमा स्थानीय असन्तुष्ट छन्। ‘अहिले डेढ लाखमा केही आउँदैन, चार÷पाँच आना जग्गा हुने व्यक्ति १० लाख मुआब्जाले कहाँ गएर घर बनाउनु ?,’ उनले भने, ‘स्थानीयलाई धक्का परेको त छ नै संस्कृति पनि भत्काउन थालियो, यसमा हामी असन्तुष्ट छौं।’

उनका अनुसार यस क्षेत्रमा पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको टोली पनि पुगेको थियो। तर, टोलीले पुरातात्विक पक्षमा चासो दिएन। स्थानीयले फास्ट ट्रयाकको रुटमा करिब १३ सय वर्षपहिलेको इनार भेटाएका छन्। त्यो क्षेत्रमा कुनै पनि हालतमा डोजर चलाउन नदिने महर्जनको भनाई छ।

‘इनारको संरचना हेर्दा लिच्छविकाल वा त्योभन्दा अघिको देखिन्छ। यसको अनुसन्धान जापनिज आर्कियोलोजिस्टले पनि गरिसकेका छन्। तर, हाम्रो पुरातत्व विभागले यसबारे चासो दिएको छैन,’ उनले भने, ‘फास्ट ट्रयाककै कारण ३० हजार वर्षअगाडि बनेको कटुवाल दह पनि मिचिने देखिन्छ।’ उनले पुरातत्व मासेर बाटो बनाउनु उपयुक्त नहुने जानकारी दिए।

खोकना क्षेत्रमा धर्माकरको मूर्ति छ। शिव लिंगरूपी ढुंगाको मूर्ति छ। फास्ट ट्रयाकका कारण यी सबै मासिने देखिन्छ। फास्ट ट्रयाक लगायतका योजनाका कारण ४२ रोपनी बस्तीको जग्गा मिचिएको छ। ललितपुर महानगरपालिका–२१ का वडा अध्यक्ष रवीन्द्र महर्जनले फास्ट ट्रयाक यो बस्तीमा झनै समस्या निम्त्याएको बताए। उनले यसलाई मिलाएर अघि बढ्ने सम्झौता भएको बताए।
‘खोकनावासी यसमा निकै चिन्तित छन्। सडक बनाउँदा सम्पदा भत्काउन पाइन्न। यसबारे हामीले विरोध नै गरेका छौं, माथिल्लो निकायसँग कुराकानी पनि भइसकेको छ,’ उनले भने, ‘ऐतिहासिक पक्ष बचाएर काम गर्ने सल्लाह गर्छौं, सम्पदा मासिन कुनै हालतमा दिन्नौं।’ उनका अनुसार यस विषयमा माथिल्लो निकायसँग वडाले समन्वय गरिरहेको छ। 

प्रकाशित: ९ पुस २०७५ ०३:५९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App