७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अन्य

के लेख्दैछ पोखरा ?

चुपचाप लेख्छ पोखरा। लेखनको हावा देश डुलिरहे पनि लेखिरहन्छ। राजधानीले थाहा पाए पनि लेख्छ, नपाए पनि लेख्छ। कहिले देश तरंगित हुने गरी लेख्छ पोखरा त कहिले आफैँले थाहा नपाउने गरी। कहिले माछापुच्छ्रेजस्तै उचाइ लेख्छ अनि कहिले फेवातालझैँ गम्भीर लेखनी चलाउँछ। देखिएको मात्रै लेख्दैन पोखरा, देख्न बाँकी रहस्यलाई स्पर्श गरेर लेख्छ। सेतीका गल्छीजस्तै रहस्यका कथा लेख्छ, महेन्द्र गुफाजस्तै लुकेका जीवन–गीत लेख्छ। सराङकोट उक्लेर संगीत लेख्छ। काहुँ चढेर कहरका कहानी लेख्छ। अर्थात् पोखरा सधैँ जीवन लेखिरहन्छ। 

कसैले स्वरमा लेखे, कसैले संगीतमा लेखे त कसैले कुचीले क्यानभासमा लेखे। केहीले कागजका पानामा पुस्तक बनाएर लेखे जिन्दगीका कथा। चुपचाप लेखिरहँदा एकैचोटि मदन पुरस्कारको भागीदार हुने गरी लेखे। लेखनाथले लेखे, भूपीले धर्मराजले लेखे, अलिमियाँले लेखे, मुकुन्दशरणले लेखे, विनोद गौचनले लेखे, झलकमानले लेखे। अरू धेरैले लेखे। आज पनि लेखिरहेछ पोखरा, एकोहोरो लेखिरहेछ। 

काव्य, नाटक र आख्यानलाई लेखनमा समेट्ने सरूभक्त यतिबेला उपन्यास प्रकाशनको तयारीमा छन्। करिब चार दर्जन कृति प्रकाशन गरिसकेका उनी डेढ दशक लामो समयपछि उपन्यास प्रकाशन गर्दैछन्। उनी आगामी दिनमा आफ्ना मूल विधामै केन्द्रित रहेर कलम चलाउने बताउँछन्। 

कविता र गीतमा जमेका तीर्थ श्रेष्ठ पनि काव्य साधनामै तल्लीन छन्। फुटकर कविता लेखनमै लागिरहेका उनी पछिल्लो समय पोखरेली परिवेशमा प्रशस्त खुसी हुने ठाउँ भए पनि साधना भने सन्तोषजनक नरहेको बताउँछन्। नेपाली काव्यजगतमा स्थापित ‘तरलवादी आन्दोलन’का प्रवर्तकमध्येका एक उनी साहित्यिक गतिविधिभन्दा पनि लेखन महत्वपूर्ण हुने बताउँदै साधनाका तहमा पछिल्लो समय पोखरा अलि खरो उत्रिन नसकेको बताउँछन्। 

पोखराकै आँगनमा कलमको नृत्य पस्किरहने गीतकार/गजलकार प्रकट पगेनी ‘शिव’ आज पनि हिजोकै ऊर्जा लिएर लेखिरहेछन्। गीत र गजलका तीन कृति प्रकाशनमा ल्याएका उनी उपन्यास लेखिरहेका छन्। त्यसो त उनीसँग गीत र कविताका पाण्डुलिपि समेत तयार छन्। शृंगारको रस मसीमा घोलेर कलम चलाउने यी कुशल शिल्पी सधैँ सिर्जनामा प्रेमिल ठिटो बनिरहन चाहन्छन्।

लामो समय सुस्ताएको पोखरेली आख्यानलाई पुनः प्राण भर्ने गरी उदाएका स्रष्टा हुन्, ‘गनेस पौडेल’। ‘पैताला’ उपन्यासमार्फत् आख्यान लेखनमा स्थापित बन्न पुगेका उनले तान्त्रिक विषयलाई सामाजिक एवम् राजनीतिक विषयसँग मिश्रण गरी रहस्यमय उपन्यास लेखेका उनी आख्यान लेखनमै व्यस्त छन्। उनको उपन्यास गहन अध्ययन गरेर पाठकीय न्याय गरिदिने गम्भीर पाठकको अभाव रह्यो। निबन्ध लेखनमा पनि लागिरहने यी सर्जक यसबखत भने कथा लेखनमा झुमिरहेका छन्।

कवितामा स्थापित दुई जना पोखरेली स्रष्टा ०७४ सालमा आफ्नो पहिलो उपन्यासमार्फत् आख्यानकारको दह्रो परिचय लिएर उदाए। उनीहरू दुवै जना अर्को उपन्यासको जग निर्माणमा व्यस्त छन्।  वादी समुदायको कथालाई उभ्याएर ‘नथिया’ उपन्यास लेखेकी सरस्वती प्रतीक्षालाई उक्त कृतिले मदन पुरस्कारको दाबेदारका रूपमा उभ्यायो। पहिलो उपन्यासकै माध्यमबाट आफूलाई स्थापित आख्यानकारकै हाराहारीमा पु-याएपछि उनी उत्साहित भएर अर्को आख्यान बुनोटमा व्यस्त छिन्। यथेष्ट तयारीपछि मात्र दोस्रो उपन्यास बजारमा ल्याउने बताउँछिन् उनी। 

कविका रूपमा राष्ट्रिय छवि बनाएपछि मात्र आख्यान लेखनको मोड समाएकी उनी पछिल्लो समय राष्ट्रिय उचाइको कविता लिएर पोखरेली कवि उदाउन नसकेकोमा भने दुखेसो प्रकट गर्छिन्। तपस्यासहितको सचेत लेखनमा जोड दिनुपर्ने धारणा उनको छ।  

कहिले देश तरंगित हुने गरी लेख्छ पोखरा त कहिले आफैँले थाहा नपाउने गरी। कहिले माछापुच्छ्रेजस्तै उचाइ लेख्छ अनि कहिले फेवातालझैँ गम्भीर लेखनी चलाउँछ। देखिएको मात्रै लेख्दैन पोखरा, देख्न बाँकी रहस्यलाई स्पर्श गरेर लेख्छ। सेतीका गल्छीजस्तै रहस्यका कथा लेख्छ, महेन्द्र गुफाजस्तै लुकेका जीवन–गीत लेख्छ।

बालबालिकाको विषयलाई बालबालिकाकै शैलीमा कथा बनाएर ‘पाठशाला’ उपन्यास लिएर कविको परिचयलाई एकाएक सिंगो पोखरालाई झड्का दिँदै उपन्यासकार आवरणमा खडा भएका हुन्, तीर्थ गुरुङ। निजी विद्यालयको छात्रावाससम्बन्धी विषयलाई उभ्याएर बिलकुल फरक स्वाद पस्किए उनले। यसले एकाएक मदन पुरस्कार गुठीको उत्कृष्ट आठ पुस्तकमा नाम लेखाएपछि प्राप्त खुसी उनी अर्को सिर्जनाका रूपमा अनुवाद गर्दैछन्। लेख्दै छन् गुरुङ जातिको मौलिकतामा आधारित उपन्यास। 

नाट्य लेखनमा निरन्तर सिँचाइ गरिरहने कृष्ण उदासी हाल उपन्यास लेखनमा लागेको बताउँछन्। ‘अन्तर्चेतन’ नामको उपन्यास अन्तिम चरणमा पुगेका उनीसँग ‘आवरण अनावरण’ नाटकको पाण्डुलिपि तयार छ। पोखरेली साहित्यिक गतिविधिका विषयमा उनको धारणा छ, ‘लेखनमा निरन्तरता आए पनि गम्भीर साधना, परिभ्रमण, जीवनचेत आदि राम्रोसँग समेटिन नसकेकाले गुणात्मकता आउन नसकेको हो।’

लोकगीतका क्षेत्रमा आफ्नो उचाइ चुल्याएकी हरिदेवी कोइराला गीतकार एवम् कवि पनि हुन्। नौ ओटा काव्य कृति पस्किसकेकी उनी बालसाहित्यमा पनि सक्रिय छन्। उनी छिट्टै ‘बाल गीत’को दोस्रो भाग बजारमा ल्याउँदैछिन्। साथै उनी अचेल राष्ट्रिय गीत र संस्कृतिमूलक लेखनमा खटिरहेकी छिन्। यी कविलाई लाग्छ कि पोखराको पठन संस्कृति र साहित्यिक गतिविधि अत्यन्त आशलाग्दो स्तरमा अगाडि बढिरहेको छ। नयाँ पुस्तामा आएको साहित्यिक चेतनाले पोखरेली साहित्य हराभरा हुने विश्वास बढ्दै गएको बताउँछिन् उनी। प्रज्ञा प्रतिष्ठानको जिम्मेवारीमा रहँदा पनि कविता लेखिरहेका रमेश श्रेष्ठ सधैँझैँ कविता साधनामा निरन्तरता दिइरहेकै छन्। 

पोखराको साहित्यिक गतिविधिलाई विभिन्न संस्थामा रहेर निरन्तरता दिँदै यो उचाइ प्रदान गरेका अभियन्ताहरूको एउटा जमात यतिबेला आफूलाई लेखनमा व्यस्त गराइरहेको छ। गजल क्षेत्रलाई हाँकेका हस्तीहरू दीपक समीप, दिलिप दोषी, लक्ष्मण थापा, ईश्वरमणि अधिकारी आदि लेखकहरू निरन्तर काव्य र आख्यानमा कलम उद्याइरहेका छन्। काव्य र आख्यान दुवैमा सक्रिय समीप यतिबेला कथा/लघुकथा लेखनमा संलग्न छन्। अब ती लेखनलाई पुस्तकाकार दिनेतर्फ उनी कस्सिएका छन्। अर्का कवि ईश्वरमणि गजल र कविताको कृति प्रकाशनपछि पनि पुनः काव्य साधनामै व्यस्त छन्। समीप र अधिकारीजस्तै लक्ष्मण दुई गजल संग्रह प्रकाशन गरिसकेपछि अब मुक्तक संग्रहको विमोचन गरिहाल्ने मेसो मिलाउँदैछन्। उनी लघुकथा र कथा लेखनमा समेत लेखनी दौडाइरहेछन्। 

यतिबेला पोखरा कविता लेखनलाई आख्यानको मोड दिएर लेखिरहेको भान हुन्छ। ‘पैताला’, ‘नथिया’, ‘पाठशाला’ आदि औपन्यासिक कृति प्रकाशन भएपछि पोखराको आख्यान लेखनले नयाँ मोड समातेको छ। पोखरेली आख्यानका खम्बा सरूभक्तदेखि नाटककार उदासी हुँदै गीत गजलमा मस्त पगेनीसम्म उपन्यास लेखनमा व्यस्त छन्। 
त्यति मात्र होइन, पछिल्लो समय आफ्नो पहिलो कृतिका रूपमा उपन्यासलाई नै रोज्ने र प्रकाशनमा ल्याउने आख्यानप्रेमीहरूको संख्या हिउँदे याममा माछापुच्छ्रेमा हिउँ थपिएझैँ थपिइरहेका छन्। पुलिक (नवराज ढकाल), नाम (नवराज बराल), मीरा (दीपक सिँजाली) यी पछिल्ला उदाहरण हुन्। साथै पछिल्लो पुस्तामा सव्रिmय युवा जमातको ढल्काइ पनि बढी कवितातर्फ आकर्षित छ। 

पोखरामा विगत केही वर्षदेखि -यान्डम रिडर्स सोसाइटीले पुस्तकमाथि परिचर्चा गर्ने संस्कृति बसाल्यो यसले पठन संस्कृति मात्र विकास नभएर पोखरामा आख्यान–चेतको पारो निकै माथि चढाउन सहयोग ग-यो। आख्यान–चेतले काव्य लेखनमा असर गरेको गुनासोका बारेमा लेखक गनेस असहमति राख्छन्। उनी कविता बजारका लागि कम र आफ्नै हृदयका लागि बढी लेखिने विधा हो भन्छन्। काव्यको भावमा चुर्लुम्म डुबुल्की नमारी सिधै आख्यानमा लाग्ने सोच आउनु साहित्यको मूल रसास्वादन गर्न नसक्नु भएको बताउँछन् उनी। कविता साहित्यको जननी हो र आमाबिना राम्रो सन्तानको कल्पना हुन नसक्ने उनी बताउँछन्। कविता आफसेआफ लेखिने विधा रहेको बताउने उनी कवितामार्फत जीवनजगतको बोध गरिसकेपछि मात्र प्रबन्ध साहित्य (आख्यान) रचनामा लाग्दा साहित्यमाथि लेखकले न्याय गर्न सक्ने धारणा राख्छन्।  

पछिल्लो समय लघुकथालाई केन्द्रमा राखेर संस्था नै गठन गरी नेतृत्व दिइरहेका विष्णु अल्पविराम सव्रिmय छन्। उनी आफ्ना तीन काव्य–कृतिपछि लघुकथा संग्रह प्रकाशनको संघारमा छन्। दीपक समीप, सरस्वती श्रेष्ठ ‘सरु’, कल्याण पन्त, लक्ष्मण थापा, भवानी पाण्डे, रुपिन्द्र प्रभावी, लक्ष्मी थापा आदि लघुकथा लेखनमा सक्रिय छन्।त्यसो त कविता, गीत, गजलमा सव्रिmय वसन्त गौतम, चैतन्य अधिकारी, शरण आँसु, राजेन्द्र पौडेल, कृष्ण भण्डारी ‘मुमुक्षु’, मदन भण्डारी, सूर्य खड्का ‘बिखर्ची’, मन क्षेत्री, अमृत सुवेदी, कपिल शर्मा, सरला लामिछाने ‘सरू’, कृष्ण देवकोटा लगायतका दर्जनौँ स्रष्टा पोखरामा राम्रो सम्भावना बोकेर कलम चलाइरहेका छन्। पोखराका साहित्यिक गतिविधिलाई धान्ने तर आफ्नो कृति प्रकाशन नगरेका कयौँ स्रष्टा छन्, जसले पोखरेली साहित्यमा आशाका सुनौला किरण जगाउँदै अक्षरको खेती गरिरहेका छन्।  

चार ओटा काव्य–कृति प्रकाशन गरिसकेका भीम रानाभाट गजल संग्रहको अन्तिम तयारीमा रहेको बताउँछन्। उनी गजल कृति प्रकाशनपछि गद्य लेखनलाई कृतिको रूप दिने तयारीमा छन्। कविता र आख्यान दुवैमा सक्रिय नारायण मरासिनी २०७१ सालमा चौथो कृतिका रूपमा कथा संग्रह प्रकाशनपछि यतिबेला आख्यान लेखनमै लागिरहेका छन्।  
पोखरेली कवितामा विगत दुई दशकदेखि निरन्तर सक्रिय कल्पना चिलवाल, अल्पज्ञानी, लक्ष्मी थापा पहिलो कविता कृति कोसेलीका रूपमा बोकेर पाठकलाई भेट्ने तयारीमा छन्। 

पोखरा प्रशस्तै साहित्यिक गतिविधि हुने सहरमा पर्छ। साहित्यिक कार्यव्रmम अत्यन्त धेरै भए पनि यहाँ आख्यानसँग सम्बन्धित कार्यव्रmम भने खासै भएको पाइँदैन। त्यसो त नयाँ निस्किएका आख्यानका कृतिलाई पोखरामा चर्चा परिचर्चा भने निरन्तर गरिँदै आइएको पाइन्छ। अनि काठमाडौँका स्थापित लेखकहरू आफ्नो सिर्जनामा नयाँ मोड दिन र त्यसलाई अन्तिम स्पर्श दिन पोखरा आउँछन्। 

केही कृति प्रकाशन गरिसकेका भूमिराज बस्ताकोटी कथासंग्रहको तयारीमा छन्। गीत, कविता र गजल लेखनमा सव्रिmय जीवनसागर भण्डारी पनि कथाको पाण्डुलिपि लिएर प्रकाशक कुरिरहेका छन्। कविता लेखनसँग अत्यन्त निकट साइनो राख्ने निबन्ध लेखन पनि पोखरामा जम्न नसकेको विधा हो। पछिल्लो समय पोखरेली निबन्धलाई सरुविन्दको कलमबाट मूल्यांकन गर्दा पोखरेली निबन्धको स्तर पहिचान हुन्छ। उनी चुपचाप लेखिरहने तर त्यति चर्चामा नआउने उत्कृष्ट निबन्धकार हुन्। शेषराज भट्टराई व्यंग्यलाई आफ्नो विशेषतासँग जोडेर निबन्ध लेखिरहने अर्का निबन्धकार हुन्। छवि सुवेदी, नारायण परिश्रमी पनि निबन्धमै कलम चलाइरहेका छन्। पोखरेली निबन्धको क्षेत्रमा यो रिक्ततालाई अन्य केही लेखकका नियात्रा र एकाध संस्मरणात्मक कृतिले विगतदेखि नै पूरा गर्दै आएका छन्। 

पोखरामा त्यति धेरै लेखिएको छैन बाल साहित्य। पछिल्ला तीन/चार वर्षमा पोखराबाट एउटा बाल कविताको कृति मात्र प्रकाशनमा आएको छ। २०६० सालमै गजल कृति प्रकाशन गरेका उनी ‘चिल उड्यो आकाशमा’ कृतिमार्फत् बाल साहित्यको निरन्तर साधनालाई प्रकाशनमा ल्याएका सुरज उपाध्याय बाल साहित्यकै अर्को कृति प्रकाशनको तयारीमा छन्। हरिदेवी कोइराला, सरस्वती श्रेष्ठ ‘सरू’ आदि स्रष्टाहरू पनि बाल साहित्यमा निरन्तर अक्षरका नौरंगी माला उनिरहेका छन्।

पोखरेली गीति लेखनका क्षेत्रमा स्थापित स्रष्टा हुन् प्रकट पगेनी ‘शिव’, सरस्वती श्रेष्ठ ‘सरु’, सरुभक्त, तीर्थ श्रेष्ठ, नवराज बराल, हरिदेवी कोइराला, श्रमिक बराल आदि। यसबाहेक पनि गीत लेखनमा सव्रिmय अन्य लेखकहरू पनि प्रशस्तै छन्। 

समालोचना लेखन पोखरामा कम छ। घनश्याम ढकालको समयमा एउटा उचाइमा पुगेको प्रगतिवादी समालोचना सुस्ताइसकेको छ। यतिबेलाको समालोचना केबल विश्वविद्यालयीय ढाँचामा सम्बन्धित छन्। समालोचनाले स्रष्टाद्वारा सृजित सिर्जनालाई समाज र समयका सापेक्षमा राखेर कसी लगाउन सक्नुपर्छ। तर, पोखरेली समालोचकहरू यतातर्फ केन्द्रित भएको पाइँदैन। अझ भनौँ पोखरामा स्रष्टा मनोविज्ञान सव्रिmय छ। तर, द्रष्टा मनोविज्ञान लेखनका तहमा हस्तक्षेपकारी बन्न सकेको छैन। 

लेखनाथजस्ता परिष्कारवादी कविको पृष्ठभूमिका रूपमा रहेको पोखरामा पछिल्लो समय छन्द कविता वा काव्यमा परिष्कारलाई प्राथमिकता दिने स्रष्टा पाउन मुस्किल छ। अर्थात् पोखरेली छन्द कविता लेखन माधव वियोगी पछाडि छन्दमणि र छन्दिकासम्म आएर सेलाएको छ। 

कविताको बजार नियमित कार्यक्रम र स्टेज कार्यक्रमहरूमा भए तापनि पाठकका तहमा कविताले पकड जमाउन सकेको छैन। पछिल्लो समय काव्यिक लेखनबाट आख्यान लेखनतर्फ पोखरेली ढल्किनुमा आख्यानको बजार बढ्नु नै प्रमुख कारण रहेकोमा सहमत छन् सरुभक्त। 

लेखनाथ पोड्याल, भूपी शेरचन हुँदै तीर्थ श्रेष्ठको तरलवादसम्म आएर राष्ट्रियरूपमै स्थापित काव्य लेखन आज पनि पोखरामा हराएको छैन। भलै पछिल्लो समय पोखराको कविताले राष्ट्रिय चर्चा बटुलेको नहोस् तर कविता सिर्जना निरन्तर चलिरहेकै छ। कविताको प्रभावशाली लेखनको खडेरी राष्ट्रियरूपमा परेका बेलामा पोखरा पनि त्यसबाट अछुतो भने छैन।

पोखरालाई मुक्तकको सहर पनि भनिन्छ। २०३५ सालमा नेपालमै पहिलोपटक ‘टिकटमा मुक्तक’ कार्यव्रmम आयोजना गरेदेखि नै मुक्तकका क्षेत्रमा पोखराको गरिमा स्थापित छ। पोखरामा हालै प्रकाशित कृतिहरूमध्ये मुक्तकका कृतिहरूको संख्या उल्लेख्य देखिन्छ। ‘मुक्तक मञ्च पोखरा’का अध्यक्ष प्राञ्जलका अनुसार पोखरामा मुक्तक मञ्चको स्थापनापछि मुक्तकको गरिमा बढ्दैछ। आगामी वर्षसम्ममा तीन÷चार मुक्तक संग्रह प्रकाशन हुने क्रममा रहेको उनले सुनाए। 

पोखरामा काव्यको निरन्तर लेखिने अर्को विधा हो, गजल। गजल सन्ध्या पोखराले नियमित गजलको कार्यव्रmम गर्दै आए तापनि गजलकै कृति भने पछिल्लो दुई/चार वर्ष खासै प्रकाशित भएका छैनन्। कार्यव्रmममा वाचन गर्ने र मेला महोत्सव, प्रतियोगितामा अलिअलि चलेको भए तापनि गजलका कृति नछापिनुमा काव्यको पाठकीय बजार कमजोर रहेको कुरा औँल्याउँछन्, गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदी। गजल विशेषतः गायनको विधा हो। पछिल्लो समय गजल वाचनको व्रmम निकै अगाडि बढेको छ। तर, गजलका पाठकभन्दा स्रोता बढी भएकाले यसलाई पुस्तकाकार रूपमा प्रकाशन गर्नेतर्फ स्वयं स्रष्टाहरूले नै त्यति ध्यान दिएको पाइँदैन। यसले पनि के देखाउँछ भने गजलका कृति आपूmलाई स्थापित गराउने व्रmममा मात्र प्रकाशित गरिएका छन्। गजललाई नै आफ्नो मूल विधाका रूपमा लिएर निरन्तर लेखन साधनामा लाग्ने व्रmम पोखरामा छैन। गजलले ६० को दशकमा जुन माहोल सिर्जना गरेको थियो त्यो माहोल अहिले आएर थोरै भए पनि खस्केको देखिन्छ। 

साहित्यिक पुस्तकलाई विशेष आधार बनाई सञ्चालित ‘रिडर्स कर्नर पोखरा’का सञ्चालक विजय भण्डारी कृति पठनका लागि कसैलाई सुझाउनुपरेमा अझै पनि लेखनाथ, देवकोटा, बीपी, पारिजात, भूपी, सरुभक्तकै नाम लिइरहनुपरेको बताउँछन्। पछिल्लो समयका नयनराज पाण्डे, नारायण ढकाल, अमर न्यौपाने, बुद्धिसागर या सुबिन भट्टराई नै पाठक कुरेर बस्ने गरेको अनुभव छ उनीसँग। यस बाध्यतालाई पोखराले चिर्न नसकेको बताउँछन् उनी। दशक अगाडि स्थापित स्रष्टाको विकल्पमा नयाँ लेखक उभिएको र पोखरेली लेखककै कृति काउन्टरबाट बढी बिव्रmी गर्ने रहर सुनाउँछन्। 

लेखनमा लागिरहेका स्रष्टाहरू क्रियाशील रहँदारहँदै पनि लेखनको गुणात्मकतामा आफैँ सन्तुष्ट हुन नसकेको बताउँछन्। साहित्यिक गतिविधि जुनरूपमा भइरहेका छन् त्यसको तुलनामा लेखन साधनामा अलि कमी आएको भेटिन्छ। लेखकहरू बढी महत्वाकांक्षी भएकाले पनि यस्तो अवस्था सिर्जना भएको स्रष्टाहरूकै स्वीकारोक्ति छ। लेखनको औचित्य के ? लेखेर के पाइन्छ ? भन्ने विषयले लेखकको मस्तिष्कमा आक्रमण गरेपछि लेखनमा स्तर नरहने बताउँछन् कवि तीर्थ श्रेष्ठ। विधागत हिसाबले हरेक विधाले निरन्तर साधनाको अपेक्षा गर्छन्। विधाले अपेक्षा गरेअनुरूप साधना गर्न सकिएन भने कुनै पनि लेखकले साहित्यको क्षेत्रलाई न्याय गर्न सक्दैन। आपूm संलग्न क्षेत्रलाई न्याय गर्न नसकिए त्यस प्रकारको संलग्नताले भोलि आफैँलाई अप्ठेरोमा पार्छ। अझ लेखनजस्तो समाजको अग्रणी क्षेत्रमा लाग्दा हरेक लेखकले यसको गाम्भीर्यता बुझेर साधनामा तल्लीन हुन जरुरी छ। 

साहित्यिक संस्था, तिनको सक्रियता र गतिविधिको तुलनामा पोखरेली लेखनले लेखनको उचाइ पकड्न नसकेकोमा अधिकांश लेखकहरूकै स्वीकारोक्ति छ। सफल लेखक बन्न गम्भीर पाठक बन्नु पहिलो सर्त मानिन्छ। तसर्थ पनि पोखरा हिमालजस्तै उज्याला र धेरै साहित्यिक गतिविधिमा निरन्तरता मात्रै दिन नलागेर हिमाली उचाइकै लेखनमा लाग्नुपर्ने अपरिहार्य अवस्थाबाट गुज्रिरहेको छ। जति उचाइको निर्माण गर्नुपर्छ त्यति नै गहिरो जग आवश्यक हुन्छ। पोखरा अब सतही अध्ययनमा नलागी गहन साधनामा लागेर समयको माग सम्बोधन गर्ने किसिमको रचना पस्कन लाग्नुपर्ने अवस्था आएको छ। यस यथार्थलाई प्रायशः सबै पोखरेली स्रष्टा स्वीकार्छन्। 

पोखरेली साहित्यकर्मका अभियन्तामध्येका एक रूपिन्द्र प्रभावी पोखराका नयाँ स्रष्टाहरूमा सम्भावना देखिएको बताउँदै त्यसलाई सामाजिक सञ्जाललाई नै सम्पूर्णता देख्ने प्रवृत्ति र अहम्ले साधनालाई अँचेटेका कारण अपेक्षाकृत गुणस्तर कायम हुन नसकेको गुनासो र दुखेसो एकैसाथ पोख्छन्। त्यसो त साहित्यिक गतिविधिकै निरन्तरताले लेखकीय साधनालाई आमन्त्रण गर्ने हो। निरन्तरको माहोलले स्रष्टालाई साधनातर्फ उन्मुख गराउँछ। माथि उल्लिखित प्रतिनिधि सर्जकबाहेकको ठूलो पंक्ति पोखरामै रहेर निरन्तर कलमको निब डोबिरहेछ। उल्लेख्य साहित्यिक गतिविधि भइरहेको पोखरा यतिबेला आफ्नो सौन्दर्यजस्तै सुन्दर र कलात्मक लेखन पस्कन सक्ने नयाँ सर्जक कुरिरहेको छ। अझ भनौँ हाल व्रिmयाशील स्रष्टाबाट गुणस्तरीय रचनाको गर्भाधानमा छ पोखरा। पोखरेली परिवेशबाट पोखराले मात्र होइन, सिंगो नेपाली साहित्यले प्रतिनिधि काव्य र आख्यान कृतिको सुन्दर जन्मको साइत कुरेर बसेको छ। यस अपेक्षालाई पूरा गर्न, आफैँलाई सन्तुष्ट पार्ने गरी कृतिको रचना गर्न निरन्तर लेखिरहेछ पोखरा। 

प्रकाशित: ७ पुस २०७५ ०४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App