रामभरोस कापडी
अहिले फेरि जनकपुरधाम चर्चामा आउन थालेको छ । त्यसको कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन् । आगामी मंसिर २६ गते (२०१८) विवाह पञ्चमीको अवसरमा उनी अयोध्याबाट जन्तीकै रुपमा सामेल हुन आउने कुरा यहाँ आइसकेको छ । प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा आउन लागेका उनी त्यसै अवसरमा जनकपुरधाम (कुर्था) (जयनगर भारत) ब्रोडगेज रेलवेको जनकपुरधामबाट शुभारम्भ गर्ने कार्यक्रम पनि रहेको छ । यसपाली अयोध्याबाट आउने हजारौं यात्रीको चाप जनकपुरधाममा पर्ने पक्कै छ । यद्यपि मोदीको आगमनबाट यस साँस्कृतिक नगरीको विश्वस्तरमा प्रचार भै रहेकोले पनि पर्यटकहरुको संख्या ह्वात्तै बढेको यहाँ महसुस गरिएको छ ।
राज्य सरकारले विवाहपञ्चमी मेलाको भव्यताका लागि ५० लाख अनुदान दिएको छ भने आउने समयमा जानकी मन्दिरको सौन्दर्यीकरणका लागि लगभग सात अरबको बजेट उपलब्ध गराएको छ । प्रम मोदीले आफ्नो जनकपुरधाम भ्रमणमा १ अर्ब भारतीय रुपैयाँ दिने घोषणा गरी सक्नुभएको छ । यो रकमबाट जनकपुरधामको कायापलट हुने विश्वास गरिएको छ ।
अहिले नगरका सडकहरु फराकिलो बनाइँदै छ । सडकहरु सुन्दर, रमणीय, आकर्षक बन्दैछन् । फोहोरी, कुरुपको संज्ञा थपिँदै आएको यो आध्यात्मिक नगरले कोल्टो फेर्दैछ । जनकपुर त्यसै जनकपुरधाम भएको हैन ।
जनकपुरधाम संस्कृति र पुरातात्विक सम्पदा भएको त्यो क्षेत्र, जसले वैदिक, उपनिषद् र पुराणकालदेखि आधुनिक कालसम्म आफ्नो उपस्थितिद्वारा समस्त हिन्दूधर्मावलम्बीहरुलाई आध्यात्मिक केन्द्रको रुपमा आकर्षित गर्दै आइरहेको छ ।
यस क्षेत्रको व्यापकता हेर्दा बृहत् परिक्रमा पथ (पन्ध्र दिने) लाई आधार बनाएर अध्ययन, अभिलेखीकरण गर्न सकिन्छ । अर्को अन्तर्गृह परिक्रमालाई आधार मान्न सकिन्छ, जसले तत्कालीन मिथिला नगरको परिक्रमा गर्न प्रारम्भ गरिएको हुनुपर्छ ।
मिथिला र जनकपुर
तत्कालीन विदेह राजको राजधानी थियो मिथिला । शतपथ ब्राह्मण, श्रीमद्भागवत, वाल्मीकि रामायण, वृहदारण्यकोपनिषद, गन्धारक सुरुचि जातक, शक्ति संगम तन्त्र, बृहत् विष्णु पुराण आदि पौराणिक ग्रन्थहरुमा मिथिला र विदेहको बारेमा प्रशस्त जानकारी उपलब्ध गराइ सकिएको छ ।
मिथिला हिन्दूहरुका लागि मात्र हैन, जैन धर्मावलम्विहरुका लागि पनि त्यत्ति नै श्रद्धा गर्ने थलोको रुपमा सम्मानित रहेको छ । जैन धर्मका उन्नाइसाैं तीर्थकर मल्लिनाथ र एक्काइसौं तीर्थकर नमिनाथको जन्म भएको र उनीहरुका चार कल्याणक यहीँ सम्पन्न भएको कुरा उनका ग्रन्थहरुमा उल्लेख छ । (भारतको दिगम्बर जैन तीर्थ, पृ ५१ देखि ५६ सम्म) ।
जनक अध्यात्मवादी थिए । आफ्नो आध्यात्मिक चेतनाकै कारण राजर्षिको श्रास्पद पाएका उनीसँग याज्ञवल्क्य, अष्टाबक्र, शुकदेवजस्ता ऋषिमुनिहरु सत्संग गर्दथे ।
श्रीमद्भागवत (११।८।३४) मा जनकपुरको आध्यात्मिक वातावरण सम्बन्धमा एउटा चित्रण प्रस्तुत गरिएको छ । जसको सम्बन्ध त्यहीँका एकजना वेश्या पिंगलासँग सम्बद्ध छ–
विदेहानां पुरे ह्यास्मिन्न हमेकैब मूढधीः ।
यान्यमिच्छन्त्यसत्य स्मादात्मदात काममच्युतात ।।
अर्थात् विदेह नगरीमा म नै यस्तो मूर्ख हुँ जो भगवान्लाई छाडेर अन्य पुरुषको कामना गर्दछु ।
मिथिला, जयन्तपुर हुँदै जनकपुर बन्न पुगेको प्रसंग पनि धेरै ठाउँमा आइ सकेको छ । यहाँ म जनकपुरबारे केही सामान्य तर जिज्ञासा शान्त गर्न सक्ने टिपोट प्रस्तुत गर्न चाहन्छु ।
चिनियाँ यात्री ह्वेन सांग होस् अथवा बाहाैं तेह्रौं शताब्दीका धर्मस्वामी होस्, यिनीहरु भारतको भ्रमणको क्रममा मिथिला, (कर्णाटवंशीय राजा रामदासको समयमा धर्मदास सिम्रौनगढको यात्रा गरेका थिए) को यात्रा गरेका थिए ।
जनकपुरमा जब चर्तुर्भुज गिरी र सुर किशोर दास आए त्यसपछि यसको पुनर्जागरण काल सुरु भयो । तर पनि अभिलेखीय रुपमा केही देखिएन । मिथिलाको अस्तित्व ईशापूर्व ६०० वर्षसम्म रहेको विभिन्न स्रोतको आधारमा देखिएको छ । त्यसपछि मगधका राजा अजातशत्रुले मिथिलामाथि आक्रमण गरी आफ्नो राज्यमा मिलाई दिए। कालान्तरमा मिथिलामा हर्षवर्द्धन र अरुणाश्वको अधिकार कायम भयो (नेपालको प्राचीन र मध्यकालीन इतिहास) प्राडा. रामप्रसाद उपाध्याय । प्र. रत्न पुस्तक भण्डार, पाँचौं संस्करण, २०६८, पृ. ३२, ३३) । अन्ततः विसं ११५४ (सन् १०९७) मा कर्नाटवंशी न्यान्यदेवले सिम्रौनगढलाई आफ्नो राजधानी बनाई राज्य स्थापनापछि पुनः मिथिला विश्व पटलमा उदय भएको देखिन्छ । प्रामाणिक रुपमा विसं १७८० मा मकवानपुरका राजा मानिक सेनले श्री गोसाइको नाउँमा राममन्दिर (जनकपुर पट्टी, बैराही टोल) मा पूजा अर्चनाका लागि लालमोहर प्रदान गरेको अभिलेख छ । ( जनकपुर अञ्चलको पुरातात्विक सर्वेक्षण २०२८, देवीप्रसाद लम्साल, राधेश्याम भट्टराई । सन्दर्भ : प्राचीन नेपाल संख्या २६, माघ २०३०, पृ. २३, २४) ।
अर्कोतिर विसं १७८४ मा मकवानपुरका राजा मानिक सेनले जानकी मन्दिरको नाउमा प्रशस्त बिर्ता प्रदान गरे । त्यस बखत आदि महन्थ सुर किशोर दास थिए (चितवनदेखि जनकपुरसम्मका केही पुरातात्विक स्थल, जनकलाल शर्मा, प्राचीन नेपाल, संख्या २, माघ २०२४, पृ. १) । २०१६ सालमा पुरातात्विक विभागले सर्वेक्षण गराएको थियो । प्रधान अनुसन्धान अधिकारी जनकलाल शर्माको प्रतिवेदन )
जनकलाल शर्माको प्रतिवेदनमा चतुर्भुज गिरीले विसं १७१४ मा मकवानपुरका राजाबाट पूजा चलाउन प्रशस्त बिर्ता पाएको उल्लेख छ । यस सम्बन्धमा अझ पनि गहन अनुसन्धानको आवश्यकता छ ।
अन्य जे भए पनि अठाराैं शताब्दीतिर जनकपुर प्रकाशमा आइ सकेको देखाउँछ र सामान्यः यिनै मान्यताले विद्वत् वर्गमा स्वीकृति पाएको देखिन्छ । तर एउटा यस्तो तथ्यतिर हाम्रो ध्यान जाँदैन । जो भाषा साहित्यतिर एउटा ठोस प्रमाणसहित जनकपुरको पुनरागमनलाई चौधाैं शताब्दीतिर पु-याउँछ । त्यो हो मैथिली भाषाका महाकवि विद्यापतिको प्रथम कृति (संस्कृतमा) भू परिक्रमण । यसको लेखन मितिमा १५३७ बत्सर भनिएको छ । तर त्यतातिर नगए पनि विद्यापतिको नेपाल प्रवासको समय राजा पुरादित्यको आज्ञाले श्री मद्भागवतको प्रतिलिपि गरिएको तिथि १४१८ ई. मानिएको छ । विद्यापति त्यतिबेला ५८ वर्षका थिए होलान् । भू परिक्रमण पहिलो कृति भएको र त्यो यात्रा वृत्तान्त रहेकोले राजा शिवसिंहका साथ वा राज्य काजको क्रममा प्रशस्त यात्रा सम्भव भएको हुनुपर्छ । यसरी विचार गर्दा तीस पैंतिस वर्षकै आयुलाई मान्य गराैं भने यो ग्रन्थको रचनाकाल १३९०–९५ ई तिर देखिन्छ । त्यस ग्रन्थमा जनकपुरको अवस्थितिबारे एउटा श्लोक हेरौं–
‘जनकपुर दक्षिणांशे सप्तयोजन व्यतिक्रमे
डिजगल महाग्रामे गेहास्तु जनकस्य च ।’
भू परिक्रमणमा गिरिजास्थान, यमुना (नी) नदी, सीता कुण्ड, धनुषग्राम, परशुराम कुण्ड, गौतम कुण्ड, अहिल्या स्थान, कमला नदी आदिको चर्चा गरिएको छ ।
यसले गर्दा विद्यापतिकालीन मिथिलामा पनि जनकपुरको अस्तित्व रहेको देखाउँछ अर्थात् तेह्रांै शताब्दीको अन्त्यतिर पनि यसको प्रसिद्धि थियो भन्ने जनाउँछ ।
जनकपुरका प्रमुख सम्पदाहरु
जनकपुरमा रहेका मठ मन्दिर, पोखरी तलाउहरु आफैँमा प्राचीन र आध्यात्मिक महŒव बोकेका छन् । वर्ष दिनभरि हुने पर्व तिहारहरुमा यस मन्दिर तलाउहरुको आ–आफ्नै विशेषता र महŒव धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । जनकपुरलाई धामको रुपमा स्थापित गर्ने र आफ्नो प्राचीन स्वरुपकै कारण देशीविदेशी पर्यटकहरुलाई आकर्षित गर्ने गरेका केही यस्ता सम्पदाहरु छन् जसको संरक्षण, सम्बद्र्धन गर्नुपर्ने जरुरी छ । अन्तर्गृह परिक्रमा क्षेत्रभित्र रहेका सम्पदाहरुको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरिएको छ ।
राममन्दिर
सन्यासी चतुर्भुजनाथ गिरी आदि संस्थापक रहेको श्री राम मन्दिर जनकपुरको सबैभन्दा प्राचीन मन्दिर भएको बुझिन्छ र विसं १८३९ मा अमर सिंह थापाले बनाएको प्यागोडा शैलीको यो मन्दिरमा प्राचीन मूर्तिहरु छन्
जानकी मन्दिर
भारत टिकमगढकी रानी वृषभानु कुंअरिले आफ्नो आस्था र विश्वासकै कारण श्री जानकी मन्दिर बनाउने अठोट गरिन् र १८९४ ई मा यस मन्दिरको शिलान्यास गरिन् । यो पूर्ण हुँदा उनी बितिसकेकी थिइन् । १९११ ई मा यो पूर्ण भएको थियो । मन्दिर बनाउँदा कालिगढहरु भारतबाटै आएकाले मुगलशैलीको प्रभाव यत्रतत्र देख्नि सकिन्छ ।
जानकी मन्दिर स्थापत्यकलाको विलक्षण नमुना रहेको छ । यो टाढाबाट हेर्दा मन्दिरै मन्दिरको सँगालोजस्तो देखिन्छ । २६५×१८० फिट क्षेत्रफलमा अवस्थित मन्दिर तीन तले बनाइएको छ । पश्चिमी भागमा सुनयना मन्दिर छ भने सम्पूर्ण मन्दिर परिसरमा ६० कोठा रहेका छन् । प्रवेशद्वार पूर्वतिर रहेको छ भने सिंहद्वार उत्तरतिर बनाइएको छ । सिंगै प्रस्तरले बनाइएका दुईवटा सिंहको आकृति अद्भूत र आकर्षक छन् । पूर्वतिरको प्रवेश द्वारको माथिल्लो भागको दायाँ बायाँ माछाका आकृति कोरिएका छन । यसले मिथिलाको विधि व्यवहारको पनि ख्याल गरिएको छनक पाइन्छ ।
यस अतिरिक्त लक्ष्मण मन्दिर, जनक मन्दिर, विवाह मण्डप, रामानन्द आश्रम (१९९७ वि.सं.) संकटमोचनजस्ता अति प्रसिद्ध पीठहरु छन्, जसले जनकपुरधामको आध्यात्मिक चरित्रलाई उत्कर्षमा पु-याउन निकै मद्दत गरेका छन् ।
पवित्र पोखरीहरु
जनकपुरका पवित्र पोखरीहरुको उत्पत्ति पनि धार्मिक मान्यता र विश्वासमा आधारित छ । श्री बृहदपुराणअन्तर्गत मिथिला महात्ममा वर्णित मिथिला क्षेत्र (जनकपुर) का पोखरीहरुको आध्यात्मिक महत्वबारे प्रस्टसँग उल्लेख गरिएको प्रसंग परासर मुनीले मैत्रेयीलाई भन्नुभएको यस वाक्यको माध्यमबाट बुझ्न सकिन्छ–
रनात्वा चपित्वाच पुनर्जन्म न विधतै ।। २३ ।।
अर्थात् ती पोखरीहरुमा स्नान गर्नाले अथवा जलपान गर्नाले मानिसलाई पुनर्जन्म लिनु पर्दैन ।
जनकपुरमा ५६ जलाशय रहेको वर्णन धार्मिक ग्रन्थहरुमा पाइन्छ । अहिले त्यसमा केही हराइसकेका र केही हराउन थालेका छन् । केही महत्वपूर्ण पोखरीहरु रहिरहेका छन् ।
गंगा सागर
धनुष सागर
राम सागर
यस अतिरिक्त अति महत्वका र पुराणहरुमा समेत उल्लेख भएका कुण्ड, पोखरीहरुमा रत्नसागर, विहार कुण्ड, अग्निकुण्ड, ज्ञानकुप, अंगराज सर, कपालमोचन सर, मुरली सर, महाराजसर, जनक सरोवर, प्रादप्रक्षालन सर, आदि छन् । जसको संरक्षण, सम्बद्र्धन जरुरी बन्दै गएको छ ।
संरक्षणको अवस्था
कुनै स्थानमा साँस्कृतिक सम्पदाहरु छन् भने त्यसको संरक्षणको दायित्व समाज र राष्ट्रको हुनुपर्छ । अनि मात्र अन्य क्षेत्र त्यसपछि आकर्षित हुन्छन् । यस हिसाबले मूल्यांकन ग-यौं भने जनकपुर क्षेत्रमा उपलब्ध रहेका सम्पदाहरुलाई न त समाजले न त राज्यले इमानदारीपूर्वक संरक्षण गर्ने प्रयास गरेको देखिन्छ ।
मठ मन्दिरको ऐतिहासिकता छँदाछँदै ती नष्ट हुने क्रममा छन्, पोखरीहरु अतिक्रमणमा परेका छन् करोडौं हिन्दू धर्मावलम्बिहरुको श्रद्धा केन्द्र राम मन्दिर र जानकी मन्दिर अहिले पनि उचित संरक्षणको पर्खाइमा रहेका छन् । बेलाबेलामा स्थानीय स्तरमा अञ्चल वा स्थानीय प्रशासकहरुको पहलमा संरक्षणका प्रयासहरु नभएका हैनन् । २०३६ ३७ मा जानकी मन्दिर जीर्णोद्धार कार्य सम्भवतः पहिलोपटक सुरु भई परिसरलाई सुव्यवस्थित बनाउने प्रयास गरिएको थियो । वास्तवमा भन्ने हो भने त्यो केही वर्षयताको अवधिमा त गुठीको प्रत्यक्ष रेखदेख भएपछि त्यसमा स्थानीय रुचिभन्दा सरकारको दृष्टिलाई महत्व दिइयो र अन्ततः गुठीको व्यवस्थापन नौलो समान्तभन्दा फरक हुन सकेनन् । राम र जानकी मन्दिरका बहुमूल्य गर गहनाहरु केन्द्रीय ढुकुटीमा पु-याउनु , बहुमूल्य जग्गाहरु बेच्नुका अतिरिक्त सयाैं वर्ष पुरानो दरबन्दी कायम राखी राममन्दिरको पूजा अर्चनाको व्यवस्थापन गर्न लगाउनु सिवाय अन्य कुनै विकास र संरक्षणका काम ठोस रुपमा भएको देखिएन । आजको समयमा स्थानीय युवा संगठनहरु मन्दिरको रेखदेख, व्यवस्थापन र दसैं आदिमा स्वयंसेवी सहयोग गरेर यसको गरिमा बनाउने काम गर्दै आएका छन् । राममन्दिर र जानकी मन्दिरबाट लगिएका गर गहना र अन्य बहुमूल्य सामग्रीको जानकारी नागरिक समाजलाई दिने कुनै प्रयास भएको छैन। ती सामग्री कहाँ छन्, कुन हालतमा छन् र त्यसको प्रदर्शन कतै गर्ने कि नगर्ने जस्ता अन्योलता कायमै छ । जानकी मन्दिरको शतवार्षिकीको अवसरमा गर गहना माग गरिएको थियो तर त्यो ल्याउने काम भएको थिएन । अनेकौं शंका उपशंकाको बीचमा अहिलेसम्म एक मात्र सार्वजनिक स्रोत देखा परेको छ जो रामप्रसाद भण्डारी सम्भव नाम गरेको अनुसन्धाताले गुठी तहवीलको सहयोगमा बडो परिश्रमपूर्वक गुठी अधिन मठ मन्दिरका गर गहनासम्बन्धी अध्ययन र टिपोट राख्ने प्रयास गरेका छन् आफ्नो पुस्तक ‘गुठी मठ मन्दिरका गर गहनाहरुसम्बन्धी केही जानकारी’ मा । २०६२ सालमा प्रकाशित यस ११६० पृष्ठको ग्रन्थमा पृ. ७७३ देखि ७८२ सम्म राम मन्दिर र जानकी मन्दिरको गरगहनाबारे तथ्यांक दिइएको छ । तर झट्ट हेर्दा त्यो पनि अपूर्ण नै रहेको जस्तो भान हुन्छ । राम मन्दिर र जानकी मन्दिर दुई छुट्टाछुट्टै मन्दिर हुन् र त्यसको उल्लेख त्यसैअनुरुप हुनुपर्नेमा यस ग्रन्थमा पनि पुरातत्व विभाग र अन्य सरकारी स्रोतहरुमा निरन्तर उल्लेख गर्दै आइरहेको राम जानकी मन्दिर नै उल्लेख हुँदा अलि भ्रम त भएकै हो ।
बाह्र बिघाको संरक्षणमा हाम्रा अग्रज समाजसेवी स्व. मकेश्वरप्रसाद सिंहलगायतको योगदान प्रशंसनीय रहेको यहाँ स्मरण गर्न चाहन्छु ।
यहाँ एउटा तथ्य उल्लेख गर्नु प्रासंगिक होला । वास्तवमा राज्य पक्षबाट २०२९ साल भदौ २० गते नेपाल राजपत्र, भाग ४ मा गृह मन्त्रालयको एउटा सूचना प्रकाशित गरी ‘श्री ५ को सरकारको मिति २०२९/४/२६ को निर्णयअनुसार जनकपुर अञ्चल, धनुषा जिल्ला, जनकपुरधामको परिक्रमा क्षेत्रभित्र माछा मासु र मदिराहरु बिक्री गर्ने र जीवजन्तु बध गर्ने काम निषेध गरिएको छ ।’ जस्तो निर्देश जारी गरेको देखिन्छ । यस सूचनाको आधारमा विभिन्न प्रशासकहरुको पालामा पटक–पटक यस्ता प्रयासहरु भए, तर आजसम्म सफल हुन सकेको छैन ।
२०६१/१/२४ मा बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले परिक्रमा क्षेत्रभित्र माछा नमार्ने निर्णय गरेको देखिन्छ । फेरि परिषदको सञ्चालक परिषदको २२ औं बैठक २०६३÷९÷३ द्वारा धनुषा महोत्तरीका १७ वटा निर्माणलाई संरक्षण क्षेत्र घोषणा गरेको थियो । जसमा ७ वटा परिक्रमा क्षेत्रभित्रका ती साँस्कृतिक सम्पदाहरु छन् जसको संरक्षण व्यवस्थापन गर्नुपर्ने नितान्त आवश्यक छ ।
यी कामहरु तत्कालीन अध्यक्ष भोजराज घिमिरेको कार्यकालमा भएको हो । जनकपुरका मठ मन्दिरहरु र पोखरीहरुका लागि आवश्यक संरक्षणको व्यवस्थापन गर्न एउटा उच्च स्तरीय समितिको गठन पनि निजकै पालामा भएको थियो । त्यति बेला नै जानकी मन्दिरलाई ट्रष्टमा लगी यसको आवश्यक व्यवस्थापन गर्नुपर्ने सिफारिस विभागीय मन्त्रीलाई गरिएको थियो । त्यो मन्त्री स्तरीय निर्णयबाट स्वीकृत भइसके पनि मन्त्री परिषद्मा जान पाएन र आज पनि त्यसै लथालिंग छ । तर त्यसै बेलाका निर्णयलाई टेकेर वृ.ज. क्षे. वि प ले २०७२/१/५ को सर्वदलीय बैठकद्वारा भएको निर्णयअनुसार जनकपुरका पोखरीहरुको अतिक्रमण हटाउने काम गुठी र नपासँग मिलेर ग-यो र ११ वटा पोखरीको जीर्णोद्धार पनि एउटा सफल अभियानअन्तर्गत भयो । तर पछि के भयो, किन अभियान अगाडि बढ्न सकेन यसबारे बाहिरी स्रोतमा अनेकौं प्रसंग चर्चामा आए पनि सम्बन्धित निकायले स्पष्ट गर्न चाहेनन् ।
जहाँसम्म स्थानीय नागरिक भूमिकाको प्रश्न छ – त्यो वास्तवमा अत्यन्त न्यून देखिएको छ । अन्य धेरै सम्बद्ध असम्बद्ध कामका लागि जागरुक भै सडकमा उत्रने समाजका अगुवाहरु हाम्रा पहिचान रहेको सांस्कृतिक सम्पदाहरुको दुरावस्थाप्रति सरकार र आम नागरिक समाजको ध्यान आकर्षित गर्न कुनै अभियान, आन्दोलन वा दबाब कार्यक्रम सञ्चालन गरिएको देखिएन । जब कि सम्पदा संरक्षणमा अन्य निकायभन्दा नागरिक समाजको भूमिका बढी हुन्छ ।
उदाहरणका रुपमा यहाँ स्वर्गद्वारी र गंगाआरतीलाई लिन सकिन्छ र एकजना समाजका अगुवा पवन सिघानीयाले यही समाजलाई परिचालित गरी स्वर्गद्वारीको निर्माण गराउन सक्छ भने एकजना अगुवा राम आशिष यादवलगायतले गंगा सागर सफाइ अभियान सञ्चालित गर्दै महागंगा आरतीसम्म पुग्न सकेका छन् । नागरिक समाजको शक्ति र दायित्वको यो अनुकरणीय उदाहरण हुन् । भोर नामक संस्थाले ५५ हजार हस्ताक्षर संकलित गरी जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न महत्वपूर्ण अभियान सञ्चालन गरेको स्मरण गराउन चाहन्छु।
तर यही नागरिक समाजले जानकी मन्दिरमा मूल मन्दिरको मूल ढोकाबाट बाहिरसम्म ओछ्याइएको लाल कार्पेट र जुत्ता चप्पल राख्ने निःशुल्क व्यवस्थालाई बेवास्ता गरी व्यवस्थापनमा अस्तव्यस्तता ल्याउन बेर लगाएनन् ।
सम्पदा संरक्षण गर्ने एक अर्को निकाय सम्बन्धित सम्पदाको देखरेख गर्ने निकाय पनि हुन् । जसरी मन्दिरका महन्थहरु, साधु सन्त र अन्य व्यवस्थापकहरु । यिनीहरु पनि इमानदार रहन सकेनन् । पूजा अर्चनाको व्यवस्थापनभन्दा जग्गाको कारोबार महत्वपूर्ण हुन गयो । खास गरी राम मन्दिर जानकी मन्दिरको अवस्था अझ दयनीय छ । राममन्दिरको देखरेख गुठीको भएको र एक सय वर्ष पुगेका सम्पदाहरुको संरक्षण जिम्मा पुरातत्व विभागको हुने भएकोले पनि मन्दिरको उचित देखरेख हुन सकिरहेको छैन ।
जानकी मन्दिरमा चारैतिरका निजी निर्माण मन्दिरको सौन्दर्यीकरणका लागि मात्र हैन भौतिक सुरक्षाका लागि जरुरी भएको हुँदा पनि त्यसलाई समयमै रोक्ने काम भएको छैन । प्राचीन स्मारक संरक्षण ऐन २०१३ ले प्राचीन स्मारकहरुलाई संरक्षण गर्नुपर्ने केही नीति तय गरेको छ । त्यस नीतिको पनि पालना गरेको देखिएन । उपमहानगर पालिकाले जानकी मन्दिरजस्तो विश्व सम्पदा सूचीमा जान सक्ने सम्पदाको सौन्दर्यीकरण र वातावरणीय स्वच्छताका लागि आघारहरु बनाउनुपर्नेमा धमाधम भवन निर्माणको अनुमति दिँदै आएकोमा संरक्षणप्रतिको हेलचेक्र्याइँ प्रस्ट देखिन्छ ।
अब के गर्ने
जनकपुरको अन्तर्गृह परिक्रमाभित्रका सम्पदाहरु खासगरी राममन्दिर र जानकी मन्दिरसमेतको संरक्षण व्यवस्थापनमा देखिएका समस्याहरुमाथि प्रकारान्तरमा उल्लेख भैसकेका छन् । तर पनि त्यसलाई सुक्तिरुपमा बुझ्न यसरी हेर्न सक्छौं –
१ नागरिक समाजको सक्रिय सहभागिता र जागरुकताको अभाव ।
२ स्थानीय निकाय खास गरी उ.म.न. पाको दृढताको कमी ।
३ सम्पदा संरक्षणसम्बन्धी कडा कानुनको अभाव
४ अधिकांश सम्पदाको स्वामित्वमा गुठी संस्थानको एकाधिकार हुनु ।
५ नेपाल सरकारद्वारा यस्ता संरक्षणको भौतिक व्यवस्थापन गर्न पर्याप्त र योजनाबद्ध बजेटको अभाव ।
६ दातृ निकायहरुबाट प्राप्त हुने बजेट अपारदर्शी राखिनु र निर्माण अधुरो राखी संरक्षण व्यवस्थापनलाई अविश्वासिलो बनाउनु ।
यसरी जनकपुरधामलाई विश्वको पर्यटकीय नक्सामा सामेल गर्न अब धेरै समय पर्खनु पर्दैन, पूर्वाधार तयार हुँदैछ । जनकपुरधामका मेयर लालकिशोर साह बडो दृढतापूर्वक नगरको स्वरुप परिवर्तन गर्ने आफ्नो अठोटबारे जानकारी गराउँछन् । हामी उनको सफलताको कामना गर्दै जनकपुरधामको मौलिक स्वरुपमा ल्याई फर्काउने अठोठप्रति मेयर साहको प्रशंसा पनि गर्दछौं ।
प्रकाशित: २५ मंसिर २०७५ ०८:०५ मंगलबार