६ वैशाख २०८१ बिहीबार
अन्य

फिल्मले जुराएको रोमान्टिक जोडी

तस्बिर : श्रीधर पाैडेल

तीनवर्षअघि निर्देशक भट्टराई रमेश उप्रेतीको कमब्याक फिल्म ‘ऐश्वर्य’का लागि हिरोइनको खोजीमा थिए । खोज्दै गर्दा एकदिन उनीकहाँ एउटा तस्बिर आइपुग्यो– कालो चश्मा लगाएकी युवतीको । युवतीको नाम फेला पारे । फेसबुकमा खोजे । म्यासेज पठाए । एकपटक होइन, पटकपटक । केही रिप्लाई आएन । त्यसपछि फोन नम्बर खोजे । कल गरे । फोन उठ्यो । आफ्नो परिचय दिए । फिल्मका लागि अफर गरे । सिधै अस्वीकार भयो । 

‘मैले १५ पटकजति फोन गरेँ होला तर उहाँले वास्तै गर्नुभएन,’ दीपिकाकै अघि दिवाकर तीनवर्ष अघि फर्किए, ‘मलाई भने उहाँले जति इग्नोर गर्नुभयो त्यति नै फलो गर्ने मन भयो । फोटोमा त्यस्तो राम्री देखेको केटी रियलमा कस्तो होला भन्ने कुतहल मनमा थियो । त्यसैले एकपल्ट भेटेर कम्तीमा स्क्रिप्ट सुनिदिन अनुरोध गरेँ । बल्लतल्ल उहाँले एक दिन ‘ल, बानेश्वर आउनुस्’ भनेर भेट्न तयार हुनुभयो । अनि हामी एउटा क्याफेमा भेट्यौँ ।’

दीपिका त्यतिबेला हिरोइनका लागि अफर गरिएकी युवती थिइन् । भेट्न आइपुग्नुअघि दिवाकरलाई लागेको थियो, पक्कै सजिएर आउनेछिन् । आफूलाई हिरोइनका रुपमा उभ्याउनेछिन् । भइदियो– पुरै उल्ट । अलि बनिएर आउछिन् कि भन्ने सोचेको त विल्कुलै फरक लुक्समा आइदिइन् । ‘एकदमै सिम्पल बनेर नर्मल ड्रेसअपमा पो आइन्, म त ट्वा परे । खुलेर हाँस्न पनि सकिनँ, भित्र हाँसो रोक्न सकिनँ ,’ दिवाकरले पहिलो भेट सुनाइरहँदा दीपिका मुस्कुराइरहेकी थिइन्। 

‘१० वर्षदेखि काम गर्दा नपाएको चर्चा अहिले पो पाइयो । बिहे गरेपछि पो हिट भइयो,’ अभिनेत्री दीपिका प्रसाईंसँगको वैवाहिक सम्बन्ध सार्वजनिक गरेपछि फिल्म निर्देशक दिवाकर भट्टराई अहिले दंग छन् । पर्दापछि काम गरेर रमाइरहेका भट्टराई अहिले पर्दाअघि छाइरहेका छन् । सायद हिरोइनसँग बिहे गर्दाको फाइदा होला !

पहिलो भेटमै फिल्मको भन्दा बढी घरको हिरोइन देखापरिन् । ‘अनेस्टेली भन्नुपर्दा मैले उसमा त्यतिबेला फिल्मवाला हिरोइन देखिनँ,’ उनले भने, ‘४५ मिनेटजति गफ ग¥यौँ । मैले फिल्म स्क्रिप्ट सुनाएँ । त्यसपछि थोरै कन्भिन्स्ड भइन् । तैपनि रेस्पोन्स गर्ने बानी उस्तै थियो– धेरै कम । एकपल्ट त मुख फोडेरै भने, ‘यार, म फिल्मको डिरेक्टर हो नि । कहिल्यै रेस्पोन्स गर्दैनौँ । मलाई मात्रै यस्तो गरेको कि बानी नै यस्तो हो । बानी नै यस्तोजस्तो गरिन् । यसरी विस्तारै हाम्रो सम्बन्ध जोडिएको हो । ’

पहिलोपल्ट भेट्दा दिपीकालाईचाँही दिवाकर कस्तो लागेको थियो नि ? प्रश्न सोध्नासाथ दिपीका मुस्कुराइन् । त्यसपछि दिवाकरतिर नजर डुलाउँदै बोलिन्, ‘खोइ, कस्तो भनुँ । फिजिकल्ली पनि एकदमै लुरे हुनुहुन्थ्यो । साँच्चै भन्नुपर्दा मलाई उहाँ मनपरेको थिएन । तर पछि उहाँको व्यवहारले नै हो मलाई आकर्षित ग-यो ।’

दिवाकरले झन थपिदिए, ‘मेरो त्यो बेलाको फोटो हेरेर कहिलेकाँही हामी हाँस्छौ पनि । अहिलेपनि उहाँ भन्नुहुन्छ कहिलेकाँही – ‘यस्तो केटासँग म कसरी इम्प्रेस्ड भएँ ।’ 

लामो बेली पाइन्ट, यलो टिसर्ट लगाएर पुगेका रहेछन् । दिपीका सम्झिदै थिइन्, ‘त्यो अल्को अमिताभ बच्चन स्टाइलको पाइन्ट अझै याद आउँछ क्या ! त्यो हेरिकन अहिले एकदमै चेन्ज भइसक्नुभयो। मान्छेको लुक्स भनेको समयअनुसार चेन्ज हुनेरैछ । सबैभन्दा ठूलो कुराचाँही मन र व्यवहार नै रैछ । ’

दिपीका–दिवाकरको लभचाँही एकैपल्टमा परेको होइन रे ! दिवाकरकै भनाईमा दिपीका थप्दै थिइन्, ‘विस्तारै माया बढ्दै गएको हो । एकैपल्ट लभ परेको होइन ।’

दिवाकरलाई लाग्छ, उनीहरुको जोडी फिल्मले जुराइदिएको हो । लामो हाँसोसहित उनी भन्दै थिए, ‘फिल्मको हिरोइन बनाउने सोचेको थिएँ, यस्ती रैछिन् कि घरकै नबनाई मन शान्ती भएन । नढाटी भन्नुपर्दा, ‘ऐश्वर्य’ फिल्मले मलाई रियल ऐश्वर्य दिलाइदियो । ’

पहिले बिहे, अहिले इन्गेजमेन्ट ! 

शिर्षक पढ्दै अचम्म लाग्दो हो, बिहेअघि पनि इन्गेजमेन्ट हुन्छ र ! तर दिपीका–दिवाकरको हकमा भइदियो यस्तै । कानुनी बिहे उनीहरुले दुईवर्षअघि नै गरे । कानुनतः उनीहरु श्रीमान–श्रीमती हुन् । तर अचम्म– अहिले उनीहरुको इन्गेजमेन्टको चर्चा छ । भर्खरै उनीहरु थाइल्यान्ड घुमेर फर्किए । १५ दिन मस्ती गरे । पोज–पोजका तस्बिर सामाजिक संजालमा सार्वजनिक गरे । दुई वर्षदेखि सम्बन्ध लुकाएर हिड्दाको भडास उनीहरुले अहिले आएर पोखे । 

थाइल्यान्डबाट घुमेर फर्किएपछि नागकिर परिवारका लागि उनीहरु गफिँदा संवाददाताले सोध्यो, ‘हनिमुन कस्तो भयो ।’ सुरुमा उनीहरुले हनिमुन मान्न अस्वीकार गरे । दीपिकाले हाँस्दै भनिन्, ‘हनिमुन त बिहेपछिमात्रै, अहिले भन्न मिल्दैन ।’

कोर्ट म्यारिज भइसक्यो, हनिमुन भन्न केले रोक्यो ? 

प्रतिप्रश्न गरेपछि दीपिका एकछिन अड्किइन् । त्यसपछि स्वकार्न तयार भइन्, ‘हुन त हनि पनि छ, मुन पनि छ । त्यसैले भन्दा केही फरक परेन । तैपनि हामीकहाँ कल्चरल बिहेपछि नै हनिमुन जाने चलन छ नि त त्यही भएर ।’ 

दिवाकरले जवाफलाई स्वतन्त्र छोडिदिए,  ‘बुुझ्नेले जसरी बुुझे पनि भयो । हामीले त्यहाँ क्वालिटी टाइम स्पेन्ड टाइम गरेर आयौँ । मुख्य कुरा यही हो ।’

किन लुक्यो सम्बन्ध ? 

दीपिका फिल्म खेल्न तयार भएपछि वर्कशप सुरु हुँदै दिवाकरसँग उनको प्रेम पलाइसकेको थियो । फिल्म फ्लोरमा जाँदा त दीपिका दिवाकरको प्रेमिका भइसकेकी थिइन् । तर उनीहरुको यो सम्बन्ध यति गुपचुप थियो कि फिल्मका मेकर रमेश उप्रेतीले समेत सुइको पाएनन् । अहिले दीपिका–दिवाकरलाई लाग्छ, उनीहरुको बिहेको खबर सुनेर सबैभन्दा बढी चकित रमेश दाई र भाउजु नै भएका होलान् । 

कोर्ट म्यारिज गरेपछि पनि उनीहरुले किन लुकाए त यो सम्बन्ध ? दिवाकर भन्छन्, ‘केही कारणहरु छन् । जस्तो उसको भर्खर करिअर सुरु हुँदै थियो । एउटा फिल्म गर्ने वित्तिकै डिरेक्टरसँग लागिहाल्यो भन्ने खबर फैलँदा राम्रो नसुनिएला भन्ने लागेर पनि लुकायौँ ।’ 

दीपिकाले त्यसमै थप्छिन्, ‘खासमा हामी सहि समयको पखाईमा थियौँ । अबचाँही सहि समय भएजस्तो लाग्यो । अनि सार्वजनिक गरेका हौँ । ’

खोतल्दै जाँदा उनीहरु अझै खुले । सुरुमा दीपिकाको परिवारलाई डिरेक्टरसँग लभ परेको भन्दा त्यति विश्वास रहेनछ । प्रेम केही दिनको मात्रै होला भन्ने डर रहेछ । त्यसैले परिवारलाई विश्वास दिलाउन उनीहरुले परिवारकै सल्लाह र उपस्थितीमा कोर्ट म्यारिज गरेका रहेछन् । 

‘आई लभ यू’ विनाको प्रेम !

दीपिका–दिवाकर भन्छन् उनीहरु सम्बन्ध यसरी जोडियो कि उनीहरुले कहिल्यै एकअर्कालाई ‘आइ लभ यू’ भनेनन् । तर एकअर्कामा प्रेम भने थियो । विना आइ लभ यू दिवाकरले दीपिकासँग बिहे प्रस्ताव राखेछन् । सुनाउँदै थिए, ‘केटा मान्छेले जहिल्यै पनि आफ्नो वाइफभित्र एउटा आमाको गुण खोज्छ । आमाको जस्तो प्रेम र केयर खोज्छ । र, मैले त्यस्तै ममीवाला फिल उसमा पाएँ । एउटा असल श्रीमतीको गुुण पाएँ । त्यसैले मैले उसलाई सिधै प्रस्ताव राखेँ, मेरो बिहे गर्ने बेला पनि भयो । यदि तिमी रेडी छौ भने कुरा गरौँ कोसँग गर्नुपर्ने हो ।’

दीपीका पनि के कम ! उनले पनि भनिदिइन्, ‘एउटा केटी मान्छेलाई आफ्नो हस्बेन्ड आफ्नो बाउजस्तै होस् भन्ने लाग्छ । अझै पनि उहाँ मेरो हन्डेट पर्सेन्ट ड्याडी भइसक्नुुभएको छैन तर ८० पर्सेन्ट त हुनुहुन्छ । र , म यसमै ह्याप्पी छु । अहिले पनि उहाँले मलाई भनिरहनुुहुन्छ, तिम्ले मलाई मनपराएको आफ्नो बाउजस्तो देखेर होला । र, खासमा हो पनि । ’

भाईको सहयोग

जतिबेला दिवाकरले दीपिकालाई बिहे प्रस्ताव राखे त्यतिबेला दीपीकाले सिधै स्वीकार गरिनन् । उनले दिवाकरलाई आफूसँगै बस्दै आएको आफ्नो भाई दीपेशसँग कुरा राख्न भनिन् । दिवाकरले ‘हुन्छ’ भने । दिपेसलाई भेट्न बोलाए । अनि सिधैँ भने, ‘भाई, कुरा यस्तो–यस्तो हो, म तिम्रो दिदीसँग बिहे गर्न चाहन्छु । घुमाउने वाला अथवा फिल्मवाला चक्कर केही पनि होइन । मलाई हेर, मेरो घरपरिवार हेर र तिमीलाई यदि ठिक लाग्छ भने कुरा फाइनल गरिदेउ । ’ 

त्यसपछि भाई घर फर्कियो । दीपिकालाई गएर भन्यो, ‘केटो ठिक छ ।’ दीपीका भित्रभित्रै फुरुगं । ‘अनि हाम्रो अघि बढेको हो । भाईले मनपराएपछि  ममी, ड्याडीलाई कन्भिन्स्ड गराउन नि सजिलो भयो, ’ दीपिकाले सुनाइन् । 

अहिले त दिवाकरको घरमा पनि प्यारी भइसकिन् दीपिका । दिवाकर सुनाउँदै थिए, ‘अहिले मेरो फेमिली मसँग भन्दा बढी ह्याप्पी उसँग छ । बरु मेरो महिनामा एक दिन गफ होला तर उसको दिनहुँ गफ भइरहेको हुन्छ । घरको महत्वपुर्ण निर्णयमा उसकै सरसल्लाह लिइन्छ ।’

कल्चरल बिहे कहिले ? 

दिवाकर–दिपीका आफ्नो बिहेलाई अदालतीमै सिमित राख्ने पक्षमा छैनन् । चाँडै कल्चरल म्यारिज गर्ने तयारीमा छन् । त्यसैले अहिले उनीहरु इन्गेजमेन्टको चर्चा गरिरहेछन् । ‘मंसिरमा सोचेका थियौँ तर नहुने भयो । मेरो बहिनीको बिहेचाँही मंसिरमा हुँदैछ । अब हाम्रो २०१९ (सन्)भित्र हुन्छ ।’

गलफ्रेन्डलाई डिरेक्सन गर्दा...

सिन्धुलीकी दिपीकासँग धनगढीका दिवाकरले दुई वर्षअघि नै कोर्ट म्यारिज गरेका थिए । तर बजारमा अहिले उनीहरुको इन्गेजमेन्टको चर्चा छ । कारण– कोर्ट म्यारिज उनीहरुले गुपचुप नै राखे । चाँडै कल्चरल म्यारिजको तयारीमा रहेको यो जोडी फोटोसुटका क्रममा दुलहा–दुलहीजस्तै सजिएका थिए । पोजपोजमा तस्बिर खिचाउँदै भन्दै थिए,  ‘हामी त रोमान्टिक जोडी ।’

दीपिकाको पहिलो फिल्म ‘ऐश्वर्य’का डिरेक्टर थिए, आफ्नै प्रेमी दिवाकर । आफ्नै गलफ्रेन्डलाई एक्सन कट भन्दै गर्दा दिवाकरलाई कस्तो फिल हुन्थ्यो होला ! दिवाकर सम्झिन्छन्, ‘जब म सेट जान्थे, मैले कहिल्यै पनि उसलाई मेरो मान्छे भनेर माया गरिनँ । उ धेरैपल्ट सेटमा रोएको छ मेरो गाली खाएर ।’ 

दीपिकाले मुन्टो हल्लाएर स्वीकारोक्ती जनाइन् । दिवाकरले सोल्टी होटलमा सुट हुँदा दिपीकालाई गाली गरेको क्षण सम्झिए । ‘त्यतिबेला मैले यस्तो गाली गरेको थिएँ कि उँ बाथरुममा गएर लगातार १५ मिनेट रोएकी थिइन् छ । धन्न, त्यो रुने सिन थियो र उ रोएको पनि काम लाग्यो । तर मसँग उनी यो कारण कहिल्यै रिसाइनन् । किनभने मैले उहाँलाई पहिल्यै क्लियर गरेको थिए कि म काममा चाँही कम्प्रोइमाइज गर्दिन । सुटिगंमा तिमी मेरो गलफ्रेन्ड हुनेछैनौँ, मात्रै कलाकार हुनेछौँ भनेको थिएँ । ’

थाइल्यान्ड पुगेर दिपीकाले दिवाकरसँगको ग्ल्यामर तस्बिरहरु सामाजिक संजालमा सार्वजनिक गरिन् । धेरैले टिप्पणी पनि गरे, इन्गेजमेन्टपछि झनझन ग्ल्यामर भइन् दीपिका ! 

यसबारेमा दीपिकालाई जिज्ञासा राखियो । तर जवाफ दिन दिवाकर अघि सरे । ‘ उसको त्यो भन्दा ग्ल्यामर त मैले ऐश्वर्य फिल्ममै खिचिसकेको थिए नि । प्रोफेसनल कुरामा म एकदमै कडा छु । त्यतिबेला पनिस्वीमिङ पुलको सिन गर्न उ मानिरहेको थिएन। तर मैले उसलाई गाली गरेर गर्न लगाएको थिएँ । कामको बेला तिमी क्यारेक्टर हौ, मेरो वाइफ होइनौ भनेर सम्झाएको थिएँ ।’ 

दिवाकरले त्यो सुनाइरहँदा दीपिकाले झन कडा अनुभव सुनाइन् । रमेश उप्रेतीसँगको बेडसिनका बेला उहाँले नदेखाएको उदारताले दीपिका चकित भएकी रैछिन् । भन्दै थिइन्, ‘ रमेश दाईसँगको बेडसिन थियो नि, त्यहाँनेर उहाँले गरेको निर्देशन देखेर मलाई अचम्मै लाग्थ्यो । कहाँबाट यस्तो आँट आको जस्तो लाग्थ्यो । सिधै भन्नुहुन्थ्यो, अलि राम्रोसँग समात, अलि फिल पुगेन, अलि क्यामेस्ट्री मिलेन । आफ्नै मान्छेलाई यस्तो भन्दा त पागलै रहेछ यो डिरेक्टरजस्तो लाग्थ्यो ।’ यति भनेपछि दिपीकाले टेबलमा राखेको जुस सुरुप्प पिइन् । त्यसपछि दुवै पूराना दिन सम्झिएर एकछिन गलल हाँसे । 

दुवैलाई मनपर्ने ‘सिम्प्लिीसिटी’

दिवाकर र दीपिका दुवै एकअर्कासँग जोडिनुको एउटा समान कारण छ– सिम्प्लिीसिटी । दिवाकर भन्दै थिए, ‘सबैभन्दा सिम्पल छ उ । सहन सक्ने शक्ती एकदमै छ । हत्तपत्त रिसाउँदैन । म सोध्छु, किन यति सहन्छौँ । तर उ भन्छ, मान्छेले एकदिन आफै फिल गर्छ, किन रिएक्ट गर्नु र ? ’

दीपिका पनि भन्छिन्, ‘मलाई पनि उहाँको सिम्पिलिसीटी नै मनपर्छ । सोअप गर्ने बानी छैन । जिम्मेवार छोरा हुनुहुन्छ । घरको जेठो छोरा भएर जेठो छोराजस्तै हुनुहुन्छ । म रिसाउँदा पनि सधैँ हास्नुहुन्छ । म आगो हुँदा पनि उहाँ पानी भइदिहाल्नुहुन्छ । ’ उनीहरुबीच अहिलेसम्म एकपल्ट पनि झगडा भएको छैन रे! 

‘हस्तक्षेप हुँदैन’

धेरै अभिनेत्रीहरु बिहेपछि फिल्म करिअरबाट टाढिएका छन् । नटाढिने कतिपय श्रीमान्सँग अलग्गिएका छन् । बिहेपछि दीपिकाको करिअरचाँही के हुन्छ त ? दर्शकमा चाँसो हुनु स्वाभाविक हो । ‘उसले हिरोइन बन्ने रुची नदेखाएका बेला मैले जर्बजस्ती हिरोइन बनाएको हो,’ दिवाकर भन्छन्, ‘अब मैले नै कसरी हस्तक्षेप गर्छु होला र ? म त उसलाई राम्रो प्रोजेक्ट पाएसम्म गर भनिरहेको हुन्छ । बरु उसले उल्टै कतिपय फिल्महरु इग्नोर गरिरहेको हुन्छ ।’

दीपिका पनि यस मामिलामा स्पष्ट देखिइन् । भन्दै थिइन्, ‘उहाँ हस्तक्षेप गर्ने खालको हुनुभएको भए त मलाई हिरोइन नै बनाउनु हुन्थेन । म त आज पनि फिल्म खेल्न त्यति धेरै उत्साहित हुँदिन जति उहाँ फोर्स गर्नुहुन्छ । ’

दीपिकाका दुई फिल्म ‘ऐश्वर्य’ र ‘६क्कापन्जा ३’ले मार्केटमा राम्रो रेस्पोन्स पाएपछि तेश्रो फिल्म पनि राम्रो हुनुपर्छ भन्ने पक्षमा छन् दिवाकर । भन्दै थिए, ‘तेश्रो फिल्म मेरै हुनसक्छ । उसको करिअर माथि उठ्ने बेलामा भएकोले सोचेर फिल्म खेल्न सुझाइरहेको छु । ’

पारिवारिक संवाद बढी 

दिवाकर–दिपीका दुवै एकै क्षेत्रमा काम गर्ने भएपनि उनीहरुविच बढी संवाद पारिवारिक विषयमै हुन्छ रे । कहिलेकाँहीमात्रै फिल्मको कुरा हुने दिपीका बताउँछिन् । बरु घरमा कहिलेकाँही फिल्मी डायलग डेलिभरीचाँही हुँदो रैछ । दिवाकर सुनाउँदै थिए, ‘फिल्मका धेरै डायलगहरु मैले उसलाई रियलमा पनि भनेको छु । ’ दीपिका त्यसमै थप्दै थिइन्, ‘अँ क्या, उहाँ एकदमै रोमान्टिक हुनुहुन्छ ।’

विश्वास सबैभन्दा महत्वपूर्ण

संसारभर फिल्मकर्मीविच डिभोर्सका घटना बढी सुनिन्छन् । दिवाकर र दीपिका पनि यस विषयमा सचेत छन् । उनीहरुलाई लाग्छ, सम्बन्धलाई बलियो बनाउने एउटै सुत्र हा– विश्वास । ‘एकअर्कामा विश्वास हुनुपर्छ । एकअर्काको कमजोरीलाई पनि प्रेम गर्न सक्नुपर्छ । त्यसोभयो भने सम्बन्ध सधैँ बलियो हुन्छ,’ दिवाकर भन्दै थिए । 

दीपीका त्यसमै थप्दै थिइन्, ‘विश्वास भयो भने मान्छे गलत बाटोमा हिड्नै सक्दैन ।आफै सुध्रिन्छ क्या !’
दीपीकातिर हेर्दे दिवाकर फेरी भन्दै थिए, ‘केटीमान्छेसँग यस्तो पावर हुन्छ नि उसले चाह्यो भने जस्तोसुकै खराब केटालाई पनि सुधार्न सक्छ ।’ कुरा सुनेर दीपिका मुस्कुराइन् मात्र । 

सुन्दर पनि, रोमान्टिक पनि  

आफूहरुको जोडीलाई कस्तो जोडी भन्न रुचाउनुहुन्छ ? छुट्टिने बेलामा दुवैलाई सोधियो । सुरुमा दिवाकरले जवाफ दिए, ‘हामी सुन्दर छौँ, हरेक हिसाबले । मनदेखि, तनदेखि । राम्रो पेयरअप हो जस्तो लाग्छ । ’ त्यसपछि दीपिकाले मुस्कुराउँदै भनिन्, ‘हो, हामी लभ्ली कपल हौँ जस्तो लाग्छ ।’

दीपिका मुस्कुराएपछि दिवाकरले झन बढी जवाफ फु-यो क्यार ! भन्न थाले, ‘अवश्य पनि, हाम्रो फोटो पनि हेर्नुभयो होला । म एकदमै रोमान्टिक छु । म जे जे कल्पना गरेर फिल्ममा लेख्छु नि त्यस्तैत्यस्तै रोमान्टिक सिन रियल लाइफमा पनि खोज्छु । त्यसैले हाम्रो जोडी रोमान्टिक जोडी पनि हो ।’

प्रकाशित: २३ मंसिर २०७५ ११:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App