महेश पौड्याल
करिब तीन दशकदेखि होहल्लाबिना कवितामा आफ्नो ‘स्व’ को खोजीमा निरन्तर साधनारत विमल वैद्यको भर्खरै कविताकृति ‘अक्षर सिम्फोनी’ प्रकाशन भएको छ। कवितामा उनले समयका रैखिक चालहरूलाई आफूअनुकूल बनाउने अथवा निषेध गर्ने सञ्जीवनी पनि पत्ता लगाइसकेका छन्। उनी स्थिर छन्, गम्भीर छन्, र समयको रैखिक उडानतिरभन्दा पनि जीवनको गहिराइतिर उन्मुख छन्।
उनका कवितामा प्रेम, मानवीय सम्बन्ध, देशभक्ति र जीवनको अन्तर्यमा रहेका कालातीत तत्वहरू मुखरित हुँदै गएको पाइन्छ। संग्रहमा विचार र परिपक्वताको मापन गर्ने बलियो कसी भनेकै उनको इमान्दारी हो। उनी जीवन जस्तो छ, त्यस्तै देखाउँछन्। मायाले जसरी काम गर्छ त्यसै गरी भन्छन्। आफूले बाँचेको समयको चित्र जस्तो छ, त्यस्तै बताउँछन्। लाग्छ, परिपक्वताले श्रष्टाहरूलाई क्रमशः इमान्दार पनि बनाउँदै लान्छ।
मञ्जरी प्रकाशनले बजारमा ल्याएको यो पुस्तक वैद्यको तेस्रो कविताकृति हो। यसमा ४४ कविता छन्। उनी कुनै पराभौतिक, भव्य दार्शनिक अथवा तिलस्मिक विषयमा रुमल्लिनुभन्दा आफ्नै सामुन्नेका तथा भोगाइभित्रका सत्य उद्घाटनमा विश्वास गर्छन्। इमान र पारदर्शिता अभावमा कुरूप बन्दै गरेको राजनीति पनि उनका कविताको एउटा विषयवस्तु हो। विचार अथवा कुनै वादको धरातलमा भन्दा पनि आम नागरिकको दृष्टिविन्दुबाट राजनीतिलाई हेरिएको छ। “क्रान्तिको परिभाषा” शीर्षकको कवितामा उनी लेख्छन्ः
हरेक पुस्ताले सधैँ बोकिहिँड्ने
एउटा सुन्दर सपना रहेछ क्रान्ति
हरेक पुस्तामा हस्तान्तरण हुँदै जाने
महँगो विचारको आग्रह रहेछ क्रान्ति। (११)
‘निर्वाचन’ शीर्षकको अर्को कविता पनि राजनीतिकै वरिपरि घुमेको छ, जसमा कवि भन्छन्, ‘बासी विचारलाई फ्रिजबाट थपक्क झिकेर÷मलाई फेरि झुक्याउने बेला हो यो, यो निर्वाचनको बेला’ (२७)। अर्को कविता ‘चुनावपछिको मेरो नगर’मा उनले राजनीतिमा गरिने झुटा आश्वासनको खेतीमाथि कडा प्रहार गरेका छन्। यसैगरी राजनीतिकै सेरोफेरोमा लेखिएको अर्को कविता ‘बूढो चियाबारी र सत्ता’मा उनले सत्तालाई कठघरामा उभ्याएका छन्। उनका केही कविताले राजनीतिक विषय उठान गरे पनि अक्षर सिम्फोनीको मूलबाटो राजनीति होइन, मानवीय संवेदना र जीवनबोध हो।
कविताको शीर्षक ‘प्रेमको सिम्फोनी धुन’ भनिएको छ, जबकि सिम्फोनी भनिसकेपछि धुन भनिरहनु जरुरी लाग्दैन। यसै कविताको पहिलो खण्डमा गतिको र दोस्रोमा प्रेमको कुराले कथ्य विभाजित पनि छ।
अतिशय भावुकताका साथ हृदयपक्ष असरल्ल पोख्ने र मस्तिष्क पक्षलाई आंशिक पक्षघात गराउने अति स्वच्छन्दवादी कविताका हिमायती होइनन् वैद्य। सम्बन्धका उत्तेजित मोडहरूमा पनि उनको कविले संयम गुमाएको देखिँदैन। र, भावुकताको भासमा आफैँलाई विसर्जित गरेको पनि देखिँदैन।
प्रेम, नातासम्बन्ध, जीवन र समय उनको कविताका चार अन्य प्रमुख फाँट हुन्, कथ्यका। यिनका वरिपरिका मसिना अनुभवहरूलाई सूक्तिमय काव्यिक हरफमा अटाएर वैद्यले असामान्य र कलात्मक तुल्याएका छन्।
आफ्नो सिर्जना र सम्बन्धको लहरोले घरकी आमालाई बाँध्दै लाने यो अभिव्यक्ति एउटा शाश्वत सत्यमात्रै होइन, एउटा लैंगिक यथार्थ पनि हो। कारण, उनकै कवितामा भनिएजस्तो, घरकी एक स्त्री कसैकी पत्नीमात्रै हुन्नन्, आमा पनि हुन्छिन्। र, त भन्छिन्, ‘मैले, तिमीले जस्तै पाइला उचाल्दा, मेरो घर रुन्छ’ (१४०)।
‘मान्छे स्वार्थको पिरामिडमा अढेस लागेर बसेको युगौँ बित्यो’ जस्ता सूत्रात्मक र नवीन बिम्बहरूमा विमल वैद्यले स्वभाव र सम्बन्धहरूको बुनियादलाई पनि राम्रैसँग उदिनेका छन्। ‘आँधी आउनुअघि’ शीर्षकको कवितामा उनको तर्क छ, ‘शरीर दुईवटा देखिए पनि–एक आपसमा लीन भइसकेपछि–बोल्नका लागि कहाँ चाहिँदो रहेछ र–शब्दकै वर्णमाला ?’ (२३) स्वच्छन्दवादी धार र शैलीलाई आफ्नो मौलिक कलेबर दिएका वैद्यको कविताकारिताको एउटा महत्वपूर्ण भँगालो प्रकृतिचित्रण पनि हो, जहाँ पनि उनले मानवीय यथार्थसँग प्राकृतिक यथार्थलाई जोडेर हेर्ने कोशिस गरेका छन्।
लाग्छ, अक्षर सिम्फोनी यस्तै–यस्तै जीवन्त सूक्तिहरूको एउटा सूत्रकाव्य हो, जहाँ सङ्लो पानी पिएजसरी नै पिउन सकिन्छ, सुमधुर काव्यका मर्मस्पर्शी अभिव्यक्तिहरू। निश्चय नै एक उन्नत काव्यिक मस्तिष्कले नै दिन सक्छ यस्ता अभिव्यक्ति, जस्तो कि, ‘ढाँट्दैन पोखरीको पानीले ÷मान्छेले जस्तै’ (८२), ‘तिम्रो शून्यता देखेर म आफू भने–कोलाहलमय बनेको छु’ (९७), तथा ‘मैले सम्झँदामात्रै पनि÷तिमीलाई दुख्थ्यो भने÷थाहा हुने थियो तिमीलाई–मैले सम्झनुको अर्थ।’
सग्रहभरि उल्लेखनीय धेरै कविता भए पनि विशेषरूपमै उल्लेख गर्नुपर्ने एउटा प्रेम कविता हो, ‘प्रेमको दुर्गबाट’। प्रेमलाई सधैँ फूल, जून, संगीत, अँगालो, चुम्बन आदि कोमल बिम्बहरूबाट अभिव्यक्त गरिने परम्परामाथि नै धावा बोल्दै युद्धको शैलीमा एक प्रेमीको आगमन, प्रेमिकाको अपहरण र अन्माउने प्रक्रिया यस कवितामा चित्रित गरिएको छ। परम्परित स्वच्छन्दतावादी धाराको बिम्बविधानलाई विनिर्माण गर्दै लेखिएको यो एउटा उदाहरणीय प्रयोगात्मक प्रेम कविता हो।
धेरै हिसाबले उच्च लाग्ने अक्षर सिम्फोनीमा सामान्य केही मुद्दा छन्, जसबाट कविले निवृत्ति लिएको भए बेस हुनेथियो भन्ने लाग्छ सक्छ। उदाहरणका लागि, पृष्ठ १५ मा ‘जस्तो कि–जसरी हुन्छ बिहान’ भन्नु एक पुनरावृत्ति दोष हो भने, पृष्ट २५ मा भनिएको ‘निष्ठाका दुर्योधनहरू’ एउटा कथ्यगत त्रुटि हो। पृष्ठ ३१ मा छापिएको कविताको शीर्षक ‘प्रेमको सिम्फोनी धुन’ भनिएको छ, जबकि सिम्फोनी भनिसकेपछि धुन भनिरहनु जरुरी लाग्दैन। यसै कविताको पहिलो खण्डमा गतिको र दोस्रोमा प्रेमको कुराले कथ्य विभाजित पनि छ र कविताको वजन बाँडिएको छ। पृष्ठ ४५ मा ‘चुल्हो–धन्दा सक्नुपर्ने बुहारीहरू’ भन्ने हरफले पुरातन विचारको धङधङी बोलेको छ भने पृष्ठ ५५ को ‘आधा चन्द्रमा र आधा जूनसँग’ भन्ने कवितांशमा प्रतीकात्मक अभिव्यक्ति हुँदाहुँदै पनि चन्द्रमा र जूनको पृथक चित्रण असहज लाग्छ।
‘झण्डा’ शीर्षकको कविताको बीचतिर ‘तिम्रो तिरंगा जति प्रिय छ तिमीलाई उत्तिकै प्रिय छ मलाई मेरो झण्डा’ भनिएको छ, जसले यहाँ भारतलाई जबरजस्ती कवितामा तानिएको छ, र आफ्नो झण्डा–प्रेमलाई निरपेक्षभन्दा पनि सापेक्षित बनाइएको छ, जुन जरुरी लाग्दैन।
प्रकाशित: २२ मंसिर २०७५ ०५:४९ शनिबार