तीन वर्षअघिको भूकम्पले उनलाई एक ऐतिहासिक पात्र बनायो। अनुदान पाउने पहिलो व्यक्ति भनेर सरकारले सादा कागजमा जगतबहादुर खत्री, ७८ नाम चढाउँदै गर्दा उनको मनमा हर्ष र विस्माद दुवै थियो।
हर्ष, यस अर्थमा कि सरकारको अनुदान पर्खिरहेका हजारौं भूकम्पपीडितमध्ये उनी पहिलो व्यक्ति बने। ढलेको घर ठड्याउन अलिकति राहत आयो।
विस्मात हुनलाई आफ्नो जीवन नै काफी थियो। ७८ वर्षे त्यो जीवनमा यस्ता ठूला भूकम्प गएका छन्, जसले मन, मस्तिस्क र मुटु एकै पटक हल्याएका छन्। लगलग काप्ने कामजोरो आएको छ। रगत चिसिएर शरीर शिथिल बनेको छ।
हप्ता दिनअघि दोलखाको सिंगटी बजार पुग्दा खत्रीले आफ्नो घर निर्माण गरिसकेका थिए। भूकम्पले भत्काएको पुरानो ढुंगामाटोको घरको सट्टामा उनले बलियो दुई तले पक्की घर बनाएका छन्।
त्यो घरमा उनी आफूभन्दा १० महिना कान्छी पत्नी चित्रकुमारीसँग बस्छन्। जीवन गुजाराको लागि आफ्नै किराना पसल छ उनको।
चाउरी परेका गाला। नाकमाथि ठूलो चस्मा। बूढ्यौलीले शरीर छोप्दै गर्दा आँखा कमजोर भएका छन्। अप्रेसन गर्नलाई सुगर रोग बाधक बनेको छ।
शरीरका अंगहरू कमजोर बन्दै गए पनि मुटु हल्लाउने गरी जीवनमा गएका ठुल्ठूला भूकम्पले पराकम्पन अझै ताजा छन्। ‘जीवनमा धेरै सुख–दुःख आए,’ तीन वर्षअघिको भूकम्पको सम्झना गर्दै गर्दा खत्रीले पुराना दिनहरू सम्झिए, ‘मुटु हल्लिने घटना मुटुमै छन्।’
सानैमा विवाह भयो चित्रकुमारीसँग। जीवनको सुरुवात राम्रै भयो उनको। जागिरको सिलसिलामा भारतका सिक्किममा पुगेका थिए।
२०२८ सालतिर पहिलो सन्तानको रुपमा छोरा जन्मियो। छोरा हुर्केपछि उनलाई घरमै बस्ने मन लाग्यो। र, घर फर्किए।
एउटा वर्षको वैशाख महिनाको उखरमाउलो गर्मीमा छोरा बिरामी परे। सामान्य ज्वरो आएको थियो। यताउता कन्दमुल गरे। समयअनुसारको झारफुक पनि गरे। रोग निको भएन। यताउता गर्दागर्दै तीन महिना बित्यो। तर, रोग २० को १९ भएन। असारको महिना थियो। छोरो आलस्य भयो। आँखा बन्द भए। तर, फेरि कहिले पनि छोराले खोलेनन्।
खत्रीको आँखाअगाडि सबै अन्धकार भयो। शरीरले केही थाहा नपाउने गरी सिथिल भयो।
‘ईश्वरले चाहेपछि अरुको केही लाग्दो रहेनछ,’ उनको बुझाइ छ। पृथ्वी नै हल्लाइ दिएपछि मान्छे कहाँ भाग्नु त्यसको केही विकल्प उनी देख्दैनन्।
सायद, उनले जीवनमा भोग्नुको अर्को विकल्प देखेका थिएनन्। पहिलो सन्तानको वियोगपछि दुई छोरी र दुई छोरा जन्मिए। सायद, ईश्वरले फेरि पनि उनी चाहे उनको कर्ममा। चारै जना छोराछोरीले उनको साथमा रहन सकेनन्।
तीन छोरीमध्ये ठूली १७–१८ पुग्दै थिइन भने अरु दुई जना ७ र ३ वर्षका थिए। एक छोरा छ वर्ष र अर्को छोरा ३ वर्ष पुगेका थिए।
हुर्किसकेका छोराछोरी एकपछि अर्को गर्दै माटोमा बिलिन भए। ईश्वर पनि कति निर्दयी बने भने कान्छो छोरा र छोरीलाई एकै दिन लग्यो।
छोरीका मलामी घर नपुग्दै बेलुका घाम अस्ताएपछि कान्छो छोरा बिरामी भए। छटपटाउन थाले। यता लड्ने, उता लड्ने गर्न थाले। तर, कसैको केही लागेन। उनले पनि त्यही बाटो रोजे।
जीन्दगीमा अब बाँकी केही थिएन्। पाँच जना सन्तान एकपछि अर्को गर्दै धर्ती छोडेपछि धर्तीले नै साथ नदिएको भन्ने कुरा हुन थाल्यो। त्यो घर उभिएको माटोले सुभेन भनेर छिमेकीहरू भन्न थाले। माटोले साथ दिएन। मनै त हो, खत्रीलाई पनि त्यस्तै लाग्यो।
अन्ततः सबै सकिएपछि उनले निर्णय गरे– सिंगटी झर्ने।
‘बस्ने जमिनले नै साथ नदिएपछि के गर्नु,’ ती दिन सम्झदै खत्रीले भने, ‘उक्त जग्गा बेचेर ५० सालमा सिंगटी आयौं।’
सिंगटीमा बजार विस्तार हुँदै थियो। उनले ७५ हजार रूपैयाँमा घर किने। तीन गाविसको जोडिएको संगम हो सिंगटी। यसलाई दोलखा जिल्लाको दोस्रो सदरमुकामको रूपमा समेत परिचित भएको बिगु गाउँपालिकाका वडा अध्यक्ष बुक्तम तामाङ बताउँछन्।
दुई कोठाको माटाको घरमा उनले पसल सुरु गरे। दुई जनाको जिविका जेनतेन चलिरहेको थियो।
२०७२ वैशाख १२ गते मध्यान्हमा शक्तिशाली भूकम्प गयो। लाखौं घर भत्किए, हजारौंको ज्यान गयो। तर, सिंगटी बजारलाई भने खासै असर गरेन। सामान्य हल्यायो मात्र। सिंगटीका स्थानीयले टिभीमा, मनमा त्रास फैलियो।
वैशाख २९ गते, दिउँसो। खत्रीले पसलमा आएका दुई ग्राहकलाई फेन्टा मागे। ‘जब फेन्टाका बोतल ती केटीहरूको हातमा दिँदै थिए, घर हल्लियो,’ खत्री सम्झन्छन्, ‘केटीहरू भागिहाले। म पनि हत्तपत्त भागेँ।’
अलि पल्तिर पुग्दा झ्यास्स गर्यो। यसो फर्केर हेर्दा खत्रीको घर लडिसकेको थियो। २०७३ पुस महिना थियो। भौतिक र मानवीय क्षति व्यहोरेका खत्रीजस्तै लाखौं जनता सरकारको रातहको पर्खाइमा थिए।
सरकार ति पीडितलाई अनुदान रकम वितरण सुरु गर्न दोलखाको सिंगटी पुग्यो। जहाँ भेटिए उनै ७८ वर्षीय खत्री। दोलखा जिल्ला २९ गतेको भूकम्पको केन्द्रविन्दु नै थियो। जहाँ हजारौं जनता घरविहिन बनेका थिए। ‘पीडितमध्ये म सबैभन्दा जेठो भएकाले सरकारले पहिलो किस्ता मलाई दियो,’ खत्री भन्छन्।
सरकारले उनै खत्रीलाई अनुदानको पहिलो किस्ता अर्थात् ५० हजार रूपैयाँ दिएर भूकम्पपीडितलाई अनुदान सुरु गरेको थियो।
उनले त्यही अुनदानसहित १५ लाख रूपैयाँ खर्चेर दुई तले पक्की घर बनाइसकेका छन्।
उनले जस्तै अहिले विगु गाउँपालिकामा धेरैले घर बनाइसकेका छन्। १ हजार ३ सय ५० जना पीडितमध्ये ७ सय २० जनाले तेस्रो किस्ता लिइसकेका छन्। बाँकीले घर बनाउँदै छन् भने अझै पनि १ सय ८५ जनासँग सम्झौता हुन बाँकी छ। घर बन्ने र बनाउने क्रम देशभर चलिरहेको छ।
सिंगटी बजार पहिलेभन्दा अझ चलायमान बनेको छ। पहिले ढुंगामाटाका घर थिए। अहिले अग्लाअग्ला सिमेन्टका घर बनेका छन्। यो उत्तरी दोलखाका बिगु, कालिन्चोक गौरीशंकर गाउँपालिकाका २५ गाउँको व्यापारिक केन्द्र हो। तर, समस्या उही छ प्राकृतिक प्रकोपको।
खत्रीलाई जहाँ गए पनि माटोकै चिन्ता छ। एकातिर तामाकोशीले पुछ्ने पिरालो छ भने अर्कोतिर पहिरोले पुर्ने। दुई जोखिमको बीचमा उभिएको छ सिंगटी बजार।
खत्रीले सिंगटी बजारमा बनाएको दुई तले पक्की घरको अगाडी ढल्के परेर अग्लो र फराकिलो पहिरो उभिएको छ। कुन बेला ढुंगा पल्टिने भर छैन। पानी परेको बेलामा धेरैलाई निद्रा लाग्दैन। ८३ वर्षका हरिबहादुर श्रेष्ठ भन्छन्, ‘बर्खामा निद्रा लाग्दैन, कुन बेला पहिलो जाने हो।’
बजारको पछाडीबाट तामाकोशी नदी बगेको छ। त्यसैको छेउमा घरहरू उभिएका छन्। त्यो पनि कतिखेर उर्लिने हो भर छैन। त्यसैमाथि छो–रोल्पा ताल फुट्ने हल्लाले बेलाबेलाम झस्काउँछ स्थानीयलाई। छो–रोप्ला ताल फुटेमा त्यसको बाटो त्यही हो, जहाँ अहिले सिंगटी बजार उभिएको छ।
ताल फुट्ने हल्लालाई कतिपय स्थानीयले भने डलर खेती गर्ने हल्लाका रूपमा लिन्छन्। २०२१ सालमा सिंगटी बजारमा आएका ८१ वर्षे गणेशबहादुर अधिकारीलाई यस्तै लाग्छ उनलाई। ‘ताल फुट्ने कुरा हल्ला मात्र हो,’ उनले भने, ‘यो सबै पैसाको लागि भइरहेको छ।’
त्यसो त यो हल्लाबाट उनी नडराएका होइनन्। केही समय अघि व्यापक हल्ला भएपछि जिउ बचाउन भन्दै झन्डै एक महिना डाँडामाथि बसेको उनी सम्झन्छन्।
यस्तै जोखिमका कारण सरकारले यस क्षेत्रलाई बस्न योग्य नभएको भनेर घोषणा पनि गरेको थियो। बिगु गाउँपालिका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर सुमनकुमार प्रभाकरका अनुसार सुरुमा घर बनाउन अस्विकृत गरिए पनि पछि स्थानीयले मानेनन्। सरकारको मापदण्डअनुसार कुनै पनि बस्ती बनाउन पहिरोको जोखिमबाट १५ मिटर र नदी किनारबाट २५ मिटर भित्र पर्नु हँुदैन। तर, सिंगटी बजार यि दुवै मापदण्ड पूरा गर्दैन।
समस्या छन्। तर, स्थानीयलाई आफ्नो गाउँ प्यारो छ। उनीहरू त्यहाँबाट अन्त सर्न मान्दैनन्। अहिले ठुल्ठूला पक्की घर बनिसकेका छन्।
फेरी त्यस्तै नहोला भन्ने स्थानीयको कामना छ।
‘छोडेर पनि कहाँ जानु ?’ उनीहरुलाई पनि चिन्ता छ। खत्रीले यि सबै पचाइसकेका छन्। भन्छन्, ‘ईश्वरले जानुन्। पृथ्वी नै पल्टियो भने घरको के मतलब ?’ तर, एउटा कुरा पक्का छ। घरलाई जति सुरक्षित राख्न सक्यो, जीवन उति नै सुरक्षित रहन्छ। यसलाई स्थानीयले मनन् गरिसकेका छन्।
प्रकाशित: २२ मंसिर २०७५ ०३:३६ शनिबार