पोल्यान्डमा यसै साता जलवायु परिवर्तन संरचनासम्बन्धी महासन्धिको २४ औँ सम्मेलन चल्दै गर्दा हेलम्बु–१ ध्याङ्गुलका ६६ वर्षीय छिरिङ हल्मु लामा आँगनमा सुक्दै गरेका स्याउका बोट नियाल्दै थिए।
सम्मेलनमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनताले आफूले कहिल्यै नगरेको गल्तीका कारण सजाय भोग्नुपरेको बताउँदै गर्दा यता छिरिङलाई जीविका टार्ने स्याउको बोट सुक्दै गएपछि अब के भन्ने चिन्ताले सताएको छ।
उनलाई जलवायु परिवर्तन र यसले पारेको असरबारे उनलाई थाहा छैन। तर, पारि डाँडामा हिउँ पर्न कम भएपछि वारि बारीमा स्याउ फल्न छाडेको भने उनलाई प्रष्ट थाहा छ। ‘उता हिउँ हरायो,’ छिरिङ भन्छन्, ‘यता स्याउँ हरायो।’
ओइलाउँदै गरेको छिरिङको शरीर उनको आँगनमा सुक्दै गएका स्याउको बोटको कथा उस्तै छ। जतिबेला छिरिङ जवानीमा थिए, स्याउँ लटरम्म थिए। अहिले उनीसँगै स्याउको बोट बूढो भएको छ।
छिरिङ उमेरले बूढो भए। तर, स्याउको बोट कसरी निस्फल हुँदै गए उनले पत्ता पाएका छैनन्।
४० को दशकतिर स्याउका डोका बोकेर मेलम्ची ओर्लदै, धुलीखेलकोबाटो काठमाडौं पुगेको उनलाई याद छ। ‘हेलम्बुको स्याउ भने पनि मान्छेहरू रमाउँथे,’ उनले भने, ‘अहिले हेलम्बुमा स्याउ फल्न छाडेको छ।’ त्यतिबेला एउटै बोटबाट तीन–चार थुन्से स्याउ टिपेको उनी सुनाउँछन्।
स्याउ राम्रो हुने आशामा उनी हरेक वर्ष स्याउ रोप्छन्। तर हालत उस्तै छ। उनले पछिल्लो समयमा रोपेका तन्नेरी स्याउका रुखमा पनि यौवन छैन।
त्यसो त गाउँमा तन्नेरी पनि निकै कम छन्। रोजगारीको शिलशिलामा कोही युरोप अमेरिकामा छन् त कोही खाडीमा दुःख गर्दैछन्। ‘बरु मरुभूमिमा स्याउ फल्यो भन्ने सुनिन्छ,’ उनले भने, ‘हाम्रो लेकमा फल्न छाडेको छ।’
वनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठ छिरिङको कुरामा सहमत छन्। ‘चौरी चराउनेहरू ऊट चराउन हिँडेपछि, हिमालमा होइन मरुभूमिमै स्याउ फल्छ,’ उनले भने, ‘स्याउको उत्पादन बढाउने कुरामा राज्यले अनुसन्धान गर्नु जरुरी छ।’
हिउँसँग स्याउको नाता राम्ररी जोडिएको सुनाउँछन्। ‘डाँडामा हिउँ पर्दा त्यसको चिसोले स्याउको उत्पादन राम्रो हुन्छ,’ उनले भने, ‘डिलमा थुप्रिएका हिउँ हिउँदमा पानीको काम गर्छ।’ अहिले त्यो दुवै नहुँदा स्याउको उत्पादनमा कमी आएको हुनसक्ने उनको अनुमान छ।
स्याउ नफल्दा यहाँका किसानको दैनिकीमा समस्या आएको छ। सन्तानको शिक्षा–दिक्षाको लागी कमाई कमी भएको उनको बुझाई छ। छिरिङकी श्रीमती दावा लामाले स्याउ नफल्दा आम्दानीमा समस्या परेको सुनाइन्।
पोल्याण्डमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली जनतालाई न्याय दिने कुरा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले काम गर्नुपर्ने विचार पोखिन्। यता दावा लामा भने राज्यले स्याउ खेतीको लागी चासो देओस् भन्छिन्।
दावालाई जलवायु परिवर्तनको बारेमा खासै जानकारी छैन। तर, मौसममा आएको परिवर्तन उनले लगाउने बालीको आधारमा उनले बुझ्न थालेकी छन्। ‘पृथ्वी घुम्छ भन्ने घुमेजस्तै छ, बेसीको सामान यहाँ उम्रन थाल्यो, लेकमा चिज कता हरायो।’
वनस्पति विज्ञ श्रेष्ठ जलवायू परिवर्तको असर वनस्पतिबाट मापन गरिने बताउँछन्। ‘तापक्रम वृद्धिसँगै लेकमा फल्ने चिजको कमी भयो भने अनुसन्धान गरेर स्याउका अन्य जाति निकाल्न सकिन्छ,’ उनी भन्छन्, ‘तर, त्यसो भइरहेको छैन।’
स्याउको समस्या छिरिङ दम्पतिको मात्र होइन, लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने समग्र ह्योल्मोवासीको साझा पीडा हो। यो पीडाको औषधी खोज्ने क्रममा यहाँका किसानले हेलम्बुलाई फेरि स्याउको गाउँ बनाउने योजनाको पनि थालनी गरे। स्याउले प्रख्यात हेलम्बुको पहिचानै गुम्ने खतरा भएपछि जुर्मुराएका उनीहरूले राज्यले सहयोग नगरेका कारण समस्यामा परेको सुनाउँछन्।
हेलम्बु क्षेत्रको मेलम्चीघ्याङ, शेर्मान्थाङ, बरुवा, नाकोते, तार्केघ्याङ, छिमीघ्याङलगायत गाउँमा थोरै परिमाणमा भए पनि स्याउको उत्पादन त भयो। तर, त्यसमा किरा लाग्न थालेपछि थप समस्यामा परेका छन्।
‘गाउँमा कृषि प्राविधिक नहुँदा रोग र कीराकोबाट स्याउका बोटलाई जोगाउन समस्या परेको छ,’ मेलम्चीघ्याङका कामी लामा भन्छन्, ‘सरकारले यसतर्फ ध्यान देओस् भन्ने चाहन्छाैं।’ त्यस्तै स्याउ फुल्ने सिजनमा असिना पर्ने गरेका कारण थप समस्यामा परेको उनले सुनाए।
वनस्पतिविज्ञ श्रेष्ठ स्याउको बिरुवा चयनमा ध्यान दिए यस्तो समस्या भोग्ननपर्ने सुझाउँछन्। ‘जस्तोसुकै समस्या भए पनि अनुसन्धान गतिलो भयो भने हेलम्बुले स्याउ फलाउन सक्छ,’ उनी भन्छन्, ‘त्योभन्दा पहिला सरकारले विज्ञान भनेको जहाज बनाउने मात्र होइन, स्याउ फलाउने पनि हो भन्ने बुझ्नु जरुरी छ।’
प्रकाशित: २२ मंसिर २०७५ ०३:२३ शनिबार