२१ असार २०८१ शुक्रबार
image/svg+xml
अन्य

पासबिनै भवन निर्माण

भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले पर्ती जग्गामा नक्सापास बिनै भवन निर्माण थालेको छ।

मध्यपुर थिमी नगरपालिका–४, कोरिया नेपाल मैत्री अस्पताल अगाडिको जग्गामा नक्सा पासबिनै क्यान्टिन भवन निर्माण थालेपछि स्थानीयले विरोध जनाएका छन्।

तर, नगरपालिकाले धमाधम निर्माण गरिरहेको छ। नागरिककर्मी मंगलबार त्यहाँ पुग्दा पनि निर्माण भइरहेको थियो।

अस्पताल मध्यपुर थिमि नगरपालिका– ५ मा पर्छ भने निर्माणाधिन क्यान्टिन भवन वडा नम्बर ४ मा।

अस्पताल कम्पाउण्डभित्रका क्यान्टिन सानो भएको भन्दै नगरपालिकाले त्यहाँं क्यान्टिन भवन बनाउन लागेको हो। क्यान्टिन भवन ढलान गरेर अस्थायी रूपमा बनाउन लागिएको देखिएको छ।

भवनमा अस्थायी पिल्लर उठाउन डन्डीहरू ठड्याइएका छन्।

नक्सा पासबिनै भवन बनाउन नहुने एक स्थानीयले बताए। भवन निर्माणविरुद्ध स्थानीय विरोधमा भने नउत्रिएको ती व्यक्तिले बताए।

मध्यपुर थिमि नगरपालिका ४ का वडा अध्यक्ष कुमार श्रेष्ठले नगरपालिकाले त्यहाँ क्यान्टिन भवन बनाइरहेको जनाए। स्थानीयले विरोध जनाए पनि धमाधम काम भइरहेको छ नि ? यसबारे उनले नगरपालिकाका मेयर÷उपमेयरसँंग जानकारी लिन अनुरोध गरे।

मध्यपुर थिमि नगरपालिकाकी उपमेयर अन्जना मधिकर्मीले यसबारे आफूलाई केही जानकारी नभएको भन्दै पन्छिइन्। ‘यसबारे मेयरसा’बलाई नै सोध्नुहोस्, मलाई केही थाहा भएन,’ उनले भनिन्, ‘मेयरसा’बले मसँग समन्वय नै नगरी एकलौटी रूपमा पेलेर काम गर्नुहुन्छ।’

नगरपालिकामा मेयर तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल मजदुर किसान पार्टीको गठनबन्धबाट विजयी भएका थिए भने उपमेयर नेपाली कांग्रेसबाट विजयी भएकी थिइन्। त्यसकारण मेयर र उपमेयरवीच निरन्तर विवाद छ।

मेयर मदनसुन्दर श्रेष्ठ भने यतिखेर विदेशमा छन्। निर्माणाधिन क्यान्टिन भवनबारे जिल्ला अदालतमा मुद्दा परेको मध्यपुर थिमि नगरपालिका ४ वडा कार्यालयले जनाएको छ। स्थानीयले मुद्दा गरेकाले जिल्ला अदालतले ४ र ५ वडा कार्यालय र मध्यपुर थिमि नगरपालिका कार्यालयलाई म्याद बुझाएको वडा कार्यालयले जनाएको छ।

प्रकाशित: १४ मंसिर २०७५ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App