२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

‘नेतामा अनुशासन नहुँदा सहर बिग्रियोे’

कृष्णहरि बराल, बरिष्ठ संगीतकार

तपाईँको बुझाइमा सहर के हो?
अलि अग्ला गुजुप्प घर, चौडा बाटो, वरिपरि साइनबोर्ड र जनघनत्व बढी भएको ठाउँ सहर हो भन्ने हाम्रो मानसिकतामा बसेको छ । हामीले सानोमा स्कुल पढ्दाताका विकसित, गाडी गुड्ने, स्वास्थ्य, शिक्षा र सरसफाइयुक्त ठाउँ सहर हो भनेर पढ्थ्यौं । वादविवादमा पनि यस्तै तर्क राख्थ्यौं । अहिले पनि त्यस्तै ठाउँ सहर हो भन्ने लाग्छ । यद्यपि त्यतिबेला पढेको र सुनेको सहर अलि फरक भएको छ।

तपाईँले भनेजस्तै हाम्रा सहरमा सबैखाले सुविधा पाइन्छन् त?
हरेक पक्षमा अग्रणी भूमिका सहरले खेलेको हुन्छ । सुरक्षाको हिसाबमा पनि सहर उत्तिकै संवेदनशील मानिन्छ । सहरमा हिजोको कला संस्कृति र पूर्खाले सिर्जेका सम्पत्ति हुन्छन् । तर, पछिल्लो समय हाम्रो सहरको बनोट र अवस्था केही छैन जस्तो लाग्छ । नगरपालिकाले नगर्ने काम गरेको छ । अवरोध गरेको छ । सहरमा पाइनुपर्ने जे–जे अनिवार्य कुरा छन् ती कुरा हामीले पाएनौं । सहरको हावापानी पनि राम्रो छैन । सबैतिर फोहर मात्रै छ । अस्पताल, स्कुल, सरकारी कार्यालयजस्ता क्षेत्र अव्यवस्थित बनाइएको छ।

सरकारले सहरलाई हानी पु-याउने कुनै पनि काम नियन्त्रण गर्न सकेन । प्लानिङबिना घर बनेका छन् । सरकारले नै सहरको संरचना बिगारेको छ । जसलाई जे लाग्यो त्यही ढंगले काम भइरहेको छ।

सहर कसरी बिग्रियो ?
सरकारले सहरलाई हानी पु-याउने कुनै पनि काम नियन्त्रण गर्न सकेन । प्लानिङबिना घर बनेका छन् । सरकारले नै सहरको संरचना बिगारेको छ । जसलाई जे लाग्यो त्यही ढंगले काम भइरहेको छ । सडक पनि उत्तिकै बेहाल छ । धेरैजसोमा नैतिक शिक्षाको खडेरी छ । सवारीचालक र ट्राफिक लापरवाही गरेको देखिन्छ।

गाउँ र सहरको सम्बन्ध कस्तो हुनुपर्छ ?
गाउँ र सहर एक–अर्काका परिपूरक हुन्छन् । गाउँबिना सहर अपूरो हुन्छ, सहरबिना गाउँ । सहरको तुलनामा हाम्रो ग्रामीण भेग अलि व्यवस्थित बनेको छ । गाउँमा उब्जाऊ भएको अन्नबाली सहरमा पुगेको हुन्छ । सहरको सेवा सुविधा पनि बिस्तारै गाउँतर्फ केन्द्रित भएको हुन्छ । अर्को कुरा, आज कंक्रिटले झाँगिएका सहर हिजो गाउँ थिए । एक हिसाबले भन्ने हो भने सहरको साख भनेकै गाउँ हो । त्यसैले पनि सहर र गाउँ एक–अर्कामा सम्बन्धित छन्।

कुन–कुन देशका सहर घुम्नुभएको छ?
मैले धेरै देशका सहर घुमेको छु । अमेरिकाका १८ राज्य, युरोपको ७ सहर, मलेसिया, स्वीजरल्याण्डलगायत देशका सहर पुगेको छु।

के फरक पाउनुभयो?
विदेशको तुलनामा हाम्रा सहर निकै फरक छन् । विदेशी सहर व्यवस्थित छन् । त्यहाँका सहर नीति नियममा चलेका छन् । तर, हाम्रोमा हरेक कुरामा लापरवाही छ।

घुमेकामध्ये मन परेको सहर कुन हो?
युरोपका सहर धेरै प्राचीन लाग्यो । अमेरिका अरु मुलुकभन्दा आधुनिक छ । प्रकृतिले ठगेको देश भए पनि अमेरिका संसारकै अहो ! बनेको छ । त्यो सबै मानिसले बनाए । हङकङकोे हावापानी निकै राम्रो छ।

विदेशी सहरको कुन पक्षले ध्यान तान्यो?
विदेशी मुलुकका हरेक सहर व्यवस्थित पारिएको छ । मानिसले हरेक थोक बनाएका छन् । उनीहरूले अति नै ध्यान दिएर सहरको विकास गरेका छन् । सबैतिर तारतम्य मिलाएका छन् । हाम्रोमा अनेक अवसर हुँदा पनि देश चिनिन सकेन । भएका विषेशताहरू लुके।  

हामीभन्दा बाहिरी मुलुक कुन–कुन पक्षमा भिन्न रहेछन्?
प्राकृतिक रूपमा हेर्दा संसारमै फरक र भाग्यामानी हामी हौं । तर, विदेशीको आँखामा अहिले सबैभन्दा ‘विचरा’ बनेका छौं । हामीले आफूलाई चिनेनौं । हरेक थोक भएर पनि पछि परेका छौं हामी । यो अति नै दुर्भाग्य हो । मानवीयरूपमा कुनै काम नभएकाले पछि परियो।

हामी विकास निर्माणमा कहाँनिर चुक्यौं?
सहरको कुनै प्लानिङ भएन । नेताहरूले संसारका सबै मुलुक देखेका छन्, घुमेका छन् । त्यहाँको विकास हेरेर सिको गर्ने भन्दै विदेश पनि गएका छन् । तर, यहाँ सिन्को भाँचेनन् । अर्को कुरा, हाम्रो विकास गर्ने ढाँचा र शैली भएन । कति समयको लागि बनाउने भन्ने योजना भएन । विकास निर्माणका काम गर्दा आजलाई मात्रै हेरियो । आजको विकासले भोलिलाई अप्ठेरो र विनास गर्छ भनेर हेरिएन । सडककै कुरा गर्ने हो भने आज बनायो भोलि बिग्रन्छ । सहरका योजना दल–दलमा फसेका छन् । पार्टीपिच्छे फरक–फरक योजना ल्याइएको छ।

विदेशका सहरमा नभएको र हामीकहाँ भएको पक्ष?
हामीसँग निकै भिन्न कुरा छन् । हाम्रोमा जस्तो मौलिकता र भातृत्व कतै छैन । नेपाली मन संसारमा कहिँ भेटिन्न । नेपाल एउटा आत्मियता र सहयोगले चलेको देश पनि हो । प्राकृतिक पक्ष, मौलिकतामा पनि हामी सबैभन्दा अघि छौं । बनाउने हो भने हामी संसारकै नमुना ठाउँ बन्न सक्छौं । तर, त्यो सपना जस्तै भएको छ अहिलेको पिढीको लागि।

सहरको विकासको लागि कस्ता योजना ल्याउन आवश्यक छ?
सहर सुहाउँदो विकासको योजना ल्याउन जरूरी छ । अहिले हाम्रोमा ल्याइएका योजना त्यति अनुकूल छैनन्।

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ?
मेरो सपनाको सहर निकै नै व्यवस्थित होस् । बिरामीले समयमै उपचार पाउन् । सबैमा समान अधिकार होस् । हरेक ठाउँ व्यवस्थित होस् । गरिब र धनिबीचको खाडल पुरियोस् । खानेपानी शुद्ध होस् । ताराहरू बादलले नछेकोस् । सहर प्रदूषणमुक्त होस् । यति भए सहर सुन्दर लाग्नेछ।  

सहरवासीको बानी कस्तो लाग्छ?
सहरमा बस्नेहरूमा अनुशासन भएन । सबैले आफ्नो मात्रै सोच्दा सहरको नोक्सान भएको छ । कसैमा आफू बसेको ठाउँ बनाउनुपर्छ भनेर भित्रैदेखि चेत खुलेन।

काठमाडौं कस्तो लाग्छ?
अति नै प्यारो लाग्छ । यहाँका हरेक पक्ष राम्रा छन् । तर, मानवीयरूपमा भएका अभ्यास र काम कारवाही गलत भए । सहरवासीको आँचरण पनि सही भएन । यहाँको मौसम पनि उत्तिकै राम्रो छ।

काठमाडौंको मनपर्ने पक्ष?
अनेक दृष्टिकोणले राम्रो लाग्छ काठमाडौं । यहाँ अनेक कुरा छ । यहाँको हावापानी र प्राकृतिक पक्ष सुन्दर लाग्छ । काठमाडौं मन्दिरै मन्दिरको सहरले पनि चिनिन्छ । तर, पछिल्लो समय पुराना संस्कृति र परम्परा जोगाउन मुस्किल भइरहेको छ।

नेपालभित्र मनपर्ने सहर?
यहाँका सबै ठाउँ रमाइला छन् । मात्रै हामीले यहाँका सहरलाई अलि चासो दिएर बनाउन जरूरी छ । पोखरा पनि नेपालको सुन्दर सहर हो।

उपत्यकाको मन नपर्ने पक्ष?
सहर साह्रै अस्तव्यस्त भयो । फोहर, धुवाँधुलो, सवारीको चाप, प्रदूषण मनपर्दैन।

पछिल्लो समय घुमेको समय?
युरोपका केही सहर घुमेको थिएँ।

मन भएर पनि घुम्न नपाएको सहर?
 नेपालकै केही भाग र अफ्रिकन मुलुक घुम्न मन छ।

सहरको मनपर्ने खानेकुरा के हो?
दाल, भात र तरकारी नै हो । विदेश हुँदा पनि सम्झना आउँछ यहाँको खानाको।

प्रस्तुतिः शिवहरि घिमिरे

प्रकाशित: ३ मंसिर २०७५ ०१:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App