१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

हामीमा जवाफदेही बढी छ : सिईओ श्रेष्ठ

खुला प्रतिस्पर्धाबाट २०७२ सालको चैतमा राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका किरणकुमार श्रेष्ठ निकै अनुभवी सिइओको रुपमा चिनिन्छन् । नेपाल बैंकमा लामो समय काम गरेको अनुभव उनीसँग छ । श्रेष्ठले नेपालकै सबैभन्दा ठूलो वाणिज्य बैंकको जिम्मेवारी सम्हालेको पनि साढे २ वर्ष भइसकेको छ । नेपाली जागिरे र व्यापारी बन्ने मानसिकताबाट माथि उठ्न नसकेको उनी बताउँछन् । बैंकिड क्षेत्रको पछिल्लो अवस्था, बैंकिड क्षेत्रले भोग्नु परेका चुनौती, समग्र देशको आर्थिक अवस्था लगायतका विषयमा नागरिक परिवारका लागि विष्णु बेल्वासेसँग श्रेष्ठले गरेको कुराकानीः

राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा ठूलो बैंक भन्छन् । के कारणले ठूलो बैंक भनिएको हो ? 

मुख्यतः चार कारणले यसलाई सबैभन्दा ठूलो बैंक भनिएको हो । एउटा, यो सरकारको पूर्ण स्वामित्वमा सञ्चालित एक मात्र बैंक हो । दोस्रो, यसका शाखा कार्यालय दुरदराजसम्म फैलिएका छन् । ७४ जिल्लामा २०६ शाखा छन् । तेस्रो, जनताको अपार विश्वास छ । सर्वसाधारणको विश्वासकै कारण अहिले हामीसँग १ खर्ब ६८ अर्ब निक्षेप संकलन गर्न सफल भएका हौं । यो बैंक ठूलो हुनुको चोथौ कारण यसका ग्राहक ३० लाख छन् । २७ लाखले निक्षेप संकलन गरेका छन् भने ३ लाखले कर्जा लिएका छन् । यी माथिका कारणले राष्ट्रिय वाणिज्य बैंकलाई सबैभन्दा ठूलो बैंक भनिएको हो ।

अन्य बैंकमा नभएका यस बैंकका विशेषता ?

पहिलो विशेषता त हाम्रो बैंकमा निक्षेप र कर्जा लिने ग्राहक साना छन् । १ लाख भन्दा कम निक्षेप संकलन (डिपोजिट) गर्ने ७० प्रतिशतभन्दा माथि छन् । त्यस्तै ५० लाखसम्म कर्जा लिने ६० प्रतिशत छन् । सानामा नै बढी केन्द्रित छौं । त्यसैगरी, दोस्रो विशेषता भनेको सस्तो ब्याज दरमा हामी ऋण दिन्छौं । हाम्रो आधार दर (बेस रेट) ६.२० प्रतिशत छ । तेस्रो विशेषता, निक्षेपको ब्याजदर बढी छ । हामीले मुद्दती खातामा १०.५० प्रतिशतसम्म ब्याज दिने गरेका छौं । हुन त हामीकहाँ विभिन्न समूहलाई लक्षित गरेर वचत खाता सञ्चालन गरका छौं । महिला, वृद्ध लगायतका वचत खाता सञ्चालनमा छन् । ती खातामा राखिएको रकमको ब्याजदर पनि फरक–फरक छ ।

अहिले राजनीतिक स्थायित्व आएको छ । बैंकका लागि यो उपयुक्त अवसर भएको भनिन्छ नि ? 

राजनीतिक स्थायित्व आएको छ । बैंकका लागि यो ठूलो कुरा हो । स्थायी सरकारले स्थिर नीति निर्माण गर्छ । दीर्घकालीन रुपमा निर्माण गरिने स्थायी नीतिले समग्र विकास निर्माणमा सहयोग पुग्छ । विकासतर्फ लम्कन लागेको हाम्रो जस्तो मुलुकका लागि फाइदा पुग्ने छ । पूर्वाधार विकासको काम बढी हुन्छ । पूर्वाधार, यातायात, सञ्चारको विकास हुन्छ । पूर्वाधार निर्माणले गति लिएसँगै सिमेन्ट, डन्डी लगायतका उद्योग स्थापना हुन्छन् र रोजगारीका सम्भावना प्रशस्त मात्रामा हुन्छन् ।

अहिले बैंकका लागि मुख्य चुनौती के हुन् ?

बैंकका लागि लगानीयोग्य पुँजी (तरलता)को अभाव मुख्य चुनौती बन्दै गएको छ । गत वर्ष बैंकहरुले लगानीयोग्य पुँजीको अभाव खेप्न बाध्य भएका थिए । अहिले पनि त्यही स्थिति आउने सम्भावना बढेको छ । लगानीयोग्य पुँजी बैंकलाई चाहिने जति हुँदैन कि भन्ने छ । निक्षेप संकलन जुन अनुपातमा बढेको छ, त्यसको तुलनामा कर्जा लगानी निकै बढेको छ । कर्जा लगानी र निक्षेप संकलन बीचको ‘ग्याप’ निकै बढी छ । त्यसले समस्या पार्ने स्थिति देखिने सम्भावना बढेको छ ।

बैंकमा निक्षेप संकलन किन नभएको हो । सर्वसाधारणसँग पैसा नै नभएर हो त ? 

सर्वसाधारणसँग भएको रकम सबै बैंकिङ प्रणालीमा आउँदैन । ग्रामीण दुरदराजसम्म बैंक पुग्न सकेका छैनन् । बैंकका शाखा पुगेका ठाउँमा पनि बैंकले दिने ब्याज भन्दा बढी ब्याज अरुले दिएका छन् । बैंकले दिने ब्याजदर भन्दा बढी ब्याजदरमा लगानी गरेका छन् । त्यसैगरी, बैंकमा पैसा राख्न झन्झट मान्ने र घरमा राख्दा सजिलो मान्ने गरेका कारणले पनि बैंकिङ प्रणालीमा रकम नआएको हो । त्यसैले पनि रकम अभाव भएको हो ।

स्रोत खुलाउनु पर्ने व्यवस्था छ । यसले पनि त कतिपय अवैध धन बैंकिङ च्यानलमा नआएको होला नि ? 

त्यो पनि हो । कन्तुरामा पैसा राख्ने चलन अहिले पनि छ । अवैध धन स्रोत खुलाएर मात्र बैंकमा राख्नुपर्छ भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । त्यसैले पनि अवैध धन बैंकमा राख्न डराउनु पर्ने हुन्छ ।

अनौपचारिक क्षेत्रमा प्रशस्त रकम छ भन्ने गरिन्छ । कति होला त्यस्तो रकम ? 

यति नै छ भनेर त भन्न सक्ने अवस्था त छैन । वास्तविक तथ्यांक पनि छैन । तर, उल्लेख्य मात्रमा अनौपचारिक क्षेत्रमा रकम छ भन्ने गरिन्छ । यति प्रतिशत नै छ भन्न सकिँदैन ।

के असर गर्छ त त्यस्तो रकमले ? 

बैंकिङ प्रणालीमा नआउनेबित्तिकै रकम एकीकृत हुँदै। जहिले पनि लगानीयोग्य रकमको अभाव भइरहन्छ । कर्जाको ब्याजदर उच्च हुन्छ । समाजमा अनैतिक काम बढी हुन्छन् । 

अनौपचारिक क्षेत्रका त्यस्ता रकम औपचारिकतामा ल्याउन के गर्नु पर्ला ? 

पहिलो कुरा त वित्तीय सचेतता बढाउनुपर्ने हुन्छ । अहिले बैंकिङ पहुँच केवल ४०–४२ प्रतिशत जनसंख्यामा मात्र पुगेको छ । त्यसैगरी, सबै स्थानीय तहमा बैंकका शाखा पुर्‍याउनु पर्छ । अहिले ७५३ स्थानीय तहमध्ये ६६६ तहमा मात्र बैंकका शाखा पुगेका छन् । अहिले पनि दुर्गम क्षेत्रमा बैंकका शाखा पुगेका छैनन् । सुविधा सम्पन्न ठाउँमा मात्रै बैंकका शाखा पुगेर हुँदैन । अहिले पनि बैंक भएको ठाउँमा पुग्न ४/५ दिन हिँड्नुपर्ने अवस्था छ । त्यसलाई घटाएर १ घण्टाको दुरीमा बैंकमा पुग्न सक्ने हुनुपर्छ । अनौपचारिक क्षेत्रबाट औपचारिकतामा ल्याउन इन्फर्मल सेक्टरलाई निरुत्साहित गर्ने खालको कानुन बनाउनु पर्छ । बैंकिङ च्यानलमा हुने लामो प्रक्रियालाई सरल र सहज बनाउनु पर्छ ।

ब्ल्याक मनीलाई ह्वाइट मनी बनाउने कुरा आएको छ । यसमा तपाईंको विचार के छ ?

ब्ल्याक मनी आफैँमा नराम्रो हो । आपराधिक क्रियाकलापमा त्यस्तो धन जाने गरेको छ । ब्ल्याकलाई ह्वाइट बनाउन सकिँदैन । बरु वर्गीकरण गरेर नीतिगत रुपमा केही सहजीकरण गर्न सकिन्छ र त्यस्तो रकमा औपचारिक क्षेत्रमा ल्याउन सकिन्छ ।

पछिल्लो समय खर्च गर्ने तौरतरिकामा पनि परिवर्तन आएको हो ?

वचत गर्ने बानीको कमी हुँदै गएको छ । उपभोक्तावादी चिन्तन बढी देखिन थालेको छ । रेमिट्यान्सको पैसा जताबाट आयो त्यतै फर्किदै गएको छ । रेमिट्यान्सको रकम कार, जीप, फ्रिज, टिभी किन्नमा नै सकिने गरेको छ । त्यस्ता विलासिताका वस्तु खरिद गरेको पैसा नेपालमा रहँदैन । विदेश नै जान्छ । 

तरलताको अभावको समस्या समाधान गर्न के गर्नु पर्ला ?

राष्ट्र बैंकले कर्जा पुँजी निक्षेप (सिसिडी) दर ८० प्रतिशत कायम गरेको छ । यसको अर्थ बैंकले संस्थागत वा सर्वसाधारणबाट लिएको निक्षेप ८० प्रतिशत मात्र लगानी गर्न पाइन्छ र २० प्रतिशत लगानी गर्न पाइँदैन । कर्जा र निक्षेप सन्तुलन रुपमा बढाउँदै जानुपर्छ । कर्जा र निक्षेप सन्तुलन रुपमा वृद्धि नगर्ने हो भने समस्या आउन सक्छ । गत वर्ष कर्जा बढ्ने र निक्षेप नबढ्ने भएकाले समस्या आएको थियो । सरकारले गर्ने पुँजीगत खर्च समय समयमा हुन थाल्यो भने त्यति समस्या नआउला । अन्यथा समस्या आउन सक्छ । रेमिट्यान्सको वृद्धिदरमा कमी आएको छ । निक्षेपको वृद्धिदर पनि कमी छ । तर, हरेक वर्ष कर्जाको माग बढेको छ । निक्षेप बढाउन सकिएन भने संकट आउँछ । बैंकले पनि नाफा यो वर्ष यति गर्नुपर्छ भन्दै लगानीलाई जोड दिने गरिन्छ । यसले गर्दा समस्या आउने हो । 

लगानीयोग्य पुँजीको अभाव हटाउन बैंकहरुलाई विदेशी मुद्रामा ऋण लिन दिन पाउने सुविधा दिएको छ नि ? 

लगानीयोग्य पुँजीको अभाव हुन नदिनका लागि यो पनि उपयुक्त उपाय हो । विश्वभर नै चलेको मान्यता हो ।

तपाईंको बैंकले लगानीयोग्य रकमको अभाव कत्तिको खेप्नु परेको छ ?

हामीलाई लगानीयोग्य रकमको अभाव छैन । हाम्रो बैंकको सिसिडी रेसियो ६८ प्रतिशत मात्र छ । अझै १२ प्रतिशत लगानी गर्ने पैसा हामीसँग छ । यसको अर्थ १९÷२० अर्ब लगानी गर्न सक्छौं ।

राष्ट्रिय वाणिज्य बैंक सबै कुरामा अब्बल भन्नुभयो, कमजोरी पनि त होलान् नि ? 

सरकारको पूर्ण स्वामित्वको बैंक भएकाले सचेत भएर लगानी गर्नुपर्ने हुन्छ । नियम पुर्‍याएर लगानी गर्नुपर्ने हुन्छ । प्रक्रिया पुर्‍याउन लामो समय लाग्न सक्छ । जवाफदेहीता बढी छ । केही तलमाथि गर्नु हुँदैन । हाम्रो कर्मचारी भर्ना लोकसेवाले गर्छ । लेखापरीक्षण महालेखाले गर्ने गर्छ । रकम हिनामिना भयो भने अख्तियारले हेर्ने गर्छ । निर्णय गर्दा धेरै विचार पुर्‍याएर गर्नुपर्ने हुन्छ ।

कृषि विकास बैंकका कर्मचारी राष्ट्रिय वाणिज्य बैंकमा धमाधम ल्याउन थाल्नु भयो भन्ने आरोप छ नि ?

म यहाँ आएको करिब साढे २ वर्ष भएको छ । यसबीचमा १२ सय कर्मचारी भर्ना भए होलान् । तीमध्ये धेरैजसो कृषि विकास बैंकबाट आएका रहेछन् । केही कर्मचारीलाई कृषि विकास बैंक रित्ताएर नै आयो कि क्या हो भनेर सोध्ने गर्थे । लोकसेवाको जाँचबाट पास भएकालाई ल्याउने हो । कृषि विकास बैंकमा काम गरेकालाई लोकसेवाको जाँच पास गर्न सहज हुने भएकाले पनि त्यसरी आउन पुगेका होलान् । हामीले जानीजानी कृषि विकास बैंकका कर्मचारी ल्याउने कुरा हुँदैन र ल्याउन पनि सकिँदैन ।

अहिले बैंकलाई सक्षम जनशक्ति टिकाउन कत्तिको समस्या छ ? 

सक्षम जनशक्ति त छन् तर त्यसलाई टिकाउन सक्ने क्षमता छैन । कर्मचारीले अर्को बैंक वा ठाउँमा जान्छु भन्न थाले भने शुभकामना दिनेबाहेक केही गर्न सकिँदैन ।

तपाईंको बैंकको खराब कर्जा कति छ ? 

राष्ट्रिय वाणिज्य बैंकको इतिहास हेर्ने हो भने ६० प्रतिशतसम्म खराब कर्जा पुगेको थियो तर निरन्तरको प्रयासपछि निकै घटेको छ । अहिले ४.२ प्रतिशत मात्र खराब कर्जा छ ।

तपाईंको नजरमा लगानीका लागि आकर्षक क्षेत्र के–के हुन् ? 

जलविद्युत, पर्यटन र कृषि लगानीका आकर्षक क्षेत्र हुन् । ठूला–साना उद्योगधन्दा स्थापना गर्ने क्रम पनि बढेको छ । त्यसक्षेत्रमा पनि बैंकले लगानी बढाउँदै गएका छन् । पछिल्लो समय सिमेन्ट, औषधी लगायतका उद्योग खोल्ने क्रम बढेको छ । सबैभन्दा अग्लो हिमाल सगरमाथा हेर्न नेपालबाहेक अन्य ठाउँबाट सम्भव छैन । यस्ता ठाउँको प्रचार प्रसार र सगरमाथासम्म जाने बाटोघाटोको उचित व्यवस्था गर्न सकिएमा नेपाल विदेशी पर्यटकको आकर्षक गन्तव्य हुने थियो र समृद्धितर्फ लम्कने थियो ।

कृषिमा लगानी बढ्न नसकेको देखिन्छ, कारण के होला ? 

कृषिलाई व्यावसायीकरण गरेर जानुपर्छ । अहिले बजारीकरणको समस्या छ । उत्पादकले कम मूल्य पाइरहेका छन् भने उपभोक्ताले चर्को मूल्य तिर्नु परेको छ । बीचमा बसेका व्यापारीले धेरै कमिसन खाइरहेका छन् । उपभोक्ता र उत्पादक बीचको खाडल बढी छ । त्यस्तो ग्यापलाई समाधान गर्नुपर्छ । तराईको लालबन्दीमा २ रुपैयाँ किलोमा पाइने तरकारी यहाँ आउँदा ४० रुपैयाँ पर्नेगर्छ । यो चिन्ताजनक विषय हो । व्यावसायिक रुपमा कृषि पेसा अँगाल्ने कम छन् । कृषि पेसाको आकर्षण घट्दो छ । त्यसैले पनि लगानी नबढेको हो ।

नेपालमा उद्योगधन्दा खोल्ने भन्दा व्यापार गर्ने बढी छन्, हगि ? 

उद्योगधन्दा चलाउन निकै कठिन हुन्छ तर व्यापार गर्न निकै सजिलो हुन्छ । व्यापार अरुले उत्पादन गरेको सामान कम मूल्यमा खरिद गर्ने र बढी मूल्यमा बेच्ने काम हो । बीचको मार्जिन खाने काम मात्र व्यापारीको हो । व्यापार गर्न त्यति समस्या छैन् किनभने अरुले उत्पादन गरेको वस्तु नाफा खाएर अरुलाई बिक्री गर्ने हो । तर, उद्योग स्थापना गर्र्न त आफैँ खट्नु पर्ने, गुणस्तरीय उत्पादन गर्नुपर्ने, उत्पादित सामान अन्य सामानको तुलनामा कम मूल्यमा बिक्री गर्नुपर्ने हुन्छ । मूल्य र गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्छ । अन्यथा अर्कोले विस्थापित गरिदिने डर हुन्छ । त्यसैले उद्योग स्थापना गर्न कठिन हुन्छ । हामीलाई उद्योग चाहिने हो । हामीले व्यापार गर्न जान्यौँ तर उद्योग स्थापना गर्न सकेनौं । हामी व्यापारी र जागिरे मानसिकताबाट माथि उठ्न सकेनौँ ।

परिवारका बारेमा बताइदिनुस् न ? 

श्रीमती, दुई छोरा छौं । श्रीमती शान्ता श्रेष्ठ त्रिविको पाठ्यक्रम विकास केन्द्रमा काम गर्छिन् । जेठो छोरो मनीष श्रेष्ठ इन्जिनियर हो । उसको विवाह भइसकेको छ । बुहारीले पनि काम गर्छिन् । कान्छो छोरो आलोक पढ्दै छ । 

दैनिकी कसरी बित्छ ? 

बिहान ६ बजे उठ्छु । नित्यकर्मपछि कालो चिया पिउँछु । एक घण्टा योगमा बिताउँछु । त्यसैबीचमा भजन सुन्ने, रविशंकरको वचन सुन्नेलगायतका काम हुन्छन् । ७.३० बजे हल्का नास्ता गर्छु । ८.५० देखि ८.४५ बजेसम्ममा तयार हुन्छु र ९ बजे अफिस हिँड्छु । धेरैजसो बेलुका बोर्डको मिटिङ हुन्छ । अन्य काम पनि बेलुका हुने हुँदा प्रायः ८ बजे घर पुग्छु । ८ देखि ११ बजेसम्म पढछु । ११ बजे सुत्छु ।

खानपिन ? 

म मांसाहारी हुँ । चिल्लो, पिरो खान्नँ र रक्सी पिउँदिनँ । पहिले रक्सी पिउँथेँ, अहिले छाडेँ । बैंकमा प्रमुख कार्यकारी अधिकृत हुनु र रक्सी छाड्नु एकै समय जस्तै भएको छ । स्वज्ञानले रक्सी पिउन छाडेको हुँ ।

घुमफिर ? 

म प्रायः शुक्रबार उपत्यकाबाहिर जान्छु । बाहिर जाँदा पत्नीलाई समेत लिएर जान्छु ।

शिक्षा ? 

संखुवासभाको चैनपुरमा २०१४ असार २३ जन्मेँ । अहिले ६० वर्षको भएँ । सानो ठिमी तथा जनप्रशासन क्याम्पसबाट उच्च शिक्षा लिएँ । चार वर्ष जति पढाउने काम पनि गरेँ । २०४३ साल भदौ १ गतेबाट नेपाल बैंकमा काम गर्न सुरु गरेँ । नेपाल बैंकमा महाप्रबन्धक थिएँ । २०७१ सालमा त्यहाँ छाडेँ । २०७२ चैत २८ गते खुला प्रतिस्पर्धाबाट राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत भएँ । अझै ८÷१० वर्ष काम गर्ने सोच छ र काम गर्न सक्छु जस्तो लागेको छ ।

केही शोख पनि छ कि ? 

हिँडडुल गर्न मनपर्छ । पठनमा रुचि छ । समसामयिक विषयमा लेखिएका पुस्तकहरु बढी पढने गर्छु ।

प्रकाशित: १ मंसिर २०७५ १०:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App