१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

हिमालपारी पुगेपछि...

दसैं नजिकिँदै थियो । घरजाने तयारी गर्नु पर्ने थियो तर मैले हिमालपारीको जिल्ला मनाङ जाने तयारी गर्नु प-यो । निम्तो थियो–मनाङ एग्रोको । रिपोर्टिङमा नगएको करीब ७ महिना पुगेको थियो । त्यसैले रिपोर्टिङ गर्न जाने कुराले मलाई हुट्हुटि बढाएको थियो । म असोज २३ गतेको पखाईमा थिएँ जुनदिन हामी मनाङ जाँदै थियौ । बिहान ११ बजेतिर पत्रकार टेकराज थामीसँग अनामनगरमा भेटेर गोंगवु बसपार्क पुग्दा पत्रकार रामप्रसाद हुमागाई र फोटो पत्रकार सुशिल श्रेष्ठ पनि थपिए।

हामी चारभाई लमजुङ सदरमुकाम बेसिशहरसम्म जाने माईक्रोबसमा हुर्इँकियौ । बाटोमा सुन्दर दृष्य देखिए । बेसिशहर पुग्दा रातको ८ बजेको थियो । बेसिशहरबाट मनाङ जाने सडकमा जिपवालाको सिण्डिकेट रहेछ । स्थानीय व्यवसायीले मनाङ जान अनिवार्य बेसिशहर बास बस्नै पर्ने नियम बनाएका रहेछन् । मनाङसम्म सिधै गाडी जाँदा व्यापार सुक्छ भनेर यस्तो नियम बनाएका रहेछन् । हामी पनि यही नियम अनुसार बेसिशहरको थोराङपिक होटलमा बस्यौं।

मनाङ एग्रोले ७३५ रोपनी जग्गा लिजमा लिएर स्याउ खेति गरेको रहेछ । अचेल अन्नपुर्ण पदमार्गमा रहेको बगैंचा थकाई लागेका बेला विश्राम गर्ने थलो बनेको छ । हामीले पनि स्याउबारीमा पसेर छानीछानी स्याउ खायौं।  

मनाङ जाने टोलीको समन्वय गरिरहेका नेपाल पत्रकार महासंघ लम्जुङका अध्यक्ष आश गुरुङले असोज २४ गते बिहानै जाने सूचना दिएका थिए । त्यसैले ६ बजे विहान तयार भयौं । तर खबर आयो ९ बजे मात्र जाने भनेर । हामी पत्रकारलाई लैजाने गाडी धेरै पैसा पाउने भएपछि विदेशी पर्यटक बोकेर हिँडेछ । बेशिसहरबाट पत्रकारहरु नविन कुईंकेल, कृष्ण आलेमगर, समुन्द्र घिमिरे र बेलिना थापा पनि थपिए।

बेशिसहरदेखि ढिकुरपोखरीसम्म
असोज २४ मा विहान १० बजे मनाङका लागि गाडी चढ्यौं । मस्र्याङदी किनारैकिनार बनेको कच्ची सडकमा गुडदै गर्दा खेतमा धान झुलेको दृष्य देखियो । हाम्रो गाइड बनेका पत्रकार महासंघका केन्द्रीय सदस्य नविन कुइँकेलले बेला मौकामा त्यस क्षेत्रका महत्वपुर्ण स्थानको विषयमा जानकारी दिइरहनु भएको थियो । उनकै जानकारीले डा. हर्क गुरुङको जन्मथलो र मिडियामा धेरै पढेको लिलि भीर समेत हेर्न पाइयो।

बेसिशहरमा चढेको गाडी ३ घन्टापछि बुङ झर्ना नजिकैको बजारमा रोकियो । लहरै ३ वटा होटल र केही खुद्रा पसल भएको बजारको सिधा पारी बुङ झर्नामा पानीका फोहरा तँछाडमछाड गर्दै झरेका थिए, हेर्दै लोभलाग्दो । अनकन्टार पहाडबाट झरेको झर्नामा पुग्न खास सुविधा छैन । मस्र्याङदी नदी पारी रहेकाले झर्नालाई टाढैबाट हेरेर आनन्द लिन सकिन्छ । यसलाई पृष्ठभूमिमा राखेर सबैले तस्बिर खिच्यौं । झर्नासम्म पुग्ने पुर्वाधार बनाउन सके पर्यटकलाई अझै रमाईलो हुने थियो । ‘लोकल भाले’ भनेर गिरिराज कुखुराको मासुसँग खाना खाएर हामी गन्तव्यतिर लम्कियौं।

नयाँ ठाउँ भएकाले यात्रामा रमाईलो भईरहेको थियो । जब मिर्दिको भीर पुगियो, सबैको बोली एकैपटक रोकियो । भीर पार गर्ने मुस्किल । पहिले त्यो भीर पार गर्नु प-यो भने मनाङबासीले ऋण र धन कति छ भनेर आफन्तलाई पहिल्यै हिसाव बुझाउँथे रे ! हामीले त्यति त गर्नु परेन । तर पत्रकार बेलिनाको अनुभवमा गाडी गुडिरहँदा मुटु झिकेर राखौं जस्तै भयो रे ! पहराको पत्थर कपेर बनाईएको सडक यात्राको बखान एक सासमा गर्न सकिन्न । डर त सवैलाई लागेको थियो तर भन्न मात्र नसकेका।

यात्रामा च्याम्चेको झर्नाले हामीलाई करीब आधा घण्टा रोक्यो । पहराको टुप्पीबाट झरेको झर्नाको पानीमा भिज्दै सडक पार गर्दा निकै रमायौं । जोखिमपुर्ण र रमाईलो यात्रा गर्दै हामी ३ बजे मनाङ सदरमुकाम चामे पुग्यौ । दुईवटा अग्ला डाँडा बीचमा रहेको चामे कटेर हामी एग्रो मनाङको बगैंचामा स्याउ टिपेर खाँदै रमायौं । चिसो बढ्दै गएकाले आयोजकसँग औपचारिक कार्यक्रममा भेट्ने सल्लाह गर्दै उपल्लो मनाङको प्रवेशद्धार ढिकुरपोखरी पुगेर बास बस्यौ । ढिकुरपोखरीबाट अन्नपुर्ण र लम्जुङ हिमाललाई नजिकबाट नियाल्यौं।

स्याउबारी बखान
तिब्बतबाट आएका खम्पाहरुले क्याम्प जमाएको भ्राताङमा एग्रो मनाङ स्याउ बगैंचा  नमुना र सवैको सिकाई केन्द्रका रुपमा विकास भएको रहेछ । ६ बर्ष अगाडि मनाङ मस्र्याङदी फुटबल क्लबको स्वामित्वमा रहेको ७३५ रोपनी जग्गा लिजमा लिएर स्याउ खेति सुरु भएको हो । क्लबको आम्दानी बढाउन मनाङका तत्कालीन ७ गाविसले भोगचलन गर्ने अधिकार क्लबलाई दिएको थियो । उक्त जग्गा झाडी र बुट्टयान थियो । त्यही जग्गालाई मनाङ एग्रोले २७ बर्षका लागि लिजमा लिएर स्याउ फार्म सुरु गरेको एग्रोका अध्यक्ष सोमराज गुरुङले बताए।

फार्ममा गोल्डेन डेलिसियस नेमा, गालाकिको मेमा र फुजी फुब्रेस जातका स्याउका विरुवा रोपिएको छ । इटालीबाट ल्याइएको यो जातको स्याउका बोटले रोपेको ६ महिनापछि उत्पादन दिन थालेको अध्यक्ष गुरुङले बताए । अन्नपुर्ण पदमार्ग पर्ने मस्र्याङदी नदीको किनारमा रहेको फार्म सुरु भएपछि मनाङमा व्यावसायिक स्याउ खेति सुरु भएको छ । थोरै जमिनमा भएपनि ४ वटा स्याउ फार्म सञ्चालनमा छन्।  
स्याउ भण्डारणका लागि कोल्डस्टोर बनाइएको छ भने जुसका लागि जुस मेसिनको व्यवस्था छ । संघीय संसदका सांसद पाल्देन छोपेन गुरुङको परिवारले ३० करोड रुपैयाँको लगानीमा सुरु गरेको एग्रो मनाङ स्याउ फार्मको प्रधानमन्त्री केपी शर्मा ओलीले असोज २५ गते उद्घाटन गरेका थिए।

स्याउ फार्म पर्यटकका लागि थप आकर्षण बनेको छ । अन्नपुर्ण पदमार्गमा रहेको बगैंचा थकाई लागेका बेला विश्राम गर्ने थलो बनेको छ । हामीले पनि स्याउबारीमा पसेर छानीछानी स्याउ खायौं।  

जोखिम सडक
बेसिशहर देखि चामे सम्म पुग्ने सडको लम्बाई ६८ किलोमिटर छ । साँघुरो सडक र जोखिमपुर्ण यात्रा भएकाले त्यहाँ पुग्न घन्टौं लाग्छ। पहरा कपेर सडक बनाएकाले यात्रा आफंैमा डरलाग्दो छ । बाढी पहिरोको कारण सडक जोखिमपूर्ण छ।

थुपैठाउँमा सडक बढाउने ठाउँ छैन । माथिल्लो मस्र्याङदी जलविद्युत आयोजना निर्माण गरिरहेका चिनियाँ कम्पनीले तालगाउँ सम्मको सडक फराकिलो बनाउने काम गरिरहेको छ । भत्किएको बाटो बनाउन समेत चिनियाँको डोजरले काम गरिरहेको देखियो । असोज पहिलो हप्ता आएको बाढीले दर्जनौ ठाउँमा सडक भत्काएपछि अब बाटो आउँदैन भनेर मनाङबासीले आश मरेका थिए । तर विकासप्रेमी सांसद पोल्देन छोपाङ गुरुङको अथक प्रयास र लगानीले १० दिनमै बाटो खुलेको चर्चा मनाङमा छ । साँसद पोल्देन काठमाडौंको ठमेलमा रहेको होटल बेचेर जनताको सेवा र स्याउ खेति गर्न मनाङ फर्केका हुन् । उनका बुबा पेमाछिरिङ पंचायतकालमा ३ पटक सांसद भएका थिए।

‘बुबाले देखेको सपना पुरा गर्दैछु’, उनले भने । विकासको मुल आधार सडक रहेछ । सडक पुगेपछि मनाङमा विकासको अनुभुति गर्न थालिएको छ । सांसद गुरुङको भनाइमा अबको १० बर्षमा मनाङको अबस्था अर्कै हुनेछ।

यात्राका दुई किस्सा
असोज २३ गते दिउँसो १ बजे गोंगबुबाट बस चढ्दा भोक लागे जस्तो भएको थियो । थानकोट कटेपछि गाडी रोकिन्छ र खाउँला भन्ने लाग्यो । तर कलंकीको जाम र दसैंकोे भिडभाडले ढिलो भयो । गाडी थानकोट कटेपछि टेकराज थामीले भोक लागेको संकेत गरे र गुरुजीलाई उपयुक्त ठाउँमा रोक्न अनुरोध गरे । तर, गाडी रोकिएन । अगाडी बढिरह्यो । धादिङको गल्छीबजार कटेपछि थामीजीलाई भोक लागेको तालमा रिसको पारो छुटेछ । गुरुजीलाई गाली गर्नुभयो । गुरुजी पनि के कम ! नेपाली सेनाको निवृत्त रहेछन् । मुखले होइन, व्यबहारले जवाफ दिए । गाडीको स्पिड एक्कासी बढ्यो । सवै यात्रु त्रिशुलीमा  खसिने डरले थर्कमान । जब गाडी रोकियो तब थामीले भने, ‘बेकारमा गाली गरिएछ । भोक नै हराउने गरी गाडी कुदायो।’  

अर्को किस्सा–डुम्रेबजार कटेपछि पोउदार बजारबाट विजुली प्राविधिक हुँ भन्ने कृष्णप्रसाद घिमिरे गाडीमा चढे । अगाडीको सिटमा बसेका उनी सेन्तेरेमले जिऊ थाम्न झण्डै नसक्ने अवस्थामा थिए । गाडीमा चढ्नेवित्तिकै उनले गुनासो गरिहाले । केपी ओलीको सरकारले कर बढाएर दुःख पाइयो । नजिकैको सिटमा बसेकी नेकपाकी नेतृ शान्तमाया नेपालीलाई चित्त बुझेन कि कसो, मुखबाट शब्दको पर्रा छुटाइन् । रक्सी खानेलाई अझै कर पुगेको छैन । ती घिमिरे पनि के कम, मेरो सम्पत्ति खाए के भयो र भन्दै विवाद गर्न थालिहाले । होटलमा मायाले दिएर खाएको हो भनेर स्वाङ पनि पारे।

तत्कालै मैले विवाद साम्य पार्ने जुक्ति तत्काल निकालें । ती विजुली प्राविधिकलाई उल्याउने र मजाक गर्ने । मैले भनें–विजुलीका प्राविधिकले रक्सी खाएर पो विजुली झ्याप्प झ्याप्प जाने रहेछ होइन । भट्टीवालीलाई जिस्काउनलाई रहेछ।

यति भनेपछि घिमिरे सजग भए । उनले भने, ‘त्यस्तो होइन।’

गाडीका सबैले भने–हो । यस्तै हाँसी मजाक कुरा गर्दा घिमिरेले आफु ओर्लने ठाउँ विर्सेछन् । रानीकुवा ओर्लनु पर्ने उनी करीब ४ किलोमिटर माथि सेराबजार पुगेको पत्तै पाएनन् । ओर्लेपछि भन्दै थिए–गफ गर्नेले झर्ने ठाउँ देखाउनु पर्दैन?

प्रकाशित: १७ कार्तिक २०७५ ०३:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App