१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

मैले नजन्माएका सन्तान

आरोन लङ

कस्तो अनौठो ! मेरी छोरी एलिस १२ वर्षकी नहुञ्जेल उसलाई जन्माउने आमा जेसिका, जसलाई म प्रेमपूर्वक जेस भन्न थालेँ, उसलाई मैले फेला पारेको थिइनँ । कुरा बुझ्नु भएन ? खुलस्त पार्न भनेरै यो लेखिरहेको छु।

त के भयो भने, करिब २५ वर्षअघि भर्खरै विदेशमा अंग्रेजी भाषा शिक्षकको काम सकेर घर फर्किएको थिएँ । कुनै नयाँ काम पाएको थिइनँ र म आमाको घरमा बास बसिरहेको थिएँ । अब के गर्ने भन्ने कुनै निधो नभएकाले मैले ट्याक्सी गुडाउन थालेँ । एक दिन मैले अखबारमा विज्ञापन देखेँ । त्यसमा १८ देखि ३५ वर्ष उमेरका स्वस्थ मानिसबाट वीर्य दानको अपेक्षा गरिएको थियो।

हुन त त्यहाँ मैले ‘दान’का बारेमा पढेको थिएँ तर खासमा त्यो दान थिएन । वीर्यलाई एउटा भाँडोमा राखेर दिएपछि मैले ४० डलर पाउँथेँ । अब यसलाई दान कसरी भनूँ, पक्कै पनि वीर्य बेचेँ भन्नुपर्ला । यो सन् १९९४ ताकाको कुरा थियो।

मैले एक वर्षसम्म साताको दुई दिन नियमित रुपमा वीर्य दान गरेँ । खासमा त्यो बेला म ‘लङ डिस्टेन्स’ रिलेसनमा थिएँ । जसका कारण मैले वीर्य दान गर्नु पनि उचितै मानेँ । मैले एक दिन आमालाई वीर्य दान गरिरहेको सुनाउँदा आमा झर्कनु भयो । उहाँले भन्नुभयो, ‘अब मैले नातिनातिनाको मुख पनि अर्कैका गर्भबाट हेर्नु ? मलाई बुहारी चाहियो र नातिनातिना पनि !’

मसँग त्यसको जवाफ थिएन किनभने मेरो वीर्य कहाँ पुग्यो, त्यसबाट को–को जन्मिए, ती कस्ता भए आदि कुरा थाहा पाउने कुनै प्रविधि थिएन न त त्यो जानकारी लिन पाइने अनुमति नै मलाई दिइएको थियो । मेरो काम त वीर्य दान गर्नु र बिर्सनु मात्र थियो।

हिजोआज वीर्य क्रेताले वीर्य दाताका बारेमा धेरै सूचना एकत्र गर्ने गर्छन् । जस्तो कुन कलेज पढेको, कस्ता विषयमा चाख राख्छ, परिवारको स्वास्थ्य कस्तो छ आदि । मैले मेरो सूचना त्यति धेरै दिएको थिइनँ तर जसले मेरो वीर्य छनोट गरेकी थिइन्, जेसिका र उनका पार्टनरले त्यो बेला म एउटा लेखक र सङ्गीतकार भएकोमा खुसी मानेका थिए। 

एक वर्षसम्म मैले लगातार वीर्य दान गरेपछि यो दान गर्न पनि दिक्क लाग्न थाल्यो । त्यसैले म अन्तै व्यस्त रहन थालेँ । यसपछि त वर्षौंसम्म मलाई यसबारे कुनै जानकारी भएन । यो वीर्य दान भन्ने कुरा अस्तित्वमा छ भन्ने कुरा पनि बिर्सिएँ । वीर्य दान गरेकै बेला मैले आफूबारे भविष्यका सन्तानले थाहा नपाऊन् भनी हस्ताक्षर गरेको थिएँ, तसर्थ मेरो वीर्यबाट उत्पादन भएका सन्तानले मेरो सोधीखोजी गर्लान् र म पत्ता लागूँला भन्ने पनि कल्पेको थिइनँ।

कहिलेकाहीँ साथीहरुले ठट्टा गर्थे, अचानक तेरा सन्तान अघिल्तिर आए भने तँ के गर्छस् ? म के गर्छु, मलाई नै थाहा थिएन । तसर्थ मैले ती कुरालाई ध्यानै दिन्न थिएँ । यसपछि इन्टरनेटको जमाना आयो।

सन् २००० को सुरुवाती समयमा वीर्य दान गरेकाहरुका बारेमा इन्टेरनेटमा सोधीखोजी गरेँ तर त्यो बेला मैले खासै जानकारी पाउन सकिनँ । अहिले सम्झँदा यस्तो लाग्छ, मैले धेरै समयअघि यसबारे खोजबिन गरेँ क्यार ! किनभने मेरा सन्तानले इन्टरनेटमा आफ्ना बायोलजिकल बाउको खोजी सन् २०१० पछि मात्र गर्न थालेका थिए । सायद उनीहरु किशोरकिशोरी भइसकेपछि मात्र आफ्नो बाउको बारेमा चासो जागेको हुनसक्छ।

केही थान वर्षअघि मैले २३एन्डमी वेबसाइटको विज्ञापन देखेँ । त्यसमा वीर्यको नमुना पठाएर त्यसबाट विस्तृत जानकारी लिन सकिने बताइएको थियो । वीर्यमार्फत गरिने डिएनए परीक्षणले आफ्ना पुर्खा र भविष्यका बारेमा समेत जानकारी लिन सकिने विज्ञापनमा थियो । यो परीक्षण गर्न कसोकसो म हौसिएँ। 

मैले जसै परीक्षण गराएँ, अचानक मेरो एउटा छोरो भएको पत्तो पाएँ । उसको नाम ब्राइस रहेछ । उसको पूरा नाम अलि अप्ठेरो किसिमको थियो । तसर्थ मैले गुगल गरी हेरेँ । सामान्य र सबैको जस्तो नाम र थर भयो भने नाम र थर जुधेर हैरान भइन्छ र मान्छे पत्ता लगाउन कठिन हुन पुग्छ । अनि आफ्नो सन्तान कुन हो भनेर गम्दागम्दा हैरान भइन्छ । ब्राइसको मामिलामा त्यस्तो भएन । गुगल गर्दा उसको जुन तस्बिर देखियो, त्यसबाट म पक्का भएँ, ऊ मेरै वीर्यको प्रतिफल हो । उसले कलेजमा भूगोल लिएर पढिरहेको रहेछ । उसलाई देखेपछि मेरो पितृत्व ह्वात्तै बढेर आयो तर पनि उसलाई सम्पर्क गरुँ कि नगरुँ भइरह्यो । एक सातासम्म म आफैँसँग जुझिरहेँ । अन्ततः मैले उसलाई इमेल गर्ने विचार गरेँ।

‘प्रिय ब्राइस,’ मैले लेखेँ, ‘मैले भर्खरै २३ एन्डमीका बारेमा थाहा पाएँ र त्यसमा सामेल भएँ । उदेक लागेर आयो किनभने तिमीलाई मेरो ‘छोरा’का रुपमा सूचीकृत पाएँ । यसपछि म पक्का भएँ, तिम्रो बायोलजिकल पिता म नै हुँ । आशा छ, मेरो अस्तित्वलाई लिएर तिमी छक्क पर्ने छैनौ । तिमी मसँग सम्पर्क गर्न चाहन्छौ भने म यतैकतै छु भन्ने जानकारी दिन यो इमेल पठाएको हुँ।’

यसपछि मैले आफ्नो बारेमा छोटो जानकारी लेखेँ, एक किसिमको जीवनी । म को हुँ, के हुँ, के गर्दैछु, कसरी यत्तिका लामो समय यापन गरिरहेको थिएँ आदि।

इमेल पठाएको केही मिनेट पनि भएको थिएन, ब्राइसले जवाफ पठाइहाल्यो । उसले लेख्यो, ‘ड्याड, यत्ति चाँडो तपाईंलाई फेला पारुँला भन्ने कल्पना पनि गरेको थिइनँ । वास्तवमा म तपाईं कहिले इमेल गर्नु होला भनेर कुरिरहेको थिएँ । २३ एन्डमीमा सामेल हुनुको मूल कारण नै तपाईंसँग भेट होला भन्ने आशाले थियो । तर तपाईंलाई त्यहाँ सूचीकृत नपाउँदा मलाई तपाईंसँग रिस उठेर आएको थियो । यसरी म जन्मिएको रहेछु भन्ने थाहा पाउँदा सुरुमा दिक्क लागेको थियो तर आज तपाईंसँग यसरी कुरा गर्न पाउँदा मलाई खुसी लागेको छ । तपाईंलाई थाहा छ कि छैन, तपाईंका अरु ६ जना सन्तान पनि छन् । म उनीहरुसँग सम्पर्कमा छु । अहिले म २० वर्षको भएँ र यतिबेला लङ आइल्यान्डमा बस्ने गरेको छु र न्युयोर्कमा पढिरहेको छु।’

सुरुमै मलाई उसले ‘ड्याड’ सम्बोधन गरेको देख्दा अलिकति अप्ठेरो पनि लाग्यो । उसले मसँगबाट केही ‘पिताजीपन’को अपेक्षा पनि गरेको हुँदो हो भन्ने लाग्यो । अचानक ऊ मेरो घरको ढोका ढक्ढक्याउन आइपुग्यो भने ? तर त्यस्तो कहिल्यै भएन । ऊ मलाई पत्ता लगाउन सकेकोमा नै ढुक्क भएको थियो । ऊ खुसी थियो, मेरो अस्तित्व रहेकोमा ! लाग्यो, ओहो संसार कति साहसी भइसकेछ ! तर हामी भने ‘टर्मिनोलजि’मै संघर्ष गरिरहेका छौँ । मलाई ब्राइसका अर्को कुराले पनि छक्क पार्याे । मेरा ६ जना सन्तान रहेछन् ! उफ् !!

त्यसो त मैले दान गरेको वीर्यबाट कम्तीमा पनि ६७ सन्तान जन्मिनु पर्ने हो, धन्न ६ जना मात्र जन्मेछन् ! एक किसिमले म थोरै सन्तान जन्मिएकोमा ढुक्क पनि भएँ । यसपछि ब्राइसकै सम्पर्कले म १९ वर्षीया छोरी मेडलिनको सम्पर्कमा पुगेँ । उसको फेसबुक पेज हेर्दा मेरो अचानकको पितृत्व जागेर आयो र सोचेँ, ‘मेरी छोरीले अलि लामो लुगा लगाइदिएकी भए हुन्थ्यो !’

हुन त म आफ्नो ‘वीर्य सन्तान’का प्रति बढी नै आग्रही भएको हुँदो हुँ तर मेरा सबै सन्तान आफूजस्तै आकर्षक पाएँ । यसपछि मैले मेरा सबै भूतपूर्व प्रेमिकालाई तिनका तस्बिर देखाउन थालेँ, फेसबुकमा । उनीहरुसँग बिहे नभए पनि तिनले ममार्फत यत्तिका आकर्षक सन्तान जन्माउनबाट वञ्चित रहे भनेर सेखी झार्ने उद्देश्य पनि हुँदो हो तर प्राथमिक उद्देश्य चाहिँ मेरा सन्तान र तिनका सन्तानबीच वैवाहिक सम्बन्ध नहोस् भनेर सचेतना फैलाउने मुख्य उद्देश्य थियो । नत्र त मेरा सन्तानले बिहेको भोजमा बोलाउँदा कतै मेरा गर्लफ्रेन्डलाई सम्धिनीभन्दा अनुहार रातोपिरो नहोस्!

केही महिनापछि २३ एन्डमीमा मेरो डिएनएसँग मिल्ने अर्को नाम सूचीमा झुल्कियो । यो थिई, ११ वर्षीया एलिस । उसकी आमाको नाम जेसिका थियो र जेसिकाले मेरो नाममा एउटा सूचना छाडेकी थिइन् । सूचनाअनुसार, जेसिका र उनको जोडी मिलेर मेरो वीर्यबाट एलिसलाई जन्माउने निधो गरेका थिए । दुई वर्षअघि उनीहरुबीच छुटानाम भयो ।
जेसिका लेस्बियन थिइन् तर पुरुष पनि मन पराउँथिन् । जुन बेला लेस्बियन थिइन्, उनकी जोडीले पनि मेरै वीर्यबाट अर्को सन्तान जन्माएकी रहिछन् । उनी आफ्नो सन्तान लिएर छुट्टिएपछि जेसिका एक्लिएकी रहिछन् । यो जानकारीपछि जेसिका र म अनलाइनमा कुराकानी गर्न थाल्यौँ।

मलाई मेरो वीर्य कसरी प्रयोग भयो, उनले कसरी गर्भधारण गरिन् भन्ने प्राविधिक कुरामा औधि रुचि थियो । जसका कारण मैले उनलाई कयौँ दिनसम्म विविध प्रश्न सोधिरहेँ, उनले पनि झर्को नमानी उत्तर दिइरहिन् । मैले त वीर्य दान गर्नु मात्र थियो तर त्यसपछि उनले जसरी र जुन विधि अनि धैर्यबाट सन्तान जन्माइन्, त्यसको बयान भुक्तभोगीसँगैबाट सुन्दा मलाई उद्वेलित बनाउँथ्यो।

उनी लेस्बियन थिइन् तर उनले आफूलाई लेस्बियनका रुपमा चिनाएकी थिइनन् । उनले केटाहरुसँग डेटिङ पनि गरिरहेकी थिइन् । एक ताका त उनले मेरै नाउँको (आरोन डेभिड) एउटा केटासँग डेटिङमा गएकोसमेत भन्न भ्याएकी थिइन्।

यसपछिका केही महिना मैले मेरा सूचीकृत सन्तानसँग आफ्ना बारेमा जानकारी र लिन थालेको थिएँ । ब्राइससँगको मेरो दोस्ती केही अप्ठेरो थियो किनभने टिनएजर छोरासँग कसरी व्यवहार गर्ने भन्ने मलाई पत्तो थिएन । उसले धेरै कुरा सिकायो । छोरीहरु मेडी र एलिससँग पनि मेरो राम्रो दोस्ताना सम्बन्ध रह्यो।

तर एलिसका बारेमा म चकित थिएँ किनभने उसले आफ्नो बायोमा जे लेखेकी थिई, त्यो ११ वर्षे बालिकाको धारणा होला भन्ने कल्पेको समेत रहेनछु । उसले आमाका बारेमा लेखेकी थिई– लेख या मर ! अर्थात् आफ्ना बारे हरेक दिन डायरीमा केही लेखिएन भने उसकी आमाले उसलाई मज्जैले हपार्ने रहिछ ! मनपर्ने रङमा उसको धारणाः ‘कालो रङ मन पर्छ, यो मेरो आत्माजस्तै कालो छ !’ मनपर्ने बिदाको दिनः हलोविन किनभने यसमा क्यान्डी (चकलेट) र हत्याको मिश्रण गज्जबको हुन्छ । मनपर्ने फिल्मः अल्फ्रेड हिच्ककका सबै फिल्म । ‘खासमा भन्ने हो भने,’ एलिसले लेखेकी थिई, ‘मलाई यही उमेरमा टिनएजरको भूत चढेको छ ।’ उफ्, यो कुनै ११ वर्षीया बालिकाको धारणा!

एक दिन गर्मीको छुट्टीका अवधिमा ब्राइस र मेडीसँग मिलेर सियाटलमा बिदा मनाउने प्रस्ताव राखेँ । केही साताको यो बिदामा एलिस र जेस पनि आऊन् र केही घण्टा बिताऊँ भन्ने मेरो इच्छा थियो । मैले बिहे नगरी जन्माएका यी तीन सन्तानसँगको भेटलाई म यादगार बनाउन चाहन्थेँ । तसर्थ मैले गज्जबको पार्टी दिने विचार गरेँ।

मैले मेरा सन्तान मात्र होइन, मलाई नजिकबाट चिन्ने केही आफन्त र साथीभाइलाई पनि निम्तो दिएँ– मिट माइ किड्स पार्टी ! फेसबुके त्यो निम्तोमा मैले ब्राइस, मेडी र एलिसको तस्बिर पनि टाँसिदिएँ । यसले मेरो सर्कलमा जुन भुइँचालो निम्त्यायो, त्यसको मूल्य निकै चर्को थियो।

यसलाई जेनेटिकको कमाल भन्नुस्, मलाई भाग्यमानी ठान्नुस् या वातावरणको शक्ति भन्नुस्, मेरा सन्तानले मलाई हेर्नेबित्तिकै मन पराए र उनीहरुलाई पनि मैले रुचाएँ । उनीहरुमा ‘मजस्तै’ एक किसिमको प्रभामण्डल पाएँ । ब्राइस केही लजालु किसिमको पाएँ तर एउटा सामान्य टिनएजरकै जुन जेनरेसन जेडको छ, उनीहरुमा पाइने एक किसिमको जुनून पाएँ । एलिस अझै बच्चै थिई र म पनि हुर्किसकेको तर बच्चाको गुण बोकेको मानिस थिएँ । तसर्थ, ऊसँगको दोस्ती पनि जम्यो । मेडी चाहिँ मेरै हास्यचेत बोकेकी केटी थिई । उसको र मेरो कुरा मिलिहाल्यो।

पार्टीमा हामीले रमाइलो गर्याैं, हाजिरीजवाफ खेल्यौँ, नाच्यौँ, गायौँ । सबै जना भगवान्मा विश्वास नगर्ने नै रहेछन्, ठ्याक्कै मैजस्तो । उनीहरु पनि मैजस्तो सिरानीलाई काखीमा च्यापेर निदाउनेमध्येकै परेछन् ! हाम्रो बानीबेहोरा कति मिलेको!

यही पार्टीको दिन मैले जेसलाई पहिलोपटक भेटेको थिएँ र भेट्नेबित्तिकै हामीले लामो समयसम्म अँगालो बाँधिइरह्यौँ । ऊ मेरी छोरीकी आमा थिई, म भावुक भएको थिएँ र पहिलोपटक भेट भएका व्यक्तिसँग यति असहज लाग्ने किसिमको अँगालो मराइ अनौठो नै थियो । जेसले भनिन्, ‘तिमीमा छोरीका केही गुण छन्, यसले मलाई तिमीसँग किनकिन आत्मीय बोध भयो !’ जेस मसँग सहज महसुस भएकोमा म अझ बढी सहज महसुस गर्न थालेँ।

जेस र म क्रोमोजोमले जोडिएका थियौँ । एक किसिमको एरेन्ज म्यारिज थियो त्यो । सायद यही कारणले हुनसक्छ, जेस र मेरो सम्बन्ध दरिलो भएको महसुस गरेँ । यो बिदाको अवधिभरि जेस र म अचानक र प्राकृतिक रुपमा झैँ ब्राइस, मेडी र एलिसको ‘मम–ड्याड’को भूमिका निभाउन थाल्यौँ । एउटा परिवारमा हुने हाँसिमजाक र ठट्टाको माहोल तयार भयो । कतिसम्म भने ब्राइस र मेडीलाई मैले धूमपान नगर्न सल्लाहसमेत दिने भइसकेको थिएँ । अमेरिकी संस्कृतिमा ‘ह्वाटएभर’ र ‘तँलाई के मतलब’ भन्ने जमानामा मेरा सन्तान मलाई चुपचाप सुनिरहेका थिए र यस्तो पाउँदा मलाई बडो आनन्द लागिरहेको थियो।

हेर्दाहेर्दै गर्मीयामको बिदा सकियो । यतिञ्जेलसम्म म जेसको बानी परिसकेको थिएँ । हामी टिपिकल बाउआमा हुन थालेकोमा एलिसले झर्को मान्न थालिसकेकी थिई । २३ एन्डमीलाई सामान्यतः कुनै डेटिङ साइट मानिँदैन तर त्यसमार्फत जेससँग म जोडिएकोमा मैले आफूलाई भाग्यमानी ठानेँ । यो प्रविधिले मलाई झस्का दियो, प्रविधिले एउटा परिवार कसरी जोड्दोरहेछ ! एउटा असल सम्बन्ध पनि सम्भव रहेछ!

मलाई अझै पनि लागिरहन्छ, मेरा ‘दुःख’का सन्तान अझै कति होलान् ! ती कहिले वेबसाइटमा झुल्केलान् र मलाई बाबा भनी सम्बोधन गर्लान् ! (अहिलेसम्म १० जना सन्तानसँग परिचित भइसकेको छु र तिनका आमालाई नभेट्ने योजनामा दृढ छु ।)

म अमेरिकाको वेस्ट कोस्टमा बस्छु र यो ठाउँ मेडीलाई कति मनपर्याे भने हिजोआज हामीसँगै बसिरहेकी हुन्छे । कहिलेकाहीँ म यहाँको राम्रो कुरा सुनाएर ब्राइसलाई पुनः फर्काउन लोभ्याइरहेको हुन्छु।

हाम्रो प्रेमिल जीवनमा सूचनाप्रविधि र साइफाई जोडिएको छ । सूचना प्रविधिले निम्त्याउने अनेक खराब कुराहरुका सन्दर्भ यतिबेला मलाई कति सन्दर्भहीन लागिरहेको छ भने त्यतातिर जानै मन छैन । जेस र म दिनभरि काम गर्छौं र हामी एकअर्कासँग समय बिताउन हुरुक्क हुन्छौँ । यस किसिमको ‘पितापन’लाई मेरा सन्तानले पक्कै पनि नराम्रो मान्ने छैनन्।

(द न्युयोर्क टाइम्समा प्रकाशित आलेखको अनुवाद । आरोन लङ पेसाले लेखक र सङ्गीतकार हुन् । उनी अमेरिकाको सियाटलमा बस्छन् ।)
                         अनुवादः अच्युत कोइराला

प्रकाशित: ७ कार्तिक २०७५ ०९:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App