जुम्ला । चन्दननाथ नगरपालिकाका मेयर कान्तिका सेजुवाल हिन्दूधर्मावलम्बीको ठूलो पर्व दसैंलाई भेटघाट गर्ने साझा चौतारी सम्झिन्छिन् । पछिल्लो समयमा दशैंलाई धेरै खर्चिलो र धन प्रदर्शन गर्ने थलोका रुपमा लिएकोमा निकै दुःख पोख्छिन् । २०४२ सालमा आफन्तजन जमघट हुदा दुई दिनसम्म पनि टीका लगाउने पालो कुरेर बस्नु परेको अनुभव उनको छ । उनले भनिन् ‘पछिल्लो समयमा धनीको उत्साह, गरिबको दशा बनेर दसैं आउने गरेको छ, यो पर्वमा गहना प्रदर्शन गर्ने र सम्पत्ति देखाउने गरिएकोले निकै भड्किलो देखिन्छ। ’
२०२८ साल असार १ मा जन्मिएकी सेजुवालको माइतीघर जुम्ला र मुगुमा छन् । दशैंमा सबै परिवारको जमघट हुँदा निकै खुसी लाग्छ, उनले भनिन्, ‘घरमा मिठो–मसिनो सबै बसेर खान पाइन्छ, यो नै दशैंको लक्ष होला ।’ बाल्यकालदेखि नै दसैं आएको पत्तो हुन्थेन तर दसैंमा खसी काट्ने, रमाइलो गर्ने, मिठा परिकार खानेभन्दा पनि सबैसँग भेटघाट हुनेमा ठूलो आशा हुन्थ्यो । टीका, फुलपाती लगाउने रहर पनि हुँदैन, दसैं मेरा लागि खुसी र दुःखको विषय कहिल्यै बनेन, उनले थपिन्।
सेजुवालले विवाह गरेको ३० वर्ष पुग्यो तर २०७९ सालमा पति मानव सेजुवालको हातबाट टीका थापेको नै पहिलो थियो । पति सेजुवाल नेपाली कांग्रेसका जिल्ला सभापति थिए । उनको काठमाडाैंदेखि जुम्ला आउँदै गर्दा २०७० फागुन ४ गते नेपाल एयरलाइन्सको दुर्घटनामा परि ज्यान गयो । उनले भन्नि, ‘अहिलेसम्मको दशैंमा त्यो दसैं निकै स्मरणीय बन्यो, त्यो म बाचुञ्जेलसम्म विर्सने छैन ।’ दशैं–तिहार पतिको राजनीति र सामाजिक सेवाका लागि मनाउने गर्थिन् । दशैंमा सबै व्यवस्थापन गर्ने जिम्मा मेरो हुन्थ्यो, घर भित्र र बाहिरको सबै जिम्मेवारी निभाउथेँ, सबैलाई खुसी पार्थेँ,। नजिकैका छिमेकीका दीनदुखीलाई आर्थिक र खानपिनमा सहयोग गथैँ,’ उनले भनिन्, ‘त्यो भाव अहिले पनि कायमै छ।’
पछिल्लो समयमा मेरा लागि दसैं हर्षभन्दा पनि पीडा बनेको छ । दसैं–तिहारमा एक्लै खानपिन गर्ने, सुख सयलमा बन्ने आदत नहुँदा साथी संगीहरुसँग गएर समय व्यतित गर्छिन् । सानैदेखि सामाजिक कार्यमा अग्रसर सेजुवाल दसैं खर्चिलोभन्दा पनि सस्तो हुनुपर्ने बताउँछिन् । फाल्तु समयमा हरेक दिन फरक–फरक पोशाकमा देखिने सेजुवाल दशैं–तिहार, तीजमा भने सामान्य पोशाकमै देखिन्छिन्,’ उनले भनिन्, ‘दसैंलाई संयमित र सबैको पर्वका रुपमा स्थापित गर्न सामान्य बन्दा नै उपयुक्त हुने देखिन्छ । चाडपर्वमा सबै झिलीमिली गर्छन्, गर गहना प्रदर्शन गर्छन्, तर ममा त्यस्तो भावना कहिल्यै आएन।
दशैंमा खर्च जुटाउन खेत बेच्नुपर्ने, चुलोमा आगो बाल्न पनि धेरै संघर्ष गरेको देख्दा दशैैं वाहियात लाग्छ । हामी सोचमा गरिब छौँ, स्रोत साधनको अभाव छैन, उनले भनिन्, ‘दशैंमा सेतो चामल र आयातीत दालको महत्व बढेकोले निकै महँगो हुँदै गएको छ । सदियौंदेखिको बडा दशैँ हो तर पछिल्लो समयमा विकृति र विसंगतिको पोको बनेको आभाष भइरहेको छ।
टाढा गएका आफन्तसँग भेटघाट हुने भएकोले दसैं चाड ठूलो लाग्छ, उनले अनुभव सुनाइन्, एकपल्ट पति बिएससी काठमाडाैं पढ्दै थिए, दशैंमा आउँछन् भन्ने ठूलो आशामा बसेकी थिएँ । सानैदेखि सत्य बोल्ने, मिलनसार, नेतृत्व गर्न सक्ने र विवाद नगर्ने भएकोले अहिले जनप्रतिनिधिका रुपमा पहिचान बनाएकी छु । उनले २०४६ सालदेखि शिक्षण पेशा अँगालेकोमा २०६५ देखि ७१ सम्म जुम्लाको पहिलो महिला प्रधानाध्यापकका रुपमा विद्यालय चलाइन् । उनले दशैंलाई सबैको पर्व हो भन्ने तरिकाबाट मनाउन आग्रह गरिन् । उनले स्वभावैले परिवार आश्चर्यमा पर्थेँ र भन्ने गर्थे परिवारमै फरक स्वभाव भएकोले समाजको नेतृत्व गर्न सक्छे।
सहज बन्दै कर्णालीको दसैं
दस वर्षअघि खाद्य संस्थानमा ५ केजी चामल लिन आउँदा लाइन बस्नु पीडा चन्दननाथ–८ की हिमाली सुनारले अहिले सम्म बिर्सन सकेकी छैनन् । नेता, ठूला बडाको नजिक हुने, आफन्तलाई मात्रै सरकारी सुविधा पाइन्थ्यो, गरिबलाई वञ्चित गराइन्थ्यो । पहिलेको अवस्था सम्झँदै बिहानै खाद्य संस्थानमा चामल लिन पुगेकी उनले सहजै रुपमा ३० केजी चामल पाइन् । उनले भनिन्, ‘अब दुःखका दिन सकिँदै गएका रहेछन्।’
उनले भनिन्, ‘दशैंका लागि चामलको जोहो गर्न खाद्य संस्थानमा पुगेकी थिएँ, जतिबेला पनि पाइँदोरहेछ, । पहिलेजस्तो दुःख र झन्झट झेल्नु पर्दोरहेनछ ।’ तिहारका लागि एक महिना अघि लाइन लाग्दा समेत पाँच केजी चामल पाइन्थ्यो, त्यही सम्झेर आएकी हुँ, अब दसैं अघि अर्को एकपटक चामल लिन आउँछु ।’ दशैंमा अक्षता गर्ने चामल लिनकै लागि सिडियो, दलका नेताको गुलामी गर्नु पथ्र्यो । पहुँच नहुनेले सेतो चामलको गेडा देख्नै मुस्किल पथ्र्यो । निमुखा विपन्नको घरमा दशैंको बेला पनि नुनसँगै सुख्खा रोटी खाएर गुजारा चल्थ्यो । दशैं भनेको त उतिबेला गरिबका लागि दशा बनेर आउँथ्यो, उनले भनिन्, ‘सेतो चामल प्रयोग गर्नेले उच्च ओहोदाको भएको गर्व गर्थे, विपन्न वर्गको नागरिकलाई धाक लगाउँथे, मार्सी चामलको वास्ता हुन्थेन। ’
यस्तै पटमारा गाविस वाता गाउँकी शिवा महताराले मकवानपुरे मसिनो चामल १ हजार ३ सय ४० मा खरिद गरेर सहजैरूपमा लिइन् । दशैंमा प्रयोग गर्नका लागि चामलको जोहो गर्न थालेको उनले बताइन् । असोज कात्तिक कामको चटारोले सदरमुकाम खलंगा आएर चामल लिने फुर्सद मिल्दैन, उनले भनिन्, दशैंका लागि अहिलेदेखि जुगाड गर्दैछु ।’ ५ केजीका लागि दलका नेता, ठूला कर्मचारी र सिडिओ एलडिओको शरणमा जानु पर्ने अवस्थाको अन्त्य भएछ, उनले भनिन्, ‘कर्णालीवासीको दसैं सस्तिँदै गएकोमा खुसी छौं ।’ दशैंमा चामल पाउन हप्तादिन अगाडि नेताको घर र सिडियो अफिसमा जानु पर्दोरहेनछ, यसैमा हामी गरिब सन्तुष्टी छाैं, उनले थपिन्, । पाँच केजी चामल लिनकै लागि तीन चारजना एकै घरका लाइनमा बस्नु परेको अनुभव छ उनको । अहिले पैसा घरमा भए चामल कति कति ? २०६४ पछिको दशैंमा चामल लगायतको दैनिक उपभोग्य वस्तु खरिदमा खासै समस्या नहुने गरेको बताउँछिन् । हरेक सामान गाउँमै पाउँछ रुपैयाँ मात्रै हुनु पर्याे उनले भनिन्, ‘चामल जतिकति।
चन्दननाथ २ की विष्णुमाया महताराले विगतमा लाइनमा बस्नु परेको, रातिदेखि नै घरदेखि हिँड्नु परेको र पहँुचवालालाई भित्रैबाट बोलाएर चामल वितरण गरेको र आफूहरु निरीह भएर हेरिराखेको भुल्न सकेकी छैनन् । तर खाद्य संस्थानको कार्यालयमा आएपछि केही बदलिएको भेट्टाइन र प्रतिप्रश्न गरिन्, ‘हाकिम साव यस्तो दिन कहिलेदेखि आयो ?’ विष्णुलाई अहिले पनि चामल सस्तो सुलभ मूल्यमा भनेकै समयमा पाउनेमा ढुक्कता थिएन । उनले सहजै रुपमा चामल पाएपछि बल्ल गरिबको दिन आएको अनुभव गरिन्,’ उनले भन्नि, ‘यो दशैंमा संस्थानको चामल नुन सहजै लिइन्छ, खाइन्छ।’
हिमाली, शिवा र विष्णु मात्रै नभई दुर्गम गाउँका अधिकांशलाई अहिले पनि संस्थानको चामल पाउनु फलामकै चिउरा चपाउनु जस्तो लाग्छ । तर कर्णाली सडक सञ्चालन भएसँगै चामललगायत तेल, दाल, चिनीलगायतको दैनिक उपभोग्य वस्तु सस्तो सुलभ मूल्यमा पाइन थालेको छ । अहिले घरदेखि एक दुई घण्टा हिँड्नेबित्तिकै टुक्रे बजार भेटिहाल्छन, त्यहाँ जस्तो सुकै उपभोग्य वस्तु पाइन्छ।
यो समयमा यहाँको खाद्य संस्थानको गोदाम रित्तिसकेको अवस्थामा हुन्थ्यो, पछिल्ला केही वर्ष चामल स्टक छ, नुन सहजै रुपमा पाइन्छ । चामल आउने क्रम जारी रहेकोले गोदाम खाली नहुने संस्थानले जनाउँछ । खाली हुनासाथ टेन्डर गरिएको चामल आउँछ । अहिले चामलका लागि दिनरात बिताउनुपर्ने र कसैको सिफारिस ल्याउनै पर्ने अवस्था छैन । यस्तै नुन तेल, चिनीलगायतको दैनिक उपभोग्य सामग्री किन्न दैलेख जिल्लाको चुप्रामा पुग्नु पथ्र्यो । भँेडा र खच्चर लिएर सुर्खेत पुग्नु पथ्र्यो । तर, अहिले सबै थोक गाउँका पसलमै पाउन थालेपछि वर्षमा आउने ठूला चाडबाडमा असर पर्ने गरेको छैन।
अहिले कर्णाली सडकले छोएका मुगु, डोल्पा र कालिकोट जिल्लामा दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति भइरहेको छ । दसैंमा टीका लगाउने चामल नपाउँदा सापटी माग्नुपरेको स्थानीय उपभोक्ताले बिर्सेका छैनन् । राजनीतिक दलको सिफारिस लिएर आएकाले जति बेला पनि चामल पाउने र पहुँचविहीन सर्वसाधारणले घण्टाैंसम्म लाइन लाग्दासमेत चामल, नुन नपाउने अवस्था सकिएर जतिखेर जस्तो उपभोक्ता गए पनि पाउने भएको हो । अहिले सदरमुकाम कालिकोटको मान्म, मुगुको गमगडी र जुम्लाको खलंगामा रोजीछानी उपभोग्य वस्तु खरिद गर्नुपरेको छ । सडकले छोएपछि सस्तो र रमाइलो पूर्ण दसैं स्थानीयले मनाउँदै आएका छन् । दसैं नजिकिँदै गर्दा चामल र दैनिक उपभोग्य वस्तुको जोहो गर्न थाल्ने यहाँका जनता अहिले आफ्नो काममै व्यस्त छन् । जतिखेर पनि जस्तोसुकै सामग्री पाउन थालेकोमा ढुक्क छन्।
अहिले यहाँका जनताको दसैं सहज बन्नुका साथै चामल र नुनमा सीमित यहाँको राजनीति बदलिएको छ । दलका नेताको, गाविस सचिवको र प्रशासन कार्यालयको सिफारिसलाई महत्व दिने चलन नामेट भइसकेको छ । पहिले सेवाग्राहीको मागअनुसारको उपभोग्य सामान पाइँदैनथ्यो तर अहिले उपभोक्तालाई बोलाएर बिक्री गर्नु परेको छ । हुम्ला र डोल्पामा सामान्यरुपमा खाद्यान्न अभाव हुने भए पनि खच्चरको माध्यमबाट सहजै आपूर्ति हुँदै आएको छ । सडक जोडिएपछि दैनिक उपभोग्य सामान किन्न सुर्खेत नेपालगञ्जका शहरमा पुग्नुपर्ने हुम्ला र डोल्पालीवासीको बाध्यता हटेको छ । जुम्लाको खलंगा र कालिकोट, मुगु जिल्लाबाटै ढुवानी हुन्छ।
सार्वजनिक बिदाको दिनबाहेक सबै दिन कार्यालय समयमा जतिबेला पनि चामल बिक्री गरिन्छ । चामल बाँड्नकै लागि राजनीतिक दलले एक प्रतिनिधि खटाउने, कर्मचारीले प्रशासनलाई गुहार माग्ने र भनेजतिको चामल लिने परम्परा थियो । जिल्लाको अहिलेको कोटा ८ हजार क्वीन्टल हो । डिपो धापामा १ हजार ५ सय क्वीन्टल र जुम्लाकोट डिपोमा दुई हजार क्वीन्टल चामल आउँछ । ग्रामीण भेगका मान्छेले चामल लिनकै लागि संस्थानमै आउनुपर्ने बाध्यता हटेको छ।
बजारभन्दा सस्तो मूल्यमा संस्थानमा चामल पाउने भएपछि खुसीका साथ फर्कन्छन् । कर्णाली राजमार्गमा यातायातका साधन गुड्न सुरु गरेपछि यहाँका मानिसले राजनीतिक दलको चाकरी गरेर नुन चामल लिनु परेको छैन । नत्र पहिले आ–आफ्नो नेताको घर दैलोमा चामल र नुन माग्दै जान्थे । अहिले कर्णालीका खाद्य गोदाम भरिएका छन् । कर्णालीको बजारमा दैनिक उपभोग्य सामान फालाफाल छ । सडकले दशैंलाई सहज बनाउदै लगेको छ । यो समयमा चामल संकटका साथै आफन्तसँगसँगै बस्ने सपनासमेत हराउँथ्यो । तर अहिले स्थल मार्गबाटै दशैमा सहजै रुपमा जिल्लावाहिर गएका आफन्त आउँछन्।
अहिले दिनहुँ २० भन्दा बढी मालवाहक गाडी दैनिक उपभोग्य तथा व्यापारिक सामान ल्याएर आउजाउ गर्छन् । यहाँका व्यापारीले महँगोमा हवाई मार्गबाट खाद्य सामग्री ल्याउनु परेको छैन । जसका कारणले सस्तोमै उपभोग्य वस्तु बेच्दै आएका छन्।
लिङ्गो फेरेर घटस्थापना गर्ने चलन
कर्णालीकै धरोहरका रूपमा स्थापित चन्दननाथ र बटुक भैरवनाथको लिङ्गो खडा गरी विधिपूर्वक घटस्थापना गरिन्छ । चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो र ५२ हातको ध्वजा र नेजा लगाएर घटस्थापना गर्ने चलन छ । बर्सेनि घटस्थापनाको दिनमा पुरानो लिङ्गो निकालेर नयाँ लिङ्गो खडा गर्ने प्रचलन छ । एक वर्षमा ५२ हप्ता हुने भएकोले चन्दननाथ मन्दिरमा ५२ हातको लिङ्गो खडा गर्ने प्रचलन रहेको स्थानीय जानकार रमानन्द आचार्यले जानकारी दिए ।
उनका अनुसार भैरवनाथ मन्दिरमा ४८ हातको लिङ्गो र ४८ हातकै ध्वजा र नेजा राखिन्छ । चन्दननाथ र भैरवनाथ मन्दिरमा थपिने दुईवटा लिङ्गो ४२ देखि ४५ हातसम्मका हुन्छन् । मन्दिरमा विजय स्तम्भसहित दुईवटा लिङ्गो ठड्याइने परम्पराअनुसार घटस्थापनाकै दिन लिङ्गो खडा गरिएको उनको भनाइ छ । नेपाली सेना, नेपाल प्रहरी, निजामती कर्मचारी र सर्वसाधारणको सहभागितामा लिङ्गो ठड्याइन्छ । लिङ्गो ठड्याइसकेपछि मात्र कर्णालीमा घटस्थापना गरिन्छ।
घर–घरमा जमरा राखिन्छ । बिहान ७ बजेपछि पुरानो लिङ्गो ढाल्ने र नयाँ लिङ्गो ठड्याइने काम सुरु हुन्छ । जसलाई स्थानीय भाषामा लिङ्गो खडा गर्ने भनिन्छ । यस दिन नवदुर्गामध्ये शैलपुत्रीको पूजा आराधना गरिन्छ । घटस्थापनाकै दिन जुम्लावासीले नयाँ अन्न अर्थात् नुवागी खाने गर्छन् । परम्परागत प्रचलनअनुसार धान पनि आजकै दिनदेखि काट्न सुरु गरिन्छ । विश्वकै अग्लो स्थानमा फल्ने मार्सीधानको उत्पादन गरेको भन्दै चन्दननाथ मन्दिरमा चढाएपछि घरका परिवारका सबै सदस्य एकै ठाउँमा जम्मा भएर न्वागी खाने प्रचलन रहेको स्थानीय चित्रलाल श्रेष्ठको भनाइ छ।
प्रकाशित: २ कार्तिक २०७५ ०९:१५ शुक्रबार