१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

चाडपर्व कसरी मनाउने ?

एल पि भानु शर्मा 
प्राध्यापक पोखरा विश्वविद्यालय एवं जीवन विकास विशेषज्ञ

मैले अघिल्लो अंकमा चाडपर्वको वैज्ञानिकताबारे व्याख्या गरेको थिएँ । हाम्रा चाडपर्वहरु परेको महिना ऋतु कसरी वैज्ञानिक तवरबाट सही छ भन्नेबारे हाम्रा ऋषिहरुको धारणालाई व्याख्या गरेको थिएँ । मैले यस लेखमा हिजोआज हामीले जसरी चाडपर्व मनाइरहेका छाैं त्यसरी नै मनाउने कि केही परिवर्तन गर्न जरुरी छ । अर्थात् भनौँ हामीले कसरी चाडपर्व मनाउँदा वैज्ञानिक रुपमा बनाइएका चाडपर्वको सही सदुपयोग गर्न सक्छाैं भन्नेबारे चर्चा गर्नेछु। 

चाडपर्व र हाम्रो जीवनशैली 
हाम्रा चाडपर्व र हाम्रो जीवनशैलीको प्रत्यक्ष सम्बन्ध जोडिएको हुन्छ । हामीले चाडबाडहरु जसरी मनाउँछौँ उसैगरी हाम्रो जीवन चलेको हुन्छ । चाडबाडको बेला हामीले जे गर्छाैँ बाँकी जीवनमा हामीले त्यही गर्छाै । त्यसकारण ऋषिहरुले चाडबाडमा उपासनाका विधिहरु बनाएका हुन्। 

अहिले हामीले ती विधिहरु बिर्सँदै गएका छाैं । चाडबाडको बेला भनेको फुर्सदको समय हो । फुर्सद भएको बेला हामी जे काम गर्छौ, व्यस्त भएको बेलामा त्यसैको ब्याज खाइरहेका हुन्छाैं । त्यसकारण हामीले सदा सजग गरेर हेर्नुपर्ने हुन्छ । हामी धेरैै फुर्सदको समयमा के गर्छाै ? जीवन उपयोगी कुरा गर्छाैं कि गर्दैनौँ ? हामीले आफ्नो स्वास्थ्यको, आफ्नो मनको, आफ्नो हृदयको, आफ्नो चेतनाको रक्षा गर्ने काम गर्छाैं, आफ्नो चेतानाको रक्षा गर्ने काम गर्छाै कि भएको स्वास्थ्यलाई बिगार्ने, आफ्नो बनेको सुन्दर मन बिगार्ने, हृदय बिगार्ने, आफ्नो चेतनाको प्रवाहलाई रोक्ने काम गर्छाैँ ? 

हामीले चाडबाडलाई सानोतिनो रूपमा लिनु हुँदैन । चाडबाडको बेला हामी जे गर्छाैं बाँकी रहेको समयमा पनि हामी त्यही गरिरहेका हुन्छाैं अथवा हामी त्यो काम गर्न अभिषप्त बन्छौँ । त्यसकारणले चाडबाड कसरी मनाउने भनेर सोच विचार र चिन्तन गर्नुपर्ने हुन्छ । चाडबाडका केही महत्वपूर्ण पक्षहरु छन् यसका सांस्कृतिक, धार्मिक तथा मनोवैज्ञानिक आध्यात्मिक पक्षहरु रहेका हुन्छन्। 

पर्वका विभिन्न पक्ष
प्रायः मैले आफ्नो लेखमा भन्ने गरेको छु । संस्कृति नै त्यस देशको मूल आधार हो । त्यहाँको रहनसहन चालचलन त्यहाँको संस्कृतिले प्रत्यक्ष प्रभाव परेको हुन्छ । चाडबाडको बेलामा आफ्ना मान्छेहरुसँगको मिलनको आनन्द छुट्टै हुन्छ । हरेक चाडपर्वको केही व्रत, केही उपासना, केही विधिहरु तोकिएका छन् । यी विधिहरुले हामीलाई अनुशासनमा ल्याउँछन्।

सांस्कृतिक पक्षसँगै धार्मिक पक्ष पनि रहेको हुन्छ । आध्यात्मिक पक्ष पनि रहेको हुन्छ । हामीले यिनै विधिहरु प्रयोग गर्दै आफ्नो स्वास्थ्य, मन तथा चेतनाको विकासमा ध्यान दिन जरुरी छ। 

स्वास्थ्यमा ध्यान दिऊँ 
हामीले चाडपर्वको समयमा हाम्रो स्वास्थ्यको राम्रोसँग निर्माण गर्ने हो । हाम्रो भोजनको शैलीले खानाको गुणस्तर तथा परिकारले हाम्रो स्वास्थ्य निर्धारण गर्छ । हिजोआज चाडपर्वको खान्की स्वास्थ्य निर्माण गर्नेभन्दा पनि बिगार्ने प्रकारको रहेको छ। 

नेपालका अस्पतालको आँकडा हेर्याैं भने दुईवटा चाडपर्वपछि सबैभन्दा धेरै बिरामी अस्पताल गएका हुन्छन् । एउटा हो दसैं र अर्काे हो फागुपूर्णिमा । सबैभन्दा धेरै बिरामी त्यो बेला हुन्छन् । इमर्जेन्सी वार्डहरु भरिन्छन् । मान्छे अस्तव्यस्त भएर खान्छ, राक्षसी प्रवृत्तिले देखाउँछ । मान्छे सृष्टिले बनाउन खोजेको देवता हो तर खानपिन यसरी गर्छ कि राक्षसी पाराले । हामीले चाडबाडको बेला हाम्रो स्वास्थ्य स्वस्थ बनाउनुपर्नेमा उल्टै रोग कमाउँछौं। 

हामीले के खाँदा स्वास्थ्यलाई फाइदा हुन्छ र के खाँदा हानि हुन्छ भन्ने कुरामा ध्यान नदिँदा पेटका रोगी बढेको बढ्यै छन् । चाडपर्वको बेला मदिराको अत्यधिक सेवनले लड्ने, झगडा गर्ने, हिंसा गर्ने, घटनाहरु त्यत्तिकै बढेका हुन्छन् । धेरै आपराधिक घटनाहरु पनि बढेका हुन्छन् । हामीले हाम्रा चाडपर्वलाई अपराधको कारखाना बनाएका छौँ।

अपराध दुई प्रकारका हुन्छन् । एउटा आफैंमाथि गरिएको अर्काे अरूमाथि गरिएको अपराध । अरूमाथि गरिएको अपराधका लागि त प्रहरी छ, अदालत छ उनीहरुले रोक्छन् । तर आफैँमाथि गरेको अपराध कसरी रोक्ने ?

आफूले खाएको खानेकुरा पच्छ कि पच्दैन, के खाइरहेको छु, कस्तो खाइरहेको छु यसले शरीरमा पारेको प्रभावबारे जानकार छाैं कि छैनौँ । अरुमाथि गरिएको अपराधलाई त कानुनले बन्देज लगाउँछ तर आफूमाथि गरिएको अपराधको बारेमा त कानुनले भन्दैन । आफूभित्रको विवेकबाहेक त्यहाँ कोही पनि छैन । न कानुन छ, न संविधान, न प्रहरी, न अदालत, न केही छ, न कोही छ, कोही पनि छैन। 

हामी आफू अल्छी गरेर सुतिरहन्छौँ व्यायाम, योगाभ्यास गर्दैनाैं । चाडबाडको समयको राम्रोसँग उपयोग गरिन्न । चाडपर्वको बेला स्वास्थ्य कमाउने र वर्षभरि खर्च गर्ने हो । हामीले अरु बेला कमाएको धन दसैं जस्ता चाडपर्वमा खर्च गर्छाैँ । स्वास्थ्य भने हामीले यो बेला कमाएर अरुबेला खर्च गर्नुपर्छ। 

हामीले नजानेर आफ्नो स्वास्थ्यलाई छरपस्ट बनाउँछाैं । यसो गर्नु हाम्रो हितकर हुँदैन । त्यसकारण चाडबाडको बेलामा हामीले स्वास्थ्य कमाउनेतर्फ ध्यान दिनुपर्छ । आफ्नो जुन नियमित तालिका हुन्छ । योग, प्राणायाम तथा ध्यानको चाडबाडको बेला हामीले समय बढाउन सक्छाैं । माहोल पनि त्यस्तै हुन्छ । शरद ऋतु सकिँदै गरेको हुन्छ । मौसम उस्तै राम्रो हुन्छ । यो बेलामा हामीले आफ्नो शरीरलाई ठीक नबनाए कहिले बनाउने ?

सुन्दर मनको विकास गरौँ 
दोस्रो हामीले मनलाई सुन्दर बनाउनुपर्छ । चाडबाडको बेला धेरै बिदा पनि हुन्छ । अधिकांशले त्यो बिदाको समय जाँड, रक्सी तथा मासु खाएर बिताउँछन् । तर त्यसो नभई हामीको मूल काम भनेको स्वास्थ्यमा ध्यान दिने हो । स्वस्थ शरीरको निर्माण गर्ने हो । अध्ययन गर्ने, अनुसन्धान गर्ने, मन लागेका पुस्तकहरु पढ्ने बेला हो । त्यस समयमा राम्रा राम्रा काम गरेर सुन्दर मनको विकास गर्नुपर्छ। 

नयाँ हृदयको निर्माण
तेस्रो सांस्कृतिक पक्ष भनेको नयाँ हृदयको निर्माण गर्ने बेला हो । चाडपर्वमा परिवारका सबैजना भेला हुन्छन् । त्यो बेलामा परिवारसँग हुनुको आनन्दको मज्जा बेग्लै हुन्छ । त्यो एक्लै हुनेले जानेको हुँदैन । आफूले मन पराउने र आफूलाई मन पराउने मान्छेको बीचमा रहन पाउनु ठूलो कुरा हो । त्यो स्वर्गीय आनन्द हो । त्यो आनन्द लिने माहोलको निर्माण नै चाडबाडले गरेको हुन्छ। 

त्यो आनन्दको माहोल निर्माण गर्दैगर्दा यदि कोही स्वस्थ छैन, मदिरालगायतका कुलतजन्य पदार्थको सेवन गरेर बसेको छ भने घरमा अशान्ति हुन्छ । परिवारसँगै बस्नुको आन्नद हराउँछ । त्यहाँ अरु सबैजनामा होस हराएको हुन्छ। प्रेममा अत्यन्तै कमी आउँछ। 

आफन्तसँगको प्रेमको कमाइ यही बेला हुन्छ । केही महत्वपूर्ण निर्णय लिने बेला यस्तै चाडपर्वहरु हुन् । सबै जना सँगै बसेर के गर्ने कसो गर्ने भनेर निर्णय लिने बेला हो । परिवारका लागि अद्भूत बेला हो । सुविचारित समय हो । सबैजना जम्मा हुँदाको मज्जा बेग्लै हुन आउँछ । हरेक व्यक्तिले सामूहिक निर्णय लिने बेला हो यतिखेर।

चेतनाको विकास
चेतनाको विकास अध्ययन अनुसन्धानबाट हैन ध्यानबाट आउँछ । यो बेलामा धेरै ध्यान गर्नुपर्छ । यो समय भनेको हृदयमा आनन्द भर्ने बेला हो । परिश्रमबाट विश्राम लिएको समय हुन्छ । प्रकृतिले फुर्तिलो बनाएको छ । आफन्तसँग हुनु, स्वअध्यायको समय हो यतिबेला । देवी देवताको आराधना गरिएको हुन्छ । यस्तो अवसरमा ईश्वर साधनामा लगाउने गर्नुपर्छ । यो बेला भनेको ऊर्जा उठेको बेला हो । उठेको ऊर्जालाई ध्यानमा रुपान्तरित गर्नुुपर्छ। 

मांसाहार भोजन ठीक छ ?
खानेपिउने बिलकुलै आफ्नो निर्णय हो । पहिलो कुरा के हो भने सुपाच्य कुरा खाउँ । अपाच्य नखाऊ, शरीरमाथि ज्यादती नगरौँ । हामीले प्रेमको माहोलमा अरुलाई हत्या गरेर खुसी भइन्छ कि भइँदैन, आफैँलाई सोधौँ। 

हत्या आध्यात्मिक व्यक्तिलाई असम्भव कुरा हो । साधारण व्यक्तिलाई पनि थाहा हुन्छ कि आफूलाई चिमोटे दुख्छ भने त्यो बाख्रालाई पनि दुख्छ । हामी आफूलाई कसैले माया गरेको खुसी लाग्छ भने अरु प्राणीलाई पनि खुसी लाग्छ होला भन्ने सोच्नु पर्छ। 

संवेदना नभएको मान्छे हुँदैन । सकिन्छ भने मांसाहार बन्द गरेको राम्रो । यो बेला भनेको कुलतलाई त्याग्ने समय हो । कुलतकै कारण हामी अशान्त छौँ । शान्त हुन स्वस्थ मन चाहिन्छ । स्वस्थ मन हुन स्वस्थ खाना चाहिन्छ । मांसाहार, मदिराले स्वच्छ मनको विकास गर्न दिँदैन । मदिराको सेवन गरेको बखत होस रहँदैन । आफूमाथि कहिलेकाहीँ कठोर हुनुपर्छ । एक उज्ज्वल भविष्यका लागि कठोर बन्न सक्नुपर्छ । हामी अरुमाथि कठोर हुन्छाैं । आफूमाथि क्षमादान गरिरहेका हुन्छाैं । तर, अरुलाई हामी क्षमा गर्दैनौँ । १० वर्ष रोइलो बोकेर हिँड्छाैं । 

बुद्धिमान त्यो हो जो आफूमाथि कठोर हुन्छ र अरुलाई क्षमादान गर्छ । बुद्धिहीन त्यो हो जो अरुमाथि कठोर भई आफूलाई क्षमादान गर्छ । हामीले सङ्कल्प गरौँ, विवेक र चेतनाको सदुपयोग गरौँ । अन्त्यमा सबैलाई दसैं तिहार छठको हार्दिक मंगलमय शुभकामना। 
                                       प्रजु पन्तसँगको कुराकानीमा आधारित

प्रकाशित: २ कार्तिक २०७५ ०४:१५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App