४ वैशाख २०८१ मंगलबार
अन्य

‘मानिसकै कारण उपत्यका बिग्रियो’

ज्योत्सना श्रेष्ठ, व्यवसायी

तपाईंको विचारमा सहर के हो ?
सहर आफ्नो देशको पहिचान भएको ठाउँ हो । सहरले जे देखाउँछ त्यो त्यस देशको मुख्य कुरा रहेछ भन्ने हुन्छ । त्यस हिसाबमा सहर देशको गहना हो । सहरमा त्यस देशको संस्कृति र विकास झल्किएको हुन्छ । तर, हाम्रो देश विकासको गतिमा निकै पछाडि छ।

घुमेकामध्ये मनपरेको सहर कुन हो ?
स्वीजरल्याण्ड निकै मनपर्यो । त्यहाँका सहर हराभरा र सफा छन् । पुराना कुरालाई मौलिक रूपमै राखिएको छ । भित्री सहर पनि उत्तिकै रमणीय छन्, चारैतिर सफा छ । सहरमा देखिने हरेक कुरा नयाँ लाग्छन् । घुम्ने क्रममै स्पेनका सहर ज्यादै मनपर्यो । त्यहाँका सहर पनि ज्यादै उदाहरणीय छन् । हामीले विदेशी मुलुकबाट सिक्नै सकेनौं। 

नेपाल बाहिर कुन–कुन देशका सहर घुम्नुभएको छ ?
एसिया, युरोप र सार्क मूलुकका धेरैजसो सहर घुमेकी छु । हाम्रै छिमेकी मुलुकका सहर निकै व्यवस्थित र विकसित छन् । भारतकै कुरा गर्ने हो भने पनि त्यहाँ सबैखाले सुविधा छन् । सहर हामीभन्दा निकै अगाडि छ । तर, हामी राजनीतिमै अड्कियौं।

विदेशी मुलुक र हामी केमा फरक रहेछौं ?
विदेशी देश विकासका हिसाबमा हामीभन्दा धेरै अघि छन् । उनीहरुलाई हामीले उछिन्न सक्दैनौं । तर, हामी संस्कृतिमा धनि छौं । यहाँको भौगोलिक सुन्दरता अरु देशमा छैन । लेक, हिमाल र वन हाम्रा अमूल्य सम्पत्ति हुन् । यी  सबै कुरा हेरेर नेपाल सबैभन्दा अग्र स्थानमा छ । प्रकृतिले नेपाललाई अथाह सम्पत्ति दिएको छ । विदेशी सहर बनावटी शैलीका छन्।

सहर विकास गर्दैगर्दा हामी कहाँनिर चुक्यौं ?
हाम्रोमा राजनीतिक स्थिरता भएन । यसमा हामी धेरै अल्झयौं । नेताहरुले पनि विकासको यथेष्ट खाका कोर्न सकेनन् । जसका कारण सहर झन् झन् बिग्रदै गएको छ । विकासका योजना ल्याउने तर, तिनलाई मुर्त रुप दिन ध्यान नदिँदा हाम्रो देशका सम्भावना बोकेका ठाउँको विकास भएन । सहर जताततै भद्रगोल मात्रै भयो। 

तपाई कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म शान्त र सफा सहरको परिकल्पना गर्छु । हाम्रो देशमा प्लेनबाट झर्दाखेरी यहाँको शितलता महसुस हुन्छ । त्यसले नेपाल संसारमै फरक स्वादको छ भन्ने कुरा काठमाडौंमा उत्रनेवित्तिकै विदेशीले पनि थाहा पाउँछन् । तर मानवीय तवरले भएका भौतिक निर्माणका काम सन्तोषजनक भएनन् । देखाउन लाज लाग्ने किसिमको छ यहाँको भौतिक निर्माण । एयरपोर्टमा पनि लाइनमा बस्नुपर्ने बाध्यता छ । अरु देशको एयरपोर्ट छिर्ने बितिकै त्यहाँको मौलिकता देखिन्छ, हाम्रोमा त्यस्तो केही छैन । त्यस्तै म प्राकृतिक सहरको परिकल्पना पनि गर्छु । सहरमा सफा, हरियाली, प्रदूषणमुक्त र सबै सेवा–सुविधायुक्त होस्। 

काठमाडौं कस्तो लाग्छ ?
मलाई काठमाडौं ठिकै लाग्छ । धेरै सम्भावना हुँदाहुँदै पनि काठमाडौं अहिले अस्तव्यस्त छ । सरकारको गैरजिम्मेवारीले काठमाडौं अस्तव्यस्त भएको हो।

काठमाडौंबाहेक मनपर्ने नेपाली सहर ?
उपत्यका बाहिरका सहरमा पोखरा मलाई मनपर्छ । पोखरालाई नेपाली मात्रै नभएर विदेशीले पनि मन पराउँछन् । पोखरा प्राकृतिक रूपमै सुन्दर छ । मलाई फेवाताल घुम्न, प्याराग्लाइडिङ गर्न र गुफा हेर्न मन पर्छ । यिनै कुराले धेरैलाई पोखराले तान्ने गरेको छ । पोखरामा घुम्ने र आनन्द लिने पर्याप्त ठाउँ छन्।

हाम्रा सहर किन अस्तव्यस्त बनेका होलान् ?
सहरमा बस्ने हामी सबैको बेवास्ताले सहर बिग्रिएको हो । नागरिकले पनि आफ्नो दायित्व नबिर्सिएको भए सहर यति अव्यवस्थित हुने थिएन । सबैले सरकारको मात्रै आलोचना गर्ने तर आफ्नो दायित्व के हो भन्ने बिर्सिएकाले सहर अस्तव्यस्त भएको हो । सहरलाई बनाउन नागरिक र सरकार दुवै जिम्मेवार हुन जरुरी छ। 

विदेशी सहरमा कस्ता सुविधा देख्नुभयो ?
विदेशका सहर धेरै नै सम्पन्न छन् । उनीहरूको दाँजोमा पुग्न हामीलाई धेरै समय लाग्छ । मैले घुमेका अधिकांश सहर आधुनिक अवधारणामा बनेका छन् । हाम्रा सहर आधुनिक ढंगले बनेका छैनन्। 

हाम्रा सहर आधुनिक बन्न सक्लान् त ? 
ऐतिहासिक पक्षलाई हेर्ने हो भने हाम्रा सहर विश्वमै नमुना हुन सक्छन् । यहाँका सहरको ऐतिहासिक पक्ष बलियो छ । विदेशका धेरै सहर मानिसले नै सिँगारेका हुन् । हामीले खानेपानी, फराकिला सडक, बिजुली, यातायात लगायत सुविधा पाएका छैनौँ । सरकारले योजना बनाएर काम नगर्दा र योजना कार्यान्वयन नहुँदा समस्या भएको हो । त्यस्तै हाम्रो मौलिकता पनि सहरमा झल्कनुपर्छ । नेपाली बजारमा स्थानीय सामान पनि पाउन सकियोस्। 

सरकारले कसरी काम गर्दा सहर व्यवस्थित होला ?
यहाँको सडक व्यवस्थित पार्ने, ट्राफिक व्यवस्थापन गर्ने, फोहर समयमै उठाउने, सरकारी सेवा–सुविधालाई चुस्त बनाउने, देशभित्रका सम्भावनाको अध्ययन गर्नेलगायत कामलाई प्राथमिकतामा राखेर अघि बढ्ने हो भने हाम्रा सहर पनि व्यवस्थित बन्छन्।

उपत्यकालाई सुधार्न के गर्नुपर्ला ?
सडक निर्माण, पार्किङ  बिजुलीका तार व्यवस्थापन, ट्राफिक जामलगायत विषय नै उपत्यकाका मुख्य समस्या हुन् । यी समस्यालाई नीतिगत तहमा बस्नेले समाधान गर्नुपर्छ। 

उपत्यकाको मनपर्ने पक्ष के हो ? 
यहाँको मौसम र ऐतिहासिक मठ–मन्दिर ज्यादै मनपर्छ । मठ–मन्दिर हाम्रा मुख्य सम्पत्ति हुन् । यसले उपत्यकालाई धार्मिक र ऐतिहासिक सहर पनि बनाएको छ। 

यहाँको मन नपर्ने पक्ष के हो ? 
धँुवाधुलो, ट्राफिक जाम, सडकका खाल्डाखुल्डी, अव्यवस्थित पार्किङ मनपर्दैन । यसलाई सुधार्न सरकारी निकायले चासो दिन जरुरी छ। 

सहरवासीको व्यवहार कस्तो लाग्छ ?
सहरवासी स्वार्थी छन् । सबैले आफ्नो पक्ष मात्रै हेर्छन् । आफू बसेको वरपर सफा गर्नुपर्छ भन्ने सोच उनीहरुमा छैन । नीति नियम र नैतिकता नै छैन । यसले हाम्रो सहरलाई अव्यवस्थित र फोहर बनाएको छ।
 

प्रकाशित: २९ आश्विन २०७५ ०६:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App