१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अन्य

हाेस् पु-याउनुहाेस् है!

हिन्दू नेपालीहरूको मुख्य चाड वडादसैं नजिकिँदै छ । काम तथा पढाइका लागि बाहिर रहेकाहरू घर फर्कने क्रम जारी छ।

चाडपर्व अन्य समयभन्दा फरक परिकार पकाइने गरिन्छ । हामीले खाने खानामा चिल्लो, मरमसला, गुलियो, नुन र पिरो अमिलोको मात्रा बढाएर भान्छा तयार गर्छौं । चाडहरूमा विशेष मानिने चाड दसैंमा त झनै बढी मात्रामा प्रयोग भएको पाइन्छ । खानाको सन्तुलन नहुँदा रोग संक्रमणको जोखिम हुने सम्भावना हुन्छ।

दसैंको बेलामा शरीरले पचाउन नसक्ने गरी खाने प्रचलन गलत रहेको पोषणविद् डा. अरूणा उप्रेती बताउँछिन् । मासुको परिकारमा रमाउनेहरूको संख्या धेरै भएकाले मासुको परिकार बनाउँदा बिशेष ध्यान दिनुपर्ने उनी बताउँछिन् । मासुलाई सामान्यतया ६ देखि ७ घन्टा फ्रिजमा राखी बनाउनुपर्ने उनको सुझाव छ । मासुमा तेल, मरमसला बढी हाले मिठो हुन्छ भन्ने सोच गलत रहेको उनले बताइन्। ‘हामीले खाने मासु खासमा अस्वस्थकर हो । तर, पनि मासु खान रुचाउनेहरूले मासुमा रहेको बोसो, अनावश्यक छाला, अन्डाको पहेला भाग निकालेर राम्रोसँग पकाएर खानुपर्छ,’ उनले भनिन् । मासुलाई दिनमा एक समय र तरकारी, फलफूल र पानी प्रशस्त खान सकियो भने स्वस्थ रहन सकिने उनी बताउँछिन्।

नेपाली समाजमा चाडवाड रमाइलोसँग मनाउनुको मतलव खानु नै हो भन्ने बुझाइ रहेको पाइन्छ । चाडवाडमा न खाए कहिले खाने ? भनेर स्वास्थ्यमा असर गर्ने खाने कुराको पनि बेमतलब गरी खाने चलन छ । चाडवाडमा रमाइलोको नाममा हामीले खाने खान्की स्वास्थ्यको हिसाबले कतिको स्वस्थकर छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने डा. उप्रेती बताउँछिन् । उनी भन्छिन्, ‘चाडवाडको समयमा हाम्रो भान्छामा पाक्ने थरीथरीका खानाका परिकारले स्वास्थ्यमा नकारात्मक असर त पारेको छैन सोच्नुपर्छ।’

बोसो बढी भएको, धेरै मरमसलाको प्रयोग गरिएको, नुन र खुर्सानीको मात्रा बढी राखी तयार गरिएको मासुको परिकार अस्वस्थकर हुने उनले बताइन् । पसलमा सामान खरिद गर्दादेखि भान्छामा पकाउँदासम्म सरसफाई, खान योग्य छ कि नाई भन्ने कुराको ध्यान दिनुपर्ने उनी बताउँछिन् । धेरै दिदी बहिनीहरू अचार भन्ने बित्तिकै हुरुक्कै हुने गर्छन् । तर, अचारको नाममा अमिलो र पिरो धेरै राखी तयार गरेको परिकारले पनि स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पार्ने उनले बताइन्।

मांसाहारीले मात्र नभएर साकाहारीले पनि दसैँमा खाइने खानेकुरामा विशेष ध्यान दिनु आवश्यक छ । साकाहारीले खाने खान्कीमध्ये दुध, दही, घ्यु, पनिरलगायत खानेकुरा खान योग्य छ कि छैन अथवा डेट एक्सपाएर भएको पो होकी राम्रोसँग हेरेर लिनुपर्ने उनी बताउँछिन् । दूध र यसबाट बनेका परिकारहरू धेरै समयसम्म राख्दा स्वस्थ्यकर नहुने भएकाले आवश्यकता अनुसार बनाउनु पर्ने उनले बताइन्।

शरीरलाई आवश्यक प्रोटिन, कार्बोहाड्रेट, मिनिरल्सलगायत सुक्ष्म पोषक तत्व आवश्यकताभन्दा बढी खाइने हुनाले फुड प्वाइजन लगायतका समस्या हुन सक्छ । सबै परिवार भेट हुने र रमाइलो गर्ने भनी प्याकिङ गरिएका जंक फुड, कोल्ड ड्रिङ्सलगायत खानेकुरा खाँदा स्वास्थ्यमा निकै असर गर्ने उनी बताउँछिन् । ‘साना नानीलाई बजारको चिसो, पेय पदार्थ ख्वाउनु भनेको सराब (रक्सी) खुवाउनुजस्तै हो, बच्चाको शरीरलाई सराबले जस्तै असर गर्छ,’ उनले भनिन् । बजारमा पाइने कोल्ड ड्रिङ्समा चिनीको मात्रा अत्याधिक हुने भएकाले बच्चालाई छिट्टै असर गर्ने उनले बताइन् । उनी भन्छिन्, ‘मुटु दिवसमा अवसरमा प्रस्तुत गरेको तथ्यांक अनुसार नेपालमा उच्च रक्तचाप, मधुमेह, मुटु रोग, किड्नीमा हुने समस्याका बिरामी बढेको देखाएको थियो । यसको एक कारण हो– बच्चालाई सानैदेखि कोल्ड डिङ्स खुवाउनु।’

विशेष चाडपर्वमा खाइने परिकारको चिल्लो पदार्थले रगतमा कोलेस्टोर मात्रा बढाउनुको साथै मुटु र रक्तनली सम्बन्धी रोग लाग्ने र रक्त नलीहरूमा बोसो जम्ने जस्ता समस्याहरू आउन सक्ने उनी बताउँछिन् । हामीले चाडपर्वमा प्रयोग गरिने मिठाइका परिकार किन्दा पनि विशेष ध्यान दिन आवश्यक छ । बाहिरबाट ल्याइने खानेकुराका परिकारमा सचेतना अपनाउनु निकै आवश्यक रहेको उनले बताइने । दसैँको नाममा हामीले खाने खानाका परिकारले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्ने सम्भावना धेरै हुने भएकाले विशेष ख्याल गर्नुपर्ने उनी बताउँछिन् । गाउँघरमा उपलब्ध हुने हरियो सागपात, मौसम अनुसारको फलफूल, घरमा बनाउन सकिने सर्वत लगायतका खानेकुरा स्वास्थ्यको लागि निकै लाभदायी हुन्छ।

अत्याधिक मदिराको प्रयोग हानीकारक
चाडवाडमा रमाइलो गर्ने नाममा मदिराको अत्याधिक प्रयोग गर्ने प्रचलन बढेको छ । स्वस्थ व्यक्तिले मदिराको प्रयोग गर्नु हानीकारक हुने डा. उप्रेती बताउँछिन् । नेपाली समाजमा मदिरालाई कोसेली पातको रूपमा समेत मदिरा लैजाने प्रचलन अझै रहेको पाइन्छ । ‘शारीरिक अवस्थाको बारेमा ख्याल नगरी मदिरा प्रयोग गर्नु आफूलाई मृत्युको मुखमा धकेल्नु हो,’ उनले भनिन् । अरुको देखासेखी र आधुनिकताको नाममा प्रयोग गरिने मदिराले मुटु, कलेजो सम्बन्धी रोग, उक्त रक्तचाप, मस्तिष्कघात लगायतका रोगको जोखिम हुने उनले सुनाइन्।

‘अत्याधिक मदिराको प्रयोगले स्वास्थ्यमा खराबी मात्र होइन सामाजिक सद्भाव पनि घटाउने घटनाहरू देखेका छौं, शारीरिक मात्र नभएर आर्थिक रूपमा नै घाटा हुन्छ,’ उनले भनिन्।

प्रकाशित: २६ आश्विन २०७५ ०४:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App