coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

दसैंमा घर फर्किनेकाे लर्काे

दसैंं नजिकिएसँगै थातथलो फर्कनेहरूको संख्या बढेको छ। असोज ६ गतेयता बिहीबार बेलुकीसम्म १६ लाख ४४ हजारले उपत्यका छाडेका छन्।

दसैंं नजिकिँदै गर्दा तुलनात्मकरूपमा काठमाडौंबाट बाहिरिने यात्रुको संख्या बढ्छ । यो संख्या दसैंको अघिल्लो दिन (कात्तिक १ गते)सम्म कायम रहनेछ । घटस्थापनाको अघिल्लो दिनसम्म उपत्यका बाहिरिनेको संख्या कम भए पनि घटस्थापनाको भोलिपल्टदेखि बढेको हो । बिहीबार करिब एक लाख ४० हजारले उपत्यका छाडेका थिए।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका इन्सपेक्टर दामोदर सिलवालका अनुसार उपत्यका बाहिरिने यात्रुहरूको सुरक्षा र यात्रालाई ध्यान दिँदै ट्राफिक प्रहरीले निगरानी बढाएको छ । करिब ११ सय ट्राफिक ठाउँ–ठाउँमा परिचालित छन् । महाशाखाले बसपार्क र यात्रुको चाप हुने ठाउँमा हेल्पडेक्स, किनमेल हुने ठाउँमा निगरानी, माइकिङलगायत थालेको छ । ‘घटस्थापनादेखि उपत्यका बाहिरिनेको संख्या हवात्तै बढेको छ, मुख्य सडकमा निकै चाप बढेको छ,’ इन्सपेक्टर सिलवालले भने, ‘प्रहरीले यात्रुहरूलाई दिनसक्ने सबैखाले सुविधा दिएको छ, ढुक्कले घर फर्किए हुन्छ ।’ उनले यात्रुहरू बाहिरने संख्या फूलपातीबाट झनै बढ्ने बताए।

यातायात व्यवस्था विभागका प्रवक्ता गोकर्ण उपाध्यायले विभागले बसपार्क र  टिकट काउन्टरहरूमा निगरानी राखेको जानकारी दिए । उनले यात्रुहरूबाट धेरै गुनासो आउन थालेपछि बुधबारबाट विभागका कर्मचारी उपत्यकाका काउन्टर र बसपार्कमा परिचालित भएको बताए । ‘केही–केही ठाउँमा यात्रुहरूलाई अपमान गरेका भेटायौं, कोहीँ टिकट नपाएर भौतारिएको पनि भेटिए, हामीले ती समस्यालाई हल गरेर यात्रुलाई सहज रूपमा गाडी चढ्न नसक्ने व्यवस्था मिलाएका छौं,’ उनले भने । उनका अनुसार बिहीबारदेखि रुट पर्मिट खुला गरिएको छ । रुट पर्मिट खुला गरेपछि टिकट नपाएकाहरूलाई सहज भएको छ । यात्रुहरूको चापलाई हेरेर यातायात व्यवसायीसँग मिलेर थप बस थप्ने तयारी पनि विभागले गरेको छ।

महाशाखाका एसपी राजकुमार लम्सालका अनुसार बुधबारदेखि दैनिक १ लाख ४० हजार भन्दा बढीले उपत्यका छाडेका छन् । यो संख्या अझै बढ्दै जानेछ । ‘सरकारी तथा निजी विद्यालय बन्द भएकाले दसैं मान्न जाने यात्रुको संख्या बढेको हो,’ उनले भने, ‘शुक्रबारदेखि उपत्यकाबाट बाहिनेको संख्या झनै बढ्छ ।’ उनका अनुसार दसैं मान्न उपत्यका बाहिरिने जस्तै उपत्यका भित्रिनेको संख्या पनि उस्तै छ । असोज ५ गतेयता १३ लाख ३४ हजार उपत्यका प्रवेश गरेका छन्।

यात्रुहरूको ओसारपसारका लागि काठमाडौंबाट दैनिक तीन हजारभन्दा बढी सार्वजनिक यातायातका साधन बाहिरिने गरेका छन् । एक लाख २४ हजारले अग्रिम टिकट बुकिङ गरेको यातायात व्यवस्था विभागले जनाएको छ । यस वर्ष डिलक्स र नयाँ एसी सहितका बस पनि थप गरिएको छ । ठूला गाडीमा आकर्षण देखिएपछि टिकट पाउन समस्या रहेको गुनासो यात्रुहरूबाट आएको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०३:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App