१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

बलात्कृत समाज

रातमा मीठो सपनासहित मीठो निद्रा सबैको चाहना हुन्छ। अनि यही मीठो निद्रापछिको बिहानी उर्वर र सफल दिनको सुरुवातका रूपमा प्रकट होस् भन्ने इच्छा पनि हरेक मानवमा हुन्छ । तर विडम्बना, अचेल यो चाहना र इच्छामाथि कुठाराघात भइरहेको छ । त्यो पनि लगातार । मेरोमात्र हैन, लाखौँ नेपालीको । जब बिहान उठ्नेबित्तिकै प्रगति र सफलताका खबर हेर्न पत्रिका उठाउँछु, ठूला ठूला अक्षरमा लेखिएका ‘बलात्कार..., हत्या...’ आदि शब्दले बिहानैदेखि तनाव सिर्जना हुन्छ । अनलाइन खोलौँ वा टेलिभिजन, सबैमा अग्रपंक्तिमा यिनै शब्द जोडिएका समाचारले मात्र ठाउँ पाउन थालेका छन् । यस्ता खबरले हामी दिनभरिकै ऊर्जा सोस्न थालेका छन्।

हाम्रो समाज रुग्ण भएको छ । रोगी भएको छ । यसको प्रमाण हो, जताततै बलात्कार नै बलात्कारको खबर देखिनु । महिला र बालिकाको रगतले लत्पतिएका शरीरका तस्बिर, नङ्ग्राले कोतरिएका शरीर, नीलडाम बसेका नाङ्गा शरीर... उफ... यस्तो लाग्छ, महिला शरीरमाथि एउटा जेहादको घोषणा भएको छ र त्यसलाई कार्यान्वयन गर्न रक्तपिपासु र यौनपिपासु खुला छाडिएका छन्।

आजसम्म हामीले छोरीलाई शिक्षा नपुगेकाले उनको शिक्षादीक्षामा जोड दिनुपर्ने आवाज उठाउँदै आयौँ । छोटो कपडा नलगाउन भन्यौँ । ठाडो मुखले कसैलाई नहेर्न भन्यौँ । ठूलाको सम्मान गर्न सिकायौँ । तर परिस्थितिले पुष्टि गर्यो कि शिक्षाको भोको त पुरुष पो रहेछन् जसले महिलामाथि कुदृष्टि लगाउँदै लगातार अपराध गरिरहेका छन् ।

आखिरमा बलात्कार कसले गर्छ ? त्यो हो को ? प्रश्नको उत्तर यस्तो छ कि जुन एउटा सभ्य समाजमा कल्पनासमेत गर्न सकिन्न । आफ्नै बाबु, सहोदर काका, आमाले घाँस काट्न जाँदा जिम्मा लगाएर गएकी हजुरबुबा, आफ्नै ठानिएको मामा, भरोसा गरेर साथ लागिएको साथी...। ओहो, सुन्दै पनि विरक्त लागेर आउँछ । आखिर किन यसरी विकृत हुँदैछ महिलामाथि हेर्ने पुरुष नजर ? के बलात्कार र हत्यामा संलग्नभित्र अलिकति पनि दया हुँदैन ? अलिकति पनि धर्म हुन्न ? अलिकति पनि पापको डर हुन्न ? समाज र परिवारप्रति दायित्व हुन्न ?

पहिलो सोच्नुपर्ने कुरा के छ भने, यस्तो संगीन अपराध किन मौलाइरहेको छ ? के हाम्रो समाजको मानसिक स्वास्थ्य रुग्ण हुँदै जान थालेको हो ? बलात्कारका घटना पछ्याउँदै जाँदा यस्तो लाग्छ, स्त्री अस्मितामाथि पुरुषत्वको रजाइँ चलिरहेको छ । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म बलात्कृत चेलीका चित्कारले देशका प्रत्येक नागरिकलाई झक्झकाइरहेको छ–– हामीलाई बाँच्न देऊ, बलात्कार नगर, छोरी हुनु नै हाम्रो पाप हो ?

सर्वसाधारणको आङ नै सिरिङ्ग पार्ने गरी भएका बलात्कारका घटना र अकालमा ज्यान गुमाएका स्त्री अस्मिताको लाशले कहिले न्याय पाउँछन् ?मैले सधैँ परिवार म्यागेजिनको यो आलेखमा समाजमा घटेका सानातिना इस्युहरुलाई उठाउँथेँ । यसपालि बलात्कृत नारीको चित्कारलाई आँखा चिम्म गर्न सकिनँ । हामी सबैले आँखा कान दुवै खोल्नुपर्ने अवस्था आएको छ । समाजमा महिलाले मात्र होइन पुरुषले पनि नैतिक शिक्षा लिनुपर्ने अवस्था आएको छ । अझ भन्ने हो भने हाम्रो यो पुरुषप्रधान समाजमा पुरुषलाई बच्चैदेखि यो गर यो नगर भन्ने शिक्षा दिनुपर्ने आवश्यकता छ । कानुनमा पनि बलात्कारका घटनालाई हत्याभन्दा पनि गम्भीर मानिनुपर्ने बेला आएको छ ।

हत्या हुँदा मानिस मर्छ, उसको पीडा उसको देहसँगै बिलाउँछ । तर बलात्कार यस्तो गम्भीर अपराध हो, जसमा दिनदिनै मानिस मर्छ, दिनदिनै पीडाले घोच्छ । उसका लागि जीवन, बाँच्ने सुन्दर बगैँचा होइन, दुसाध्य नर्क बन्न पुग्छ ।
हरेक दिन ऊ त्यस घटनालाई पुनः पुनः भोग्छ । भौतिक पीडा सहन त केही छैन, केही समयपछि त्यो पीडामा मलम लाग्छ तर मानसिक पीडाको उपचार निकै लामो र गहन हुन्छ । त्यसमाथि हाम्रोजस्तो पुरुषप्रधान समाज बलात्कृतमाथि सहानुभूति कहिल्यै राख्दैन, अझ बढी पीडा दिन्छ । यस्तो अवस्थामा कुनै बलात्कृत बालिका वा महिलाका लागि जीवन आफैँमा नर्क बन्न पुग्छ । मल्हम लगाउने मानिस निकै कम हुन्छन् ।

तसर्थ यस्तो दोहोरो पीडा दिने बलात्कारका घटनालाई हत्याभन्दा गम्भीर अपराधका रुपमा लिइनुपर्छ । कडाभन्दा कडा सजायका प्रावधान र बुँदा थप्न आवश्यक छ । यस्ता घटना घटिहाल्यो भने के पुरुष के महिला, दुवैलाई यो समाजमा बाँच्न गाह्रो हुन्छ।

आजसम्म हामीले छोरीलाई शिक्षा नपुगेकाले उनको शिक्षादीक्षामा जोड दिनुपर्ने आवाज उठाउँदै आयौँ । छोटो कपडा नलगाउन भन्यौँ । ठाडो मुखले कसैलाई नहेर्न भन्यौँ । ठूलाको सम्मान गर्न सिकायौँ । तर परिस्थितिले पुष्टि ग¥यो कि शिक्षाको भोको त पुरुष पो रहेछन् जसले महिलामाथि कुदृष्टि लगाउँदै लगातार अपराध गरिरहेका छन् । त्यसैले अब शिक्षा छोरीलाई हैन, पुरुषलाई दिनुपर्ने बेला आएको छ । महिलालाई सम्मान गर्न सिकाउनुपर्ने भएको छ । कुकृत्य गर्नेलाई हुने दण्ड सजायबारे घोकाउनुपर्ने भएको छ । अनि अहिले भइरहेका सुन्दै घिन लाग्नेखालका घटनाविरुद्ध चेतना फैलाउन जागरुक गराउनुपर्ने बेला आएको छ । र, थाहा पाएर पनि बुझ पचाएकालाई कठघरामा उभ्याउन ढिला भइसकेको छ।

त्यसो त केही संस्थाहरुले बलात्कारविरुद्ध अभियान सुरु गरेका छन् । यो अभियान आफैँमा पूर्ण छैन तर कम्तीमा यो पनि राम्रै कुरा हो । बलात्कारविरुद्ध केही नबोली चुप लाग्नु भन्दा केही न केही बोलेकै राम्रो । हरकोहीले आफ्ना ठाउँबाट मुख खोल्न जरुरी छ । यस्ता क्रियाकलाप गम्भीरभन्दा पनि गम्भीर अपराध हो भन्ने बुझाउन आवश्यक छ ।
कोही बलात्कृत हुनु कुनै एउटा पीडित बलात्कृत हुनु होइन, यो त समग्र समाज बलात्कृत हुनु हो । यो पीडा समाजले बुझ्नुपर्छ र यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न सक्रिय हुनुपर्छ । यस्ता घटनाले नारी भनेको अबला नै रहिछ भन्ने भावना अझ प्रबल बनेर उदाउनेछ र हामीले भर्खरै प्राप्त गरेका कयौँ किसिमका स्वतन्त्रता यही निहुँमा खोसिन सक्छ । चाडपर्व नजिकै आएको छ । यस्तो पावन अवसरमा सबै नेपालीको आँखामा आँसु होइन र क्षोभ होइन, खुसी हेर्न पाइयोस् । सबैलाई शुभकामना। aakriti72@gmail.com

प्रकाशित: २२ आश्विन २०७५ ०८:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App