तिमाल, काभ्रेका रत्नमान तामाङ स्यानोमा ज्यादै जिज्ञासु थिए । आकाशमा उडिरहेका हवाई जहाज देख्दा आफ्नै मनसँग सोध्थे–कसरी उड्दो हो ? कसरी चलाउँदा हुन्?
जिन्दगीको लामो कालखण्डसम्म त्यो उत्सुकता मनमै रह्यो । जिन्दगी सोचेजस्तो हुन्न । तिमाल गाउँपालिका–४ ठूलो पार्सेलमा जन्मे/हुर्केका तामाङको घरमा दुःख थियो । एसएलसी परीक्षापछि कमाउनु पर्ने बाध्यतामा पुगे।
त्यतिबेला उनको गाउँका धेरैजना पर्यटनमा थिए । त्यसैले हारगुहार गरेर उनले भरियाको काम पाए । उनको पहिलो यात्रा थियो धनकुटाको हिलेबजारबाट भोजपुरको साल्पा भञ्ज्याङ हुँदै फाप्लुसम्म । ३० दिने पदयात्रामा उनले दिनको ८० रुपैयाँका हिसाबले ज्याला पाए।
हिजो भारी बोकेर हिमालतिर पदयात्रा गर्ने रत्नमान तामाङ आज अमेरीकामा हवाई सुरक्षा सम्बन्धी काम गर्छन्।
त्यतिबेला (सन् १९९५ मा) सँगै पदयात्रामा गएका अमेरिकी मध्ये एक जोडी बुढाबुढीले उनलाई सोधे–‘तिम्रो उमेर कति वर्ष भयो ?’
१८ वर्ष–रत्नमानले जवाफ दिए।
‘तिमीले पढ्नु पर्दैन्’, बुढीआमाले सोधिन् ।
एसएलसी सकेर कलेज पढ्न पैसा जुटाउन भारी बोक्न आको हुँ–रत्नमानका कुरा सुनेर ती भावुक बनिन् । एस्, एस भनेर मुन्टो हल्लाइन् मात्र, केही बोलिनन्।
काठमाडौं फर्केपछि त्यो जोडीले उनलाई बोलायो । हातमा १५ हजार रुपैयाँ थमाउँदै भन्यो, ‘मिस्टर रत्नमान तिम्रो पढ्ने उमेर हो कलेज पढ।’
जीवनमा नसोचेकै भयो, खुशीले रत्नमानका आँखा रसाउनु स्वभाविकै थियो।
भरीया जिन्दगी चलिरह्यो । भरिया बनेरै उनले हाम्रा डाँडापाखा छिचोले । लाङटाङ, हेलम्बु, अन्नपूर्ण, सगरमाथातिर पुगे । दुई वर्षपछि शेर्पा बने । शेर्पाले भारी बोक्नु पर्दैन, पर्यटकलाई सघाउने मात्रै काम गरे पुग्छ । पछि नाथमबाट गाइड तालिम लिए, गाइड बनेपछि झनै सजिलो भयो।
‘भारी बोकेरै धेरै ठाउँ चिनें’, केही दिन अघि काठमाडौंमा भेटिएका तामाङले सुनाए, ‘मेरो पहिलो भरिया यात्रा नै जीवनको टर्निङ पोइन्ट बन्यो।’
उनलाई पहिलो यात्रामा नगद सहयोग गर्ने बुढाबुढी सम्पर्कमै थिए । तिनै दम्पत्ती फिल र लाइजाले रत्नमानलाई अमेरिका घुम्ने निम्तो दिए । उनीहरुले निम्त्याउँदा रत्नमान २४ वर्षका भैसकेका थिए।
यसबीचमा उनले धेरै विदेशी साथी कमाइसकेका थिए । सन् २००१ सेप्टेम्बरमा अमेरिकामा उडे उनी । त्यस अघि युरोप घुमेका थिए । महिना दिनका लागि भनेर अमेरिका उडेका उनको मन उतै अल्झियो । मनको अन्तर कुन्तरको त्यही सपना बौरिन थाल्यो । उनले वासिंगटनमा पाइलट बनेको सपना देख्न थाले।
ती दयालु बुढाबुढीले उनको सपनामा मलजल गरिदिए । परिणाम, रत्नमान त्यहाँ बसेर अँग्रेजी, पढ्ने, लेख्ने र बोल्ने प्रशिक्षणमा मग्न भए । अनि मात्रै हवाई कलेजमा पुगे।
उनले एभियसन साइन्स पढे, पाइलट कोर्स गरे । टेक्ससको स्काइमेट्स फ्लाई स्कुलबाट पाइलट कोर्स गरेका उनले एभियसन साइन्समा डिग्री सकेको बताए । पाइलट कोर्ससँगै टेक्निकल तालिम समेत लिए।
‘जहाज उडाउनु भन्दा टेक्निकल काममा तलब डब्बल हुने भएकाले प्राविधिक बनें,’, उनले भने, ‘हवाई जहाजको सिस्टम टेष्ट ग्राउण्डमै गरिन्छ । हवाइजहाजमा आउने इलेक्ट्रिकल तथा सिस्टमका समस्याहरु पत्ता लगाएर मर्मत गर्ने हाम्रो काम हो।’
सन् २००७ देखि यो काम गरेका । हाल उनी ड्यालास, टेक्ससमा अवस्थित ग्यामा एभियसनमा सुपरभाइजर छन् ।
उतैको नागरिक बनिसकेका रत्नमान छोरा, छोरी र श्रीमतीसँग बस्छन् । मनमा भने नेपाल धड्किरहेको सुनाउँछन् । उनलाई नेपालको हवाई सुरक्षामा योगदान दिने मन छ । युरोप तथा अमेरिकाको हवाई सुरक्षा प्रणाली बढी सुरक्षित छ । नेपालमा त्यस्तो छैन।
‘म नेपालको हवाई सुरक्षामा योगदान दिन चाहन्छु’, उनले भबिश्यको योजना सुनाए, ‘यहाँका मान्छेलाई तालिम दिन चाहन्छु । नेपाल सरकारसँग मिलेर काम गर्न चाहन्छु।’
यसरी भरियाबाट उठेर एउटा विकसित देशमा राम्रो प्राविधिक बनेर काम गर्न पुगेका रत्नमानको प्रगति पर्यटनकै जगमा संभव भएको हो । उनको सीपबाट हामीले फाइदा लिन सके त्यो ठुलो उपलब्धी हुन सक्छ।
प्रकाशित: २० आश्विन २०७५ ०६:४२ शनिबार