११ कार्तिक २०७८ बिहीबार
अन्य

कुशल आर्किटेक्ट, कुशल शब्दशिल्पी

प्रा.डा. जीवराज पोखरेल, पूर्वउपकुलपति, नास्ट

एक वर्षअघि बागबजारस्थित एक पत्रकार मित्रको अफिसमा पहिलोचोटी ‘शिक्षक–शिष्य संवाद’ किताब देखेँ । यसका लेखक रहेछन्– प्रा.डा. जीवराज पोखरेल । नामै गज्जब छ, कस्तो होला किताब ? खुल्दुली जाग्यो । सरसर्ती पल्टाएँ । वार्णिक छन्दमा लेखिएको यस महाकाव्यले तान्यो मलाई।

नेपाली  वास्तुकलाका विभिन्न आयाममा आधारित भएर यस्ता महाकाव्य शायदै लेखिएका होलान् । प्राविधिक विषयवस्तुलाई सुन्दर, सुललित र कलात्मक ढंगले काव्यमा अभिव्यक्त गर्ने पोखरेलको शैली गज्जब लाग्यो । उनको परिचयात्मक विवरण पढेँ–ओहो ! यसअघि नै उनको ‘पाटनको कृष्णमन्दिर’ (वास्तुकलात्मक गीतिकाव्य) छापिइसकेको रहेछ । ‘विज्ञानको विद्यार्थी, अनुसन्धाता, प्राज्ञिक व्यक्तित्व अनि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को उपकुलपति भइसकेका पोखरेलको साहित्यिक कलम सबल छ,’ मेरो यस्तो मूल्यांकन रह्यो।

वास्तुकला (आर्किटेक्टर) इन्जिनियरिङमा विज्ञ भए पनि उनले परम्परामा आधारित विपद् न्युनीकरण प्रविधिमा पनि काम गर्दै आएका छन् । भनिन्छ–प्राकृतिक विज्ञान, इन्जिनियरिङ र चिकित्साशास्त्र अलि रुखो विषय हो । यी विषय पढ्ने विद्यार्थी आफ्नो विषयवस्तुप्रति बढ्तै एकोहोरो हुन्छन् । तर, यसमा पोखरेल अपवाद देखिएका छन् । उनले वास्तुकला, विपद्लाई काव्यमा टपक्कै टिपेर नेपाली साहित्यलाई सुन्दर सिर्जना उपहार दिएका छन् । विपद्मा केन्द्रित उनको ‘मैना बुलबुल’ महाकाव्यलाई सन्दर्भ पाठ्यसामग्रीको रूपमा समेत लिन सकिन्छ । सानैदेखि लेखनमा सक्रिय पोखरेल साहित्यलाई समाज परिवर्तनको प्रभावशाली हतियारको रूपमा स्वीकार गर्छन् । ‘मलाई कविता, लेख/निबन्धमा बढी रुचि छ, मेरो सिर्जना प्राविधिक विषयवस्तुकै वरिपरि घुम्छ,’ उनी भन्छन्।

प्राविधिक साहित्य–सर्जक पोखरेलले सन् १९९८ मा लुम्बिनीस्थित मायादेवी मन्दिरको डिजाइन तयार पारेका हुन् । वास्तुकला र विपद्का विषयवस्तु समेटेर उनले सुन्दर महाकाव्य सिर्जना गरेका छन् ।

शान्त र शालीन व्यक्तित्वका धनी पोखरेल मिठो बोल्छन् । उनको ‘सेन्स अफ ह्युमर’ राम्रो छ, जसका कारण उनीसँग बसेर कुराकानी गर्दा कहिल्यै दिक्दारी महसुस हुँदैन । नास्टमा उपकुलपति भएर काम गर्दाको अनुभव, चुनौती र उनको आफ्नै कर्मशील तथा सिर्जनशील जीवनबारे कुराकानी गर्नु थियो।

ऊर्जाशील व्यक्तित्व देख्नेबित्तिकै मैले जिज्ञासा राखेँ, ‘सर, कति वर्ष पुग्नुभो?

‘त्यस्तै ३२–३३ वर्ष पुगे हुला।’

‘त्यति मात्र कहाँ हुनु र, सर?’

‘३२ र ३३ जोड्दा जति हुन्छ, त्यति नै भएँ हुला’ उनले दिएको जवाफले एकछिन माहोल हाँसोमय बन्यो । उनी ठ्याक्कै ६५ वर्ष टेकेछन्।  

.....                 .....                  .....                     .....
२०१० सालमा खोटाङको खार्पामा जन्मिएका पोखरेलले बाल्यकालको केही समय त्यहीँ बिताए । जागिरे बुवा खगराज पोखरेलको काठमाडौंमा सरुवा भएपछि उनले पद्मोदय हाईस्कुलबाट कक्षा ८ सम्मको पढाइ पूरा गरे । त्यसपछि परिवारसँगै उनी २०२१ सालमा मधेस गए । बाँकी स्कुलको पढाइ त्यहीँ पूरा गरे।

नेपालमा आईएस्सी उत्तीर्ण गरेपछि छात्रवृत्तिमा थप अध्ययनका लागि उनी बाहिर गए । भारतबाट आर्किटेक्चरमा स्नातक उत्तीर्ण गरेपछि उनी नेपाल फर्किए । उनले २०३२ सालदेखि पुल्चोक क्याम्पसमा पढाउन सुरु गरे । बेलायतबाट पिएचडी सिध्याएर नेपाल आएपछि उनले त्रिभुवन विश्वविद्यालय पुल्चोक इन्जिनियरिङ क्याम्पसमा वास्तुकला पढाउनुका साथै वास्तुकला संरक्षणका लागि काम गर्न थाले । उनले विभिन्न ऐतिहासिक सम्पदाको डिजाइनसमेत तयार पारेका छन् । प्राविधिक साहित्य–सर्जक पोखरेलले सन् १९९८ मा लुम्बिनीस्थित मायादेवी मन्दिरको डिजाइन तयार पारेका थिए । उनले बनाएको डिजाइन स्वीकृत भएपछि १२ वर्षदेखि अलपत्र मायादेवी मन्दिर निर्माणकार्य अगाडि बढेको थियो।  

उनकै पहलमा पुल्चोक क्याम्पसमा ‘अर्बन प्लानिङ’मा मास्टर्स डिग्री सुरु भयो । सन् २०१० मा उनकै अगुवाइमा स्नातकोत्तर तहमा ‘डिजास्टर रिस्क म्यानेजमेन्ट’ कोर्स सुरु भयो।

यसरी हेर्दा उनको चार दशकभन्दा बढी समय अध्यापन–अनुसन्धानमा बितिसकेको छ । प्राविधिक क्याम्पस, धरानको प्रमुख, पुल्चोक इन्जिनियरिङ क्याम्पसको डिनलगायत विभिन्न नेतृत्वदायी भूमिकामा रहेर उनले प्राज्ञिक कार्य गरिसकेका छन् । भदौ दोस्रो साता मात्र नास्टमा उनको चारवर्षे उपकुलपतिको कार्यकाल सकिएको हो।

हेपिएको विज्ञान–प्रविधि
यतिका वर्ष विज्ञान–प्रविधिको क्षेत्रमा समर्पित गरेका उनको अनुभवमा नेपालमा अहिलेसम्म यो क्षेत्र उच्चप्राथमिकतामा परेको छैन । ‘हामीकहाँ उच्च पदमा बस्ने व्यक्तिलाई विज्ञान–प्रविधिबारे आधारभूत जानकारी छैन,’ उनी सुनाउँछन्, ‘नीति–निर्माण तहमा काम गर्ने व्यक्तिहरू विज्ञान–प्रविधिको पृष्ठभूमिबाट नआएकाले गर्दा उनीहरू कहिल्यै यसलाई महत्वपूर्ण ठान्दैनन् ।’ प्रधानमन्त्री, मन्त्रीलगायत उच्च कर्मचारीले सार्वजनिक कार्यक्रममा विज्ञान–प्रविधिको आवश्यकताबारे गुलियो भाषण गरे पनि कार्यान्वयन पक्ष ठ्याक्कै उल्टो छ।  

सन् १९६० को दशकमा विज्ञान तथा प्रविधिमा नेपाल र दक्षिण कोरियाको अवस्था उस्तै–उस्तै थियो । युद्घले ध्वंस भएको कोरियाले विज्ञान–प्रविधिमा अभूतपूर्व फड्को मारिसकेको छ । ‘अहिले आएर कोरियाले विज्ञान–प्रविधिको सगरमाथा टेकिसक्यो, हामीलाई भने नाम्चे बजार पुग्न हम्मे छ,’ कवितात्मक शैलीमा उनी समस्याको जड खोतल्छन्।

विभिन्न मुलुकमा द्रुत गतिमा विज्ञान–प्रविधिको विकास हुनुमा राजनीतिक अस्थिरता र गलत कार्यशैलीलाई मुख्य कारक ठान्छन् उनी । ‘विज्ञान–प्रविधिको क्षेत्रमा यस्तो काम गरेरै छाड्छौं भन्ने राजनीतिक इच्छाशक्ति कहिल्यै पलाएन,’ उनी भन्छन्, ‘विज्ञान–प्रविधिमा बजेट वृद्घि तथा नीति–निर्माण तहमा वैज्ञानिकहरूलाई स्थान दिन कोही तयार नदेखिएकाले पछौटेपना देखिएको हो ।’ विज्ञान–प्रविधिको क्षेत्रमा राज्यले लगानी बढाउनुपर्ने उनको माग छ । ‘पछिल्लो समय भारत र चीनले प्रविधिको क्षेत्रमा व्यापक प्रगति गरेका छन्, त्यहाँको सरकारले त्यत्रोविधि लगानी नगरेको भए त्यो प्रगति सम्भव हुने थिएन,’ उनको अनुभव छ। 

‘अब्बल’ परम्परागत वास्तुकला
पोखरेलले परम्परागत प्रविधि अनुसार बनाइएका उपत्यकाका धारा, मठमन्दिर, भवन आदिबारे अनुसन्धान गरिसकेका छन् । उनले पाटन, काठमाडौं र भक्तपुरमा पानीको पुराना धारामा प्रयोग गरिएका प्रविधि जोगाउनुपर्ने विचार राख्दै आएका छन् । पाटनको मनिहिटीमा १ हजार ४ सय ४८ वर्ष पहिले निर्माण गरिएको ढुंगेधाराबाट अहिले पनि निर्वाध पानी आइरहेको उनले जानकारी दिए । २०७२ साल वैशाख १२ को विनाशकारी भूकम्पपछि अधिकांश ठाउँमा इनार, ढुंगेधारा सुके पनि उक्त धाराबाट भने उही रूपमा पानी आइरहेको छ । स्थानीयले त्यही धारोबाट निर्वाध पानी उपभोग गरिरहेका छन् । ‘पुर्खाहरूले यति दरिलो प्रविधि अपनाए कि युगौंसम्म धाराबाट पानी आइरहेको छ, तर, दुःखको कुरा अहिलेका धाराहरूमा पानीको सट्टा बढी हावा आउने गरेको छ,’ उनी भन्छन्।  

विगतमा राम्रा प्रविधि भए पनि अहिले त्यसको उचित संरक्षण हुन नसकेको उनको ठम्याइ छ । उनी थप्छन्, ‘हाम्रा थुप्रै परम्परागत प्रविधि वैज्ञानिक छन्, यसको संरक्षण गरी व्यवहारमा उतार्नसके उपयोगी हुने देखिन्छ ।’ उनका अनुसार परम्परागत प्रविधि अभिलेखन कार्य नास्टले गर्दै आए पनि संरक्षणको जिम्मेवारी पुरातत्व विभागको हो।

पोखरेलले उपत्यकामा खानेपानी धारा बनाउँदा अपनाइएको परम्परागत प्रविधिबारे गहन अनुसन्धान गरेका छन् । आठ–नौ सय वर्ष पुराना मठ–मन्दिरमा प्रयोग गरिएको भूकम्प प्रतिरोधी प्रविधिबारे उनले खोज गरेका छन् । ‘२०७२ सालको विनाशकारी भूकम्पमा वर्षौ पुराना कतिपय मन्दिर भत्किएनन्, यसले पुष्टि गर्छ कि पुर्खाहरूमा वैज्ञानिक प्रविधिबारे ज्ञान थियो,’ उनी निचोड सुनाउँछन् । भक्तपुर, बनेपा, काठमाडौंमा अझै पनि मजबुत संरचना बाँकी रहेका उनको भनाइ छ ।  उनले आगलागी, पहिरो आदि नियन्त्रणका लागि परम्परागत प्रविधि तयार पारेका छन् । भूकम्पको पराकम्पन सुस्त पार्न खाल्डो खनेर ढुंगाको गारो लगाई कम्पाउन्ड बनाउने प्रविधि नास्टमा प्रदर्शन गरिसकिएको छ । उनका अनुसार प्राचीन कालमा अहिलेको जस्तो आधुनिक नभए पनि विभिन्न खालका जीवनोपयोगी र विज्ञानसम्मत प्रविधि थिए।

नास्टमा पोखरेलको चार वर्ष     
चार वर्ष नास्टको उपकुलपति हुँदा केही उल्लेखनीय काम गरेको पोखरेलको दाबी छ । आफू उपकुलपति भएलगत्तै नास्टलाई लोडसेडिङमुक्त बनाउन उनी सफल भएका थिए , जबकि त्यसबेला हिउँदका बेला दैनिक १०–१२ घन्टासम्म लोडसेडिङ हुने गथ्र्यो । उनको पहलमा विशेष प्रस्ताव तयार पारी नास्टको वार्षिक अनुसन्धान बजेट ५० लाखबाट बढाएर ५ करोड पु-याइयो । मुलुक संघीय संरचनामा गएपछि नास्टले पनि प्रान्तीय कार्यालय खोल्न सुरु गरिसकेको छ । यही क्रममा सात नम्बर प्रदेशको कार्यालय धनगढीमा स्थापना गरिएको छ । उपकुलपतिको कार्यकाल सिध्याएपछि उनलाई अनुभूति भएको छ–कुनै पनि संस्थामा नेतृत्वदायी भूमिकामा रहेर काम गर्न सजिलो छैन । ‘बाहिरबाट हेर्दा जे–जस्तो देखिन्छ, भित्र गएपछि त्यहाँ अर्कै हुँदोरहेछ,’ उनी भन्छन् । नास्टलाई गतिशील बनाउन आफूले सारेका कतिपय प्राज्ञिक र भौतिक योजना आर्थिक तथा प्रशासनिक कारणले पूरा हुन नसकेका उनको दाबी छ । पोखरेलका अनुसार प्राध्यापकहरूलाई एकमुष्ठ अनुदान दिई उनीहरूको मातहतमा विद्यार्थीलाई अनुसन्धान–कार्यमा लगाउने योजना उनले पेश गरे पनि कार्यान्वयन भएन । यसका साथै युवा तथा वैज्ञानिक लक्षित कार्यक्रम प्रभावकारी हुन सकेनन् । नास्टमा कर्मचारी दरबन्दी मिलान पहिलेदेखि नै समस्या बन्दै आएको छ । विदेशमा कार्यरत नेपाली वैज्ञानिकलाई स्वदेश फर्काउन उनकै नेतृत्वमा नास्टले सुरु गरेको ‘फर्क हे फर्क वैज्ञानिक’ कार्यक्रम भने सफल हुन सकेन।

आफ्नो कार्यकालमा नास्टको अगुवाइमा नेपाललाई ‘नयाँ उपग्रह युग’मा प्रवेश गराउने कार्य थालनी हुनुलाई उनी उपलब्धि ठान्छन् । जापानको किताक्युशुस्थित क्युशु इन्स्टिच्युट अफ टेक्नोलोजी (केटेक) को सहकार्यमा नेपालले तयार पार्न लागेको भूउपग्रह (नानो स्याटेलाइट) आगामी वर्ष छाड्ने तयारी छ । रुसले सन् १९५७ मा सबैभन्दा पहिले ‘स्पुतनिक’ नामक भूउपग्रह पठाएको थियो । त्यसको एक वर्षपछाडि अमेरिकाले सन् १९५८, चीनले सन् १९७०, भारतले सन् १९७५ मा भूउपग्रह पठाएका थिए । नेपालका लागि भने बल्ल सन् २०१९ मा उक्त ‘साइत’ जुर्ने भएको छ।

प्राज्ञिक काममा उस्तै जाँगर
नास्टको उपकुलपतिको पदावधि सकिएपछि उनी प्रशासनिक कामबाट केही फुर्सदिला बनेका छन् । उनको अनुसन्धान र प्राज्ञिक कामका केही कमी आएको छैन । घरपरिवारका लागि अलि बढी समय छुट्याउन सहज भएको छ । परिवारमा श्रीमती मीना, इन्जिनियर छोरा सागर र अर्बन प्लानर छोरी श्वेता छन्।

आफ्नो कार्यकालमा पाँचजना विज्ञान तथा प्रविधि मन्त्रीसँग काम गरेका उनी विज्ञानसम्मत कार्यशैली नहुँदा देशले फड्को मार्न नसकेको बताउँछन् । उनले विज्ञान तथा प्रविधि मन्त्रालयसमेतको कार्यभर लिएका प्रधानमन्त्री सुशील कोइरालादेखि अहिलेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलसँग काम गरेको अनुभव छ। बीचका तीनजना विज्ञान तथा प्रविधि मन्त्रीको नाम उनलाई कण्ठ छैन ।  अबको समयलाई अनुसन्धान, अध्यापन, साहित्य लेखन आदिमा केन्द्रित गर्ने योजना छ उनको । अहिले उनी तीनजना विद्यार्थीले उनको निर्देशनमा पिएचडी शोधकार्य गरिरहेका छन् । भूकम्प र विपद् न्युनीकरणबारे उनले परामर्श सेवा पनि दिँदै आएका छन्।

वास्तुकला, भूकम्प, विपद्लगायत क्षेत्रमा उनले निरन्तर अध्ययन–अनुसन्धान गर्दै आए पनि साहित्य लेखनमा उनको विशेष अभिरुचि छ । ‘भविष्यमा पनि प्राविधिक क्षेत्रका विषयवस्तुलाई साहित्यमार्फत् सरल तरिकाले प्रस्तुत गर्नेछु, जटिल प्राविधिक कुरालाई सरल ढंगले बुझाउन कविता उपयुक्त माध्यम हो भन्ने लाग्छ,’ उनी भन्छन् । एउटा ‘आर्किटेक्ट’ इन्जिनियरिङको जीवन भोगाइ कवितामार्फत् आउँदा पाठकका लागि फरक स्वाद हुने उनको धारणा छ।

प्रकाशित: २० आश्विन २०७५ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App