सुनधाराको आकाशे पुलमुनि सार्वजनिक शौचालय नजिक पुगेपछि ह्वास्स गन्हाउँछ । बाटो हिँड्नेहरू नाक थुन्दै छिटोछिटो सडक पार गर्न खोज्दै छन् । कोही मास्क लगाएर शौच गर्न शौचालय छिर्दै छन् । शौचालयको बाहिरपट्टि पैसा उठाउन बाल्टिन राखिएको छ । गत बुधबार शौचालयबाहिर मास्क लगाएर पैसा उठाउन बसेका थिन्, दीपक दुलाल (३०)।
त्यसै बेला शौचालयबाट एक जना युवती निस्किन् । उनको ती व्यक्तिलाई पाँच रूपैयाँ दिइन् । र, शौचालय सफ ागर्न सुझाइन् । तर, शौचालयमा पैसा उठाउन बसेका ती व्यक्तिले युवतीको कुरा वास्तै गरेनन्।
उनी मात्रै होइन, सार्वजनिक शौचालय अव्यवस्थित भएपछि सर्वसाधारणले सास्ती पाउने गरेका छन् । कतिपय दिसापिसाब च्यापेर हिँड्न बाध्य छन्।
सार्वजनिक शौचालय अव्यवस्थित भएपछि सर्वसाधारणले सास्ती पाउने गरेका छन् । कतिपय दिसापिसाब च्यापेर हिँड्न बाध्य छन्।
न्युरोड गेट अगाडिको सार्वजनिक शौचालयको अवस्था पनि उस्तै छ । त्यहाँ काभ्रे, नाला नगरपालिका–७, बनेपाका ५५ वर्षीय मिलन देउलाले पैसा उठाउँदै आउँछन् । उनी शौचालय फोहोर हुनुमा आफ्नो मात्रै दोष नभएको बताउँछन् । ‘सेवाग्राहीहरू शौच गरेपछि पानी नै नहाली हिँड्छन्,’ उनले भने, ‘शौच गर्ने बहानामा सुटुक्क फोहोर फालेर हिँड्नेहरू पनि भेटिन्छन् । यसले गर्दा शौचालय फोहोर हुने गरेको छ।’
भृकुटीमण्डपस्थित काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय अगाडिको सार्वजनिक शौचालय, वीर अस्पताल अगाडि सहरी सेवा केन्द्र शौचालय र रानीपोखरी नजिकैको शौचालय भने अलि व्यवस्थित छन् । रानीपोखरी नजिकैको शौचालयमा भेटिएकी सुस्मिता चौलागाईले प्रायः यही आउने गरेको बताइन् । ‘शौचालयमा कहीँ कतै फोहोर छैन,’ उनले भनिन्, ‘यो शौचालयले शौचालय फोहोर हुन्छ भन्ने भ्रमलाई चिरेको छ।’
काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले सार्वजनिक शौचालयको अवस्था बिग्रनुमा आफूहरू पनि दोषी भएको स्वीकारे । यहाँ पर्याप्त सार्वजनिक शौचालय छैन । महानगरपालिकाले स्मार्ट शौचालयको अवधारणा लिएको छ । ड्रइङ डिजाइन बन्दै छ । धेरै दुरुपयोग भएको हुँदा घुम्ती शौचालय हटाइएको हो । उनका अनुसार काठमाडौं महानगरमा १६ ओटा मात्रै सार्वजनिक शौचालय छन् । ‘३० लाखभन्दा बढी जनसंख्या भएको ठाउँमा यति शौचालयले पुग्दैन,’ उनले भने । उनका अनुसार महानगरले सडक विभागसँग ४२ ठाउँमा सार्वजनिक शौचालय बनाउने अनुमति लिएको छ । ती ठाउँमा चार महिनाभित्र शौचालय बनाइसक्ने महानगरले जनाएको छ।
शिक्षण अस्पताल महाराजगन्जमा विभिन्न ठाउँमा शौचालय छन् । शौचालय हेरालु रत्न महर्जनले शौचालय पटकपटक सफा गर्ने गरेको दाबी गरे । ‘पहिले भित्ताभरि लेउ थियो । अहिले सफा भएको छ,’ उनले भने।
सरकारी अस्पतालको पनि उस्तै
सरकारी अस्पतालका शौचालयको अवस्था पनि उस्तै छ । वीर अस्पताल, कान्ति बाल अस्पताल र शिक्षण अस्पताल महाराजगन्जको शौचालय दुर्गन्धित र अव्यवस्थित छन्।
शिक्षण अस्पताल महाराजगन्जका प्रशासन प्रमुख सूर्यप्रसाद अधिकारीले शौचालय व्यवस्थापनमा सक्दो ध्यान दिएको बताए । उनले बत्ती नभएको बेला कहीँकहीँ पानी नभएको स्वीकारे । ‘कसैले धारै चोरेर हिँड्छन् त कसैले शौच गरेर कागज प्रयोग गर्छन् । त्यसैले सरसफाइ र सुरक्षाको दृष्टिकोणले शुल्क लिएका हौं,’ उनले थपे।
कान्ति बाल अस्पतालमा भेटिएको गौरीशंकर गाउँपालिका , दोलखाका कुमार नेपालीले सरकारी अस्पतालको शौचालयमा धेरै लापर्बाही हुने बताए । सरकारी अस्पतालको शौचालयमा ढोकाको चुकुलै हुँदैन । फोहोर जमेको शौचालय जान दिगमिग लाग्छ । उनले भने, ‘अस्पतालमा कुरुवा र बिरामीको संख्या अनुसारको शौचालय छैन । अनेक रोगको किटाणु सरेर कुरुवा आफैं बिरामी हुनुपरेको छ।’
कान्ति बाल अस्पतालका निर्देशक गणेशकुमार राईले बजेटको अभावले शौचालय मर्मतसम्भार गर्न नसक्ने बताए । हामीले बर्सेनि मर्मतसम्भार गर्दै आएका थियौं । बजेटको अभावले यसपालि मर्मतसम्भार नगर्ने भएका छौं । हामीसँग बजेटै छैन । पूरै मर्मतसम्भार गर्न एक करोड रूपैयाँ चाहिन्छ । शौचालयबाट उठेको रकम त्यहीँको हेरालुलाई ठिक्क हुन्छ । कर्मचारीलाई तलब खुवाउन हम्मेहम्मे भइरहेको छ । उनले भने, ‘मर्मतसम्भार झन्झटिलो हुने रहेछ । कति खर्च लाग्छ । इस्टिमेट गर्न गाह्रो छ।’
प्रकाशित: १९ आश्विन २०७५ ०५:४० शुक्रबार