१० मंसिर २०८१ सोमबार
image/svg+xml
अन्य

फेसन हाम्राे जीवनशैली

तस्बिर : कृष्पा श्रेष्ठ

प्रशान्त ताम्राकार अहिलेका व्यस्त कलाकार हुन् । उनको परिचय कलाकार शब्दले मात्रै प्रष्ट्याउन सक्दैन । किनभने कलाकारिताको बाटोमा अगाडि बढाउन उनलाई फेसन क्षेत्रले सहयोग गरेको छ । त्यसैले उनी कलाकारितासँगै फेसन कोच र कोरियोग्राफरको रूपमा आफूलाई चिनाउन मन पराउँछन् ।  प्रसान्त यो क्षेत्रमा सुरुवाती दिनदेखि छन् । झन्डै २७ वर्ष यस क्षेत्रसँग बिताइसकेका फेसनका सुरुवाती समयका मोडल प्रशान्तसँग पुष्पा थपलियाले गरेको फेसन संवाद:

तपाईंको बुझाइमा फेसन भनेको के हो ? 

यो क्षेत्रमा मेरो बुझाइ २७ वर्षदेखिको छ । फेसन जन्मेदेखि, बामे सरेदेखि, वयस्क हुँदासम्मको यात्रा मैले तय गरेको छु ।  नेपाली फेसन उद्योग अहिले त्यस्तै २७ या २८ वर्षको भएको छ । यति अवधिभर फेसन उद्योगसँग जोडिँदा मेरो बुझाइमा फेसन हाम्रो जीवनशैली हो । यहाँ फेसन भन्नेबित्तिकै मोडलको कुरा आउँछ, करिब ९० प्रतिशत मानिस फेसन भन्नेबित्तिकै मोडलतर्फ नै फोकस हुन्छन् । तर मोडल चाहिँ फेसनको एक पाटो मात्रै हो । धेरै अगाडि त नेपालमा फेसन डिजाइनर नै थिएनन्, सामान्य टेलरिङ मात्रै थियो, टेलर मास्टरको रुपमा मात्रै फेसन डिजाइनरलाई लिइन्थ्यो । त्यतिखेर फेसनको कोर्श लिनुप-यो भने पनि सिलाइबुनाइको कोर्श लिइन्थ्यो । पछि एड्भान्स कोर्शको विकास भएपछि भने फेसन डिजाइन, इन्टेरियर डिजाइनको कन्सेप्ट आएको हो ।  यसमा युवापुस्ताहरुको रुचि बढी भयो । तर हामी सबैमा फेसन छ । जस्तो कि डाक्टर, नर्स, पुलिस, वकिल । सबैको आ–आफ्नै फेसन छ ।  त्यही फेसन हेरेर हामी को मान्छे के हो पत्ता लगाउन सक्छौं । सेतो कोट लगाएर अस्पतालमा बसेको छ भने हामी उसलाई वकिल पक्कै भन्दैनौं, डाक्टर भनेर थाहा पाइहाल्छौं । यी सबै फेसन डिजाइनरले बसेर कस्तो टेक्सटाइल प्रयोग गर्ने, डिजाइन कस्तो गर्ने, कलर कुन प्रयोग गर्ने, कस्तो सिजनमा कस्तो लगाउने सबै विचार पु-याएर डिजाइन गरेका हुन्छन् । अझ हाम्रो उमेरअनुसार पनि डिजाइन फरक पर्दै जान्छ ।  सानो उमेरमा फरक डिजाइनका फेसन गथ्र्याैं, टीनएजमा फरक गर्छौं,  हेल्दीले गर्ने फेसन फरक छ । त्यसैले मेरो बुझाइमा फेसन लाइफस्टाईल हो । 

त्यसो हो भने कस्तो हुनुपर्छ त हाम्रो लाइफस्टाईल अर्थात् फेसन ? 

कस्तो हुनुपर्छ भन्नेकुरा व्यक्तिगत कुरा हो, त्यो इन्डिभिजुवलमा भरपर्छ । यु अल ह्याव इन्डिभिजुवल फेसन । मैले पहिले पनि भने नि, हामी फेसन हेरेर मानिसको प्रसनालिटी ठम्याउन सक्छौं । उनीहरुको लाइफस्टाईल हेरेर ऊ कस्तो मान्छे हो चिन्न सक्छौं । मेरो दिमागमा एउटा पत्रकार भन्नेबित्तिकै हातमा कलम र कापी च्यापेर केही टिपोट गरिरहेको दृश्य आँखामा आउँछ, फोटोग्राफर भन्नेबित्तिकै उसको हातमा क्यामराको कल्पना गर्छ, त्यो नै फेसन हो । यो पनि समयअनुसार फरक हुन्छ । अब तपार्इं बिहान ओर्कआउटमा जाँदै हुनुहुन्छ, पक्कै सजिलो खालका स्पोर्ट ड्रेस लगाउनुहुन्छ, कलेज जानुहुन्छ, त्यहाँ त ओर्कआउटको ड्रेस लगाउनुहुन्न नि, पक्कै कलेजकै ड्रेस लगाउनुहुन्छ ।  अब गर्मी महिनामा तपार्इंले घाँटीघाँटी आउने हाइनेक लगाउनुभयो भने के हुन्छ, जाडो महिनामा वान पिस लगाए कस्तो लाग्छ ।  त्यसैले फेसन यस्तै हुनुपर्छ भन्ने छैन, यो ठाउँ, समय, वातावरणअनुसार हुन्छ ।   

अनि फेसन ट्रेन्डको बारेमा चाहिँ के भन्नुहुन्छ ?

अन्तर्राष्ट्रिय स्तरमै हेर्ने हो भने पनि ट्रेन्ड सेटरहरु थुप्रै छन् । फेसनलाई लिएर विश्वभर नै केही न केही एक्सपेरिमेन्ट भइरहेको हुन्छ । धेरै अगाडिदेखि नै कलर, फेब्रिकहरुमा चेन्ज आइरहेको हुन्छ । आजभन्दा पचास वर्षअगाडिकै ट्रेन्ड हेर्ने हो र अहिले भइरहेकोसँग तुलना गर्ने हो भने पनि निकै परिवर्तनहरु आइसकेका छन् । त्यसैगरी मानिसहरुको च्वाइस फरक–फरक छ, त्यसैले सबै मानिसको आ–आफ्नो रुचिअनुसारका ट्रेन्डहरु चलिरहेका हुन्छन् । 

ट्रेन्ड फलो गर्ने चलन पनि छ त ? 

यसलाई ट्रेन्ड फलो गर्नेभन्दा पनि फेसनबारे एडुकेट गर्ने भन्नुपर्ला ।  किनभने यसले मानिसहरुमा फेसनका बारेमा ज्ञान लिन मद्दत पु-याउँछ । अहिले कस्तो फेसन चलेको छ, मलाई कस्तो कलर, कस्तो फेब्रिक सुहाउँछ भनेर एडुकेट गर्छ ट्रेन्डले । इफ यु वान्ट, इफ दिस इज योर च्वाइस, यु फिल कन्फर्टेवल, यु क्यान ट्राई भन्नु नै ट्रेन्ड हो । यसले कसैलाई पनि फलो गर्नुपर्छ, या पर्दैन भन्दैन ।  यु लाइक इट ओर यु डन्ट लाइक इट, त्यो इन्डिभिजुवलमा भर पर्ने कुरा हो । 

ट्रेन्ड फलोको नाममा आफूलाई कन्फर्टेबल नभएका, फेसन गर्नेलाई समेत नसुहाउने तर आई लाइक इट भनेर फलो गर्ने चलन पनि छ नि ?

यो मान्छेको आँखा छ नि, राम्रो लागेका सबै युज गरौंँ भन्छ । ‘आँखा लोभी मन पापी’ भन्ने त चलन नै छ । राम्रो देखेको कुरा एडप्ट गर्न चाहन्छ मान्छे, अनि आफूमा इम्प्लिमेन्ट गर्न चाहन्छ । त्यो चाहनामा कलर सुट गरेको छ छैन, शारीरिक बनोटअनुसारको छ छैन, भन्नेतर्फ ध्यानै दिँदैन । तर त्यसलाई कन्फट जोनमा आफ्नो शरीरअनुसार ढालेर पनि त फलो गर्न सकिन्छ नि । कसैलाई कुनै ड्रेस टाइट भइरहेको छ भने, उसलाई मात्र हैन, वरपर हेर्ने मानिसलाई समेत अटसमटस फिल भइरहेको हुन्छ । त्यस्तो अवस्थामा लुज फिटिङ राखेर आफूलाई सुहाउने कलर युज गरेर प्रयोग गर्न सकिन्छ । लुगा किन लगाइन्छ, त्यो त कन्फर्टेवलकै लागि हो नि । कसैले यु लुक ब्युटीफुल, यु लुक गुड भनेको सुन्दा सबैलाई राम्रो लाग्छ । सबै खुसी हुन्छन्, वाउ यु मेड माई डे भन्छन् । फेरि वेएरिङ इज नट योरसेल्फ, कहिलेकाहीँ हामी अरूका लागि लुगा लगाउँछौं । यदि कसैको पार्टीमा, कसैको घरमा तपाईंलाई बोलायो भने, आफू कन्फर्टेवल छु भनेर नाइटीमा त जानुभएन नि, त्यो त एउटा रेक्सपेक्ट हो ।  कोही भने देखाउन पनि जान्छन् । आई ह्याभ दिस् ब्रान्ड वाच, यो यति करोडको नेकलेस अझ भनाँै आफ्नो स्ट्याटस बनाउन पनि जान्छ । त्यहि भएर त फेसन भनेको जुनसुकै अवस्थामा, जस्तोसुकै स्थानमा पनि लाइफस्टाईलसँग टच हुन्छ । 

फेसन सेन्स महिलामा बढी होला कि पुरुषमा त ?

गर्नेलाई दुवैमा छ, नगर्नेलाई दुवैमा छैन ।
 
यो त सजिलो उत्तर भएन र ? 

कतिपय महिलाहरु फेसन नै गरेर नहिँड्ने पनि छन् । बिकज दे डन्ट लाइक इट ।  जस्तै कि, मेडिकल स्टुडेन्ट, पत्रकारलगायतका मानिसहरु फेसनमा त्यति रुचि राख्दैनन्, तर उनीहरु फेसनेवल हुन्छन् ।  उनीहरुको आफ्नै आइडेन्टिटी हुन्छ । उनीहरुसँग आफ्नै व्यतित्व छ । तर पनि महिला र पुरुषकै कुरा गर्ने हो भने, फेसन १०० प्रतिशत महिलाका लागि र ५० प्रतिशत पुरुषका लागि हो । केटाहरु हामी विन्डो सपिङ गर्नै सक्दैनौं । जे हातमा आउँछ, त्यही उठाइहाल्छौं । हामी सबै कलर युज गर्न पनि सक्दैनौं । कालो, निलो, सेतो मात्रै हाम्रो विकल्पमा छ, छ अरू केही, छैन नि ।  नर्मल्ली ग्रेसम्म पनि जाला । हाम्रा लागि कलरफुल्ली डिजाइनहरु छैन नि । त्यही सर्ट, पाइन्ट, कोट टि–सर्ट त हो । तर केटीहरुका लागि धेरै छन् । यसैले पनि थाहा हुन्छ कि, फेसन केटीहरुका लागि हो । त्यसैले ब्युटी भन्छन्, ब्युटा त भन्दैनन् नि । 

ब्युटा नभने पनि हेन्डसम त भन्छन् नि ?

हेन्डसम कम्स योर पर्सनालिटी, नट फेसन ।

महिलाका लागि फेसन भएपछि नेपालका महिला कत्तिको फेसनेबल छन् होला त ? 

महिला नेपालमा मात्रै हैन सबैतिरका फेसनेबल छन् ।  तर नेपाली धेरै अगाडि छन् । आजदेखि मात्रै हैन धेरै अगाडिदेखि हामी फेसनेबल छौं । नेपाली महिलाको फेसनलाई नै हेरौं न, आर्यन, मंगोल, जनजातिलगायत विश्वका हरेक कुनामा पाइने फेसनहरु नेपालमा छन् । भनाइ छ, ‘नेपाल चार जात छत्तिस वर्णको फुलबारी हा’, यो ब्युटी सायदै संसारमा छैन । त्यसैले हाम्रा नेपाली चेलिबेटी विश्वमै सबैभन्दा सुन्दर छन् ।  फेरि यहाँका हरेक जातमा आ–आफ्नै फेसन छन् । जनजातिमै हेर्नुस् न, एकको ड्रेस अर्कोसँग मिल्दैन, गरगहनाहरु मिल्दैन । विदेशको कुरा गर्ने हो भने, एक फेसन चल्यो भने, सिटीभरि एकै मात्र चल्छ तर यहाँ प्रत्येकको फेसन छुट्टै–छुट्टै छ । त्यही भएर नेपाली महिला फेसनमा सबैभन्दा अगाडि छन् । 

काठमाडौंका महिलामा नि ?

काठमाडौंको मात्रै के कुरा तपार्इं हुम्ला, जुम्ला मुगु डोल्पातिर जानुस् न त्यहाँका दिदीबहिनी झनै धेरै फेसनेबल छन् ।  सहरी क्षेत्रमा फेसनका एक्सपोर्टहरु होलान्, उनीहरुले यो कलर सुहाएन, त्यो भएको भए झनै राम्रो हुन्थ्यो जस्ता उत्तर देलान् त्यो फरक कुरा हो । तर सबै नेपाली फेसनेबल छन् । पहुँच हुने ठाउँमा अप्सन अलि बढी होला तर विकटका लागि त त्यही फेसन हो नि । 

अब यहाँकै फेसनतिर आउँ, तपार्इं कत्तिको ब्रान्ड कन्सियस हुनुहुन्छ ?

(हाँस्दै) म आफैँ ब्रान्डेड हो ।  के को ब्रान्डको कुरा गर्नु । मलाई लुगाहरुको मामिलामा भने ब्रान्ड फलो गर्न मन लाग्दैन । किनभने नेपालमा ओर्जिनल ब्रान्ड फलो गर्ने मेरो हैसियत छैन । ओर्जिनल ब्रान्ड इज भेरी कष्टी, यता त कपि न आउने हुन् । मैले अहिले लगाइरहेको टि–सर्ट छ नि, यो नै मेरो अहिलेसम्मको महँगो टि–सर्ट हो, चार हजारको । यदि मैले यसको कपि टि–सर्ट किनेको भए, चार पाँचओटा आउँथ्यो । यो टि–सर्ट पनि मैले ट्यापमा परेर किन्न प¥यो ।  सुरुमा हेरेँ, राम्रो लाग्यो, बिलिङका लागि गएको त चार हजार । ओ माई गड फो थाउजेन्ट, म त तनावमा । पर्समा फेरि दुई हजार मात्रै थियो ।  अब फाइनल गरिसकेको, अर्को लिन्छु भन्न पनि मिलेन, अनि मैले कार्ड निकालेँ र यो किनेँ । मेरो लाइफको सबैभन्दा महँगो टि–र्सट हो यो । तर फर्मल कपडाहरुमा भने म पैसा हाल्छु । मसँग करिब एक लाख ४० हजारको घडी पनि छ, मोब्याटो । तर यसलाई हामी ज्वेलरीको रुपमा प्रयोग गर्नसक्छौं । मैले एक लाखको सुट सिलाएँ भने, त्यो दस वर्षका लागि हुन्छ, जहिले लगाउँदा युनिकनेस आइरहेको हुन्छ । अहिले तीन वर्षदेखि भने मैले नेपाली ब्रान्ड करुना युज गरिरहेको छु । म सधैं नेपाली ब्रान्डलाई प्रमोट गर्छु, 

‘दिस इज मेड फर नेपाल’ भन्दा आफूलाई आनन्द आउँछ । तर यदि अफोर्ट गर्न सकिन्छ भने ब्रान्ड फलो गर्दा निकै राम्रो ।  

कुन कुन ब्रान्डका के–के छन् त तपार्इंका ?

म पफ्र्युममा सधैं फरेनहाइट ब्रान्ड युज गर्छु । पफ्र्युम भने म सकेसम्म एकै ब्रान्डको लगाउँछु, तर कहिलेकाहीँ यसो गिफ्टहरु पनि आउँछ, अरू ब्रान्डका त्यस्तो बेला यसो फिस फिसस, के त्यत्तिकै उडाउनु । अनि म घडीमा चैं अलि सौखिन छु, त्यति धेरै त छैन, त्यहि दुई चारओटा होलान्, त्यसमा मोब्याडो छ ।  अनि कपडामा चैं स्पोट्र्स ड्रेसमा बढी मेडिडास लगायतको युज गर्छु ।  अनि सनग्लासहरुमा प्राडा. लगायतका ब्रान्ड छन् । मेरो मनपर्ने ड्रेस हाफ पाइन्ट टि–सर्ट, जुत्ता, क्याप र सनग्लास भए म वल्र्ड टुरमा पनि निस्कन्छु । सम्झिदाँ पनि आनन्द लाग्छ । 

मनपर्ने कलर

मलाई मन पर्ने कलर कालो, निलो, सेतो हुन् । मलाई फेरि प्लेन कलर मात्रै मनपर्छ । रातो कलर पनि कहिलेकाहीँ लगाएको छु, तर मलाई सुट गर्दैन ।  फिल्ममा फुलबुट्टा भएको कपडा पनि लगाएको छु, तर राम्रो लाग्दैन । 

फेसन सोमा चाहिँ कत्तिको जानुहुन्छ ?

फेसन सो मेरो ड्युटी हो, त्यही भएर ड्युटी छाड्ने कुरो त भएन । बरु के का लागि जाने भन्नेमा भने फरक पर्छ । याज् अ मोडल जाने हो कि, याज् अ जज या याज् अ अडियन्स । हिजोआजको कुरा गर्ने हो भने म प्रायः फेसन सोको जज गर्नका लागि गइरहेको हुन्छु । जज गर्न जाँदा म एकदम गौर तरिकाले फेसन सो नियाल्छु, अडियन्सको रुपमा जाँदा इन्जोय गर्छु । त्यति मात्रै होइन यो इन्डष्ट्रिको सुरुवात हामीबाटै भएको हो, म सुरुदेखि यही क्षेत्रमा आबद्ध छु, त्यसैले पनि यो मेरो दायित्व हो । 

फेसन उद्योगमा सुरुवाती दिनदेखि नै आबद्ध हुनुहुन्छ, यी २६ वर्षको समयमा कत्तिको उतारचढाव देखियो त ?

मैले देखेदेखि त चढाव मात्रै छ, उतारको दिन आएकै छैन ।  पहिले आकलझुकल मात्रै फेसन सोहरु हुन्थ्यो, फेसनबारे मानिसहरु त्यति कन्सियस थिएनन् । तर अहिले हेर्नुस् त कतिधेरै फेसन सोहरु हुन्छन्, मानिसहरु फेसनमा कति ध्यान दिन्छन्, यो नै हाम्रो सफलता हो ।

गुणात्मक वृद्धि त भयो फेसन सो को, गुणस्तर पनि खस्कियो भन्छन् नि ?

मानिसहरुलाई आलोचना गर्ने ठाउँ चाहिएको छ, त्यसैले यस्ता कुराहरु हुन्छन् । फेसन मात्रै हैन, अन्य क्षेत्रको पनि यदि विस्तार भएन, वृद्धि भएन भने विकास कसरी हुन्छ त । यी फेसन सोको कुरा पनि यही हो । फेसन सो भनेमा सबै क्षेत्रका मानिसहरु समावेश भएका हुन्छन्, मोडल, फेसन डिजाइनर, लाइट, क्यामेरा, म्युजिक, पत्रकार तपाईं नै विचार गर्नुस् त । फेसन सोले गर्दा फेसन उद्योगको मात्रै हैन, सबै क्षेत्रको वृद्धि र विकास भएको छ भन्छु म त । अनि क्वान्टिटीको कुरा पनि, जहाँ धेरै हुन्छ, त्यहाँ मानिसहरुको फ्यासिबिलिटी पनि बढी हुन्छ । यसलाई हामीले सकारात्मक तरिकाले हेर्नुपर्छ । 

फेसन सोमा देखाइने डिजाइनहरु विदेशी फेसन सोबाट चोरिएको पनि देखिन्छ नि ?

यसलाई चोरिएको भन्नै मिल्दैन । बरु विदेशी फेसनबाट इन्स्पायर भएको भन्दा राम्रो होला । जब डिजाइन गर्ने हात फरक पर्छ नि, त्यो उसैको क्रिएसन हो । कफीको कुरा गरौं न, एउटा हातले जे जे हालेर पकाएको हुन्छ, अर्कोले त्यसैगरी पकाउँदा पनि स्वाद फरक पर्छ ।  यो पनि डिजाइनरले अर्को डिजाइनरको जस्तै बनाए पनि केही न केही नौलोपन आएकै हुन्छ । त्यही भएर चोरी भएको भन्ने म मान्दिन, त्यसलाई प्रभावित भएको भन्नुपर्छ ।  त्यस्ता डिजाइनहरु प्रभावित हुनु कुनै नौलो कुरा हैन । तर यदि कसैले त्यसलाई कपीराइट लगाएको छ, दर्ता गरेको छ भने त्यो युज गर्नुहुँदैन । अब कुनै मेसिनले तयार पारेको बिस्कुटको डिजाइन त फरक पर्छ भने मानिसले फरक हातले तयार पारेको कुरा फरक हुँदैन त । 

प्रकाशित: १ आश्विन २०७५ १०:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App