१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अन्य

अर्थपूर्ण जीवन

जीवनमा सधैं सबै उज्याला सुख र मिलनले मात्रै बोकेर ल्याउँदैनन् र ल्याउँदैनन् सुख र सुखद् क्षणहरुले मात्रै जीवन बाँच्नुको अर्थपूर्ण परिभाषा पनि । कहिलेकाँही कहालीलाग्दा अँध्यारा दुःख र विछोडहरुले पनि लिएर आउँछन् अर्थपूर्ण जीवन बाँच्नुको परिभाषा । र,  प्रेरित गर्छ अँध्यारो जीवनबीच आशाको उज्यालो दियो बाल्न । जब मान्छेलाई समय र परिस्थितिले एक्कासी जीवनको एक लयबाट अर्को लयमा डो-याउँछ तब कहिल्यै वास्ता, रुचि र माया नभएको विषयलाई एकाएक माया गर्न सिकाउँछ।

यस्तै भयो भूपू सैनिक पूर्णबहादुर गुरुङको जीवन पनि । जब उनको एक्लो छोरो कवि विमल गुरुङको ०४८ वैशाख २४ गते बीस वर्षकै कलिलो उमेरमा सडक दुर्घटनामा निधन भयो तब एकाएक उनको जीवनको लय पनि परिवर्तन भयो । कहिल्यै साहित्यप्रति लगाव नभए पनि, सिर्जना नगरे पनि छोराको रुचि र वास्ताको विषय साहित्यलाई नै उनले जीवन बाँच्ने एउटै आधार बनाए । छोराले पढ्ने गरेका पुस्तकमा, दराजहरुमा छोराको मुहार अनि सपना देखे र उनकै सम्झनामा धरान–१८, बुद्वचोकमा ‘विमल स्मृति पुस्तकालय’ स्थापना गरी पुरै जीवन सर्मपण गरिरहेका छन्।

छोराको स्मृतिमा धरानमा विमल पुस्तकालय खोलेर साहित्य सेवामा होमिएका पूर्णबहादुर गुरुङको कथा प्रेरणादायी छ।

अस्ती असार पहिलो हप्ता पूर्वी नेपालको साहित्यिक यात्रामा हुँदा पोखरा फर्कनुभन्दा अगाडि एकपटक पुस्तकालय अवलोकन गर्ने र उहाँलाई भेट्न म विमल पुस्तकालयमा पुगें । गाडीबाट ओर्लदा ओर्लदै मेरा आँखा दूईतले भवनको माथिल्लो तल्लाको बीच भागमा बसेर हामीतिरै हेरेर मुस्कुराइहेका विमलको प्रतिमामा अडिए । पुस्तकालय पुग्दा एउटा अनौठो लाग्ने दृश्य पहिलोपटक देख्दै थिएँ म, मृत व्यक्तिको प्रतिमासँगै जीवित व्यक्तिको मूर्ती । पूर्णबहादुरले छोरा विमलको प्रतिमासँगै आफ्नी स्वर्गीय आमा, बाबा, भाई, श्रीमतिको मूर्तिकै लाइनमा आफ्नो र छोरीको समेत गरी लहरै ८ वटा प्रतिमा राखेका रहेछन्!

ठ्याक्कै सय सालको पूर्णिमाकै दिन जन्मिएकाले आफ्नो नाउँ पनि पूर्णबहादुर रहेको रमाइलो किस्सा सुनाइरहँदा चाउरी परेका ७५ वर्षे उनको मुहारमा अब पुस्तकालयको थप लगानीका लागि कुनै चिन्ता थिएन । चिन्ता थियो त केवल आफ्नो शेषपछि यो पुस्तकालयलाई कसले, कसरी निरन्तरता देला ? आफु मरेर गएपछि छोराकै नजिक  आफ्नो मूर्ती कसले राख्देला ? यही सोचले पनि होला उनले जीवित छँदै आफु र जीवित छोरीको प्रतिमा पनि त्यहाँ राखेका!  

मैले पोखरा फर्केपछि फोनमा मृत व्यक्तिसँगै जीवित मान्छेको मूर्ती राख्न किन हतार गर्नुभयो भनेर सोधें । जवाफमा उनले भनेका थिए, ‘त्यसो भए त नानी हामीले ग्रुप फोटो पनि त खिच्नु भएन नि । हाम्रो घरका भित्ताहरुका कतिपय फोटामा मृत व्यक्तिसँगै जीवित पनि त उभिरहेको हुन्छ नि।’  

हामी पुस्तकालय पुग्दा कालो पाइन्ट, रातो टिर्सट अनि टाउकोमा पुस्तकालयको लोगो भएको सेतो र निलो रंगको क्यापमा उही पल्टने जोशकासाथ सजिएका पूर्णबहादुरले हामीलाई विमलको चित्र अंकित टोपी लगाइदिएर स्वागत गरे । त्यसपछि सुरु भयो पुस्तकालय अवलोकन । सबैभन्दा पहिले मेरो नजर विमलले प्रयोग गरेको दराज र दराजभित्रका उनले पढ्ने गरेका पुस्तकमा प¥यो । करिब बीस वर्षको उमेरसम्म विमलले पढ्दै गरेका करिब १२ सय पुस्तकबाट सुरु भएको पुस्तकालयमा उनले एक करोडभन्दा बढी लगानी गरी अन्डर ग्राउन्डमा कार्यक्रम हल, बीचको तलामा लाइब्रेरी र माथिल्लो तलामा पाहुना बस्ने र खाने केही कोठा बनाएका छन्।

त्यसैगरी उनले छोराको नाउँमा ६५ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । त्यसमा एक करोड रुपैयाँ पु-याउने उनको लक्ष्य छ । यसरी  एउटा बाबुले पुत्र वियोगमा उनको रुचिको क्षेत्रमै यति धेरै लगानी गरेर खोलेको पुस्तकालय अन्यत्र सायदै होला!  

पुस्तकालयले वर्षेनी विमलको जन्मोत्सव पारेर कार्तिक १९ गते राष्ट्रव्यापी कविता प्रतियोगिता गरी प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः २०, १५ र १० हजार नगद पुरस्कार दिन्छ । ०७५ देखि वैशाख २४ गते उनको स्मृति दिवसमा वर्षभर प्रकाशित र पुस्तकालयमा प्राप्त पुस्तकमध्ये एकलाई उत्कृष्ट मानेर ५१ हजार नगदसहित सम्मान गर्न थालेको छ। यो राम्रो काम हो तर, राम्रा पुस्तक पुरस्कृत होउन् भन्नेमा राम्रो ख्याल पु-याउनै पर्छ।

यो उमेरका पल्टने नंबरीहरु वृद्वा भत्ता र पेन्सन खाँदै बेलायतिरै बरालिरहँदा उनलाई कहिल्यै पुस्तकालय छाडेर टाढा जाउँ जस्तो लाग्दैन । ७५ वर्षको उमेरमा पनि उनमा पल्टने जोश छ । बिहानै ६ बजेदेखि साँझसम्म पुस्तकालयमै खटिन्छन् । छोराकै यादहरुले भरिएको पुस्तकालयका धुलो नै नभए पनि पुस्तक टक्टक्याई रहन्छन् । छोराले प्रयोग गरेको दराजलाई दिनहुँ सुम्सुम्याउँछन्।

कुराकानी क्रममा उनले सम्झिए, ‘एक छोरा, एक छोरी, मायालु पत्नी अनि बेलायती सेनाको जागिर थियो । जीवन सुन्दर लयमा बगिरको थियो । बगिरहेको थियो समय उसैगरी हङकङमै । जिन्दगीमा केही अभाव थिएन । सबै ठिकै चलिरहेको थियो । हङकङमै ०२८ साल कार्तिक १९ गते विमलको जन्म भयो । उतै कक्षा २ सम्म पढेर नेपाल आएको थियो ऊ । केही वर्षपछि जब म ब्रुनाइ गएँ त्यसपछि मैले उसलाई  ब्रुनाइमा पढ्न र घुम्न बोलाएँ । त्यतिबेला छोराले आफ्नै देश त घुमेको छैन बाबा के को अर्काको देश घुम्ने भइराखोस् अहिले आउँदिन भन्यो।’

‘हामी देश बाहिर थियौ ऊ यहीँ नेपालमा बसेर पढ्थ्यो । कोर्षको पढाई सँगसँगै उसले किशोरावस्थादेखि नै माक्र्स, एंगेल्सको पुस्तकहरु पढिसकेको रहेछ र राजनीतिमा लागिसकेको रहेछ  । उसको जीवन त्यति नै थियो होला सायद ०४८ साल वैशाख २४ गते भएको बस दुर्घटनामा उसले हामीलाई छाडेर गयो’, उनी सुनाउँदै गए, ‘अब त मेरो पनि उमेरले डाँडा नाघिसक्यो जति गरे जे गरे जीवनप्रति सन्तुष्ट छु । अब मेरो शेषपछि भाइका छोराहरुलाई पुस्तकालय जिम्मा लगाउँछु।’

अर्थपूर्ण जीवन बाँचिरहेका छन् पूर्णबहादुर । आखिर जिन्दगी आज छ भोलि छैन । आज सँगै हाँसखेल गरेर हिँडेको साथीभाई र आफन्तले हिँड्दा हिँड्दै पत्यारै नलाग्ने गरी संसार छाडेर जान सक्छन् । जानु त हामी सबै जाने नै हो बस् अगाडि पछाडि रहेछ । बाँचुन्जेल जति खायो, रमायो, कर्म ग¥यो यहीँ नै त रहेछ जिन्दगी।

पूर्णबहादुरले बुझेको सत्य पनि यही हो कि मरेर गए पछि पनि जुगौंजुग बाँच्ने भनेको त हामीले गरेको कर्म नै त हो । त्यसैले बाँचुन्जेल कर्म गर्नु भुल्नु हुँदैन!

प्रकाशित: १६ भाद्र २०७५ ०५:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App