२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

स्वीट्जरल्याण्डको नयाँ कथा

मैले पश्चिमी यूरोपमा आल्पस् पर्वतको काखमा अवस्थित  मुलुक स्वीट्जरल्याण्डको यात्रा धेरैपटक गरेको छु । पहिलो भ्रमण नेदरल्याण्डको इन्टिच्युट अफ सोसल स्टडिजमा अध्ययन गर्दा सन् १९७१ मा त्यहींबाट जिनेभाका अन्तर्राष्ट्रिय संस्थामा अध्ययन भ्रमणका निमित्त थियो । त्यसबेला हाम्रो बस यात्रा हेग सहरबाट गरिएको थियो । त्यो यात्रा स्वीट्जरल्याण्डको पश्चिमी भागको जिनेभासम्म मात्र पुगेको थियो र हाम्रो टोली जर्मनीको बाटो गरी नेदरल्याण्ड फर्किएको थियो।

सन् १९८६ देखि १९९० सम्म चार वर्ष मैले संयुक्त राष्ट्र शरणार्थी संगठन (युएनएचसिआर)मा काम पाई पाकिस्तानको पेशावरमा काम गरें । त्यहाँ काम गर्नु अगाडि एक हप्तासम्म जिनेभामा त्यो संस्थाबारे परिचयात्मक अध्ययन गराउन राखियो।

संयुक्त राष्ट्र संघमा काम सकिएपछि नेपाल फर्किनु अगाडि एक हप्तासम्म आफ्नै खर्चमा त्यस देशको पूर्वी भागमा घुम्न पाएँ । मैले पहिले धेरैपटक बस्दा पश्चिमी भागमा फ्रेन्च भाषा बोल्ने जिनेभा र लोजान सहर घुमेको थिएँ भने त्यसपटक पूर्वी भागमा जुरिख लगायत जर्मन बोल्ने भाग र दक्षिण भागमा इटालियन भाषी टिसिनो प्रान्तमा समेत घुम्न पाएँ । त्यसैताका मैले पश्चिमतिर फ्रेन्च भाषी र पूर्वतिर जर्मन भाषी क्षेत्रकोे सहर बेलमा पनि एक रात बस्न पुगेको थिएँ।

त्यहाँ पुगेको करिब १९ वर्षपछि मैले फेरि स्वीट्जरल्याण्ड घुम्ने अवसर भेट्टाएँ । त्यो पनि लेखकको संगठन अन्तर्राष्ट्रिय पेनको अनुवाद तथा भाषिक अधिकार समितिको सेमिनारमा भाग लिन । जुन सेमिनार वियल सहरमा आयोजना गर्नुको मुख्य कारण भाषिक सिमामा रहेको हुनाले समेत रहेछ र देशको भाषिक विविधताको स्वाद सहभागीहरूले पाउन् भनेर समेत रहेछ।

अन्तर्राष्ट्रिय पेनमा १४० देशका सदस्य छन् भने समितिमा ४० देशका पेन सदस्य । पेन नेपालको अनुवाद तथा भाषिक समितिको संयोजक हुनाले मलाई निम्तो आएछ । त्यति मात्र नभई मलाई नेपालबाट त्यहाँ आउनजान टिकट समेत आयो । स्वीट्जरल्याण्डमा बोलिने चार प्रमुख भाषामध्ये जर्मन, फ्रेन्च, इटालियन र रोमान्स हुन् जसमध्ये दुई तिहाई जनसंख्याको मातृभाषा जर्मन रहेछ भने दोस्रो ठूलो भाषिक समूह फ्रेन्च भाषी रहेछ जसलाई स्विसे रोमान्डे पनि भन्दा रहेछन् । यी चारै भाषाका आ–आफ्ना पेन रहेछन् र सेमिनारको आयोजना फ्रेन्च भाषी पेनले गरेको रहेछ । स्वीट्जरल्याण्डमा फ्रेन्च भाषा अल्पसंख्यकको मातृभाषा भएकाले समेत त्यहाँका निवासी आफ्नो भाषिक अधिकारबारे बढी सजग छन् । त्यसै भएर होला यस सेमिनारको आयोजना पनि उनीहरूले नै गरेका थिए।

बिहीबार
हवाई यात्राबाट स्वीट्जरल्याण्डमा प्रवेश जुरिख सहरबाट गरियो । हवाई अड्डामा पासपोर्टमा छाप लगाउने काम जुरिख क्यान्टनका कर्मचारीले गरे । नेपाल जस्तै संघीय राज्य भएकाले त्यहाँ क्यान्टन शक्तिशाली छन् । त्यहाँ अध्यागमनमा क्यान्टनका प्रतिनिधिले छाप लगाउनु भनेको नेपालमा प्रवेश गर्दा काठमाडौं जिल्लाका प्रतिनिधिले छाप लगाउनु जस्तै हो । नेपालमा भने क्यान्टन जति ‘जिल्ला’ शक्तिशाली छैनन् । जुरिखबाट वियलसम्म अति छिटो गति भएको ट्रेनमा यात्रा गरियो । स्वीट्जरल्याण्डको उत्तरी भागबाट यात्रा गरी वियलमा पुगियो । यो सहरदेखि पश्चिम फ्रेन्च भाषी क्षेत्र रहेकाले यो भाषिक सीमामा रहेको सहर रहेछ । वियलको जनसंख्या ५० हजार मात्र रहेछ । यस सहरमा सडकको नाम पनि फ्रेन्च र जर्मन भाषामा लेखिएका छन् । रेल्वे स्टेशनलाई जर्मन भाषामा वाहनहोफ  भन्छन् भने फ्रेन्चमा गार।

सहरमा दुवै भाषाको प्रयोग गरिएको थियो । हामी बसेको होटलका मालिक भारतबाट वियल आएका पञ्जाबी थिए। उनी नजिकै रहेको स्वीट्जरल्याण्डको राजधानी वर्नमा बस्दा रहेछन् र प्रतिदिन होटलमा गाडी चलाई आउँदा रहेछन्। वियल सहर क्यान्टनमा छ । आपूm द्विभाषीय सहरमा बसे पनि सरदारजीलाई जर्मन भाषा मात्र बोल्न आउँदो रहेछ। फ्रेन्च भाषा केही महिना अघि मात्र पढ्न थालेका रहेछन् । होटल नजिकैको पुस्तकालयमा उपलब्ध एउटा हलमा सेमिनार उद्घाटन र सञ्चालन भयो।

आयोजक महिला स्वीट्जरल्याण्डको फ्रेन्च भाषी पेनकी सचिव रहिछन् र उनी म भन्दा एक दिन अगाडि मात्र जन्मेकी रहिछन् । उपस्थित भएका चालिस देशका पेनका सदस्यहरूका अगाडि त्यो कुरा पनि उनले भनिन् तर आपूm यति वर्ष भए भन्ने कुरा भने भनिनन् । उनी आपैmं इटालीबाट जिनेभामा आएकी रहिछन् र बाल्यावस्थामा दक्षिण अमेरिकाको कोलम्बियामा समेत बसेकी हुनाले स्पेनिस भाषा पनि धारा प्रवाह बोल्दि रहिछन् । उनले जर्मन भाषामा बोलेको भने सुनिन।

सेमिरनामा लाग्ने खर्च कसले व्यहोरेको थियो त भन्ने प्रश्नबारे उनले वियल, जिनेभा र क्यान्टनको समेत नाम लिइन् । स्वीट्जरल्याण्डमा मिग्रो भन्ने ठूलो डिपार्टमेन्ट स्टोर रहेछ, जसले आफ्नो नाफाको एक प्रतिशत सांस्कृतिक कामलाई समेत सहयोग गर्दोरहेछ । उद्घाटन सत्रमा करिब आधा दर्जन स्थानीय महिलाहरूले जर्मन, स्पेनिस र अंग्रेजीमा गाना गाए ।  बार्सिलोनाका लेखकसँग बसेर मैले लन्च खाएँ । ऊ त्यहाँ फ्रेन्च भाषाको प्राध्यापक रहेछ।

स्पेनमा फ्राङ्को तानाशाह हुँदा त्यहाँको गृहयुद्धमा क्याटोलियनाले फ्राङ्को विरुद्ध लडेको रहेछ । त्यसैकारण फ्राङ्कोको शासनकालमा कातालान भाषा विरुद्ध भेदभाव गरिएछ । त्यसपछि सेमिनारका सहभागीले फ्रेन्च अथवा अंग्रेजी भाषामा आफ्नो परिचय दिए । मैले नेपालको संविधानले दिएको भाषिक अधिकारबारे बोलेर परिचय दिएँ।

अन्तर्राष्ट्रिय पेनले स्पेनको जिरोना भन्ने ठाउँमा बनाएको प्रस्ताव अनुसार कुनै राज्यमा बेग्लाबेग्लै सरकारी कामकाजको भाषा भए पनि स्थानीय सरकारले स्थानीय भाषालाई मान्यता दिनुपर्छ भनि जिरोना घोषणा पारित गरेको रहेछ । बंगलादेशको पेनका  अध्यक्षले पनि बोले । उनी ढाका विश्वविद्यालयका अंग्रेजीका प्राध्यापक रहेछन् । नेपालका अभि सुवेदीसँग उनको राम्रो परिचय रहेछ । उनले बंगलादेशमा हिन्दू बंगालीहरूले मनाउने चाडवाडबारे पनि कुरा गरे।

शुक्रबार
आज दक्षिण अफ्रिकाबाट आएका पेनका प्रतिनिधिसँग कुराकानी भयो । दुई वर्ष अगाडि अन्तर्राष्ट्रिय पेनको अनुवाद र भाषिक अधिकार समितिको बैठक दक्षिण अफ्रिकामा भएको थियो । तर त्यहाँ सुरक्षा राम्रो नभएको हुनाले आपूm नगएको बताएँ । उसले भन्यो– उसलाई आफ्नो देशमा कसैले लुटेको थिएन । बरु उ युरोपको आम्सटरडैममा लुटिएको थियो । आजको बैठकमा जर्मन भाषी स्वीस पेनका अध्यक्षले बोले । उनको घर वियलमै रहेछ र उनलाई अंग्रेजीभन्दा फ्रेन्च बढी आउँदो रहेछ । आजको सेमिनारमा उनले लेखेको कार्यपत्र पनि प्रस्तुत गरिएको थियो।

उनले नेदरल्याण्डमा बोलिने डच भाषा जर्मनको जस्तो भए पनि अहिले स्वतन्त्र भाषाका रूपमा कायम छ भने स्वीस जर्मनलाई डायलेक्ट मानिदैन र त्यहाँको साहित्यिक र सरकारी कामकाजको भाषा जर्मनी र अस्ट्रियामा बोलिने र लेखिने जस्तै छ भने।

एक शताब्दी अगाडि ख्यातिप्राप्त साहित्यकार काफ्का प्राग सहरबाट घुम्न स्वीट्जरल्याण्डको लुसेरन सहर आएका रहेछन् । त्यहाँ पुगेर उनले त्यहाँ बोलिने जर्मन भाषाको लिखित रुप नै पाएनछन् किनकि त्यहाँ मानक जर्मन मात्र लेख्दा रहेछन् । काफ्का यहूदी मूलका थिए र उनको मातृभाषा जर्मन थियो । उनी चेकरिपब्लिकको प्रागमा बस्दथे।

वियल मात्र स्वीस द्विभाषीय सहर रहेछ । यसो हुँदाहुँदै पनि स्वीट्जरल्याण्डमा भ्याले भन्ने क्यान्टनमा मुख्यतः फ्रेन्च भाषा बोलिए पनि निकै संख्यामा जर्मन भाषी छन् । देशको उत्तरी भागमा रहेको बसेल सहरको आफ्नै हवाई अड्डा छैन । यसले फ्रान्सको आल्सास प्रान्तको मुलुज सहरसँग बनाएको हवाई अड्डाको नाम बले छ । बसेल जर्मन भाषी शहर भए पनि दुवै सहरको नाम फ्रेन्च भाषामा लेखिएको छ । फ्रान्सको आल्सास प्रान्तमा पहिले जर्मन भाषा बोलिन्थ्यो।

छलफल क्रममा नेपालमा संघीयताको धारणा ल्याउन स्वीसहरूको समेत योगदान भएको मैले बताएँ । नेपालको संविधान बमोजिम नेपालमा बोलिने सबै भाषा यहाँका राष्ट्र भाषा हुन् तर सरकारी कामजको भाषा नेपाली हो । यसो भए तापनि हाल नेपालमा ७ वटा संघीय राज्य रहेमा कुनै प्रदेशमा बहुसंख्यक निवासिको मातृभाषा अन्य भाषा रहेमा त्यसलाई पनि सरकारी कामकाजको भाषा बनाउन सकिने भन्ने छ । अहिले २ नम्बर प्रदेशमा सरकारी कामकाजको भाषा हिन्दी अथवा मैथिली पनि बनाउने भनि माग भएको छ । वास्तवमा यस प्रदेशमा मात्र नेपाली अल्पसंख्यकको मातृभाषा हो।

नेपालको ७ नम्बर प्रदेशमा बोलिने भाषा डोट्याली नेपाली भाषाको भाषिका नभई स्वतन्त्र भाषा हो भनि जनगणनामा तथ्यांक लिइएको छ । यस सन्दर्भमा स्वीट्जरल्याण्डमा बोलिने जर्मन भाषा जर्मनीमा बोलिनेभन्दा बेग्लै खालको भए पनि मानक भाषा जर्मनीकै जर्मनलाई मानि सरकारी कामकाजको भाषा बनाइएको छ । महाकाली पारी भारतको उत्तराखण्डमा बोलिने भाषिकालाई पनि मान्यता नदिई हिन्दीलाई मान्यता दिइएको छ । स्कूलमा त्यही भाषामा पढाई हुन्छ।

सेमिनारमा एक दिन अफ्रिकाका भाषाहरूबारे छलफल भएको थियो । दक्षिण अफ्रिकाको पेनका अध्यक्षले त्यहाँ ११ वटा सरकारी कामकाजको भाषा भएको उल्लेख गरे । नेल्सन मण्डेलाले बोल्ने भाषाको नाम खोसा थियो ।

शनिबार
विएल सहरमा मेरो होटलको कोठामा रुममेट कजाकिस्तानको पेनको तर्फबाट आएको व्यक्ति थियो । ऊ वास्तवमा पहिले रुसी नागरिक थियो र हाल अमेरिकामा बस्दथ्यो र त्यही पुस्तक प्रकाशन गर्दथ्यो । अन्तर्राष्ट्रिय पेनको सम्मेलनमा सहभागी हुन कजाकिस्तानको पेनको सदस्य भई आउँथ्यो । आज समितिको औपचारिक कार्यक्रम समापन भयो । बिहान वियल नजिककैको सरोवरमा नौका विहार गर्ने कार्यक्रम थियो जसमा म पनि सहभागी भएँ । त्यसको जर्मन र फ्रेन्च भाषामा बेग्लाबेग्लै नाम थियो । त्यस तालमा रहेको एउटा टापुमा विश्वप्रसिद्ध स्वीस दार्शनिक रुसोको घर रहेछ । त्यहाँ मैले अफ्रिकाको माली देशका एक जना पेन सदस्यलाई भेटें जसलाई अंग्रेजी बोल्न आउँदैन थियो । मैले उसलाई हिन्दूहरूको पुराणमा माली र सुमाली भन्ने नाम प्रयोग भएको र नेपालीमा उसको देशको नामले त पूmलको व्यवसाय गर्ने जात भएको कुरा भन्दा अचम्म मान्यो।

हामीले फ्रेन्च भाषामा कुरा ग¥यौं । माली पनि नेपालजस्तै भूपरिवेष्ठित देश रहेछ सहाराको मध्य भागमा रहेको । हामीले उसको देशमा रहेको कथैकथाको सहर टिम्वकटुको बारेमा पनि कुरा गरेका थियौं । रुसो बसेको टापुमा जान हामी नौकाबाट गयौं । टापुमा पुगेपछि एक शताब्दी अघि रुसो बसेको घरबारे एक स्वीस गाइडले हामीलाई पथप्रदर्शन गरिन् । उनले एक शताब्दी पुरानो परम्परागत पोशाक पहिरिएकी थिइन्।

‘एक शताब्दी अगाडि स्वीट्जरल्याण्ड एक गरिब देश थियो’ उनी भन्दै थिइन् । अहिले संसारभरका मानिसले यहाँ पैसा राख्न ल्याउँछन्, यहाँ घुम्न आउँछन् । त्यसताका स्वीसहरू ‘मर्सेनरी’ (भाडाका सिपाही) बन्न देश बाहिर जान्थे । त्यो सुनेर मैले नेपालको कुरा पनि सम्झें । हाम्रो नौका विहार यात्रा सकिएपछि वियलमा रहेको होटलमा फर्केर आयौं । त्यहाँबाट मैले रेल्वे स्टेशन जान सुटकेश होटलको लबीमा ल्याएँ । रेल्वे स्टेशनसम्म पन्ध्र मिनेट हिंडेर पुगिन्थ्यो।

अफ्रिकाको जिम्बावेबाट आएको त्यहींको पेन सदस्यले मेरो सुटकेश गुडाएर त्यहाँ पु-याउन मद्दत ग-यो । जिम्बावेका नब्बे वर्षीय पूर्व राष्ट्रपति रवर्ट मुगावे र उनकी नवयौवना श्रीमतीबारे कुरा गर्दै हामी स्टेशनतर्फ हिंड्यौ । यही हो मेरो सबभन्दा नयाँ स्वीट्जरल्याण्ड यात्राको कथा।

प्रकाशित: १६ भाद्र २०७५ ०४:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App