भक्तपुर – काठमाडौं उपत्यकाको नेवार समुदाय जात्रा–पर्वमा झुमेको छ, यतिबेला । गाइजात्रासँगै नाचगानको माहोल तात्तिएको छ। अधिकांश जात्रा देवदेवीसँग सम्बन्धित छन् । र, जात्रामा तिनै देवदेवी र राक्षसका रूप (मुकुण्डो) धारण गरेर नाचगान गरिन्छ। आखिर कहाँ बनाइन्छ यस्ता मुखाकृति (मकुण्डो)?
काठमाडौं, ललितपुर र भक्तपुरको नेवार समुदायले बनाउँछ मुकुण्डो कला । नेवार समुदायमा विशेषतः चित्रकारको पुख्यौली पेशा हो।
भक्तपुरमा एकजना गैर नेवार पनि मुकुण्डो कलामा पारंगत छन् । ती कलाकार हुन्–सोमराज तामाङ, जसले कारखाना नै खोलेका छन् । मध्यपुर नगरपालिकाको बहाखा बजारमा छ उनको कारखाना– ‘मध्यपुर मास्क मेकिङ’।
वर्षैैभरि भ्याई नभ्याई हुन्छ उनलाई । उनी जात्रा तथा पर्वमा चाहिने मुकुण्डो त बनाउँछन् नै, त्यो भन्दा बढी कोसेलीका रूपमा दैनिक प्रयोग हुने कलाकृति उत्पादन गर्छन् । तिनमा बुद्ध, गणेश, कुमारी, भैरव, चन्द्र, सूर्य आदिका मुकुण्डा पर्छन्।
विशेषतः काठ, ढलौट, माटो र प्लाष्टिकबाट मुकुण्डो बनाइन्छ । उनीचाहिँ काठ, माटो र कागजबाट बनेका मुकुण्डो बनाउँछन् । कालीमाटी, नेपाली कागज, कपडा, कपास र मैदाको प्रयोगबाट बन्ने मुकुण्डोका माग बढी छ।
पहिला पहिला धार्मिक कार्यमा मात्रै मुकुण्डो प्रयोग हुन्थ्यो, अचेल जुनसुकै शुभकार्यमा माया बाँड्न पनि यसको प्रयोग गरिन्छ । अचेल ठुल्ठूला रेष्टुराँ र होटलमा समेत यस्तो कला सजाइन्छ।
‘विवाह तथा जन्मोत्सवमा मात्रै होइन’, तामाङ भन्छन्, ‘संघसंस्थाका कार्यक्रममा टोकन अफ लभका रूपमा समेत मुकुण्डो बाँडिन्छ।’
मुकुण्डोको प्रयोग बढ्नुमा तीन कारण प्रमुख छन्–पहिलो, नेपालीपनको सुवास पाइनु । दोस्रो, तुलनात्मक रुपमा सस्तो हुनु । तेस्रो, बोक्न हल्का हुनु । त्यसैले मुलुकभित्र मात्र होइन, बाहिर पनि यसको माग बढ्दैछ।
‘नेपाली र विदेशी सरोबरी मुकुण्डो किन्छन्’, उनी सुनाउँछन्, ‘हामी स्पेन, इटाली, फ्रान्स र अमेरिकामा पनि पठाउँछौं।’
उनको कारखानामा दैनिक चार जना व्यस्त हुन्छन् । उनी हिन्दु, बौद्ध र क्रिश्चियन धर्मसँग सम्बन्धी कलाकृति उत्पादन गर्छन् । पछिल्लो समय उनको उत्पादन प्रिज म्याग्नेटले पनि राम्रो बजार पाएको छ । समयसँगै नयाँ नयाँ सृजना गर्न घोत्लिरहन्छन् उनी।
सोमराज मुकुण्डो कलाका राम्रा गुरू समेत हुन् । विदेशीहरु उनकोमा सिक्न आउँछन् । उनीहरु निश्चित रकम तिरेर सिक्छन् । त्यति मात्र कहाँ हो र, नेपाली पनि अध्ययन अवलोकन भ्रमणका सिलसिलामा उनको कारखानामा आइपुग्छन् । मुकुण्डो बनाएको र रंगाएको हेरेर दंग पर्छन्।
थिमीको नेवार संस्कृतिप्रति उनको लगाब छ । आखिर त्यही समुदायले सिकाएको हो उनलाई मुकुण्डो कला । उनका गुरू–पूर्णकृष्ण चित्रकार जोसँग ६ वर्ष सिकेपछि ०५४ सालदेखि उनले आफ्नै पसल खोलेका हुन्।
आधुनिकता र परम्पराको फ्युजन गरेकाले उनको सृजनाले चारैतिर वाहवाही पाएको हो । समयको गतिसँग चल्न नसक्दा उनले देख्दादेख्दै थिमीमै आधा दर्जन मुकुण्डो कारखाना बन्द भए।
‘समयसँग चल्न सकेन भने पछि परिन्छ’, उनले बुझेका छन्, ‘झट्ट हेर्दा आकर्षक र कलात्मक देखिने सामान नै सबैको रोजाइमा पर्छन्।’
प्रकाशित: १५ भाद्र २०७५ ०६:५७ शुक्रबार